खै कसरी कम्युनिष्ट राजनीतिमा लागे उनी ! उनलाई हेक्का छैन । तर किशोरकालमै उनी आफूलाई चित्त नबुझेको कुरामा अडान राख्थे । समाजसँग जोडिएका काम गर्न उनलाई मन लाग्थ्यो । समस्यामा परेकाहरूलाई त्यो समस्याबाट कसरी निवारण गराउन सकिन्छ, त्यसतर्फ लाग्थे ।
सायद त्यसैले होला, बनेपाका मोहन दुवाल (७१)लाई त्यसैबेला कम्युनिष्ट भएको ठप्पा लगाइयो । त्यो बेला नत उनले मार्क्स पढेका थिए । नत माओ नै । त्यो पछि आएर मात्रै पढेको उनी बताउँछन् ।
हालै काठमाडौंमा एउटा कार्यक्रममा भेटिएका मोहन दुवालले आफूमा अलिकति चेतनाको विकास भएको समय सम्झिए । उनी भन्छन्, “२०१७ सालको सत्ता परिवर्तन पछि शिक्षण पेशामा संलग्न मेरा दाइ कृष्णप्रसाद दुवाल पनि अराष्ट्रिय तत्वको बिल्ला लाग्दै समातिनु भयो । मेरा दाइसहित अरु शिक्षक पनि समातिनु भएको थियो । दाइ र अरु सरहरूलाई किन समायो भन्ने प्रश्नले मलाई घुमाउन थाल्यो । त्यसैबेलादेखि ममा राजनीतिप्रति चेतना जागृत हुँदै गयोे ।”
मोहन दुवालका दाइलाई भक्तपुरको जेलमा राखिएको थियो । एक दिन उनी र उनकी आमा दाइलाई भेट्न भक्तपुर गए । त्यस दिन आफू र आमा घण्टौं लगाएर हिँडेरै भक्तपुर पुगेको आज पनि उनलाई सम्झना हुन्छ ।
स्कूलमा पढ्दाका केही रोचक प्रसंग उनको मानसपटलमा अझै पनि ताजा छ । ०१७ सालमा स्कूलमा प्रहरी आएर त्यहाँका राम्रो पढाउने शिक्षकहरूलाई अराष्ट्रियतत्व भनेर थुनेर लगे । स्कूलमा भएको यो घटना उनले आफ्नै आँखाले देखेका हुन् । सायद त्यसैले पनि हुनसक्छ, उनलाई विरोध गर्नुपर्छ यस कार्यको भन्ने लाग्यो । उनमा विद्रोहको भाव मौलाउँदै गयो । फलतः उनी उग्र सोचका भए ।
दुवालका अनुसार त्यसबेला ती शिक्षकहरूलाई कांग्रेस राजनीतिमा सहभागी भएको भनेर थुनिएको उनले सुनेका हुन् ।
मोहन दुवाल भन्छन्, “त्यसपछि स्कूलमा शिक्षकहरूको अभाव भयो । सबै राम्रा शिक्षक थुनिएका थिए । अनि केही दिनमा बनेपा स्कूलमा ‘भोलिन्टियर’हरू आएर पढाउन थाले । ती शिक्षक थिएनन् । कसैले एसएलसी पास गरेका, कोही आइए पास गरेका थिए । केही समय तिनैले पढाए हामीलाई ।”
यसरी स्कूलबाटै अराष्ट्रियतत्व अर्थात् अत भन्दै थुनेका शिक्षकहरू केही महिना पछि छुटेर आए र फेरि पढाउन थाले । उनलाई लाग्थ्यो, यिनले त राम्रै पढाउँछन् । तर पनि किन थुनेको होला ?
