site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्य अर्थात् जीवनको आलोचना

प्रेमचन्द


‘साहित्यकारको लक्ष्य केवल सभा सजाउनु र मनोरञ्जनको व्यवस्था गरिदिनु मात्रै होइन– त्यसलाई यति पनि तल नझार्नुस् । त्यो देशभक्ति र राजनीतिको पछाडि हिँड्ने सत्य पनि होइन, यद्यपि तिनका अगाडि मशाल बालेर हिँड्ने सत्य भने हो ।’
१३९ वर्ष अघि ३१ जुलाईका दिन धनपत राय जन्मिएका थिए । हामी उनलाई प्रेमचन्दका नामबाट चिन्दछांै र सम्झिन्छौं । हो, प्रख्यात साहित्यकार, कलमका सिपाही प्रेमचन्द । उनको निधन पनि ८३ वर्ष अगाडि नै भइसकेको छ । अर्थात् कुल ५६ वर्षको उमेर उनले पाए ।  माथि लेखिएका वाक्यांश उनैको हो, सन् १९३६ मा लेखिएको ।

आज पनि प्रेमचन्द किन ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एउटा दृष्टिकोणमा लाग्न सक्छ आठ दशकअगाडि नै जो व्यक्ति यस संसारबाट बिदा भए, उनको सम्झना गरिनु परम्परा धान्नुमात्रै हो...किनभने जतिखेर उनले लेखिरहेका थिए, त्यसबेला देश ‘गुलाम’ थियो । त्यसबखत स्वतन्त्रताको लडाईं लडिँदै थियो । नयाँ भारत बनाउने अनेकौं सपना बुनिँदै थियो । त्यसबेलाको सामाजिक–राजनीतिको आवश्यकता अरु पनि केही थियो होला ।

चुनौतीहरू पनि एकदम फरक थियो । हो, यति अवश्य थियो कि उनले लेखेका विषय सन्दर्भ त्यतिखेरको समय परिस्थितिलाई बुझ्नका लागि सार्थक मान्न सकिन्छ । तर रचनाहरूको जुन भण्डार उनले जम्मा गरेर गए, यदि त्यसमा दृष्टि दिने हो भने त्यो आज पनि जीवन र समाजलाई बुझ्नका लागि सहायकसिद्ध हुन सक्छ । यसैले पनि प्रेमचन्दलाई सम्झना गर्नु, एउटा बर्सेनि परम्परा पूरा गर्नुमात्रै पनि होइन । 

प्रेमचन्द  र साम्प्रदायिकताको प्रश्न 
स्वतन्त्रतापछि पनि हामीले अनेकौं सामाजिक काम अधुरै छोड्यौं । यसैले ७० वर्षपछि पनि यस्ता कैयन् प्रश्नसँग हामी आज पनि जुधिरहेका छौं, जुन प्रश्न देशका अगाडि स्वतन्त्रताभन्दा पहिले पनि प्रस्तुत हुँदैआएको थियो । प्रेमचन्दको समयमा पनि साम्प्रदायिकता, घृणा र द्वेष फैलाउने तथा मुलुकबासीका बीच फाटो ल्याउने काम हुँदैआएको थियो ।

स्वतन्त्रता आन्दोलनको पहिलो लहरका नेताहरूजस्तै प्रेमचन्दको मान्यता थियो ‘स्वराजको मार्गमा साम्प्रदायिक घृणा र द्वेष ठूलो बाधा हो ।’ यस प्रश्नको वरिपरि उनका कैयन् टिप्पणीहरू छन् । सन् १९३४मा प्रकाशित एक लेखमा प्रेमचन्द भन्छन्, ‘‘हामी साम्प्रदायिक समाजलाई कुष्ठरोग सम्झिन्छौं...आफ्नो सानो क्षेत्र बनाएर सबैलाई त्यसबाट बाहिर हुत्याइदिन्छ ।’ 

साम्प्रदायिकता र संस्कृति 
हामी आज पनि पाउँछौ, साम्प्रदायिकताको घृणापूर्ण विचारको यही कोसिस रहँदै आएको छ, आमभारतीयका बीच फराकिलो पृथक पर्खाल खडा गर्ने ! प्रेमचन्दले यसलाई दशकौंअगाडि राम्ररी भित्री रुपमा बुझेका थिए । १५ जनवरी १९३४मा प्रकाशित उनको एउटा चर्चित टिप्पणी छ– ‘साम्प्रदायिकता र संस्कृति’ ।

