site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
विद्रुप गाईजात्रा

विछोडको पीडा भुलाउने उद्देश्यले सुरु भएको गाईजात्रा विस्तारै व्यवस्थित र व्यावसायिक हुँदै गयो । हास्य कलाकारहरु सङ्गठित भएर प्रहसन देखाउन थाले । वर्षभभरिको सामाजिक तथा राजनीतिक विकृति र विसङ्गतीविरुद्ध कलात्मक रुपमा गरिने व्यङ्ग्यलाई दर्शकले रुचाए । यस्ता व्यङ्ग्य हिजोको ‘बन्द’ राजनीतिक अवस्थामा बढी रुचाइयो । त्यसबखत गाईजात्राका क्यासेट बिक्री खुबै हुने कलाकारहरु बताउँछन् । अहिलेको ‘खुल्ला’ व्यवस्थामा व्यङ्ग्य नै विद्रुप हुन पुगेको कतिपय कलाकारको गुनासो छ ।   

० ० ०

वर्षहरु फेरिए । शासन व्यवस्था फेरियो । राजनीति फेरियो । पात्रो फेरियो । पात्रोसँगै पात्रहरु फेरिँदै गए । र, फेरियो हास्यव्यङ्ग्यको शैली पनि । कलात्मक व्यङ्ग्य ठाडो गालीमा परिणत भयो । हाकाहाकी गाली गर्न थालियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 
यो शैली ‘स्ट्यान्डअप कमेडियन’ मनोज गजुरेललाई पनि मन परेको छैन । हास्यव्यङ्ग्य कला भएको र त्यो कलात्मक हुनुपर्नेमा उनको जोड छ । “हास्यव्यङ्ग्य कला हो । गाली हैन । कसैको मानमर्दन पनि हैन । व्यक्तिलाई गाली गर्ने हैन, प्रवृत्तिलाई गाली गर्ने हो,” उनी भन्छन्, “व्यङ्ग्य गालीमा परिणत हुँदै गएको भन्ने मलाई पनि लागेको छ ।”

समस्या देखेका गजुरेलसँग नियन्त्रणको उपाय पनि छ । नियन्त्रण राज्यले हैन व्यक्ति स्वयम्ले गर्नुपर्ने उनको भनाइ छ । “ठाडो गाली गर्ने शैलीलाई हामी आफैंले नियन्त्रण गर्ने हो, जसले गरिरहेका छौं । हामीले नियन्त्रण गर्न खोज्यो भने वाक्स्वतन्त्रताको कुरा आउँछ,” गजुरेल भन्छन्, “त्यसैले हामी स्रष्टाहरु आफैं सचेत भएरै सेल्फ सेन्सरसिप गर्नुपर्छ । यो प्रश्न तपाईंले उठाउनुभयो, तर तपाईंको मात्रै होइन हामीप्रति ठूलो वर्गको खबरदारी पनि हो । यो खबरदारीलाई हामी सर्जक तथा कलाकारले मनन् गर्नुपर्छ ।”

० ० ०

हास्य कलाकार दीपकराज गिरीलाई अहिलेको गाईजात्रा गाईजात्रै जस्तो लाग्दैन । उनलाई मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले देखाएको गाईजात्रा मात्रै गाईजात्रा जस्तो लाग्छ । महजोडीबाहेक अन्यले दखाएको गाईजात्रा दीपकलाई उति धेरै चित्त बुझ्दैन । “हरि दाइ र मदन दाइले प्रस्तुत गरेको गाइजात्रा कलात्मक हुन्थ्यो, गाली हुँदैनथ्यो ।  हामी पनि ठीकठीकैमात्रै गथ्र्यौं,” गिरी भन्छन्, “कसले गरेको भन्ने हो । इङ्लिस प्रिमियर लिग खेल्ने खेलाडीले राम्रै खेल्छ । सामान्य क्लबको खेलाडी आयो भने लात्ताले हान्छ, फल खेल्छ । यसको अर्थ गाईजात्रा खराब हैन गाईजात्राका खेलाडी खराब हुन् । हास्यव्यङ्ग्यबारे थाहै नभएका व्यक्तिलाई जसरी पनि हँसाउनुपर्छ भन्ने हुन्छ र उनीहरु गाली गर्छन् ।”

गिरीलाई खुल्ला राजनीतिक व्यवस्था पनि गाईजात्राको कलात्मक पक्ष हराउँदै जानुको एउटा कारण हो जस्तो लाग्छ । पञ्चायती व्यवस्थामा सीधा भन्न पाइँदैनथ्यो ।  फलतः घुमाएरै भन्नुपर्ने बाध्यता थियो । घुमाउनका लागि पनि कला आवश्यक पथ्र्यो । ०४६ सालमा प्रजातन्त्रको पुनःप्राप्तिसँगै घुमाएर भन्नुपर्ने बाध्यात्मकताको अन्त्य भयो । सीधासीधै भन्न थालियो । कलात्मक पक्ष मर्‍यो । 

