
पोस्तक श्रेष्ठ
“को हौ तिमीहरु ?’’
“म चित्रगुप्त !’’ कम्प्युटर चलाएर बसिराखेको मान्छे निन्याउरो भावमा बोल्यो ।
“हाहाहा, चित्रगुप्त रे !’’ उसले अट्टाहास ग¥यो । त्यसपछि उभिरहेका अरु चारजनातिर फर्कियो अनि कटाक्ष ग¥यो । “अनि तिमीहरुचाहिँ यमदूत ?’’
“हजुर, हामी यमदूतहरु नै हौं ।’’
“के ठट्टा हो यो ?’’ ऊ जङ्गियो ।
००००
“कर्मे ? मम्मीलाई चिया भन् त ।’’
बिहानीको सयरबाट फर्किएका कर्मशील घोडसैनीले घरको पिँढीमा राखेको बेञ्चमा पत्रिका फ्यात्त फ्याँक्यो र जुत्ताको तुना खोल्न थाल्यो । खानदानी उच्च रक्तचाप र मधुमेहले उमेरमै गाँजेकोले दिनको आधा घण्टाजति हिँड्नैपर्ने बाध्यता छ । बाध्यता नहुँदो त ऊ पछाडिपट्टि घाम नपरुञ्जेल सुतिरहन्थ्यो होला । बाटोमा कुकुर–बाँदरहरुले दुःख दिने हुँदा एउटा लठ्ठी पनि सधैं बोकेको हुन्छ ।
कर्मशील घोडसैनी (नाम बेजोडको छ) व्याकरण पढेकाले भन्लान्– विशेषणको पनि कहीँ नाम हुन्छ ? हुँदोरहेछ । पुरेतलाई त्यही नाम जँच्यो । सायद राशि–नक्षत्र पनि एउटै परेछ कि क्या हो, उनै पुरेतले छोराको नामसमेत मिल्दोजुल्दो राखिदिए– कर्मनिष्ठ घोडसैनी । बोलाउँदा भने ‘कर्मे’ भनेर बोलाउँछन् सबैले । हुन त सानोमा बाबुचाहिँलाई पनि ‘कर्मे’ नै भन्थे । अहिले पनि घरमा आमाले ‘कर्मे’ भनेर बोलाउँदा बाबु–छोरा दुवै हजुर भनिरहेका हुन्छन् । कर्मनिष्ठको पनि छोरा भयो भने नाम के राख्छन् होला भनेर टोलछिमेकले अनुमान गरिसके– कर्मयोगी वा कर्मराज । कहिलेकाहीँ यो ठट्टाको विषय बन्छ, चोकको चिया पसलमा ।
श्रीमती भाग्यरुपा घोडसैनीले श्रीमान्लाई चियाको कप पेस गरी । कालो चिया, चिनीबिनाको । अलिकति चियापत्ती बढी परेछ कि क्या हो, कर्मशीलले पहिलो सुर्कोमै मुख बिगा¥यो ।
“कति धेरै चियापत्ती खन्याइछे । माइतीबाटै ल्याइस् कि क्या हो, यसरी ओइरो लाउन ?’’
“हैन, बिहानबिहानै किन मेरो माइतीको खोइरो खन्नुहुन्छ ?’’ भाग्यरुपा पनि जङ्गिइ ।
“ल ल भो, अब नकरा, मलाई नुहाउने पानी तताइदे ।’’
“पानी तातिसक्यो, बाथरुममा राखिदिन्छु ।’’ भाग्यरुपा भित्र पसी । भाग्यले उसलाई रुप त दिएकै हो, तर कर्मचाहिँ अलि खोटो दिएछ ।
कर्मशील घोडसैनी, चियाको सुर्को लिँदै पत्रिका पढ्न थाल्यो । दुई–चार पाना पल्टायो । राशिफल हे¥यो । त्यसपछि बाथरुम छि¥यो । नुवाइसकेपछि कट्टु त्यतिक्कै भुइँमा छोड्यो र कपडा फेरेर निस्कियो । एकछिन कसैसँग फोनमा गफियो । त्यसपछि बैठककोठामा टीभीअघिल्तिर रिमोट समातेर बस्यो । अनि भान्छातिर फर्केर करायो–
“ल खाना तयार गर है, आज अलि छिट्टो जानुछ । पसलमा सामान सकिएको छ ।’’
भान्छाकोठाको दृश्य अर्कै छ । श्रीमती भाग्यरुपा तरकारी काट्दैछे । प्रेसरकुकरमा सिट्ठी बजिरहेको छ, सायद त्यसमा दाल पाक्दैछ । सागको मुठो अझै खोलिएको छैन । कुनाको टेबुलमा छोरो कर्मनिष्ठ गृहकार्य गर्दैछ ।
“मामु, सर्कलमा दुईवट प्वाइन्ट कनेक्ट गर्ने र सेन्टरबाट जाने लाइनलाई के भन्छन रे ?’’
ऊ तरकारी काट्न छोडेर छोराको किताब समात्न आइपुगी । सीधै उत्तर त ऊ पनि के जान्दथी र ! धेरै पढ्न पाएको भए पो । आईए पढ्दापढ्दै बाबु–आमाले गाउँलेलाई उसको नामको पुलाउ खुवाइदिए । अर्को वर्ष कर्मनिष्ठ जन्मिहाल्यो । त्यसपछि भाग्यरुपाको पढाइमा पूर्णविराम लाग्यो । उसको दैनिकी चुल्होचौकोमै सीमित भयो । छोरो स्कुल जाने भएपछि भने गाउँकै एउटा महिला बचत तथा सहकारी संस्थामा ससानो नोकरी गर्न थाली ।
भाग्यरुपाले किताबको पाना एकछिन ओल्टाइपल्टाइ गरी र सायद उत्तरवाला पृष्ठ भेटी ।
“ल यो पेज पढ । उत्तर यहाँ छ । सोध्नुभन्दा पहिले आफैं प्रयास गर्नुपर्छ नि ।’’
“ह्या मामु, हजुरलाई फ्याट्ट आउँछ भनेर पो सोधेको । बुक पढिराख्ने टाइम छैन के !’’