यसैले उनको सोचको मार्ग परिवर्तन गर्यो । गलत कामको विरोध गर्नुपर्छ भन्ने चेत उनमा हावी भयो । गलत कामको विरोध गर्न सुरु गरे उनले । यसले उनलाई राजनीति तिर डोर्यायो । उनको ध्यान त्यता तिर जान थाल्यो ।
फरक मत राख्ने मोहन दुवाल आफू त्यस उमेरमा पनि कसैसँग नडराउने बताउँछन् । ‘बहुजन सुखाय बहुजन हिताय’ भन्ने बुद्धको दर्शनबाट प्रभावित थिए, उनी । त्यसैले उनी आफूले सबैलाई सधै समानरुपमा हेरेको बताउँछन् । भन्छन्, “यही समानताको सोचले मलाई उग्रवादी बनाउँदै लग्यो अरुको नजरमा ।”
यसरी चेतना आफै हुर्कदै गयो मोहनमा । उनको स्वभावले उनलाई कम्युनिष्ट भनियो । कम्युनिष्ट नभए पनि अरुको नजरमा आफू कम्युनिष्ट भएको उनी स्वीकार्छन् ।
पढाइसँगै सामाजिक काम सुरु गरेका मोहन दुवाल समाज र राजनीति एक अर्काको पूरक भएको मान्दछन् । राजनीतिमा लाग्नेले समाजका लागि पनि केही गर्नुपर्छ भन्ने सोचले नै उनले पुस्तकालय खोल्ने काम गरे । वाचनालयको निर्माणमा ध्यान दिने, विद्यालय स्थापनाका लागि आफने तर्फबाट कसरी हुन्छ मद्दत गर्न थाले ।
यसरी लाग्दै गएपछि उनी समाजसँग भिज्दै गए ।
यसरी समाजसँग भिजेर काम गर्दा उनका नाममा कतिपटक त पक्राउ पूर्जी पनि नकाटिएको होइन । केही समय त उनी भूमिगत पनि बसे । तर समाजसँग जोडिएका काम गर्न उनले खुट्टा कमाएनन् । आफूलाई आफ्नो स्वाभिमानले दिएको शक्ति मान्छन् त्यसलाई मोहन दुवाल ।
०००
उनको बाल्यकाल मात्रै होइन अहिलेको समय पनि बनेपामै बितिरहेको छ । उनको जन्मथलो मात्र होइन कर्मथलो पनि बनेपा नै बनेको छ । बाल्यकालका केही रमाइला प्रसंग उनलाई आज पनि सम्झना हुन्छ । उनका एक जना दाइ पुलिसमा लप्टन थिए । उनका दाइले कहिलेकाही अरबी घोडा चढेर घर आउँथे ।
यसरी दाइले घोडा चढेको देखेर उनलाई पनि रहर लाग्थ्यो । बालक बेला, रहर जाग्नु स्वभाविक थियो । अनि उनी दाइलाई म पनि घोडा चढ्छु भन्थे । दाइले अह्राएपछि दाइका सहयोगीहरूले बालक मोहन दुवाललाई अरबी घोडा चढाएर बनेपादेखि धुलिखेल लैजान्थे, घुमाउनलाई । त्यसबेलाका ती प्रहरीले कालो लुगा लगाउने गरेको उनी आज पनि सम्झिन्छन् ।
मोहन दुवालको अनुहारमा मुस्कान छायो । लाग्यो, उनी यतिबेला पनि अरबी घोडा चढेको कल्पनामा छन् । उनले भने, “लप्टनको भाइ भने पछि दाइका सहयोगीहरूले पनि खुबै मान गर्थे । घोडामा राख्थे र डोर्याएर हिँड्थे ।”
बनेपामा आजाद हाइस्कूल थियो । त्यही स्कूलमा मोहनले पढेका हुन् । उनका अनुसार पहिले आजाद विद्यालयको आफ्नै भवन थिएन । चण्डेश्वरी मन्दिरको पाटीमा पढाइ हुन्थ्यो । त्यसबेला खरीले काठको पाटीमा लेखेर पढ्नु पर्दथ्यो । आजको समयलाई हेर्दा आफूहरूले धेरै दुःख गरेर पढेको उनको भनाइ छ ।
त्यसबेला बेला हामीलाई हरिभक्त प्रधान, दाइ कृष्णप्रसाद दुवाल, रामभक्त, पूर्ण बस्नेत जस्ता शिक्षकहरूले पढाउँथे । प्रधान हेडमास्टर थिए । पूर्ण बस्नेत पछि धुलिखेल स्कूलमा गए । उनी त्यहाँ लामो समय हेडमास्टर भएको उनी सम्झिन्छन् ।
