
महा होसेन अजिज
महा होसेन अजिज न्युयोर्क विश्व–विद्यालयकी प्राध्यापक हुन् । लेखक–कार्टुनिस्टका साथै अन्तरराष्ट्रिय सम्बन्ध, विश्व जोखिम तथा भविष्यवाणीविद् पनि हुन् उनी । लन्डन स्कुल अफ इकोनोमिक्स इन्स्टिच्युट अफ ग्लोबल अफेयरमा भिजिटिङ प्रोफेसर फेलो उनी ब्लगिङ र त्यसका विशेषतामाथि परामर्श गर्छिन् । उनको नयाँ पुस्तक ‘फ्युचर वल्र्ड अर्डर’ लन्डनको सोसल जस्टिस क्लब द कन्डुइटमा हालै विमोचन भयो । यसलाई सार्वजनिक बुद्धिजीवीले पढ्नैपर्ने भनिएको छ । विभिन्न सञ्चारमाध्यममा उनको पुस्तकमाथि संवाद भएको छ र पाकिस्तानी मिडियाले पनि यसको समीक्षा गरेको छ । भूमण्डलीकरण विफल हुँदै गएको र यसको जवाफ लोकरिझ्याइँवादले दिइरहेको भनिएको वर्तमान समयमा जेनोफोबियाको जीत हुने लागेको आशङ्का गर्न थालिएको छ । यिनै सन्दर्भमा केन्द्रित रहेर स्क्रोल डटइनका लागि सञ्जय कपूरले होसेनसँग गरेको कुराकानीको अनुदित तथा सम्पादित अंश :
तपाईंको नयाँ पुस्तक ‘फ्युचर वल्र्ड अर्डर’ के विषयमा छ ?
यो पुस्तक आजको दुनियाँमाथि मेरो दृष्टिकोणका साथै आगामी दिनमा कस्ताकस्ता विषयको सामना गर्नुपर्छ भन्ने विषय यसमा छ । सन् २०१६ मा सम्पन्न निर्वाचनमा डोनाल्ड ट्रम्पको जीत र सोही साल ब्रिटेनमा ब्रेक्जिटको मत परिणामलाई लिएर अन्य मानिसजस्तै म पनि चिन्तित थिएँ । तर २०१२ देखि न्युयोर्क युनिभर्सिटीका प्राध्यापक तथा सरकार र कर्पोरेट्सहरुसँगको परामर्शले मेरो अकाडेमिक कामलाई प्रतिबिम्बित गर्न मद्दत ग¥यो । स्थिरताका लागि खतरा छ, विश्व वैधतामा जोखिम छ, जुन कुरा संसारका अधिकांश क्षेत्रमा अहिले पनि कायम छ ।
हामी कुनै स्पष्ट उत्तरबिनै केही प्रमुख प्रश्नहरुको सामना गरिरहेका छौं । यो यदि अमेरिकी नेतृत्वको दुनियाँ होइन भने, अन्तरराष्ट्रिय प्रणालीको जिम्मेवार को हो ? लोकतन्त्र साँच्चै नै कमजोर भइरहेको छ भने यसको बदलामा कुनै उत्तम व्यवस्था छ ? भूमण्डलीकरण विफल हुँदै गएको निश्चित हो भने, यसको जवाफ लोकरिझ्याइँवाद हो ? उदारवादको मूल्यमा गिरावट आएको अवस्थामा जेनोफोबिया हावी होला ?
यो एउटा संवेदनशील विश्व मोड हो । मेरो पुस्तकको उद्देश्य सबै दर्शकलाई मार्गदर्शकका रुपमा सेवा गर्नु हो– मौन पिँढीदेखि हजारौं वर्षसम्म– संसारको अर्थ सुन्दर बनाउने तहसम्म । मलाई थाहा छ– प्रविधिले यस्तो सङ्कटलाई थप गहिरो बनाइदिएको छ, तर यसको उपचार छ ।
मानवअधिकार र लोकतन्त्रजस्ता विश्व मूल्य पतनको अवस्थामा छन्, यसबारे तपाईंले पुस्तकमा गम्भीर चिन्ता देखाउनुभएको छ । तपाईं यसलाई उत्तर हैकमवादी संसार भन्नुहुन्छ, किन यस्तो भन्नुभएको ?