भाग्यरुपाले हैरानीमा टाउको हल्लाइ ।
“रुपा, मेरो औषधि खाने बेला भयो, एक गिलाँस मनतातो पानी ल्याइदेऊ त !’’ भित्रबाट सासुको आवाज आयो । भाग्यरुपाको नाम छोट्याएर बोलाउँछिन् उनी । हिँडडुलै गर्न नसक्ने, चुल्हो बाल्नै नसक्ने त होइनन् उनी पनि । तर बुहारी भनेकै काम गर्नको लागि हो भन्ने बुझाइ थियो उनको ।
“खाना तयार भयो ?’’ भित्रबाट श्रीमान् कर्मशीलले हका¥यो ।
“मम्मी, रेक्ट्याङ्गलको एरियाको फर्मुला के हो रे ?’’ छोरो कर्मनिष्ठले अझै गृहकार्य सकेको थिएन ।
त्यहीबेला प्रेसरकुकरको सिट्ठीबाट ह्वालह्वाल्ती दाल पोखियो र चुल्हो बन्द भयो । प्रेसरकुकरतिर नजर लाउँदा यता चक्कुले आलुको बोक्रासँगै औंलाको छाला पनि अलिकति ताछ्यो । हत्तपत्त टेप लगाइ । सासुलाई पानी दिई र छोरोलाई हिसाब सघाउन बसी । ऊ बसेकी मात्र थिई, कर्मशील लुगा लगाएर, हेल्मेट लिएर निस्किहाल्यो ।
“होइन, खाना खाएर जान पर्दैन ?’’
“तैले पकाएको आफैं खाएर बस्, रुपे ।’’ उसको रुष्ट आवाजमात्र भित्र छि¥यो, मान्छे भने बाहिर पुगिसकेको थियो ।
हात काटेको पीडाले हो वा कर्मशीलको कटुबचनले हो, भाग्यरुपाको आँखाबाट तरक्क आँसु चुहियो । छोरालाई खाना खुवाइ । उसको टिफिन बट्टामा हाली र स्कुलको बसस्टपमा छोड्न गई ।
“ह्या मामु, हजुरले पुर्याउन पर्दैन । म जान सकिहाल्छु नि ।’’
छोरा अघिअघि दौडियो । आमाको मन न हो । छोरालाई भेट्न नसके पनि आँखाले भने पछ्याइरही । सासुलाई खाना खुवाएपछि हतारहतार आफ्नो कार्यालयतिर निस्की । कार्यालय नजिकै थियो, तर पुग्दा १५–२० मिनट ढिलो भइहाल्यो ।
“म्याडम, तपाईंको लागि घडी नै छुट्टै राख्न पर्लाजस्तो छ !’’ म्यानेजरले व्यङ्ग्य कस्यो ।
कार्यालय सकिसकेपछि हतारमा घर फर्की । छोरोलाई बसस्टपबाट लिएर आई । बिहान छोडेका जुठा भाँडाहरु त्यसै थिए, माझेर थन्क्याइ । चियानास्ता बनाएर सासुलाई दिइ । एकछिन करेसाबारीमा गोडमेल गरी । त्यसपछि साँझको खाना तयार गर्न थाली ।
त्यो साँझ कर्मशील ढिला आयो । फर्केर आउँदा खुट्टा धर्मराएको थियो । बोली लर्बराएको थियो । भाग्यरुपा भान्छा कुरेर बसेकी थिई ।
“खाना पस्किदिऊँ ?’’
“हुन्छ ।’’
ऊ हातमुख धोएर आयो । मुखबाट पानपराग र रक्सीको मिस्रित गन्ध ह्वास्स आयो ।
“तिमीले खायौ, रुपा ?’’ कुर्ची तानेर खाना खान बस्दा उसले श्रीमतीतिर पुलुक्क हे¥यो र ङिच्च हाँस्यो । बिहान जरक्कजरक्क परेको मान्छे साँझ लयालु भएको थियो । सकेसम्म नामै नलिने, लिए पनि ‘रुपे’ भन्ने मान्छेले साँझ ‘रुपा’ भनेर चेपारे पार्नुको सङ्केत भाग्यरुपा राम्रैसँग बुझ्दथी । छ्याक्क पार्नुअघि बगरेले खसीको घाँटी सुमसुम्याएजस्तै थियो कर्मशीलको माया ।
खाना खाइसके पछि ऊ बैठक कोठामा पस्यो । टीभी हेर्न थाल्यो । भाग्यरुपाले भान्छाको काम सकी । तेल लिएर सासुको कोठमा छिरी । सासुको कोठाबाट निस्किँदा कर्मशील टीभी बन्द गरेर कोठातिर गइसकेछ । भाग्यरुपाले बल्ल राहतको सास फेरी । केही फुर्सद मिल्यो । बैठक कोठामा छिरी । जीटीभीमा ‘कुमकुम भाग्य’ शृङ्खला आउने दिन थियो । टीभी चालु गरी ।
“होइन के चाला हो, सुत्न पर्दैन ? अरुलाई पनि सुत्न दिन पर्दैन ?’’