उनी यसमा उल्लेख गर्छन्– ‘साम्प्रदायिकताले सदा संस्कृतिको याचना गर्छ । त्यसलाई आफ्नो सक्कल रुपमा बाहिर आउन सायद लाज लाग्छ, यसैले त्यो संस्कृतिको खोल ओढेर बाहिर आउने गर्छ । हिन्दु आफ्नो संस्कृतिलाई प्रलयका दिनसम्म पनि सुरक्षित राख्न चाहन्छन् भने मुसलमान पनि आफ्नो संस्कृतिलाई सुरक्षित गर्न खोज्छन् ।’

‘दुवै अहिलेसम्म आ–आफ्नो संस्कृतिलाई कसैबाट नछोइएको विषय सम्झिरहेका छन् । उनीहरूले यो बिर्सिएका छन्, न कतै मुस्लिम संस्कृति छ, न कतै हिन्दु संस्कृति र न अरु कुनै संस्कृति नै ।’
त्यसो भए कुन संस्कृति विद्यमान छ ? उनी जवाफ दिन्छन्, ‘‘अब संसारमा केवल एक संस्कृति विद्यमान छ । त्यो हो आर्थिक...।’’

संस्कृति र धर्म 
संस्कृति र धर्मका बीचमा मिश्रण गरिनु पुरानो राजनीति हो । उनी स्पष्ट रुपमा भन्छन्, ‘‘संस्कृतिको धर्मसँग कुनै सरोकार छैन । आर्य संस्कृति, इरानी संस्कृति छ, अरब संस्कृति छ, तर इसाई संस्कृति र मुस्लिम या हिन्दु संस्कृति नामको कुनै कुरा छैन...।’’

वचन र बेहोरामा धार्मिक भिन्नता  
प्रेमचन्द, हिन्दु र मुसलमानहरूका सांस्कृतिक तर्कहरूलाई बडो सहजता र तर्कपूर्ण तरिकाबाट धराशायी तुल्याउँछन् । उनी भाषाको विषय उठाउँदै सोध्छन्, ‘‘त्यसो भए भाषाको अन्तर के हो ?’’ उनको जवाफ छ, ‘‘अलिकति पनि छैन । मुसलमानले उर्दूलाई आफ्नो भाषा मानून्, तर मद्रासी मुसलमानका लागि उर्दूउस्तै अपरिचित वस्तु हो जस्तो मद्रासी हिन्दुका लागि संस्कृत ।’’
हिन्दु वा मुसलमान जुन प्रान्तमा रहन्छन्, सर्वसाधारणको भाषा नै बोल्छन्, चाहे त्यो उर्दू होस् वा हिन्दी । बाङ्ला होस् वा मराठी । दुवै एकै भाषा नै बोल्छन् । 
खानपानमा भिन्नता  
हाम्रो समयमा पनि साम्प्रदायिकाताको जडमा खानपान ठूलो मुद्दा रहेको पाइन्छ । लाग्छ, यो प्रेमचन्दको समयमा पनि थियो । त्यसैले उनी भन्छन् ‘‘यदि मुसलमान मासु खान्छन् भने ८० प्रतिशत हिन्दुले पनि मासु खान्छन् । माथिल्लो वर्गका हिन्दु पनि मदिरा पान गर्छन् अनि माथिल्लो वर्गका मुुसलमानले पनि गर्छन् ।’’

‘तल्लो वर्गका हिन्दुले पनि रक्सी पिउँछन् भने तल्लो वर्गका मुसलमानले पनि पिउँछन् । मध्यमवर्गका हिन्दु या त एकदम कम मदिरापान गर्छन् या भाङको गोला खान्छन् । यसको नेता हाम्रो पण्डा पूजारी क्लासका हुन् ।’
गाईको प्रश्न हामीबीच वर्षौंदेखि उठ्दै आएको छ । प्रेमचन्दले पनि यसलाई छाडेका छैनन् । उनी लेख्छन्, ‘‘हो, मुसलमान गाईलाई मार्छन् र त्यसको मासु खान्छन् । तर हिन्दुमा पनि यस्ता जाति रहेका छन् जो गाईको मासु खान्छन् । यहाँसम्म कि मरेको मासु पनि छोडदैनन् । जब कि, वध गरिएको र मृतक मासुमा खासै अन्तर रहन्न ।’

यसपछि एउटा अहम् प्रश्न गर्छन् उनी, ‘‘संसारमा हिन्दु एक जाति हुन् जो गौमासलाई अखाद्य वा अपवित्र सम्झिन्छन् । त्यसो भए यसैका लागि हिन्दुले सारा विश्वबाट धर्मयुद्ध सुरु गर्नुपर्ने हो त ?’
प्रेमचन्दका साथ हामी आज के गर्दैछौं ?   

