site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बुट

पुण्यसागर मरहट्टा


भासिली मुखामदोविच मुखामदोव– यिनको नाम । बाबुको नाम मुखामद फैसलोविच मुखामदोव । नामले जनाएकै हुनुपर्छ, ताज्जुबलाग्दो सांस्कृतिक बिम्ब छ यी नामहरुमा । मुखामद रुसीकृत इस्लामिक नाम हो । रुसीहरु ह उच्चारण गर्न जान्दैनन् त्यसैले मुहम्मद मुखामद हुन्छन् । यी सँगै पढेका एक नेपाली हेमलाल नेपाल फर्किनुअघिसम्म खेमलाल भएको मेरै आँखाले देखेको छु । फैसलोविच फैसलको छोरो भएकोले भनिएको हो, थर त थर भैगयो । फैसलका छोरा मुखामद, मुखामदका छोरा भासिली । ७० वर्ष ‘याजिक लेनिना’, लेनिनको भाषाले भाषिक मात्र होइन सांस्कृतिक अतिक्रमणसमेत गरेकै हो ताजिक समुदायमा, त्यसैको ज्वलन्त उदाहरण हो मुसलमानी नामको रुसी रुपान्तरण । यो कथा तिनै भासिलीको हो जोसँग म ३१ वर्षदेखि निरन्तर छु, घोटिइरहेको छु र सगर्व यो कथा सुनाइरहेको छु ।

भासिली पन्ज नदी पारी जन्मिन्थ्यो भने सायद अफगान हुन्थ्यो, र सायद अहिले जीवितसम्म पनि हुन्थ्यो–हुन्नथ्यो ! तर ऊ ताजिकिस्तानपट्टि जन्मियो सन् १९६८ जुलाई २१मा । सानो बस्ती थियो पन्ज नाम गरेको, त्यहीँ जन्मियो । पन्ज नदीको वरदान त्यस फाँटमा प्रसस्त उब्जाउ हुने खेत थिए । हजुरबा फैसल त्यही बस्तीमा जुत्ता सिलाउने काम गर्थे, जुत्ता सिलाएर नै छोरा मुखामदलाई पाइलट बन्न प्रेरित गर्दै रहे । मुखामद पाइलट त भए, तर सोभियत सेनाको अफिसर भए र मस्कोनजिकै कलिनिन भन्ने ठाउँमा सरुवा भएर गए । जतिखेर फैसलको निधन भयो, त्योताका नदीपारि भीषण युद्ध चलिरहेको थियो तसर्थ बाउको अन्त्येष्टिमा सोभियत सेनाका वायुयान अफिसर आउन सक्ने सम्भावना नै रहेन । युद्धको बाछिटा त भौगोलिक सीमाको तारबारले  के छेकियोस् ? भासिली मुखामदोविचलाइ प्रष्ट सम्झना छ, बाबु मुखामदले भनेको  म मेरो कर्तव्यबाट विमुख भएको छैन, अल्लाहले सबै देखिरहेकै छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भासिली मुखामदोविच याने कि हाम्रो भास्या रुप, रङ्गरोगन र बोलिका लवजका आधारमा कालिनिनमा जसरी हुर्कंदै गर्दा निख्खर रुसी देखिँदैनथ्यो उसरी नै मिन्स्कको बेलारुस्की पोलितेख्निछेस्की इन्स्तितुत (बेपोई) मा गिद्रोस्त्रोइचेल (हाइड्रोकन्स्ट्रक्सन) इन्जिनियरिङ पढ्न भर्ना हुन जाँदा देखिन्थ्यो । स्वाभाविक थियो ऊ कालिनिन्मा जसरी अल्पसङ्ख्यक थियो, उसैगरी मिन्स्कमा पनि अल्पसङ्ख्यक नै थियो । पन्ज उसको  पुख्र्यौली थलोबाहेक केही थिएन, त्यसमाथि पछिल्लो समय युद्धको बाछिटा र त्यही बाटो सोभियत सेना ओहोरदोहोर गर्ने हुँदा त्रासदसमेत थियो । कसैले भास्यालाई सोध्यो भने, मेरो घर कालिनिन हो भने पनि कसैले पत्याउन्नथ्यो, सोधिहाल्थ्यो– अनि मूलघर नि? पन्जको उच्चारण सुन्नासाथ अधिकांश ऊसँग परपर हुन खोजिहाल्थे । मलाई तिथिमिति कन्ठाग्र किन छ भने अघि भनेझैं म विगत ३१  बर्षदेखि भास्यासँग छु । भास्या कालिनिनबाट मस्कवा (मस्को) पुगेर मलाई साथ लिएको  हो । मस्कवाको बेलारुस्की भग्जाल (रेल स्टेसन), मिन्स्कको भग्जाल, त्यहाँको त्राम्बाई (ट्राम), मेट्रो, ग्लाब्नी कोर्पुस (इन्स्टिच्युटको प्रमुख प्रशासनिक भवन), पित्नात्सती कोर्पुस (भवन नम्बर १५ जहाँ सिभिल र आर्किटेक्चर विषयको पढाइ हुने गथ्र्यो), सेस्नात्सती ओब्सेझिचिए (१६ नम्बरको होस्टेल), त्यो होस्टेलको २११ नम्बर कोठा एकएक कुरा मेरो स्मरणमा छ, किनभने भास्याले मलाई ती सबै स्थान पु¥याएको, घुमाएको, लतारेको छ । 