टीभी चलेको एकछिनमात्र के भा’को थियो, अर्धनग्न कर्मशील बैठक कोठामै च्याठ्ठिँदै आइपुग्यो । भाग्यरुपाले मन मारीमारी टीभी बन्द गरी । भान्छामा गएर पानीको जग र गिलाँस लिएर सुत्ने कोठामा छिरी । कपडा फेरेर ओछ्यानमा के पल्टेकी थिई, कर्मशील फरक्क पल्टियो र एउटा खुट्टा बोकाइहाल्यो । त्यसपछि उसका हातहरु सलबलाउन थाले । शिथिल भएपछि अर्कोतिर फर्कियो र एकैछिनमा उसको नाकभित्रको मदानी चल्न थाल्यो– घ्वार्रघुर्र । उसको घुराइले भाग्यरुपा धेरैबेरसम्म निदाउन सकिन ।
उनीहरुको दैनिकी यस्तैयस्तै थिए । कुनै दिन कुनै कुरा केही बढी होला, अर्को दिन केही कम, तर दिनचर्या उस्तै थिए । घटनाक्रम उस्तै ।
००००
एकदिन ती दुईजना मोटरसाइकलमा कतै जाँदै थिए । एउटा सरकारी गाडी साइरन बजाउँदै आयो र ठक्कर देलाजस्तो गरेर नजिकैबाट बत्तिएर गयो । कर्मशीलले मोटरसाइकल छेऊ लगाउन खोज्दा असन्तुलित भयो र अगाडिको बिजुलीको खम्बामा ठोक्कियो । सडक विभागले सडक त बिस्तार ग¥यो, तर बाटो छेउको बिजुलीको खम्बा सारेन । त्यो बिद्युत प्राधिकरणको काम हो अरे ! उनीहरु सडकमा पछारिए । त्यतिसम्म मात्र याद छ कर्मशीललाई । ब्युँझदा त अपरिचितहरुले घेरिएको पायो । कुनै कार्यालयजस्तो थियो । एउटा कुर्चीमा दुब्लोपातलो मानिस कम्प्युटरमा केही टाइप गर्दैथियो । उसको साथमा अरु चारजना थिए । उनीहरु सबै असमञ्जसमा परेका जस्ता देखिन्थे ।
“यो कुन ठाउँ हो, तपाईंहरु को ?’’ कर्मशीलले हड्बडाएर सोध्यो ।
कोही बोलेनन् । सबैजना मुखामुख गर्न थाले ।
कर्मशीललाई लाग्यो, कतै आफूहरु अपहरणमा त परिएन ? सम्झँदैमा उसको मुख सुकेर आयो ।
“किन बोल्नुहुन्न ? हामीलाई यहाँ किन ल्याउनु’भो ?’’
उनीहरु कोही नबोलेपछि कर्मशीलको साहस अलि बढ्यो । ऊ फेरि कड्कियो । सम्बोधन ‘तपार्इं’बाट ‘तिमी’मा झ¥यो ।
“को हौ तिमीहरु ?’’
“म चित्रगुप्त !’’ कम्प्युटर चलाएर बसिराखेको मान्छे बोल्यो ।
“हाहाहा, चित्रगुप्त रे !’’ उसले अट्टहास ग¥यो । त्यसपछि उभिइरहेका अरु चारजनातिर फर्कियो अनि कटाक्ष ग¥यो । “अनि तिमीहरुचाहिँ यमदूत ?’’
“हजुर, हामी यमदूतहरु नै हौं ।’’
“के ठट्टा हो यो ?’’ उ जङ्गियो ।
“ठट्टा होइन, तपाईंहरु वास्तवमै यमलोकमा हुनुहुन्छ । तपाईंहरु दुर्घटनामा परेर बित्नुभयो ।’’ एउटाले शालीनतापूर्वक जवाफ दियो ।
“के नचाहिँदो कुरा गर्छौ तिमीहरु ?’’
कर्मशील र भाग्यरुपाले सर्सर्ती सबैलाई हेरे । कसैको पनि सिङ थिएन, न त पुच्छर नै । उनीहरुले गदा वा कुनै डरलाग्दो हतियार समातेका पनि थिएनन् । पहिरन पनि साधारण कर्मचारीहरुकै जस्तो थियो ।
“यमदूतहरुको त सिङ हुन्छ, दारानङ्ग्रा हुन्छ, कालो पहिरन हुन्छ, देख्दै भयङ्कर डरलाग्दो हुन्छ ।’’ भाग्यरुपाले आफूले बुझेको कुरो भनी ।
“होइन, त्यस्तो होइन । त्यो त गरुडपुराणले फैलाएको एउटा भ्रममात्र हो ।’’ चित्रगुप्तको नम्रभावमा कुनै कमी थिएन ।
कर्मशील र भाग्यरुपा दुवै ढोकातिर दौडिए । ढोका त छ्याङ अकासमा पो खुल्यो । बाहिर अन्धकार थियो । चिसो उत्तिक्कै । ग्रह, उपग्रह, उल्कापिण्डहरु वरिपरी नजिकै घुमिरहेका थिए । जोइपोइले एकअर्कालाई छामे, स्पर्शको अनुभूति नै भएन । चिमोटे, दुखेन ।
“हैन के अचम्म भयो, हाम्रो काल यति छिट्टो कसरी आउन सक्छ ?’’
