
कुमारी लामा
भयङ्कर सङ्घर्षको कथा होइन यो न हो पहिचान र स्वतन्त्रताका बडेबचनका दस्तावेज । न त सबैको ध्यान खिच्ने कन्ट्रोभर्सीसहितको उवडखावड जीवन भोगाइ ! या सेलिब्रेटिपना कुनै । केवल एक सामान्य जीवन । तर अर्थपूर्ण सामान्यपन । डा. विमला ओझाको आत्मकथा कृति ‘एजिङ विद भच्र्युस’ पढिसक्दा एक पाठकले बनाउन सक्ने दृष्टिकोण हुनसक्छ यो । उनको जीवनी कृति हालै बजारमा आएको छ । अङ्ग्रेजी भाषामा लेखिएको यस जीवनीको पाना पल्टिँदै जादा मनमा तरङ्गहरु उठ्न थालेका थिए । पुस्तकको अन्तिम हरफ पढेर, समय ६ः२३ (बिहानी) सहित दस्तखत ठोकिदिएपछि लाग्यो– उनका बारे अरुले पनि थाहा पाउनुपर्छ, पढ्नुपर्छ ।
काठमाडौंको मध्यमवर्गीय हिन्दु ब्राह्मण परिवारकी छोरी विमला । शिक्षित परिवार र पढ्ने वातावरणका साथै उनको पढाइप्रतिको लगावका कारण बिद्यालयीय शिक्षादेखि राम्रो गर्दै पछि कोलम्बो प्लानअन्तर्गतको छात्रवृत्तिमा कलकत्तामा एमबीबीएस पढ्ने अवसर पाएकी थिइन् उनले । पढाइपश्चात् सन् १९७७ मा जागिर सुरु गरिन् नेपाल आएर । सहजै यहाँसम्म पुगेजस्तो लाग्ने उनको जीवनका अबका सङ्घर्षका पाटाहरु भने अलि भिन्न छन् । सबै तह–तप्काका महिलाहरुका आ–आफ्ना विशिष्ट समस्या र सङ्घर्षहरु हुन्छन् नै । यस पुस्तकले एक मध्यमवर्गीय कामकाजी सफल महिलाको सङ्घर्ष बोल्छ । पितृसत्तात्मक मानसिकता व्याप्त नेपाली कर्मचारीतन्त्रभित्र महिला निर्देशकको रुपमा काम गर्दाका सकसिला समयहरु जीवन्त लाग्छन् । कार्य जिम्मेवारी र व्यस्तताका कारण घर, बच्चाहरु र परिवारलाई समय दिन नसक्दाका उनका ग्लानि र पीडा उजागर भएको छ । साथै, सङ्घर्षका अनेक पाटाहरु छिचोली सफलताका खुड्किलाहरु उक्लन सफल एक स्वाभिमानी महिलाको कथा पनि भन्छ यस पुस्तकले ।
सङ्घर्षका अनेक आयामहरु हुन्छन् । सीमान्तकृत वर्गमा मात्र नभई सबै वर्ग, पद र सामाजिक–आर्थिक अवस्थामा भएकाहरु आफ्नै किसिमका सङ्घर्षसहित अघि बढेका हुन्छन् । सन् १९७७ मा भक्तपुर अस्पतालबाट मेडिकल अफिसरको रुपमा सुरु भएको उनको जागिरे जीवन सन् २००६ मा कुष्ठरोग नियन्त्रण विभागको निर्देशक भएपश्चात् पनि कोसी अञचल अस्पताल विराटनगरमा विशिष्ट छालारोग विशेषज्ञको रुपमा सरुवा भएसँगै टुङ्गिन्छ । या भनौं, उनले अवकास लिने निर्णय लिन्छिन् । जिम्मेवार पदहरुमा रहँदा उनले अनेक खिचातानी, हन्डर, ठक्कर खाएकी थिइन्, असहयोगी वातावरणको सामना गरेकी थिइन् । बिनाकुनै ठोस कारण धेरै ठाउँमा सरुवा हुँदाका समस्या उनले भोगेकी छन् । इमानदारी, आदर्श र स्वाभिमान आफ्नो बाबुबाट सिकेकी उनले काममा कहिल्यै सम्झौता गरिनन्, चाहे त्यसका लागि उनले जति नै ठाउँ सरुवा हुनु किन नपरोस् ! उनी भन्छिन्, ‘‘यदि मैले गरेको कामको सम्मानस्वरुप फेरि अर्को सरुवा गरिन्छ भने पनि मैले काम गर्ने नै निर्णय लिएको थिएँ ।’’ ( पृष्ठ १४६)