मेरो र भास्याको भेट मस्कोको चेन्त्राल्नि गुम (सेन्ट्रल सुपरमार्केट) मा भएको थियो । ऊ त्यतिखेर भर्खर २ वर्षे अनिवार्य मिलिटरी सेवा सकेर आएको थियो । सन् १९८८ जुलाई ७ तारिख, हामी भेटियौं र आजपर्यन्त हामी साथै छौं । हामी त्यसपछि रेल चढेर मिन्स्क गयौं । जुलाई १०, १९८८, मीठो घामले हामीलाई स्वागत गरेको त्यो प्रहर म बिर्सिन सक्दिनँ । हामी ग्लाब्नी कोर्पुस पुग्यौं, हामीलाई नतालिया पेत्रोभ्ना नाम गरेकी एक अधबैंसे कर्कस महिलाले स्वागत् गरिन् । चुरीफुरी हेर्दा उनी ठूलै ओहदाकी होलिन्जस्तो लागेको थियो । देकानात (डिन अफिस) कि सेक्रेतार्सा (सेक्रेटरी) रहिछन् । उनको फर्मान थियो, नु ताक रिब्याता, सिबोद्न्या वि ब्से स्पोकोइना पाइएदिचे ओब्सेझिचियु (ल ठिटाठिटीहरु, आज तपाईंहरु शान्तसँग होस्टेल जानुस्), जाफ्त्रा ब जेबिज छ्यासोव, प्रिएझाइचे सुदा यी म्ई ब्से पाएजिम ना  कर्तोफ्ल्यु । (भोलि बिहान नौ बजे यहीँ आइपुग्नु, अनि हामी सबै आलु खन्न जानुपर्छ ।) मलाई लाग्यो, यो भास्या कतै कृषि इन्जिनियरिङ पढ्न त आएन ? त्यसो होइन रहेछ, पूर्व सोभियत सङ्घमा कुनै पनि विश्वविद्यालयमा नयाँ आउने विद्यार्थीलाई एकापसमा घुलमिल गराउन एक महिनाजति काल्खोज (सामुदायिक खेती) भएका ठाउँमा लगेर काम लगाउँदा रहेछन् । आलुको फसल भित्राउने समय पर्ने हुँदा किसानलाई व्यापक श्रमशक्ति चाहिने र विश्वविद्यालयले विद्यार्थीको घुलमिल बढाउने अवसर पाउने हुँदा अहिलेको भाषामा ‘विनविन’ हुने यो असल संस्कृति रहेछ भन्ने महसुस भएको छ । भन्न त कतिले यो एक महिनामा केही छात्राहरु  दोजिया भएर फर्किन्छन् भन्थे । हाम्रो पालामा त्यस्तो देखिएन । दुई–चार जोडी भने बनेका हुन्, पछिसम्म ती लठारिएर हिँडेका पनि हुन् । हाम्रो भास्यालÞाई कुनै निना, ओल्या, तान्या, अक्साना आदिले पत्याएनन् । किनभने, ऊ रुसी देखिँदैनथ्यो र ऊ रुसी थिएन पनि । ऊ एक अल्पसङ्ख्यक थियो । आधिभन्दा बढी उसका  पातोक (ब्याचका)लाई त ऊ एक सोभियत छात्र हो भन्ने पनि थाहा थिएन, ऊ तिनका लागि या त छुजोई (पराई) थियो, या इनस्त्रानेच (विदेशी) थियो ।  