“कर्मशीलजी, तपाईंले ठीक भन्नुभयो । तपाईंहरुको काल आएको थिएन । हामीहरुबाट गल्ती भयो । निशाना त त्यो साइरन बजाउँदै आउने सरकारी गाडीभित्रको भ्रष्टाचारी थियो । बिजुलीको पोलमा त्यो गाडी ठोक्किनुपर्ने । कसरी तपाईंहरु ठोक्किन पुग्नुभयो ! हामी झुक्कियौं ।’’ एउटा यमदूतले स्पष्टीकरण दियो ।
“म तिमीहरुको कुरो पत्याउँदिनँ । हाम्रो मृत्यु भइसक्यो भन्ने के प्रमाण छ ?’’ घोडसैनी कड्कियो ।
त्यसपछि चित्रगुप्तले प्रोजेक्टर अन ग¥यो । कम्प्युटर किबोर्डमा केही थिच्यो । स्क्रिनमा अकासगङ्गा, सौर्यमण्डलका ग्रहहरु– बरुण, अरुण, शनि, बृहस्पति, मङ्गल हुँदै पृथ्वीको गोला देखियो । त्यसपछि एसिया महादेश, हिमाली शृङ्खलाको काखको सानो देश नेपाल, कङ्क्रिटको जङ्गलजस्तो देखिने काठमाडौं सहर, पानीबिनाको रानीपोखरी, बालाजु बसपार्क, हारती मःमः, द सेल्फी क्याफे हुँदै दृश्य उत्तर–पश्चिमतिर गयो । अलि अघि बढेपछि बाटो छुट्टियो र दायाँतर्फको बाटो घोडसैनी गाउँतिर बढ्यो । त्यहाँ पहिला घरहरु थिएन रे ! कर्मशील घोडसैनीको जिजुबाजे काँठबाट झरेर त्यहाँ बसोबास सुरु गरेकोले उनीहरुकै नामबाट त्यो गाउँको नामकरण भएको रे ! एकैछिनमा त्रिरत्न साहूको खिच्रीमिच्री पसल, दोलालघाट कोल्ड स्टोर (फ्रिजमा कोकफ्यान्टा राखेको भएर कोल्डस्टोर भा’ हो कि !), हरियो पर्दावाला इन्स्टा क्याफे, उसले कहिलेकाहीँ तोङ्बा तान्ने ‘चौंरीखर्क शेर्पा रेष्टुरेन्ट’, इमानप्रसाद सुब्बासापको ठूलो कम्पाउन्डवाला घर, सधैं झिङ्गा भनभनाइरहने ‘धुलाबारे फ्रेसहाउस’, उसले पत्रिका किन्ने गरेको आसामी दाइको ‘तीनसुकिया पुस्तक भण्डार’, कपाल काट्ने जोगिन्दर ठाकुरको ‘सलमान खान हेयर ड्रेसर्स एन्ड सैलुन’ (सबै परिचित ठाउँहरु देखिए र अन्त्यमा उसको घर देखियो) दुई तल्ले, प्लास्टर गरेको तर रङ्गरोगन नभएको, तेस्रो तल्ला निर्माणाधीन, फलामका डण्डीहरुमात्र ठडिएको, होचो कम्पाउन्डवाल, आँगनमा एउटा बेलौतीको रुख, बरन्डामा एउटा बेन्च, दुईवटा बेतका कुर्ची, जुत्ता राख्ने बाँसको एउटा ¥याक । ए रात्तै, हो त रहेछ– बेलौतीको रूखसँगैको तुलसीको मठनजिक दुईवटा शव–जो उनीहरुकै थिए । अगरबत्तीको धुवाँ रङमङिएको थियो । टोलछिमेकका छोरा मान्छेहरु हरियो बाँसको घार बनाउँदै थिए । नाबालक छोरो कर्मनिष्ठ भाग्यरुपाको शरीरनजिक झोक्राएर बसिरहेको थियो । कर्मशीलकी आमा पिँढीमा रोइरहेकी थिइन् ।
त्यो सबै देखेपछि कर्मशील घोडसैनीलाई आफूहरुको मृत्यु भइसकेको यकिन भयो ।
“लौ बर्बाद भएछ । नयाँ सामानहरु अर्डर गरेर सप्लायरलाई एड्भान्स दिएको थिएँ, पचाउने भयो बजियाले ! बजारमा त्यत्रो उधारो गएको छ, खाने भए घिचुवाहरुले । घरमा तेस्रो तला थप्न पनि बाँकी नै छ...।’’ कर्मशील भुत्भुताउन थाल्यो । उसले बाँकी छोडेका धेरै कुराहरु सम्झियो ।
आमालाईचाहिँ सन्तानकै चिन्ता बढी हुँदोरहेछ । ‘मेरो बाबु’ भन्दै भाग्यरुपा छाती पिटेर रुन थाली । “मेरो बाबु बालखैमा टुहुरो भयो । उसलाई अब कसले खुवाउला ? कसले नुहाइदेला ? बसस्टप कसले छोडीदेला ?’’
एकछिन गनगनाएपछि कर्मशील सम्हालियो । केही सोचमा प¥यो र कड्कियो, “यमराज खोई ? छिट्टो बोलाऊ ।’’
“यमराजजी त आराम गर्न दरबार गइसक्नुभयो । आजको अफिस टाइम सकियो ।’’
“यहाँ तिमीहरुले यत्रो बित्याँस पारेका छौ, यमराजचाहिँ आराम गर्न जाने ? बालुवाटार दरबार हो यो, जे मन लाग्यो त्यही गर्न पाइने ?’’
चित्रगुप्तले फोन डायल गरे ।
“महाराज, एउटा जटिल केस आइलाग्यो, केटाहरुले गल्ती गरे । हजुरले हेर्नुप¥यो ।’’
यमराजबाट उतै दरबारमा बोलावट भयो ।
पलभरमा उनीहरु एउटा घरको आँगनमा उभिन पुगे । केको दरबार हुन्थ्यो ! झिँगटीले छाएको एउटा साधारण घर रहेछ । कर्मशील, भाग्यरुपाको घरजतिको पनि थिएन । आँगनमा टेक्नेबित्तिक्कै कर्मशीलले कटाक्ष ग¥यो ।
“यस्तो पनि दरबार हुन्छ !’’
“हामी भ्रष्टाचार गर्दैनौं कर्मशीलजी । तपाईंका नेताहरुका जस्तो हाम्रो महल हुँदैन । हामी उद्योगी–व्यापारी पनि होइनौं । न हामी वैदेशिक रोजगारमा गएर पैसा कमाउछौं ! हामीलाई त यो यमलोक धान्नै गाह्रो भइसक्यो । युगौंदेखि हाम्रो बजेटमा बृद्धि भएको छैन, खर्चचाहिँ बढेको बढ्यै छ । मुद्रास्फीति डर लाग्दो छ । पृथ्वीलोकमा मनुष्यले गरेको दानदातव्य हामीसम्म पुग्दैपुग्दैन । मन्दिरका पूजारी, भण्डारे, ट्रस्टीहरुले नै गुटमुट्याउँछन् । ती पैसा लोककल्याणमा खर्च भए न हामीसम्मु पुग्ने हो । यहाँ त खर्च चलाउनै गाह्रो भइसक्यो ।’’
घोडसैनीका जोइपोइ चित्रगुप्तका कुरा नबुझेर होला, रनभुल्ल परे ।
उनीहरु भित्र पसे । भित्र भान्छामा एकजना पुरुष भाँडा माझ्दै थिए र महिला पुछपाछ गरेर तख्तामा राख्दैथिइन् ।
चित्रगुप्तले परिचय गराए– “वहाँ यमराजजी र रानी श्यामला ।’’
“यमराज रे ! हेहेहेहे !’’ ऊ खित्का छोडेर हाँस्यो, “यस्ता जोइटिङ्ग्रे, भाँडा माझ्ने पनि यमराज हुन्छ ?’’
