_1413010332.jpg)
उमेश ‘अकिञ्चन’
चन्द्रमा कहिल्यै नउदाउने आकाशजस्तो अँध्यारो लाग्छ कहिलेकाहीँ । सारा अन्धकार र निराशाका आँधिबीच हिँडिरहेको । अब उज्यालो उदाउनै सक्दैन । सायद यस्तै भुमरीबीच मान्छेले आफ्नो मुक्ति खोज्दो हो । आत्महत्या त्यही मुक्तिको उपाय बन्दो हो ।साहित्यकार सिल्भिया प्लाथ, भैरव अर्याल, अर्जुन खालिङहरूले जीवनबाट यसरी नैं विश्राम लिए । यस्तै मार्ग आदरणीय कवि दाइ राजेश्वर रेग्मीले पनि अपनाए ।
राजेश्वर रेग्मी ठूलो नाम होइन । असल नाम हो । विराटनगर वरपरका स्रष्टाबीच भेटिने त्यो नामको काया गुमनाम भएकोदशक बितिसकेको छ । अब नाम पनि क्रमशः बिरानो बन्दो छ ।समय गतिवान छ । हिजोलाई सम्झेर हेर्नेफुर्सद कम छ । राजेश्वर रेग्मी दाइलाई, सम्झनेहरू कि परिवारका मानिसहरू होलान् । या त उनको स्मृतिको पुरस्कार पाउने गजलकारहरू । हामीजस्ता भाइपुस्ताले पनि राजेश्वर दाइलाई, बितेर गएको स्रष्टा भन्दा फरक रूपले सम्झन सकेनौं । मन मनमा सम्झेर पनि पानीका फोका जस्तै बन्दै, फुट्दैगयौं । म यस्तै ठान्छु । मलाई पनि राजेश्वर दाइप्रति शब्द–सम्मान अर्पण गर्न एक दशक पछि फुर्सद मिल्यो ।
राजेश्वर दाइको स्मृतिमा पुरस्कार पनि राखिएकोछ ।गजल विधामा दिइने उक्त पुरस्कारकोसमेत चर्चा कम छ । चर्चा हुनका लागि आफ्नो जमात हुनुपर्छ । जमात कम भएकास्रष्टाहरू, ओझेल पर्ने क्रम बढ्दो छ । भौतिक देह यस पृथ्वीमा हुनेले त यस नियतिलाई भोग्नु परेको छ ! यस लोकमा नहुनेलाई सम्झिएर आभार व्यक्त गर्न फुर्सद नै कसलाई छ र ?
वि.सं. २०६१ साल । त्यो समय म कीर्तिपुरमा एम.ए. पढ्थे । थेसिस् गर्नुपर्ने थियो । त्यही सिलसिलामा विराटनगर पुगेको थिएँ । एकदिन समय मिलाएर, जिल्ला प्रशासन कार्यालय, मोरङ पुगेँ । जिल्ला प्रशासनमा राजेश्वर दाइ नायव सुब्बा पदमा कार्यरत थिए । दाइसँग भेट भयो । सामान्य कुराकानी भयो । दाइले बाहिर जाउँ भने ।सायद कार्यालयमा कुराकानी गर्न अनुकुल नभएर त्यसो भनेका होलान् सोझो मनले यही ठानें ।
रिक्सा चढ्यौ हामी । रंगशाला छेउ आएपछि उनी असमञ्जसमा परे । सीडीओ सा’बले देख्नुभयो, अब के गर्ने होला ? कार्यालय समय आधा घण्टा जति बाँकी छँदै दाइ, मसँग निस्किएका थिए । बाटोमा कार्यालय प्रमुख सीडीओको गाडीसँगको जम्काभेटले उनलाई तनाव भयो । तर पनि उनी र म महेन्द्र चोकतिर लाग्यौं । आज कर्मचारी भएर त्यो दिन सम्झिन्छु । कति अप्ठेरो भयो होला राजेश्वर दाइलाई, आफ्ना हाकिमका अगाडि यस्ता विषयमा जवाफ दिन ।
“कवि हुँ भन्छ, रक्सी खाँदैन ।” वैशाखको गर्मी दिन । बेलुकीपख महेन्द्र चोकको कुनै रेष्टुरेन्टमा यी शब्दहरू थिए, राजेश्वर दाइका । दाइले अलिकति पिउने काम गरे । मलाई पनि पिउन आग्रह गरे । सङ्गत भएको, लामो समय बिते पनि म पिउँदिन भन्ने उनलाई राम्रो हेक्का रहेनछ । थाहा भए पनि सायद राईको छोरा, गफ दिएको सम्झिए होलान् । यसरी खाजा खाने गरी भएको भेट पहिलो थियो ।
राजेश्वर दाइले त्यस दिन बढि नै कर गरे । म थिएँ अडिग, कहिले नपिउने। अनि माछा र भुजा खाएर हामी लाग्यौ उदघोष दैनिकको कार्यालय तिर । ती दिनहरूमा, दाइ उदघोष दैनिकमा स्तम्भ लेख्थे । त्यतिखेर भेट भएका सम्पादक मोहन भण्डारी हुन् कि जस्तो लाग्छ । मलाई देखाएर परिचय गराए दाइले, कविको रूपमा ।उदघोषको कार्यालयमा भेट भयो विष्णु पोखरेल भाइ पनि । जो हाल बीबीसी नेपाली सेवामा कार्यरत छन् ।