हामीले स्मरण गर्नुपर्छ, शीतयुद्धपश्चात् अमेरिकाले प्रभावकारी ढङ्गमा अन्तरराष्ट्रिय समुदायको नेतृत्व गर्यो । र, लोकतन्त्र तथा मानवअधिकारजस्ता केही मूल्यलाई बढावा दिनका निम्ति वैधता आर्जन गर्यो । यसलाई विश्वमूल्यका रुपमा हेरियो, सैद्धान्तिक रुपमै हामी सबै त्यसको पक्षधर भयौं । अहिले अवस्था त्यस्तो छैन । वर्तमान राष्ट्रपति ट्रम्पले भनिसकेका छन्– विश्वकै प्रतिनिधित्व गर्नु अमेरिकाको जिम्मेवारी होइन र अन्य देशले कसको विश्वास गर्ने भन्नेबारे पनि बताइरहनुपर्दैन ।
त्यसो भए उक्त रिक्ततालाई कसरी पूर्ति गर्ने त ?
केही मानिस तर्क गरिरहेका छन्– जर्मन चान्सलर एञ्जेला मर्केल अब स्वतन्त्र दुनियाँको नेतृत्व गर्दैछिन् । उता, अन्य केही मूल्यलाई बढावा दिनेमा फ्रान्स र चीनको भूमिका उजागर भइरहेको छ ।
मलाई तर्क गर्न मन लागिरहेको छ कि, यस विषयमा चाँडै कुनै स्पष्टता देखिने छैन, यो एउटा समस्या हो र यसले संसारको अस्थिरतालाई बढाउने छ । लोकतन्त्रजस्ता विश्व मूल्यलाई बढावा दिने को हो भन्ने विषय उतिविधि ठूलो नहोला, तर ठूलो मुद्दा त यो कि, लोकतन्त्र अहिले पनि नागरिकले चाहना गरिरहेको विषय हो ?
कतिपय अध्ययनहरुले देखाएका छन्– अघिल्लो पुस्ताको तुलनामा पश्चिमी देशका युवा लोकतन्त्रबारे चासो राख्दैनन् । विश्वस्तरमा हेर्ने हो भने पनि वास्तविकता ब्राजिलदेखि दक्षिण कोरिया तथा युरोपियन युनियनका केही देशमा हालैका वर्षमा लोकतन्त्र र गैरलोकतन्त्र राजनीतिक स्थिरताका लागि चुनौती बनेको छ ।
प्रविधिले सुसज्जित नागरिक अभूतपूर्व ढङ्गमा आफ्ना सरकारहरुलाई चुनौती दिइरहेका छन् । यसले थुप्रै अनुमानहरु अगाडि सारिदिएको छ । शीतयुद्ध समाप्तिपछि घोषणा गरिएजस्तै के लोकतन्त्र सबैभन्दा उत्तम राजनीतिक प्रणाली हो ? या अरु नै कुनै व्यवस्था छ ? हाम्रो राजनीतिक प्रणालीको स्पष्ट वैधता नहुनु नै स्थिरताका लागि खतरा बनेको छ ।
के होला त नयाँ विश्व व्यवस्था, यसको जिम्मेवार को हो ?