“के बोलेको होला ?’’ भाग्यरुपाले श्रीमान्लाई कोखामुनि चिमटी ।
“हेर मनुष्य, यो पाप र धर्म, सही र गलतको लेखाजोखा राखिने ठाउँ हो । यहाँ पुरुष र स्त्रीबीच कुनै भेदभाव हुन्न । सबैले समान काम गर्छन् । पत्नीलाई घरधन्दामा सहयोग गर्दा पति जोइटिङ्ग्रे हुँदैन ।’’ रानी श्यामला आक्रोशित भइन् । यमराजले उनलाई शान्त रहन सङ्केत गरे ।
चित्रगुप्तले यमराजलाई समस्याको बेलीबिस्तार लगायो । दुवैजनाले एकछिन विचारविमर्श गरे र सायद एउटा निक्र्यौलमा पुगे । यमराजले नम्रभावमा हात जोडे ।
“कर्मशीलजी, भाग्यरुपाजी, मेरा दूतहरुबाट गम्भीर त्रुटि भएछ । म क्षमा माग्छु ।’’
त्यसपछि यमदूतहरुतर्फ फर्केर आदेश जारी गरे, “दूतहरु हो ! वहाँहरुलाई लिएर शीघ्र पृथ्वीलोकतिर गमन गर । स–सम्मान, कुनै कष्ट नहोस् । वहाँहरुको शरीर अग्निमा समाहित हुनुअगावै तिमीहरु पुग्नुपर्छ, होइन भने घोर अनर्थ हुनेछ ।’’
“जो आज्ञा, महाराज !’’ यमदूतहरुले शीर झुकाए ।
त्यसपछि यमराज आफ्नो शयनकक्षतिर लागे । यमदूतहरु ती दम्पत्तिलाई लिएर फर्किन के लागेका थिए, रानी श्यामलाले दूतहरुलाई बोलाइन् र खुसुक्क कानमा केही भनिन् । दूतहरु मुस्कुराए । रानीले के भनिन् मनुष्य दम्पत्तिले भेउ पाउन सकेनन् ।
००००
यता पृथ्वीलोक, नेपाल देश, काठमाडौं जिल्ला, घोडसैनी गाउँ, घोडसैनी गृह ।
“बाँसको खटमा राख्न ठीक्क पारेको कर्मशील र भाग्यरुपा दुवैको शरीर चल्मलायो । नेत्रका ढकनी खुले । उनीहरु बौरिए । यताउति नजर फिराउन थाले ।
आमाको निर्जिव शरीर हेर्दै टोलाएर बसिरहेको बालक कर्मनिष्ठ खुसीले चिच्याउन थाल्यो ।
“मम्मीको होस खुल्यो, बाबा पनि ब्युँझनुभयो ।’’
“के भन्छ यो केटो !’’
मलामी जान आएका टोलछिमेकका मानिसहरु आश्चर्यचकित परे । कोही त भयभित पनि भए ।
कर्मशील र भाग्यरुपा दुवैको शरीर उठेर टुक्रुक्क बस्यो । जब उनीहरुको नजर एकअर्कामा परे, उनीहरु झस्किए । कर्मशीलले अर्को कर्मशील देख्यो र भाग्यरुपाले पनि अर्की भाग्यरुपा देखी । दुवैले आआफनो शरीरलाई छामछुम गरे । कर्मशीलको शरीर स्त्रीको थियो र भाग्यरुपाको शरीर पुरुषको । भित्तामा एउटा ऐना थियो । दुवैजना दौडेर हेर्न गए । कर्मशीलले आफूमा श्रीमती भाग्यरुपाको अनुहार देख्यो । भाग्यरुपाले आफूमा श्रीमान् कर्मशील घोडसैनीलाई देखी । लौ जा, शरीर साटिएछ !
“यमदूत हो, उल्टोपाल्टो परेछ, के अनर्थ गरेको ?’’ दुवैजना यमदूतहरुलाई खोज्न थाले । घर वरिपरी, आँगनमा जताततै खोजे । गेट खोलेर बाहिरसम्म हेर्न गए । तर उनीहरु अब यमदूतलाई कहाँ देख्न सक्थे र ! त्यहाँ जम्मा भएका छिमेकीहरु, नातागोता उनीहरुको चर्तिकला देखेर छक्क परे । उनीहरुले लख काटे– सायद दुर्घटनाले गर्दा दुवैको मस्तिष्कमा असर गरेछ । दुवै आफ्नो टाउको समातेर थचक्क बसे । रानी श्यामलाले यमदूतहरुलाई कानमा खुसुक्क के भनिछन् भन्ने कुरो भाग्यरुपाको शरीरमा बास गरेको कर्मशीलको मनले बल्ल बुझ्यो । कर्मशीलको शरीरमा कैद भाग्यरुपाले पनि बुझिछ क्यारे, ऊ मुसुक्क हाँसी, अर्थात् कर्मशील हाँसेको देखियो ।
‘‘कति न यमराजलाई जोइटिङ्ग्रे भनेर रानी श्यामलालाई चिढ्याएका थियौ नि, अब भुग्त ।’’ भाग्यरुपाले कटाक्ष गर्दै कर्मशीललाई हेरी ।
डाक्टरले मृत घोषणा गरिसकेका र दाहसंस्कारको लागि घाटमा लैजान ठीक्क पारेका कर्मशील र भाग्यरुपा दुवैजना ब्युँतिएकोले उनीहरुको जन्मसंस्कार फेरि गर्नुपर्छ भने कसैले । जसोजसो बाहुनबाजे उसैउसै स्वाहाः । उनीहरु दुवैको न्वारन गरियो । अरु पनि केही अनुष्ठानहरु गरिए । त्यसपछि उनीहरुलाई आराम गर्न भित्र लगियो । मलामी जान भनेर आएका टोलछिमेकहरु विस्तारै लाखापाखा लागे । नजिकका नातागोताहरु पनि आआफ्नै घर फर्किए ।
केही दिनसम्म त दुई पतीपत्नी झोक्राएर बसे । बेलाबेला भुत्भुताइरहन्थे । यमदूतहरुलाई गालि गरिरहन्थे । केही दिनसम्म घरको कामकाज दिदीबहिनी, काकाकाकीहरुले धानिदिएका थिए । उनीहरु फर्किएपछि कर्मशील र भाग्यरुपालाई अब आफ्नो दैनिक जीवनमा फर्किनुको विकल्प भएन ।
एकदिन कर्मशील पसल जाने तयारी गर्न थाल्यो ।
“बुहारी, कहाँ जाने तर्खर हो ?’’ आमाले सोधिन् ।
“पसल बन्द भएको धेरै भयो आमा, अब त खोल्नुप¥यो कि भनेको ।’’
“अनि छोरो नगएर तिमी किन ?’’