“धेरै घुमाएर भनेको पनि दर्शकले मन पराउँदैन, किनभने बाटोमा जसले पनि हाकाहाकी गाली गरिरहेको हुन्छ,” गिरी भन्छन्, “सजर्क को हो त्यसमा भर पर्छ । सर्जकको बौद्धिक स्तर कस्तो छ त्यसमा भर पर्छ ।” 

नामै लिएर गरिने प्रहसन गाईजात्रा नभएर गाली भएको उनको ठम्याइ छ । “दीपकराज गिरी चोर हो भनेर भन्नुभन्दा चोरलाई देखाएर त्यसको अनुहारसँग दीपकको अनुहार मिल्छ है भनियो भने त्यो व्यङ्ग्य हो । व्यङ्यको धर्म यो दोस्रो हो । तर यसका लागि निकै ठूलो परिश्रम गर्नुपर्छ । सिर्जनाका लागि साधना गर्नुपर्छ ।” 

दीपकराज गिरी पनि गाईजात्रा देखाउँथे । उनको हास्य टेलिचलचित्र ‘तीतो सत्य’ र अर्को हास्य टेलिशृङ्खला ‘जिरे खुर्सानी’ले संयुक्त रुपमा ‘तीते जिरे’ गाईजात्रा देखाउँदै आएका थिए । तर दुई वर्षयता यो गाईजात्रा बन्द भयो । 

कथानक चलचित्र निर्माणमा केन्द्रित भएका कारण गाईजात्रालाई समय दिन नसकिएको उनी बताउँछन् । “चलचित्र निर्माणको काममा व्यस्त भएकाले समय दिन सकिँदैन । समय दिन नसकेपछि प्रहसन राम्रो हुँदैन,” गिरी भन्छन्, “राम्रो प्रहसन देखाएर न्याय गर्न सकिँदैन भने अन्याय पनि नगरौं भनेर गाईजात्रा नदेखाएका हौं ।”

० ० ०

हास्य कलाकार किरण केसी आफ्नो जन्म दिन (असार १५)मा हरेक वर्ष एकजना पत्रकार र एकजना हास्य कलाकारलाई नगदसहित सम्मान गर्दै आएका छन् । उनले आफ्नो जन्म दिनमा छलफल नै चलाए, ‘नेपालको गाईजात्रा हिजो, आज र भोलि’ । छलफको निष्कर्ष थियो हिजो असाध्यै राम्रो थियो । आज विद्रुप छ । भोलि कस्तो होला भविष्यकै गर्भको कुरा भयो, जुन अनुमानमात्रै हो । 

केसी विगतमा हुने गाईजात्राका आफैं पनि ठूलो प्रशंसक थिए । तर आज उनै त्यही गाईजात्राका आलोचक छन् । कारण, सस्तो हुँदै गएको गाईजात्रै हो । हँसाउन लागि जे पनि गरिदिने र भनिदिने प्रवृत्तिले गाईजात्रा छाडा हुँदै गएको उनी बताउँछन् । 

“गाईजात्राका संवादहरु सेन्टर प्वाइन्टमा केन्द्रित हुँदै गए । त्यो पनि महिलाको सेन्टर प्वाइन्टमा ! छाडा संवाद र दृश्यबाटै भए पनि दर्शकलाई हसाउँनुपर्छ भन्ने खराब मानसिकता हाबी हुँदै गयो,” केसी भन्छन्, “गाईजात्रामा बोलिएको एउटा डाइलग भन्छु म सुन्नुस– ‘कलिलो तामालाई बाउले आमा...’ यो के भनेको ? यस्तो पनि भन्न मिल्छ ? व्यङ्ग्य सिर्जना हो कि विकिृति ?”  