विश्वविद्यालयका प्रारम्भिक दिन रमाइला हुने गर्छन् । फुक्काफाल हुन पाइने, बाबुआमाको बन्धन नहुने, भोद्का, सामागोन्का (घरेलु रक्सी), सिगरेट, साला (नूनमा डुबाइएको बङ्गुरको छालासहितको बोसो), आलु– आहा क्या रमाइलो जीवन ! त्यसमा पनि एउटी पाद्रुस्का (केटी साथी) भए के चाहियो ? भास्यासँग तबसम्म सबै थिएन, जबसम्म सेमेस्टरको अन्त्यमा होस्टेलको पाँचौं तलाको कमन रुममा डिस्कोथेक चलेन । डिस्कोथेक पनि होस्टेलको एउटा संस्कृति थियो त्यसबखतको । त्यो डिस्कोमा नै हो उसले पहिलोपल्ट पÞmर्जाना बानु सिकन्दरलाई देखेको । फर्जाना बानु सिकन्दर, नाम सुन्दा यिनी कुनै मुसलमानी देशबाट आएकीजस्ती लाग्छिन् । ताज्जुब त त्यतिखेर लाग्छ, जतिखेर यो थाहा पाइन्छ– उनी विश्वकै कुनै बेलाको एकमात्र हिन्दु अधिराज्य नेपालको राजधानी काठमान्डु उपत्यकाको दक्षिणी सहर पाटनबाट आएकी हुन् । भाइ देगस् मन्दिरबाट उत्तर, ठूलो घन्टीबाट पश्चिम, कृष्ण मन्दिरभन्दा दक्षिण मुह्मद्ल गल्लीसम्म चुराधागो व्यापारीको साम्राज्य छ पाटनमा । त्यही व्यापारी घरानामा जन्मेकी फर्जाना मङ्गलहितीको ठीक पूर्वपट्टिको आदर्श कन्या निकेतन स्कुल पढेकी हुन्, हिन्दी, उर्दु जान्दिनन्, नेपाल भाषामा निर्बाध संवाद गर्न सक्छिन् । नेपाली भाषा नै मातृभाषा मान्दछिन् । नजिकैको पुल्चोक क्याम्पसबाट रेफ्रिजरेसन एन्ड एयर कन्डिसनिङको ओभरसियर लेबल टपेपछि सोभियत सरकारको छात्रवृत्तिमा उनी मिन्स्क आइपुगेकी हुन्, एरेभानमा पद्फाक (१ वर्षे रुसी भाषाको कोर्स) सकेर । यिनै फर्जानाको अहिलेसमेत ट्विटर ह्यान्डलको नाम ‘यले मैचा’ छ भन्दा अचम्म लाग्ला । फर्जाना र भास्या दुवैले एकार्कालाई प्रेम गरे, सघाए, गतिलो गरी पढे । फर्जानाले पनि हाइड्रो नै पढ्ने गरी विषय परिवर्तन गरिसकेकी थिइन् येरेभानबाट मिन्स्क आउँदा नै । त्यसैले दुवै एकै कक्षामा पढे, सँगैका सङ्गातीहरुले झैं चौथो वर्षको अन्तिमतिर बिहे गरे । पाचौं वर्ष सकेर दुवैले क्रास्नी डिप्लोमा (विशिष्ट डिग्री) ल्याए र अरु सबै ग्राजुएटझैं कहाँ जाने, के गर्ने द्विविधामा परे । दुवैका रुकाभादिचेल (सुपरभाइजर) सिर्गेइ बकाएभले आस्पिरान्तुरा (पएिचडी) गराउने जिम्मा लिए र दुवै मिन्स्कमै रहेर पीएचडी गर्ने निर्णय गरे । 