कर्मशील अक्क न बक्क प¥यो । हो त, ऊ कर्मशील कहाँ रह्यो र अब ! ऊ त भाग्यरुपाको शरीरमा छ र मान्छेहरुले शरीर न देख्ने हुन्, आत्मा कहाँ देख्छन् र ? कर्मशीलको चोला पाएकी भाग्यरुपा पसल खोल्न गई । कर्मशील भने भाग्यरुपाको अफिस गयो ।
कर्मशीललाई लेखासम्बन्धी केही काम आउने भए पो ! एसएलसीमा तीन पटक गुल्टेपछि पढ्न छोडेको थियो । एसएलसी फेल भएको केटासँग बिहे गर्दिनँ भनेर भाग्यरुपाले सुरुमा त अस्वीकार गरेकी थिई । तर काठमाडौंमा घर छ, व्यापार गर्छ, सुखले पाल्छ भनेर घरपरिवारले दबाबले दिएपछि उसको केही लागेन । दुईतीन दिनसम्म कर्मशील अफिसमा झोक्राएरै बस्यो । ऊ काममा केन्द्रित हुन नसकेपछि सञ्चालकहरुले आराम गर्न भनेर दुई महिनाको बेतलबी बिदा दिए । त्यसपछि ऊ घरमा गृहिणीको रुपमा थच्चियो ।
भाग्यरुपा पसलबाट फर्किंदा घरको काम त्यसै असरल्ल हुन्थ्यो । भान्छाको सिङ्कमा जुठो भाँडाको चाङ लाग्थ्यो र भुसुना भन्भनाइरहेको हुन्थ्यो । साँझको खाना पाकेको हुन्थेन, न घरको सफाइ नै भएको हुन्थ्यो । कर्मशीलले के गथ्र्यो, घरधन्दाको काम ? पहिला कहिल्यै गरेको भए पो ! एक गिलाँस पानी पनि आफैंले सारेर खान जानेन । ढलेको लोटासमेत उठाउँदैनथ्यो, बरु नाघेर हिँड्थ्यो । कहिलेकाहीँ भाग्यरुपा टोलछिमेकमा गएकी हुन्थी ।
“मम्मी छिट्टो घर आउनु रे ।’’ छोरो बोलाउन उहीँ आइपुग्थ्यो ।
“किन र ?’’
“बाबालाई चिया खान मन लाग्यो रे !’’
एक कप चियासमेत पकाएर खान सक्दैनथ्यो । भनेपछि अरु के अपेक्षा गर्नु ? एकदिन पसलबाट फर्केर भाग्यरुपा घरभित्र के पसेकी थिई, सासु कुरा लगाउन आइहालिन् ।
“यतिका दिन भइसक्यो घटना भा’को पनि, अब त तेरी स्वास्नी जाति भइसकी ए ! के भा’की यो ? हेर त कर्मे ? न घर सफा गरेकी छ, न भाँडा माझेकी छ, बल्लबल्ल मलाई खाजा पकाएर त दिई, तर कस्तो नमीठो । धुमधुम्ती बसेकी मात्र देख्छु । केही सोध्यो, जवाफ पनि उल्टोपाल्टो दिन्छे !’’
बुहारीको सानोतिनो गल्तीमा पनि रडाँको मच्चाउने, छोरालाई कुरा लगाइहाल्ने सासुको बानी नै थियो । अहिले त झन् के चुप लागेर बस्थिन् र ? यसरी पटकपटक कुरा लगाएर आजित पारेकी थिइन्, पहिला पनि । आमाको कुरा सुनेर कहिले त कर्मशीलले हातै छोड्थ्यो । ती सबै सम्झेर होला, भाग्यरुपाको अनुहार कठोर भयो । निधारको मांसपेशी खुम्चियो । आँखामा क्रोध बल्यो ।
“ओई, रुपे, एक्सिडेन्टमा परेको पनि महिनौं भइसक्यो, के नखरा गर्छेस् ? तँलाई मैले घरमा बसीबसी खान दिन्छु भनेर ल्या’को हुँ ? खुरुक्क घरधन्दा सम्हाल्छेस् कि, तँलाई माइतीतिरको बाटो देखाउँ ?’’ भाग्यरुपाले कठोर बचन बोली, ठ्याक्कै कर्मशीलको पारामा । सायद भाग्यरुपा अब प्रतिशोध साध्न खोज्दै थिई ।
कर्मशील ट्वाँ परेर हेरिरह्यो । बोल्न ऊसँग शब्दहरु थिएनन् । ऊ विवश भयो । भान्छाभित्र पसेर भाँडा माझ्न थाल्यो । पहिले कहिल्यै माझेको भए पो ? टाङराङटुङरुङ भाँडाहरु बजे । सिसाका गिलाँस खसेर फुट्यो । हातै काट्यो ।
“ल मलाई एक कप तातो चिया बनाएर ले, छिट्टो ।’’ आदेश दिएर भाग्यरुपा बैठक कोठामा छिरी ।
“मम्मी यो हिसाब कसरी गर्ने ?’’ छोरो कर्मनिष्ठ त्यही बेला घचघच्याउन आइपुग्यो ।
“जा तेरी मम्मीलाई भन् ! “ कर्मनिष्ठ झर्कियो ।
“मम्मी त तपाईं हो, के भन्नु’भाको ?’’ छोरो अलमल्ल प¥यो ।
“ए! मतलब, बाबालाई भन भनेको ।’’ कर्मशील सम्हालियो । छोरो वाल्ल प¥यो । बाबाले उसलाई कहिल्यै गृहकार्यमा सहयोग गरेको थिएन ।
“एउटा जाबो चिया बनाउने ढङ्ग पनि छैन ? तेरी आमाले केही सिकाइन, तँलाई ?’’ चियाको सुर्को लिनेबित्तिकै भाग्यरुपा च्याँठ्ठिइ । कर्मशीलको बोलीव्यवहारको पुनरावृत्ति हुन थाल्यो । घटनाक्रम दोहरिन थाले ।
‘‘ए रुपे, यो गिलाँस लिएर जा ।’’
‘‘तरकारीमा नून कति चर्को हालेको ?’’