सिर्जनात्मक हुन सके अश्लील र छाडा शब्दको प्रयोगबिनै व्यङ्ग्य गर्न सकिने उनको भनाइ छ । महजोडी अश्लील संवाद र दृश्यबिना नै लोकप्रिय भएको भन्ने तथ्य नबिर्सन उनको सुझाव छ । 

“आज सबैभन्दा महँगो टिकट महको गाईजात्राकै हुन्छ । सस्तो मनोरञ्जनबिना नै उहाँहरुले हँसाइरहनु भएको छ । सेन्टरमा केन्द्रित गरेर हिट हुने भए हास्यव्यङ्ग्यमा आज सबैभन्दा धेरै फ्लप हरि दाइ र मदन दाइ हुनुपर्ने, तर उहाँहरु त कहिल्यै फ्लप हुनु भएन,” केसी भन्छन् । 

पछिल्लो समय हास्यव्यङ्ग्यका अधिकांश कलाकार चलचित्र निर्माण तथा अभिनयमा केन्द्रित भएकै कारण गाईजात्रा हुन नसकेको उनको भनाइ छ । “अघिल्लो दुई वर्ष प्रज्ञा–प्रतिष्ठान निर्माणाधीन रहेकाले गाईजात्रा देखाउन सकिएन । पछिल्लो वर्ष हामी सबै चलचित्रमै लाग्यौं । यो वर्ष पनि नहुने भयो,” केसी गाईजात्रा प्रहसन हुन नसक्नुको कारण सुनाउँछन् । 

० ० ०
सीताराम कट्टेल (धुर्मुस)लाई गाईजात्रा देखाउन नपाएकोमा ठूलो दुखेसो छ । सामाजिक काममा सक्रिय हुनुपर्दा उनले आफूलाई पहिचान दिने कर्मभूमिको कर्मलाई केही समयका लागि मात्रै भए पनि थाती राख्नुपरेकोमा रमाइलो लागेको छैन ।

“हामी आएको नै रङ्गकर्मबाट हो, त्यसैले गाईजात्रा गर्न नपाएकोमा मनमा छटपटी छ,” कट्टेल भन्छन्, “पाँच वर्षदेखि हामी सामाजिक काममा व्यस्त रहेकाले गाईजात्रामा केन्द्रित हुन सकेनौं । रङ्गशाला निर्माण सम्पन्न भएपछि पुरानै कर्ममा फर्कन्छौं । हामी कलाकारका लागि गाईजात्रा ठूलो पर्व नै हो । फेरि पनि देखाउने भित्री मनबाटै चाहना छ ।”

गाईजात्राका समाग्री फितलो हुँदै गएको भन्न कट्टेल हिच्किचाउँदैनन् । “गाईजात्राका लागि विषय र त्यसको प्रस्तुतिमा हामीले गरेको प्रहसन केही फितलो भयो होला, जति हामीले मेहनत र पूर्वतयारी गर्न सक्थ्यौं त्यति गरेनौं,” उनी भन्छन्, “यसको एउटा कारण सामाजिक सञ्जाल पनि हो । हामीले प्रहसनका लागि रोजेका विषय पहिला नै सामाजिक सञ्जालमा आइसकेका हुन्छन् । युट्युबमा कति क्रिएटिभ नयाँ पुस्ता आइसकेको छ । यसले हास्यव्यङ्ग्य गर्ने कलाकारलाई नयाँ विषय खोज्न पहिला नै सार्वजनिक भइसकेकाले पनि केही कठिनाइ भइरहेको छ ।” 

गाईजात्रैका लागि भनेर वर्ष दिन अगाडिबाट विषयको छनोट, महिनौं दिन अगाडिदेखि रिहर्सल गरेर मात्रै मञ्चमा उत्रिने गरेको कट्टेललाई सम्झना छ । त्यो अहिलेको पुस्ताले गर्न छोडेको उनी स्वीकार्छन् । अहिलेको पुस्ता फास्टफुडजस्तै भएको उनको गुनासो छ । कुनै पनि कुरालाई गम्भीर रुपमा नलिने गरेकाले नै विषयवस्तुको छनोट र प्रस्तुतिमा गहनता नदेखिएको उनको बुझाइ छ ।

“सामान्य रुपमा लिनु नै गाईजात्रा फितलो हुनुको मुख्य कारण हो । पर्वका रुपमा रहेको गाईजात्रालाई आर्थिक रुपमा तुलना गर्न हुँदैन । दुई–चार दिनलाई त हो बाँकी आफ्नै काम छँदैछ भनेर सामान्यीकरण भइरहेको पाइन्छ,” कट्टेल भन्छन्, “यही सोचाइ नै गाइजात्रा कमजोर हुँदै जानुको मुख्य कारण हो ।” 

व्यङ्ग्यका लागि विषय प्रशस्त छन् । सामाजिक, आर्थिक, राजनीतिक, नैतिक आदि । तर प्रायः गाईजात्रामा उठ्ने विषय राजनीतिमात्रै हुन्छन् । बाँकी विषय उठे पनि त्यो अपवादमात्रै हो । उनी यसलाई सामान्य ठान्छन् । “देशको केन्द्रमै राजनीति छ । समाजका सबै विषय राजनीतिकै वरिपरि घुमेका छन्, त्यसैले राजनीति नै व्यङ्ग्यको केन्द्र हो,” कट्टेल भन्छन्, “राजनीतिक स्थिरता भएपछि अन्ततः आउने सामाजिक तथा आर्थिक मुद्दामै हो ।”