१९९७ जुन २३ मा दुवैले आआफ्नो थेसिससमेत डिफेन्ड गरे र दोक्तोर तेख्निछेस्किख नाउक (पीएचडी) उपाधि प्राप्त गरे । पुनः करियरको पिरलो त थियो नै तथापि सिर्गेइ बकाएभकै सिफारिसमा करिब २०० किमी टाढाको मगिल्योभ सहरमा रहेको पोलितेख्निकल इन्स्टिच्युटमा दचेन्त (रिडर)को जागिर लिएर गए दुवैजना १९९७ अगस्ततिरै । मलाई पनि साथै लगे । पढाइको दौरानमा साइटभिजिटमा बाहेक म उनीहरुको साथमा हुन्नथेँ । पछि उनीहरु दुवै प्राध्यापनमा हुँदा त झन् मेरो काम शून्य थियो भन्दा पनि भयो ।

दुवैको परिश्रमी बानी, खँदिलो ज्ञान र सुरु हुँदै गरेको सुखद भविष्यले उनीहरुलाई निकै माथि लैजाँदै थियो । तर त्यहाँसमेत जातिभेद, नश्लभेद राजनीति बनेर पसिहाल्यो । सायद ७० वर्षसम्म गुम्सिएको नश्लवाद निस्कने क्रममा थियो र अराजकता बनेर झाङ्गिन खोज्दैथियो । भास्या त्यतिखेर उन्नतिको क्रममा थियो र ग्लाब काफेद्री (विभागीय प्रमुख) भैसकेको थियो । फर्जाना प्रोफेसर भैसकेकी थिई । फिरोजा जन्मिसकेकी थिई । कुनै एक विद्यार्थीले भास्यालाई ‘तँ जहाँबाट आइस्, त्यतै जा’ समेत भनेछ । उसको मन दुखेकै थियो र सोच्यो– कहाँ जाउँ म ? कुन हो मेरो ठाउँ ? पन्ज कि कालिनिन ? कि मिन्स्क वा मागीलेव ? त्यस दिनदेखि भास्या चिढचिढा भैसकेको थियो । एकदिन उनीहरुको कवार्चिरा (अपार्टमेन्ट) मा फोन आयो र कुनै अपरिचितले भन्यो– ‘तिमी इनास्त्रानेच (विदेशी) हरुलाई बच्चासहित तिमीहरुले भर्खर किनेको गाडीमा जलाइदिनेछौ, ज्यान बचाउन मन छ भने एक हप्ताभित्र बेलारुस छोडेर भाग ।’ सम्भवतः यो धम्कीको वजन थिएन यद्यपि यी विद्वान् जोडीलाई आतेसको जोरन हाल्न काफी थियो । जसोतसो यस्तो त्रासदीमा पनि बाँचेकै थिए, अब भने सरकारसमेत वैरी निस्कियो । उनीहरु दुवैलाई नालोग (कर) छलेको आरोप लाग्यो, किनभने दुवैजनाको बेलारुसी नागरिकता थिएन । निश्चय नै यो उनीहरुको अनभिज्ञता त थियो नै, विश्वविद्यालयभित्रको आन्तरिक राजनीतिसमेत बलेको आगोमा घ्यु थप्न पर्याप्त थियो । अब साँच्ची भास्या उपयुक्त समयमा कुम्लो कसेर बेतोड भाग्न तयार भइसकेको थियो । 