‘‘भात किन गिलो ?’’
‘‘मेरो मोजा खोइ ?’’
‘‘मेरो सर्टमा आइरन किन नलाइदेको ?’’
‘‘घर किन फोहोर ?’’
अरु कुरा त परै जाओस्, नुहाइसकेपछि कट्टुसमेत बाथरुममै छोडेर हिँड्न थाली । लाञ्छनाको ओइरो लाग्न थाल्यो ।
‘‘फोनको बिल किन यति धेरै ? यति धेरै बात कोसँग मार्छेस् हँ ?’’
‘‘घरमा दिनभरि बसेर के गर्छेस ?’’
एकदिन छतमा लुगा सुकाउन गएको बेला पल्लो घरमा भाडामा बस्ने एउटा केटोले बोलायो ।
“दिदी, अहिले कस्तो छ, तपाईंलाई ?’’
कर्मशीललाई त्यो केटो मनै पर्दैनथ्यो । उसलाई भाग्यरुपासँग कहिलेकाहीँ कुरा गरिरहेको देख्थ्यो र मनमा नानाथरिको शङ्का उब्जिन्थ्यो । अहिले त्यसले ‘दिदी’ भनेर बोलाउँदा उसलाई असजिलो महसुस भयो ।
“त्यो पल्लो घरमा बहालमा बस्ने गुण्डोसँग किन बात मार्छेस् हँ ?’’ पतिको भूमिकामा रहेकी भाग्यरुपाले देखी र थर्काइहाली । कुनै दिन कर्मशीलले भाग्यरुपालाई त्यसरी नै थर्काएको थियो ।
आमाको पेलाइ कम थिएन ।
‘‘बुहारी, मेरो औषधि खाने बेला भयो, मन तातो पानी लेऊ त ।’’
‘‘बुहारी, मेरो गोडा मिचिदेऊ त ।’’
‘‘बुहारी, मलाई नुहाउने पानी तताइदेऊ ।’’
‘‘मेरा कपडाहरु कसले धोइदिन्छ ?’’
‘‘करेसाबारीमा झारले तरकारी सबै मारिसक्यो ।’’
छोरा कर्मनष्ठले उत्तिकै पिथ्र्यो ।
‘‘मम्मी भोक लाग्यो ।’’
‘‘मम्मी मेरो गुलमोहर बुक खोइ ?’’
‘‘मम्मी म टिफिन लान्न, पैसा दिनू न ।’’
‘‘मम्मी भोलि टिचर–प्यारेन्ट कन्फरेन्स छ, हजुर जानुपर्छ ।’’
कर्मशील दिनभर काममा जोतिइरहन्थ्यो र पनि साँझ आमाले कुरा लगाइहाल्थिन् । भाग्यरुपाले तथानाम गालि गर्थी । एकचोटि त हातै हाल्न खोजेकी थिई, तर किन हो रोकिइ ।
भाग्यरुपाले पसल भने राम्रै चलाइ । व्यापार फस्टायो । काम गर्ने सहयोगीहरु राखी । तर घर भने लथालिङ्ग हुँदै गयो । आमाको रोग बढ्दै गयो । छोरो कर्मनिष्ठको पनि बेस्याहार भयो । खाना राम्रोसँग खाँदैनथ्यो । उसको पढाइ बिग्रिँदै गयो । कर्मशील थकित भयो । आफूले भाग्यरुपाप्रति गरेको पूर्वव्यवहारहरु सम्झियो । सामान्य लाग्ने ती घरधन्दाहरु गर्न कति गाह्रो रहेछ भन्ने महसुस भयो ।
एकदिन कर्मशील बिरामी पर्यो । घरधन्दा गर्न सकेन । भाग्यरुपा पसल नगई घरै बसी । घरको लथालिङ्ग स्थिति ऊबाट लुकेको थिएन । कर्मशीलको लागि औषधि किनेर ल्याई । ज्वरो बढेको रहेछ । चिसो पानीपट्टी लगाइदिइ । घरधन्दा सम्हाली । कर्मशीलले सम्झियो, उसले भाग्यरुपा यसरी बिरामी पर्दा कहिल्यै उसको सेवा गरेको थिएन । माया दर्शाएको थिएन । बिरामी हुँदा पनि भाग्यरुपा सकीनसकी काममा जोतिन्थी । श्रीमतिलाई सघाउन भनेर ऊ कहिल्यै घर बसेको याद भएन ।
शरीरले आराम पाएर होला, कर्मशील केही दिनमा बिसेक भयो । भाग्यशीलामा परिवर्तन देखियो । भाग्यरुपाको बोलीबचन फेरियो । कटुबचन बोल्न छोडी । ऊ पसलबाट अलि छिट्टो आउन थाली । घरधन्दा सघाउन थाली । छोराको गृहकार्यमा सहयोग पनि गर्न थाली । आफ्नो काम सकेसम्म आफैं गरी । अनावश्यक दुःख दिन छोडी । कर्मशीलको बोझ धेरै हल्का भयो ।
छोरो यसरी घरधन्दामा बुहारीसँग लुटुपुटु गरिरहेको आमाले नदेख्ने कुरै भएन । एकदिन त उनले देखिन् छोराले बुहारीको टाउको मिच्दै गरेको ।
“होइन है कर्मे, तँ त जोइटिङ्ग्रे पो भइस् त ! बिरामी पर्दा अर्कै कुरा, तर यसरी स्वास्नीलाई टाउकैमा चाहिँ चढाउन भएन है ।’’
“श्रीमतीलाई काममा सघाउँदैमा जोइटिङ्ग्रे भइँदैन आमा । भएँ भने पनि ठीकै छ, केही नराम्रो भा’छैन ।’’ भाग्यशीलाले जवाफ फर्काइ । कर्मशीलले पनि स्वीकारोक्तिमा टाउको हल्लायो ।
आमा छक्क परिन् । उनी भुत्भुताउँदै कोठाभित्र पसिन् ।
“हे भगवान्, बाँचिरहनुपर्छ, यो आँखाले केके देख्नुपर्छ, कानले केके सुन्नुपर्छ !’’