कल्पना गर्दा केही फरक पर्दैन । यसैले हामी कल्पना गरौैं कि आज प्रेमचन्द यसरी लेखिरहेका हुन्थे र यस्ता प्रश्नहरू उठाउँथे भने उनीसँग केके हुन सक्थ्यो ? के हामीले उनका कुरा धैर्यका साथ पढ्थ्यौं, सुन्थ्यौं वा विचार गथ्र्यौं ?
यसैगरी, उनी पहिरनका विषयमा पनि चर्चा गर्थे । उनी भन्छन्, ‘‘एक क्षेत्रका हिन्दु र मुसलमान स्त्री–पुरुष सबै लगभग एकैजस्तो लुगा लगाउँछन् । उनी लेख्छन् ‘‘बङ्गालमा जानुस्, त्यहाँ हिन्दु र मुसलमान स्त्रीहरू दुवै नै साडी लगाउँछन् ।’’ उनका अनुसार– ‘सङ्गीत र चित्रकला पनि संस्कृतिको एक अङ्ग हो, तर यहाँ पनि हामी कुनै सांस्कृतिक भेद पाउँदैनौं । त्यही राग–रागिनी दुवैतिर गाइन्छन् । मुगल समयको चित्रकलासँग हामी परिचित नै छौं ।’

कुन संस्कृतिको रक्षा 
सांस्कृतिक रुपमा हिन्दु र मुसलमानहरूका बीच फरकपनाको तर्कलाई जमिनमा गाड्ने काम गरेपछि उनी प्रश्न गर्छन्, ‘‘फेरि पनि हामी बुझ्न सकिरहेका छैनौं कि, कुन संस्कृति हो जसको रक्षाका लागि साम्प्रदायिकताले यतिविघ्न गरिरहेको छ ।’’ उनका अनुसार ‘वास्तवमा संस्कृतिको आवाज केवल ढोङ हो, पाखण्ड हो । यसको जन्मदाता पनि तिनै मानिस हुन् जो साम्प्रदायिकताको शीतल छायाँमा मनोरञ्जन गर्न खोज्छन् । यो सीधा मानिसहरूलाई साम्प्रदायिकताको बाटोमा तानेर ल्याउने केवल एउटा मन्त्रमात्रै हो । अरु केही होइन...।’

साम्प्रदायिक सङ्गठनहरूको चरित्रका बारेमा पनि उनको राय पढौं । उनी लेख्नलाई परहेज गर्दैनन् । ‘यस्ता संस्थाहरूलाई जनताको सुख–दुःखसँग कुनै मतलब छैन । तिनीसँग यस्तो कुनै सामाजिक वा राजनीतिक कार्यक्रम छैन जसलाई राष्ट्रका सामुन्ने राख्न सकियोस्...।’

प्रेमचन्दका अनुसार, ‘‘यो युग साम्प्रदायिक अभ्युदयको होइन । यो आर्थिक युग हो । आज त्यही नीति सफल हुन्छ, जसबाट जनताले आफ्नो आर्थिक समस्याको हल गर्न सकून् । जसले यो अन्धविश्वास, यो धर्मका नाममा गरिएको पाखण्ड, नीतिको नाममा गरिबहरूलाई दुहुने क्रम मेटाउन सक्छ ।’’ 

आमजनताका पक्षमा बोल्दै प्रेमचन्द लेख्छन्, ‘‘त्यो संस्कृतिमा थियो नै के जसको उनीहरु रक्षा गर्दैछन्...तिनलाई आज पनि आफ्नो जीवनको रक्षाको धेर चिन्ता छ, जुन संस्कृतिको रक्षाभन्दा आवश्यक छ । पुरानो संस्कृतिमा तिनका लागि मोहको कुनै कारण छैन । र, साम्प्रदायिकता आर्थिक समस्याहरूका तर्फबाट आँखा बन्द गरेर त्यस मार्गमा हिँडिरहेको छ, जसले पराधीनतालाई चिरस्थायी बनाउने काम गर्छ ।’’