बनेपा त्यसबेला गाउँ थियो । तर पनि तराईबाट र उत्तरी क्षेत्र–भोट) बाट काठमाडौं छिर्ने बाटो भएकोले बनेपा त्यै बेला पनि चर्चित थियो । बनेपा प्राचिन नगर भएको उनको भनाइ छ । एकातिर चण्डेश्वरीको प्रशिद्ध मन्दिर रहेको बनेपाको दक्षिणतर्फ ऐतिहासिक स्थल पनौती छ । यसैले पनि बनेपा उसबेलादेखि नै चर्चित थियो ।
उनले सुनेअनुसार चीनबाट ह्वेन साङ काठमाडौं भ्रमणमा आउँदा बनेपा हुँदै आएका थिए रे । उनले नै यो नेपाल हो भनेर सोध्दा ‘व नेपा’ अर्थात् ‘यो नेपाल हो’ भनेर भनिएको थियो । त्यसैबखतदेखि त्यस बजारलाई ‘व नेपा’ वा बनेपा भन्न थालिएको उनी बताउँछन् ।
उनका अनुसार पहिलेपहिले बनेपामा पनि मल्ल राजाहरूको शासन थियो । मल्ल राजाहरूको वर्चश्व थियो त्यहाँ । बनेपाका राजाहरूले धेरै हिटी र पाटी पौवा बनाएका थिए । मोहन दुवालका अनुसार बनेपाका मल्ल राजाहरूका धेरै कथा वरिपरिका क्षेत्रसँग जोडिएका छन् ।
त्यसबखत काठमाडौं उपत्यका पूर्वका धेरै ठाउँको राजधानीका रुपमा पनि बनेपालाई लिइन्थ्यो । त्यसैले अहिले पनि बनेपा ऐतिहासिक थलोका रुपमा परिचित छ । मोहन दुवाल भन्छन्, “मलाई थाहा छ, हामी सानो हुँदा बनेपामा बस चल्थेन । धनराज नाम गरेका एक जना ड्राइभर थिए । उनको एउटा लहरी थियो । जुन ट्रकजस्तै थियो । उनको लहरीमा हामी चढेर भक्तपुरसम्म पुग्थ्यौं । त्यहाँदेखि हिँडेरै काठमाडौं जान्थ्यौं । त्यो त आज सपना जस्तै भएको छ ।”
त्यो लहरी भक्तपुरभन्दा पर काठमाडौं तिर आउँथेन । लहरी चल्ने कच्ची बाटो त्यसै बेला बनिसकेको थियो । आउँदा जाँदा साँगामा खाजा खाएको मोहन दुवाल सम्झिन्छन् । बनेपा फर्किँदा भने कहिले हिँडेरै फर्किन्थे । कहिलेकाही त्यही लहरी पनि फेला पर्थ्यो । त्यो एउटामात्रै लहरी भएकोले जाने आउने मानिसहरूको भीड हुन्थ्यो ।
बाल्यकाल यसरी अनेक कर्म गर्दै र पढ्दै बिताएका साहित्यिक पत्रकार मोहन दुवालले एसएससी भने केही ढिलो गरे । उनले २०२३ सालमा मात्रै एसएलसी पास गरे ।
०००
मोहन दुवाल सामाजिक काममा सक्रिय थिए । त्यसले उनले सोझासाझा र निमुखालाई सहयोग गर्दै हिँड्न थाले । उनले जिल्लामा सरकारी दौडाहा टोली आउँदा भ्रष्टहरूको विषयमा पनि उजुरबाजुर गरिदिन्थे । त्यसैले मोहन दुवाललाई भ्रष्टहरूले अनेक लाञ्छना लगाएर चेपुवामा पारेका थिए । तरपनि उनी डराएनन् । आफूलाई लागेको कुरा खुलेर बोल्दै हिँडे ।
आफ्ना पिताजी गणेशबहादुर दुवाल भने गान्धीवादी भएको उनी बताउँछन् । तुलसी मेहर श्रेष्ठ उनका पिताजीका साथी थिए । तुलसी मेहर गान्धीवादी भएकोले उनका पिताजी पनि गान्धीवादी दृष्टिकोण राख्दथे ।
मोहन दुवाललाई सम्झना छ, तुलसी मेहर उनको बनेपास्थित घरमा आइरहन्थे । मोहन प्रगतिशील चेतका भए पनि तुलसी मेहरसँग सम्बन्ध राम्रो थियो ।