राजेश्वर दाइ निजामती सेवामा कार्यरत भएकोले बेला–बेला मलाई सम्झाउँथे । म विराटनगरबाट काठमाडौं डिग्री पढ्न जाने बेला उनले ‘साहित्य मात्रै भनेर दौडिने होइन, लोकसेवाको तयारी गर्नु’ भनेका थिए । लोकसेवाको तयारी नगरे जागिर पाउन सर्वसाधारणलाई गारो पर्ने सुझाव उनले बेलाबखतमा दिएका थिए । दाइले कविता लेख्ने र आफ्नो उपस्थितिको लागि पत्रिकामा दिने तर गोष्ठी तिर नदौडिन सुझाव दिएका थिए ।
काठमाडौं आएर दाइको सुझावलाई यथाशक्य लागु गर्ने प्रयास गरेको थिएँ । कीर्तिपुर बस्थेंँ । पहिलो कुरा कक्षा शुरु भएको धेरैं ढिलो पढ्न आएको थिएँ । करिब दुई महिना पढेपछि कक्षाको पढाइ सकिएको थियो । त्यसैले पनि साहित्यिक गोष्ठीतिर जाने समय कमै मिलेको थियो । यद्यपि, केन्द्रीय पुस्तकालयबाट आफ्नो पढाइ भन्दा साहित्यको पुस्तक र पत्रिका पढ्ने गर्थें । केही साथीले मेरो बानी देखेर, आफ्नो पढाइमा केन्द्रित हुन सुझावसमेत दिएका थिए ।
राजेश्वर दाइले साहित्यमा रुचि राख्ने भाइपुस्तालाई औधी माया गर्थे । म साहित्यमा बामे सर्दै गर्दा नै तेस्रो आवाज भन्ने साहित्यिक पत्रिकामा अन्तर्वार्ता छापेका थिए । आफ्ना अनुजका दुःख, सुखमा सारै संवेदनशील थिए, दाइ । मेरो आमाको असामयिक निधन बारे थाहा पाएर उद्घोष दैनिकमा ‘कविलाई मातृशोक’ शीर्षकमा समाचार नै प्रकाशित गर्न लगाएका थिए, दाइले ।
विराटनगर साहित्य र सद्भावको शहर हो । साहित्यको सुन्दर वातावरण थियो, जतिबेला वाणी प्रकाशन थियो । आख्यानकार परशु प्रधानको नेतृत्वमा रहेको वाणी प्रकाशनले साहित्यमा बहसमात्र गरेन, धेरै नयाँ प्रतिभालाई फस्टाउने वातावरण पनि दियो । म पनि अक्सर त्यहाँ पुग्थें । वाणी प्रकाशनमा नैं पहिलो पटक भेट भएको थियो, राजेश्वर दाइसँग ।
हाम्रो पद्धति नै त्यस्तै छ । कर्मचारीेको अधिकांश समय केवल सरुवामा व्यतित हुने ! जस्ले राजनीतिक पहुँच बनायो,उस्लाइ सहज हुने । नत्र भने सरुवालाई रिसइवी साँध्ने हतियारकारूपमा प्रयोग गरिने ।
विसं. २०६३ को राजनीतिक परिवर्तन पश्चात, संक्रमणकाल लामो रह्यो । त्यो समयमा, तराइमा धेरै भूमिगत समूहले गतिविधि तीव्र बनाएका थिए । स्थानीय तहमा जनप्रतिनिधि नभएको सो अवधिमा, सबै काम कर्मचारीले नै गर्नुपरेको थियो । सोही समयमा, कतिपय गाविस सचिवसँग चन्दा माग्ने, नदिए ज्यान नै लिन पनि पछि नपरेको अवस्था थियो । उक्त समयमा राजेश्वर दाइको नजिकका साथी– जो गाविस सचिवकारूपमा कार्यरत थिए– उनको गोली हानेर हत्या भएछ । दाइको सरुवा पनि तराईको जिल्लामा भएको रहेछ । सोही कारण दाइलाई गहिरो मानसिक आघात परेरआत्महत्या गरेको चर्चा सुनियो ।परिणामतः डिल्लीबजारको आफ्नै डेरामा झुण्डिएर उनले भौतिक शरीरको त्याग गरे । एक असल स्रष्टा, कर्तव्यनिष्ट कर्मचारी र असल मान्छेको अवसान दुखद् रूपमा भयो !
हिँड्नु जीवनको गीत हो । जीवनको अर्को नाम नै यात्रा हो । तर आजकल विराटनगर जाँदा न वाणी प्रकाशनको साहित्यिक जमघट छ । न राजेश्वर दाइ नै । खालीखाली भए जस्तो लाग्छ विराटनगर ।अब ती दिनसम्झनामा मात्र सीमित छन् हिउँदका घमाइला दिन जस्ता पारिलो र प्रिय !जिन्दगी विघटनको तयारीमा शीर्षकको गजल लेख्ने स्रष्टा, हामीलाई अलमलमा राखेर अलप भए । जीवन कसैको पनि अजम्बरी छैन । एकदिन यो अस्थायी ठेगानाबाट सबैले स्थायी ठेगानातर्फ जानु नैछ । तर बितिगएकासँग भन्दा बितिजानेसँग भने धेरै थकथकी लाग्दोरहेछ ।
यसरी हतारमा जिन्दगी विघटित गर्ने स्रष्टालाई गुनासो सहितको शब्द सम्झना !