
काठमाडौं । नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आएका डा. विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरिने भएको छ ।
सम्मानपत्रसहित १० हजार रुपैयाँ राशि रहेको सो सम्मान प्राप्त गर्ने डा. उप्रेती दोस्रा व्यक्ति हुन् । गएको वर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त सम्मान प्राप्त गरेका थिए ।
द्वन्द्व व्यवस्थापन, ग्रामीण विकास एवम् सहभागितामूलक विकास प्रक्रियाका बारेमा नियमितरूपमा कलम चलाएर थुप्रै पुस्तक प्रकाशन गरेका तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पत्रपत्रिका र जर्नलहरूमा समेत उल्लेख्य लेख लेखेर राष्ट्रोत्थानमा गहन भूमिका खेलेबापत डा. उप्रेतीलाई उक्त सम्मान अर्पण गर्न लागिएको पुरस्कार व्यवस्थापक संस्था नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले जनाएको छ ।
उक्त पुरस्कारका लागि नेपानका अध्यक्ष चेतनाथ कणेलले आफ्ना छोरा प्रसिद्ध कणेलको स्मृतिमा रु. १ लाखको अक्षयकोष राखेर स्थापना गरेका हुन् । उक्त कोषबाट प्राप्त हुने ब्याजको रकमबाट हरेक वर्ष एकजना सहभागीमूलक विकास पद्धतिमा लामो समय कलम चलाउने व्यक्तिलाई प्रदान गरिने नेपानले जानकारी दिएको छ ।