एक पटक बनेपा आउँदा तुलसी मेहरले केही भारतीय व्यक्तिहरूलाई पनि सँगै ल्याएका थिए । एकदिन तुलसी मेहरले मोहनलाई कुनै कामका लागि धुलिखेल जाउँ भने । तर भरखरै कम्युनिष्ट विचारका किताबहरु पढ्दै गरेका मोहन दुवालले आफूलाई भारतीय दलालको आरोप लाग्ला भनेरै पिताजीका साथी तुलसी मेहरसँग जान्न भनिदिए ।
मोहन दुवाल भन्छन्, “यसै कारणले गर्दा म तुलसी मेहरसँग धुलिखेल गइनँ । तर धेरै पछि आएर मैले एउटा लेख नै लेखेँ, तुलसी मेहरका विषयमा । त्यो लेख प्रायश्चित गरिएको लेख हो भन्दा पनि हुन्छ । त्यस लेखमा मैले तुलसी मेहरलाई चिन्न सकिनँ भनेर लेखेको छु । सायद त्यो तुलसी मेहरको स्मृति ग्रन्थमा प्रकाशित छ ।”
यसरी उनको बाल्यकाल बितेसँगै किशोरकाल पनि बित्दो थियो । एसएलसी पास गरिसके पछि उनले आइएको परीक्षा राजविराजबाट दिए ।
किन ? प्रश्न उठ्यो ।
मोहन दुवाल हाँसे । भन्न थाले, “मेरोे उमेरका साथीहरू अगाडि बढिसकेका थिए । म पछि परेँ । त्यसैले बनेपाबाटै परीक्षा दिँदा सबैले जिस्काउँछन् भन्ने मलाई लाग्यो । त्यसैले प्राइभेटबाट आइएको फर्म भरेँ र सेन्टर राजविराजमा राखेँ । राजविराजका एकजना साथी थिए मेरा । उनैले उतै हिँड भने पछि मैले राजविराजबाट परीक्षा दिएको हुँ ।”
उनलाई लाज लागेरै राजविराज पुगेका थिए परीक्षा दिन । पढाइमा लामो ग्याप भइसकेको थियो । राजविराज गएर जाँच दिएर उनी पास पनि भए । बीए भने उनले काठमाडौंमा नै पढे । त्यसबेला पद्मोदय स्कूलकै भवनमा शिक्षा विषयको कक्षा संचालन हुने गरी कलेज खुलेको थियो । त्यसलाई विस्तार क्याम्पस भनिन्थ्यो । त्यहाँ बीएडको रात्री कक्षा संचालन हुन्थ्यो । उनी बीएड पढ्न भर्ना भए ।
मोहन दुवाल भन्छन्, “त्यस कलेजमा मेरा सहपाठी थिए रायन, मन्जुलहरू । त्यसबेला दुबै बीचमा खासै बोलचाल थिएन । म भने कहिले मन्जुलसँग चिया पिउन निस्कन्थेँ । कहिले रायनसँग ।”
०००
मोहन दुवालले कलिलै उमेरदेखि कविता लेख्न सुरु गरेका हुन् । उनको घरको वातावरण साहित्यिक थियो । उनका दाजु पनि कथा कवितामा कलम चलाउँथे । त्यसैले पनि उनी समय मिल्दा कविता लेख्ने गर्थे ।
उनका पिताजी र दाजुको साहित्यप्रतिको रुचीले नै मोहन दुवाललाई पनि साहित्यले तानेको थियो । उनको घरमा उनी किशोर अवस्थाको हुँदा उनको घरमा सिद्धिचरण श्रेष्ठलगायतका साहित्यकारहरु आएको उनलाई सम्झना छ ।
महाकवि देवकोटाको ‘मुना– मदन’, हृदयचन्द्रसिंहको ‘कुरा साँचो हो’, जस्ता किताबहरू पढेर उनी हुर्किएका थिए । त्यसैले उनले त्यही उमेरदेखि लेख्न सुरु गरे । त्यसबेलाका साहित्यिक पत्रिकाहरूमा उनका कविता वा रचना छापिएको हुन्थ्यो ।
भवानी घिमिरे पनि भानु पत्रिका लिएर उनको घरमा पुगेका हुन्थे । भानुमा पनि उनको रचना छापिएको थियो, त्यसबेला । यिनै पत्रिकाहरूमा लेखिएको रचनाले उनको साहित्यलाई निरन्तरता दिएको थियो ।