उनले जस्तै असहजतामा पनि आफ्नो कार्यकालभरि अडिग भएर काम गरिन् । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत दुई विभागमा प्रमुख भई काम गरेकी डा. विमलाको अभिव्यक्तिले निकै समय दिमाग हल्लाइरह्यो । वास्तवमा उनको यस भनाइले नेपालको कर्मचारीतन्त्रभित्रको सकसमय स्थितितिर सङ्केत गर्छ । उनले चित्रण गरेका दुई दशकअघिको समय र आजको अवस्थामा खासै भिन्नता छैन । भ्रष्टाचारका घटनाहरु बग्रेल्ती बाहिरिएका बहिरिएकै छन् ।
डा. ओझाको जीवनका पानाहरु पल्टाउँदै गर्दा उनका व्यक्तिगत जीवन मात्र नभई नेपालको कर्मचारीतन्त्रभित्रका केही धूमिलपनाहरुसँग पनि साक्षात्कारको मौका मिल्छ । उनले नेपालको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको पहिलो महिला निर्देशक भई काम गरेकी थिइन् । साथै, कुष्ठरोग नियन्त्रण विभागको निर्देशकको रुपमा पनि उनले काम गरिन् ।
यी जिम्मेवारीका पदहरुमा रहँदा उनले केही परिवर्तन गर्न खोज्दा, आफूतिर आएका खामहरु धकेलिरहँदा होस् या चित्त नबुझेको अवस्थामा निर्णायक दस्तखत नगर्दाका कारण निकै अप्ठेरो अवस्था झेलिरहिन् । कतिपय विदेशी दाताहरुसँगको सहकार्यमा भएका कामहरु लक्षित वर्गभन्दा पनि अरुले नै फाइदा लिइरहेको प्रत्यक्षदर्शी हुँदा उठाएका प्रश्न र उनको प्रतिरोधी व्यवहारले गर्दा उनी ‘असहयोगी तथा अप्ठेरो निर्देशक’ भएको दोष पनि सहन बाध्य भइन् ।
उनको एक ठाउँपछि अर्कोमा भइरहने सरुवा सम्भवतः उनले केही परिवर्तन गर्न चाहँदाका परिणाम हुन् । एचआईभी एड्ससम्बन्धी अमेरिकन एनजीओको एक नयाँ प्रोजेक्ट कार्यान्वयनको कार्यक्रममा उनलाई निम्ता थियो । त्यस एनजीओका एक प्रतिनिधिले उनलाई भनेका थिए, ‘‘यो एकदमै ठूलो केक हो, पिर नमान्नुस् सबैले आआफ्नो भाग पाउनेछन् ’’ उनी छक्कै परिन् कुरा सुनेर । आज पनि उक्त प्रसङ्ग सम्झँदा उनलाई पीडा हुन्छ ।
विभिन्न क्षेत्रका पीडित, असहाय र अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न भनी आएको पैसा यसरी दुरुपयोग हुनु, गरिनु र लक्षित वर्गको उत्थान र सशक्तीकरणका लागि काम हुन नसक्नु निश्चय नै खेदपूण कार्य हो । यो मौलाँउदो भ्रष्टाचार, हामीहरुमा बढ्दै गएको आर्थिक मोह र आफ्ना जिम्मेवारीप्रतिको बेइमानी नै हो । डा. ओझा यी सबै कुराहरु भोग्दै आफ्नो कार्यमा अघि बढेकी महिला हुन् ।