० ० ०

शिवहरि पौडेललाई अचेल हास्य कलाकारले भन्दा नेता तथा मन्त्रीहरुले नै दिनदिनै जनता हँसाइरहेको जस्तो लाग्छ । हास्य कलाकारभन्दा नेता र मन्त्रीहरु हसाउन सिपालु छन् भन्ने उनलाई लाग्छ । 

“पहिला साङ्केतिक व्यङ्ग्य हेर्दा पनि जनता हाँस्थे, अहिले दिनदिनै सदनमा सांसदहरुले हँसाइरहेका छन् । एउटा पार्टीले अर्को पार्टीलाई, एउटा नेताले अर्को नेतालाई व्यङ्ग्य गरेर हँसाइरहेका छन् । उनीहरुको शैली नै व्यङ्ग्यात्मक भएका हुनाले हामी कलाकारले देखाएका प्रहसन फिका लाग्न थाले,” पौडेल भन्छन्, “हामीले जति व्यङ्ग्य गरे पनि त्यस्तो व्यङ्ग्य पहिला नै पत्रपत्रिका र रेडियो–टेलिभिजनमा आइसक्छ ।”

गाईजात्रा फितलो हुनुमा दर्शक र कलाकार दुवैको कमजोरी रहेको उनी बताउँछन् । अश्लील संवादहरु नभनी दर्शक नरमाउने गरेको उनको अनुभव छ । “दर्शकलाई दुई–चारवटा अश्लील कुरा नमिसाएसम्म धित नमर्ने भयो । अश्लील व्यङ्ग्य गर्न हामीलाई मन लाग्दैन । परिवारसहित आउने भएकाले पनि अश्लील व्यङ्ग्य गर्न हामी सक्तैनौं,” उनी भन्छन् । 

प्रज्ञा–प्रतिष्ठान पुनःनिर्माणका कारण गत वर्ष गाईजात्रा देखाउन नसकिएको बताएका उनी यस वर्ष चलचित्रमा व्यस्त रहेकाले देखाउन नसकेको स्पष्ट पार्छन् । 

काठमाडौंमा सुविधा सम्पन्न ठूलो हलको अभाव, महँगो हलभाडा र टिकट किनेर हेर्न आउनेभन्दा पास खोज्ने धेरै भएका कारण पनि गाईजात्रा देखाउन कठिन रहेको पौडेल सुनाउँछन् । यद्यपि, आगामी वर्ष गाईजात्रा देखाउने उनी घोषणा गर्छन् ।

० ० ०

‘चट्याङ गीता’का पाँच वटा अङ्क प्रकाशन गरिसकेका कृष्णमुरारि गौतम (चट्याङ मास्टर) वरिष्ठ व्यङ्ग्यकार हुन् । उनलाई पछिल्लो समयका व्यङ्ग्य चित्त बुझिरहेको छैन । व्यङ्ग्य सिर्जना हो र सिर्जना सिर्जनशील व्यक्तिले मात्रै गर्न सक्ने उनको भनाइ छ । देखासिकी गरेर लेखिने र देखाइने व्यङ्ग्यमा आलोचनात्मक चेत नहुने उनी बताउँछन् । 

“पञ्चायतकालमा पञ्चहरुको विरोध गर्नु पनि थियो । तर उनीहरुले थाहा नपाउने गरी लेख्नुपर्‍थ्यो । त्यस्तो अवस्थामा साँच्चै सिर्जनशील व्यक्तिहरुले मात्रै व्यङ्ग्य लेख्थे,” चट्याङ मास्टर भन्छन्, “अहिले फलानोले लेखिदियो म पनि लेखौं न त भनेर लेख्ने चलन आयो । बीपीले जेलमा बस्दाको अनुभव जनतासम्म पुर्‍याउन जेल जर्नल लेखे । अहिले अपराधीहरु पनि जेलको अनुभव लेख्न थाले !” 