एकदिन, आमा छतमा घाम ताप्न गएकी थिइन् । भाग्यरुपा पसल गएकी थिई । छोरो स्कुल । सबै घरधन्दा सकेर कर्मशील बैठक कोठामा के पसेको थियो, देख्यो– त्यहाँभित्र त देवी श्यामला र यमदूतहरु पो बसिरहेका ! ऊ भयभित भयो ।
“कर्मशील, तिमी नडराऊ, हामी तिम्रो हालचाल बुझ्न आएका हौं । के कस्तो चलिरहेको छ ?’’
“हे देवी श्यामला, मलाई माफ गर्नुहोस्, मबाट ठूलो भूल भएको रहेछ । मेरो सोच अब बदलिएको छ । म श्रीमतीलाई सताउने छैन । यमराजजीसँग पनि क्षमा चाहन्छु ।’’ ऊ दौडेर देवी श्यामलाको पाउमा छाँद हाल्न पुग्यो ।
“भैगो, भैगो । खुसी लाग्यो, तिम्रो बुद्धि फिरेछ । यमदूत हो, ल यिनीहरुलाई ल आआफ्नै शरीरमा पुनस्र्थापना गरिदेओ ।’’
रानी श्यामला र यमदूतहरु पलभरमै अलप भए ।
००००
“देवी श्यामला’’ कर्मशील करायो । उसको आवाज बाहिर निस्केन । उसको नाक र मुखमा भेन्टिलेटर लगाइएको रहेछ । ऊ चलमलायो ।
“ए, ए ल वहाँलाई होस आएजस्तो छ ।’’ उसले कोही बोलेको सुन्यो । उसका आँखा उघ्रिए ।
उसले आफूलाई अस्पतालको आईसीयूमा पायो । सलाइनपानी चढाइएको थियो । अरु थुप्रै उपकरणले घेरिएको र तारहरुले जेलिएको थियो ऊ । कम्प्युटरका मनिटरहरुमा किरिमिरी धर्काहरु चलिरहेका थिए । त्यहाँ डाक्टरहरु थिए । नर्सहरु थिए । उसले सरकारी गाडी हुँइकिएर आएको सम्झियो । मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएको सम्झियो । आफू र श्रीमती सडकमा पल्टिएको सम्झियो । हेल्मेट टाउकोबाट फुत्किएको अनि यमलोक, यमदूतहरु, यमराज, रानी श्यामलालाई सम्झियो । श्रीमतीसँग शरीर साटिएको सम्झियो । आफ्नो हातखुट्टा, शरीर नियाल्यो । आफूलाई आफ्नै पुरुष शरीरमा पायो । झल्याँस्स श्रीमतीको याद आयो ।
“रुपा ।’’
‘‘ल वहाँको आफन्तहरुलाई बोलाउनुस् त सिस्टर, एकपटकमा दुई–तीन जनामात्र ।’’ डाक्टरले आदेश दियो ।
भाग्यरुपा भित्र आई । साथमा छोरो थियो र बूढीआमा पनि । भाग्यरुपाको अनुहारमा सामान्य खतहरु थिए । ऊ कर्मशीलको हात समातेर रुन थाली ।
“धन्य भगवान्, तपाईंको अपरेसन सफल भयो । तीनदिन भयो, तपाईं बेहोशीको अवस्थामा रहेको । डाक्टरहरुले त आश मारिसकेका थिए ।’’
अस्पतालको केही दिन बसाइपछि कर्मशील ‘डिस्चार्ज’ भयो । ऊ बिस्तारै तङ्ग्रियो । तर ऊ अब अर्कै कर्मशील भएको छ । पहिला नाममात्रको कर्मशील थियो । अहिले व्यवहारले पनि कर्मशील । पहिलेजस्तो रक्सीले मातेर घर आउँदैन । घरमा भएको बेला भाग्यरुपालाई सघाउँछ । आफ्नो काम सकेसम्म आफैं गर्छ, अरुलाई अह्राउँदैन । भाग्यरुपाले जागिर छोडिदिई र पसलमै सघाउन थाली । उनीहरु आलोपालो गरेर पसल जान्छन् । व्यापार दिन दुईगुना, रात चौगुना बढ्छ । छोरो कर्मनिष्ठको पढाइमा सुधार देखिन्छ । उनीहरुमा प्रेम बढेको छ ।
बेलाबेला आमा गनगन गर्छिन्, “यो कर्मे जोइटिङ्ग्रे भयो ।’’
बहिनी माइती आउँदा छक्क पर्छे र भन्छे, “दाइको के चाला हो ? भाउजुले के जादु गर्नुभयो ?’’
टोलछिमेककाले पनि कुरा काट्छन् । तर कर्मशीलले यस्ता कुराको कपालको त्यान्द्रोजति पनि मतलब राख्दैन । कुरा काट्नेको मुख थुन्दै हिँड्न कहाँ सकिन्छ र ! अचेल घोडसैनी टोलमा कर्मशीलबाट प्रभावित भएर अरु पनि केही जोइटिङ्ग्रे हुन थालेका छन् । यो क्रम बढ्दो छ ।