भास्या एकदिन क्लास सकेर आयो, अरु केही बोलेन । साह्रै असहज हुँदा पनि फिरोजसँग मुस्काउने भास्या आज अर्कै देखिन्थ्यो । ‘मोझेत टेब्ये ने भाझेन नो पुस्त खाछु स्काजाच द्लया सामोसोभेर्नस्ति (तिमीलाई अनावश्यक होला, तर फगत आफ्नो मनको शान्तिको लागि भन्दैछु) भोबसेम् मीरे, त्रुद्ना झिच मेन्सेभिकम् । (संसारभर, जहाँ पनि अल्पङ्ख्यक भएर बाँच्न गाह्रो छ ।) यति भनिसक्यो, लगालग दुई सट भोड्का दोकन्छा (ग्याम्बे) ग¥यो, नून चाट्यो, छयोर्नी ख्लेब (कालो पाउरोटी) टोक्यो र मलाई हेरेर भन्यो– मानौं साह्रा पÞmसादको जड मैं हुँ । भासिली त्योताका त्यस्तै नबुझिने व्यवहार, त्यस्तै नबुझिने कÞुरा गर्ने भएको थियो । त्यस दिन फर्जानाले भेडाको मासुको प्लोभ (बिर्यानीजस्तो पुलाउ) बनाएकी थिई । त्यही खाए, खासै दोहोरो संवाद नगरी भास्या सोफामा सुत्यो । फर्जाना र फिरोजा, फिरोजाको कोठामै सुते । त्यसको ठीक १९ दिनपछि त्यसैगरी थकित भास्या घर आयो । क्लान्त उसले सुनायो– ज्नाएस, इनग्दा खाछु उबिच सिब्या (मलाई आत्महत्या गरौं जस्तो लाग्छ बुझ्यौ ?) फर्जानाले हत्त न पत्त मुख थुनीदिँदै सोधी– ’म्वि व्से उमीराएम, ने झाल । तोल्का नुझ्नी ज्नाच काक झिच रादी । काक त्यि खोछेस ?’ (हेर, हामी सबै एक दिन मर्नै छ, त्यो चिन्ताको विषय होइन । खुसीसाथ कसरी बाच्ने महत्वपूर्ण हो । तिमी के चाहन्छौ ?) यो प्रश्नले केही हदसम्म भास्याको आँखामा चमक ल्यायो । उसले एक निमेष पनि नसोची जवाफ दियो– मलाई यो सोभियत भूमि भनिने ठाउँबाट भाग्न मन छ । यसले निरपराध मलाई अल्पसङ्ख्यक मात्र बनाएन, पहिले मेरो माटो खोस्यो र मेरो आफ्नै माटोमा विदेशी बनायो । पाइएखली ब्नेपाल (जाउँ नेपाल) र त्यहीँ सङ्घर्ष गरौं । एक मन त फर्जानाले त्यो त्यति बुद्धिमानी निष्कर्ष नहुन सक्छ भन्ने मानी, तथापि पारिवारिक सुखका लागि ऊ त्यो जटिल कदम उठाउन तयार भई ।  

सन् २००४ मार्च १९ सदाका लागि त्यो घिड्घिडो त्यहीँ बिसाएर भास्या, फर्जाना र फिरोजा फेरि फर्किने समेत आश नराखी उडे मस्क्वा, दिल्ली हुँदै काठमान्डु । थिन त जाम् डेकान थियो नि भास्या झिटी गुण्टा कसेर निस्किँदा, जाम डेकान भनेको रुसी भाषामा सहायक डिन । तर नेपालमा त्यो पेशागत उचाई लिन नसक्ने गरी उसका पखेँटा कुँजिइसकेका थिए । भाषा, रोगन अनि तिलचामले कपाल, यी निर्घातका बाधक थिए । दैलोदैलो चहारेर भास्या र फर्जाना जब रोजगारी नपाउने छनक पाएर फर्किन्थे, बेलाबेलामा कुन दशाले लघारेर उठीबास गरायो भनेर मैलाई बजार्थे, त्यसमा मेरो के दोष ? कताको जन्म, कताको कर्म, कताको जिउनी विचरा भासिली मुखामदोविचको ! म साथै छु र महसुस गर्न सक्छु, यी दुवै  विद्वान् हुन मन पराए, सायद त्यसैले धनले न करोडौंको चिठ्ठा पर्नेजस्तो भाग्यले, दुवैले यिनलाई कहिल्यै साथ दिएन । 

२००९ मा पटके काम गरेर हत्तुहैरान ती दुवैको धैर्यले हात उठायो । मलाई त निकै रगडेकै हुन्, मेरो रगडाइले समेत उनीहरुको भाग्यमा चमक ल्याइदिएन । दुवैले के बुझे भने अल्पसङ्ख्यक भएर बाँच्न नेपालमा पनि त उही हो । अब फेरि करिब ५० को उमेरमा क्यानडा बसाईं सरेर जाने निधो गरे । बेलारुसबाट कुम्लो कुटुरो कस्न जति गाह्रो नेपालबाट क्यानडा जाने बेलामा पक्कै भएन । पहिलो पटक जरोकिलो उखाल्न पो कष्ट हुन्छ त, त्यसपछि त बानी पर्दो रहेछ । 