त्यसै क्रममा उनले बिगुल भन्ने पत्रिका निकाल्न सुरु गरे । उनले विगुल २०२७ साल तिर प्रकाशन गर्न थाले । त्यसलाई विचार प्रधान पत्रिकाकोरुपमा प्रकाशन गरे । त्यसमा प्रगतिशील सामयिक रचनाहरू संकलन गरिन्थ्यो ।
२०२९ सालमा पनि विगुल प्रकाशन गरे । सरकारले एक हजार प्रति विगुल जफ्त गरेर पत्रिका ब्यान गरिदियो । उनीसँगे विगुलको त्यो अंकको एक कपि अहिले पनि उनीसँग छ ।
विगुलमा विचार लेख्दै गएका मोहन दुवालले साहित्यमा पनि कलम चलाइरहेका थिए । त्यसैले पछि उनलाई साहित्यिक पत्रकारितालाई अगाडि बढाउन सहज बनायो । २०४५ सालपछि उनले आफूलाई पूर्णतः साहित्यिक पत्रिकाको सम्पादन र प्रकाशनमा समर्पित गरे ।
त्यस अघि उनले ‘उत्साह’को सम्पादन गरे । उनको जिम्मामा थियो निबन्ध विधा । उत्साहमा आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, पारिजात, रमेश विकल र उनी गरेर पाँच जना सम्पादक थिए । त्यो पत्रिका ‘उत्साह’को १२ वटा अंक निस्कियो ।
०००
अहिले ‘जनमत’ साहित्यिक मासिकको सम्पादनमा उनी सक्रिय छन् । यो साहित्यिक पत्रिका बनेपाबाटै प्रकाशित गर्छन् । पहिले काठमाडौंबाट छापिए पनि अहिले बनेपाबाटै छापिन्छ । ०४५ साल अगाडि ‘जनमत’ विचारप्रधान पत्रिका थियो । विचार प्रधान भनेरै उनले जनमत दर्ता गराएका थिए । तर उनी राजनीतिमा पनि सक्रिय रहेकोले उनको नाममा पत्रिका दर्ता गर्न मानेनन् जिल्ला प्रशासनका अधिकारीहरू । त्यसैले जनमत पत्रिका उनकी पत्नी भारती श्रेष्ठको नाममा दर्ता भयो ।
तर त्यसमा काम मोहन दुवालले नै गर्थे । त्यसबेला ‘जनमत’ प्रकाशन हुँदा उनले धेरै हण्डर खाएका छन् । उनकी पत्नीको नाममा दर्ता भएको पत्रिका ‘जनमत’मा छापिएको विचार प्रधान लेख रचनाका कारण बेलाबेलामा प्रहरीले उनकी पत्नीलाई समाउन आउँथ्यो । उनी सम्पादक थिइन् ।
मोहन दुवालले एउटा प्रसंग सुनाए, “एक पटक एउटा सम्पादकीयले गर्दा सुत्केरी भएकी मेरी पत्नीलाई समाउन आएको थियो प्रहरी । मैले जनमतमा सम्पादकीय लेखेको थिएँ, ‘नेपालमा एउटा यस्तो समूह छ जसले सुनलाई पित्तल र पित्तललाई सुन बनाउने शक्ति बोकेको छ ।’ यही सम्पादकीयले सुत्केरी भएकी मेरी पत्नीलाई समाउन आएका थिए । पछि म आफै वारिस भएर मुद्दा लड्न गएँ ।”
पछि मोहन दुवाललाई लाग्यो, सधैको कचकच भन्दा अलग बाटो बनाउदा राम्रो । त्यसैले उनले जनमतलाई साहित्यिक पत्रिका बनाउने सोचे र २०४५ सालदेखि उनले जनमतलाई साहित्यिक पत्रिकाका रुपमा स्थापित गरे ।
उनका अनुसार प्रारम्भिक दिनमा त साहित्यिक पत्रिका निकाल्न कठिन थियो । तर निकाल्ने आँट कहिले पनि धरमर हुन दिएनन् । उनले वादलाई साहित्य लेखनभन्दा टाढै राखे । हरेक साथीको रचनालाई जनमतमा स्थान दिँदैगए ।
उनी भन्छन्, “मेरो दृष्टिकोण सम्पादकीयमा जान्छ । बाँकी सबै साहित्यकारको रचनालाई समानरुपमा पत्रिकामा प्रकाशन गर्दै आएको छु । मैले कम्युनिष्ट, कांग्रेस वा राप्रपा भनेको छैन ।”