उनी हुनेखाने परिवारकै भए पनि घर बनाउनु, परिवार अघि बढाउनु, बालबच्चा हुर्काउँदै उच्च पदको जिम्मेवारी वहन गर्नु निश्चय नै सजिलो थिएन । ४५ दिनको नानीलाई छाडेर जागिरमा फर्कने प्रत्येक कामकाजी आमाभित्र ग्लानि भरिन्छ । उनले महसुस गरेकी छन् यही आमआमाको दुःख । यसै समयमा अचानक पाएको पोखरा सरुवाको पत्रले झन् उनीभित्र दोधार थपिदिन्छ । अन्ततः उनी एक वर्ष विदामै बस्न बाध्य हुन्छिन् । खासमा परिवार र नानीहरुभन्दा ठूलो पनि त होइन जागिर । काम र जिम्मेवारी थपिँदै जाँदा कतिपय अवस्थामा उनी धान्न नसकेर ढलेकी पनि छन् । जसले गर्दा उनी ध्यान र विपश्यनाको बाटोतिर लागिन् । आज जो सकारात्मकता उनीभित्र छ, त्यसको सुरुवात सम्भवतः त्यही समयबाट भयो जब उनी आफ्नो अनियन्त्रित दिमागलाई नियन्त्रणमा राख्न साधनातिर लागिन् । जीवनका ६८औं वर्षमा हिँड्दै गरेकी उनलाई मानव गुणहरु महत्वपूर्ण लाग्छन् न कि पैसा र भौतिक सुख ।
६८ वर्षे जीवनगाथा कहाँ सम्भव हुनु र लेखेर केही सय पन्नामा ! त्यसमा पनि बजारमा आइरहेको ढड्डु आत्मकथाभन्दा अलि सानै छ यो पुस्तक । त्यसैले कतिपय कुराहरु अलिक छोटा लाग्न सक्छन् पाठकलाई । कति उपशीर्षकहरु त पूरा पुस्तकारमा लैजान सकिने पनि छन् । उनी आफ्ना नातासम्बन्धका कुराहरु खासै खुलेर लेख्दिनन् । उनले एक आदर्श पात्रका रुपमा लिने र बारम्बार नाम लिइरहने आफ्नै बुवाको बारेमा पनि प्रष्ट लेखेकी छैनन् । त्यस्तै छ श्रीमान्का सम्बन्धमा पनि ।
आत्मकथामा लेखकका जीवनमा असर पार्ने महत्वपूर्ण पात्रहरुबारे सम्भवतः पाठकले अलि बढी नै चासो राख्छन् । पाठकमा अर्को खुल्दुली पनि उठ्न सक्छ, सन् ८० को उत्तराद्र्धतिर र ९० को वाचाल नेपाली समाज र त्यसै पुस्ताका उनले किन एकै शब्द पनि त्यस विषयमा लेखिनन् होला ? के एक सजग नागरिक देशमा भइरहेका अनेक परिवर्तनहरुबाट पूरा अलगथलग रहन सक्ला ? या सहरी एलिट पूरा बेखबर बसेथे त्यसबखत ? केवल एक पाठकीय चासो ।
यस्ता केही पाठकीय खुल्दुली हुँदाहुँदै पनि डा. ओझाको जीवनी पढिसक्दा उनी एक इमानदार राष्ट्रसेवक र सकारात्मक सोचयुक्त व्यक्ति भएको प्रष्ट हुन्छ । उमेर उक्लाइसँगै आफू अझ बढी अक्कलदार र पहिलेको भन्दा राम्रो भएको उनी स्वीकार्छिन् । उनले अभिव्यक्त गरेका कतिपय हरफहरु सूक्तिजस्ता लाग्छन् । उनी लेख्छिन्,
बाँच्नु भनेको हिँड्नु हो, बढ्नु हो र परिवर्तन हुनु हो, यदि यी बन्द भए सम्भवतः हामी मृत हुन्छौं । ... त्यसैले बुढ्यौलीलाई आशीर्वादको रुपमा लिएर प्रत्येक पल उत्सवमय बनाउनेतिर लागौं । (पृष्ठ २११)
डा. ओझाको एजिङ विद भच्र्युसका यी अन्तिम वाक्यहरुले जीवनको सत्यलाई उजागर गरेको छ । उनले लिएको जीवनको बाटोलाई पनि प्रष्ट पारेको छ ।
कृति: एजिङ विद भच्र्युस (अङ्ग्रेजी)
प्रकाशक: डीपी ओझा, भरत ओझा
मूल्य : रु. ७५०
प्रकाशन मिति : २०७६