राष्ट्रको उद्धार कसरी गर्ने ?
सन् १९३२मा यसै विषयको एक अर्को टिप्पणीमा उनी यसरी भन्छन्, ‘‘राष्ट्रका अगाडि जुन समस्या विद्यमान छ, त्यसको सम्बन्ध हिन्दु, मुसलमान, सिक्ख, इसाई सबैसँग छ । बेकारीबाट सबै दुःखी छन् । दरिद्रताले सबैको घाँटी ङ्याकेको छ । दैनिक नयाँनयाँ रोग आरम्भ हुँदै गएको छ । त्यसको प्रहार हरेक सम्प्रदायमा समान रुपमा परेको हुन्छ ।

ऋणको रोग वा दुव्र्यसनमा सबै जेलिएका छन् । कुनै यस्तो सामाजिक, आर्थिक वा राजनीतिक दूरवस्था छैन, जसबाट राष्ट्रको सबै अङ्ग पीडित नभएका हुन् । दरिद्रता, अशिक्षा, बेरोजगारीले हिन्दु र मुसलमानका विषयमा सोच्दैन । हाम्रा किसानका अगाडि जुन बाधा उभिएको छ, त्यसबाट हिन्दु र मुसलमान दुवै पीडित छन् । राष्ट्रको उद्धार यिनै समस्याहरूको हल गरिनुबाटै हुन्छ...।’’

हिन्दु–मुस्लिम एकता 
साम्प्रदायिकताको ठोस जवाफ एकता नै हो । तर कसरी ? सन् १९३१ मा उनी लेख्छन्, ‘‘मनमा क्लेश भरिएपछि मेल कसरी हुन्छ ! मैलो कपडामा कुनै पनि रङ खुल्दैन । हामी गलत इतिहास पढेर एक अर्काप्रति विभिन्न किसमको भ्रम मनमा पालेर बसेका छौं, तर त्यसलाई आफ्नो मनबाट निकाल्न खोज्दैनौं, मानौं त्यही नै हाम्रो जीवनको आधार हो ।’’

प्रेमचन्द र साहित्यकार  
आज साहित्यकार, कलाकार र बुद्धिजीवीले सामाजिक विषयमा बोलिरहेका छन् । लेखिरहेका छन् । त्यसैले तिनले आलोचना पनि झेल्दै आएका छन् । अरु कुरा छाडौं, तिनलाई राष्ट्रद्रोहको घेरामा राख्ने काम पनि भइरहेको छ । यो हेर्नु चित्ताकर्षक लाग्न सक्छ कि, प्रेमचन्द साहित्य या साहित्यकारलाई कसरी कुन रुपमा हेर्थे । सबैभन्दा माथिको तीन हरफमा हामीले साहित्यकारका सम्बन्धमा उनको राय पनि पढ्यौं । 

‘साहित्यको उद्देश्य’ शीर्षकको लेखमा उनी लेख्छन्, ‘‘साहित्यको सर्वोत्तम परिभाषा जीवनको आलोचना हो ।’’ अर्थात् ती वस्तुको आलोचना जसले आममानिसको जीवनमा असर पार्छ ।

यसैमा उनी भन्छन्, ‘‘...हामी साहित्यलाई केवल मनोरञ्जन वा विलासिताको वस्तु सम्झिन्नांै । हाम्रो मूल्याङ्कनमा त्यही साहित्य खरो उत्रिन्छ जसमा उच्च चिन्तन होस्, स्वाधीनताको भाव होस्, सौन्दर्यको सार होस्, सिर्जनको आत्मा होस्, जीवनको सच्चाइको प्रकाश होस्, जसले हामीलाई गतिशील, सङ्घर्षशील तथा बेचैन बनाउन सकोस् । त्यसले सुताउनु हुँदैन किनभने धेरै सुत्नु मृत्युको लक्षण हो ।’’

अर्थात्, प्रेमचन्द आफ्नो समयको हरेक विषयसँग जुध्थे । त्यसैले पनि उनी आज पनि हामीबीच जिउँदै छन् । (बीबीसीबाट)
      
 

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  १०:४७
प्रतिक्रिया दिनुहोस्