यो स्पष्ट छैन । हामीलाई थाहा छ, अमेरिकी आधिपत्यको भूराजनीतिक स्थिति परिवर्तन भएको छ । यसैकारण म यसलाई पोस्ट हेजेमोनिक (उत्तरहैकमवाद) भन्न रुचाउँछु । ट्रम्पको एकाङ्गी बयानबाजीलाई कसैले पनि नकार्न सक्दैन । उनले जोड दिएर भनेका छन्– अमेरिका अब संसारको जिम्मेवारी लिन सक्दैन । न त हामी चीनको विश्व महत्वाकाङ्क्षाबारे पटकपटकको घोषणालाई नजरअन्दाज नै गर्न सक्छौं ! सफ्टपावरको माध्यमबाट फ्रान्सको बढ्दो प्रभाव, रुसले अँगालेको वर्णशङ्कर युद्ध र यस्तै अन्य पनि । २५ वर्षको अमेरिकी शीतयुद्धपछि अन्तरराष्ट्रिय प्रणाली अधिक बहुधु्रवीय दिशामा अघि बढिरहेको देखिएको छ । डा. पराग खन्नाजस्ता कतिपय लेखकले अबको भविष्य एसियाली मुलुकको बताएका छन्, तथापि केही अध्ययनले २०३० सम्मको भविष्य अफ्रिकीमा रहेको बताएका छन् ।
भविष्यबारे अहिले पुनः मूल्याङ्कन गर्ने समय आएको छ कि शक्ति भनेको के हो ? एक महाशक्ति पारम्परिक रुपमा आफ्नो अर्थव्यवस्था, कूटनीति, संस्कृति तथा निश्चित ढङ्गमा सेनाको सन्दर्भमा विश्वस्तरमा आफ्नो श्रेष्ठता परिभाषित गर्छ । तर पनि सैन्य शक्ति बदलिएको छ, यो केवल पारम्परिक हतियार या परमाणुमका बारेमा होइन । कतिपय मुद्दाहरुमा, प्रविधि अगाडि आएको छ । मेरो पुस्तकमा, म विचार गर्छु– प्रविधिको शक्तिको प्रकृति कसरी बदलिरहेको छ, विशेष रुपमा सैन्य शक्ति र सम्भवतः यसैले आगामी महाशक्तिको निर्धारण गर्नेछ ।
महाशक्ति रुस, अमेरिका तथा चीनबीच सहमति हुँदै गएको देखिएको छ– आर्टिफिसियल एन्टेलिजेन्स भविष्यमा उनीहरुको राष्ट्रिय सुरक्षाका लागि कति महत्वपूर्ण हुनेछ भन्नेबारे ।
उत्तरहैकमवादी दुनियाँमा कुनै नयाँ ‘पावरप्लेयर्स’ आउँछन् भन्न खोज्नुभएको हो ?
निश्चित रुपमा त्यही हो । परम्परागत नागरिक समाजबाहिरबाट गैर राज्य अभिनेताको उदयलाई हामीले चिन्नुपर्छ । त्यो हाम्रो उत्तरहैकमवादी दुनियाँमा अपेक्षाकृत नयाँ प्रभावकारी पात्र हो, जो वैधतामा आएको गिरावटबाट पीडित सरकारहरुको प्रतिक्रियामा भाग लिन्छ ।
तीव्र गतिमा परिवर्तन भइरहेको समाजमा केही नैतिक क्रम मिलाउन प्रविधि र यसको क्षमतालाई तपाईं निकै महत्व दिनुहुन्छ । सानातिना भ्रष्टाचार रोक्न एकाउन्टिङ सफ्टवेयर तथा ब्लकचेनको सुधारले काम गरेको हो ?
एकदमै राम्रो प्रश्न । हामी सबैलाई थाहा छ– प्रविधिमा केही गम्भीर गिरावट आएको छ । उदाहरणका लागि, चरमपन्थी तथा जेनोफोबिक (विदेशी नागरिकलाई घृणा गर्ने) नागरिकद्वारा विश्व स्तरमा घृणा वृद्धि गराउन प्रविधिको प्रयोग भएको छ । स्पष्ट रुपमा यो एउटा समस्या हो र सोसल मिडियालाई नियमन गर्ने तरिकामा बहस जारी रहनेछ । तर प्रविधिलाई असल काममा प्रयोग गर्नुपर्छ । के हामी घृणाभाव फैलाउने (जेनोफोबिक तथा चरमपन्थी)विरुद्ध प्रविधि प्रयोग गर्न सक्दैनौं ? तपाईंले भनेजस्तै ब्लकचेन भ्रष्टाचार कम गर्न मद्दतकारी हुन सक्छ, यसको परीक्षण केहीअघिदेखि नै भइरहेको छ । मेक्सिको, भारत, केन्या, नाइजेरियालगायतका मुलुकमा विभिन्न सन्दर्भमा यसको प्रयोगले मद्दत गरेको छ ।
जीवनमा उल्लेखनीय प्रभाव पारिरहे पनि अहिले पनि हामी स्पष्ट छैनौं कि, प्रविधि उत्पादन गर्ने कम्पनीहरुबाट के अपेक्षा गर्छौं ! जी–७ जस्ता बैठकमा यसलाई परिभाषित गर्न प्रविधि नेता, औद्योगिकविद् तथा नागरिकको समूह एक हुनु जरुरी छ । अन्यथा, भावी दिन अनिश्चित छ– सम्भावित युद्धदेखि आतङ्कवादी हमला तथा अधिक जलवायु परिवर्तनबारे हामी पूर्ण रुपमा तयार हुन सक्दैनौं ।