सन् २०१० जुन महिनाको अन्तिममा मोन्ट्रियल उत्रे भास्या, फर्जाना र फिरोजा । त्यसको केही समयपछि उनीहरुको फ्रेन्चले रुप देखायो र २०११ मा टोरोन्टो सरे । उनीहरुको एक जोडी कोलम्बियन साथीले गरेको सहयोगले बिल्डर्स कम्पनीमा काम पाए दुवैले । फर्जाना अफिसमा काम गर्न थाली, भास्या कन्स्ट्रक्सन साइटमा । सम्भवतः यो नै यस्तो समय थियो जतिखेर मेरो भरपूर प्रयोग ग¥यो भास्याले । म अब थाकिसकेको थिएँ, तर भन्न सक्दिनथें– भास्या, अब मलाई आराम देऊ ।
कुनै एकदिन भास्याको सेल फोनमा एउटा कल आयो– ७०५ जनसङ्ख्या अल्पसङ्ख्यकको भएको सहर सिटी अफ ब्राम्प्टनबाट । उताबाट के भन्यो थाहा भएन, यताबाट भास्याले भनेको भने बुझियो । आउँदो बिहीबार, बिहान ९ बजे, बिल्डिङ प्लान एक्जामिनरको इन्टभ्र्यु । त्यसको ३ हप्तापछि फेरि फोन आयो र ऊ खुसीले चिच्यायो– बोझे मोई, ना कानेच त– ओहो भगवान्, बल्लबल्ल भास्याले अब अफिस जब पायो । अब फिरोजा पनि विश्वविद्यालय जाने भैसकेकी थिई । घरमा खुसी आउन थालेको थियो । त्यसै सिलसिलामा एकदिन डाइनिङ टेबलमा भास्यालाई फिरोजाले मलाई देखाएर सोधी– पापा,  त्बाई तुफ्ली पस्तारेली इ पाख्नुत तोझे । एस्ली तेबे आनी नेनुझेन, जाछेम ती दीर्झिस इख ? (बाबा, ती पुराना भए, गनाउँछन् पनि । यदि अब तिनको काम छैन भने किन राखिरहन्छौ ?) मेरो मुख थियो भने भन्थेँ– हो भास्या, मलाई अब आराम देऊ । फिरोजा सही छिन् । मैले बोकेर तिमीलाई यस सुखद् गन्तव्यसम्म ल्याएँ र मैले तिमी अब दुःखी हुने अवस्था देखिनँ । यस संसारमा त्यस्ता साथी हुन्छन्, जसको काम दmुखमा साथ दिने सम्ममात्रै रहन्छ । म त्यस्तै साथी हुँ । म त त्यही तिम्रो कन्स्ट्रक्सन साइटमा लगाएर जाने स्टिल टो बुट जो हुँ । जहाँ अब सायद तिमीलाई जानैपर्दैन ।

भास्याले मलाई उचाल्यो, एकपटक सस्नेह चुम्मा खायो र फिरोजालाई हेरेर भन्यो– बेज एतोवा, या नेस्मोग बीच इन्झेनेरोम । (यो बिना म इन्जिनियर बन्न सक्दिनथेँ ।) फिरोजाले के बुझी म भन्न सक्दिनँ, फर्जानाले पनि भास्याले जस्तै एकबाजी मलाई चुम्मा खाई र भनी– यसैको साथले हामी यहाँ छौं । यो निर्जीवजस्तो देखिन्छ, तर यसले हाम्रो दुःख बाँचिदिएको छ । हाम्रो नेपालमा किन रुख, ढुङ्गा, झार पुज्छन्, बुझ्दैछु । ती त्यस्ता सजीव, निर्जीव बस्तु हुन्, जो बोल्दैनन् तर सदा हामीसँगै बाँचिदिन्छन् । र, सरक्क उचालेर मलाई सोकेसमा राखिन् ।

अचेल म घोटिन्न, तर एउटा कुनामा बसेर भास्या, फर्जाना र फिरोजाका जस्ता अनेकन कथा सुनाउने रहर गर्छु । म तीसौं वर्ष सुख–दुःख देखेको एक जोडी बुट हुँ ।  
 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १३:४८
प्रतिक्रिया दिनुहोस्