टुँडिखेलको गेट खुल्ला छोडदिएपछि कुकर, बिरोलो, बाख्रो, घोडा, गधा सबै भित्र छिरेजस्तै हो हास्यव्यङ्ग्यमा पनि । जो पनि लेखक तथा कलाकार बन्दा हास्यव्यङ्ग्य विद्रुप बन्दै गएको उनी सुनाउँछन् । “अरुलाई मज्जाले गाली गरेर आफै ह्या...ह्या... गरेर हाँसो हुँदैन,” उनी भन्छन्, “स्वतन्त्र हुनु र छाडा हुनुमा फरक छ । हामी स्वतन्त्र भएनौं, छाडा भयौं ।’’ 

पहिलापहिला जसलाई लेख्न र प्रहसन गर्न प्रतिबन्ध लगायो उसले मात्रै लेख्थ्यो । लेख्नु छ, भन्नु छ– तर पाइँदैनथ्यो । ‘‘त्यस्तो अवस्थामा जन्मिएको कला–साहित्यमा व्यङ्ग्यचेत थियो । आफूले भन्न नपाएपछि सुगा होस् या अरु कुनै चिजलाई बिम्ब र प्रतीक बनाएर लेखिन्थ्योे,” उनी भन्छन्, “बीपीको आत्मवृत्तान्त आयो भनेर पुलिस र सेनाका हाकिमले पनि आफ्नो वृत्तान्त लेख्न थालेपछि त्यसमा कसरी साहित्य भेटिन्छ ?”

० ० ० 

तत्कालीन राजकीय प्रज्ञा–प्रतिष्ठानमा सरकारले गाईजात्रा गथ्र्यो । ०३३ सालबाट गाईजात्रा सुरु भयो । सन्तोष पन्तले ३४ सालबाट भाग लिन सुरु गरे । १० वर्ष लगातार उनी उत्कृष्ट भए । त्यसपछि उनले प्रतियोगितामा भाग लिनै छोडे । कलाकारहरुलाई लिएर गाईजात्रा ०५२ सालसम्म गरे । 

पन्तले गाईजात्रामा भाग लिँदा सीमा निर्धारण गरिएको हुन्थ्यो । दरबार र दरबारका सदस्यलाई व्यङ्ग्य गर्न पाइँदैनथ्यो । तर नेता तथा मन्त्रीहरुलाई व्यङ्ग्य गर्न छुट थियो । 

“सुरुमा हामी स्क्रिप्ट तयार पाथ्र्यौं । सेन्सर बोर्ड हुन्थ्यो त्यसले स्क्रिप्ट पास गरेपछि त्यसमा प्रहसन गर्न पाइन्थ्यो,” पन्त सम्झिन्छन्, “सीधै नाम लिएर व्यङ्ग्य गर्न मिल्दैनथ्यो । मलाई सम्झना छ, सूर्यबहादुर थापा प्रधानमन्त्री थिए, उनको हैकम राम्रै थियो । हामीले उनलाई व्यङ्ग्य गर्दै भनेका थियौं– सूर्यले कस्तरी पोल्यो । दर्शकको तालीको पर्रा छुटेको थियो ।”

सेन्सर बोर्डले प्राप्त थुप्रै स्क्रिप्टबाट राम्रा स्क्रिप्ट छान्ने हुँदा मेहनत गरेर लेखिएका कलात्मक व्यङ्ग्यमात्रै छनोट हुने गरेको पन्तको अनुभव छ । ०४६ सालको परिवर्तनपछि स्वतन्त्रताका नाममा प्रजातन्त्रको दुरुपयोग भएको उनको बुझाइ छ ।  
“पछिल्ला दुई–चार वर्षयताका र्गाजात्रा गाईजात्रा होइन गालीगलौज जात्रा भयो,” उनी भन्छन्, “तिघ्रा देखाउँदैमा हाँस्छन् भनेर नग्नता प्रदर्शन भयो । यो उच्छृङ्खल जात्रा भयो ।”

पछिल्लो पुस्ताले कलात्मक पक्ष बिर्सिंदै गएको बताउने पन्तसँग कटु अनुभव छ, “प्रजातन्त्र आएपछि पनि केही समय मैले हाम्रो कलाकारलाई हेन्डल गरेको थिएँ । यो कुराहरु सीधै नभन्ने भनेको थिएँ । पछि गएर केही कलाकारले स्टेजमा उत्ताउलोपन देखाए, किन देखाएको भनेर सोधेको प्रजातन्त्र आइसक्यो अब त पाइहालिन्छ नि भने !” त्यसपछि सन्तोषले पाइन्छ भने तिमीहरु नै देखाऊ भनेर छोडिदिए । ‘‘बिहानबिहानै आउने समाचारमै व्यङ्ग्य सुन्न पाइने अहिलेको अवस्थामा गाईजात्राको के काम होला र,’’ पन्त भन्छन् ।  

० ० ०

०३० को दशकको उत्राद्र्धमा रेडियो नेपालबाट कृष्णा ताम्राकारले ‘रसरङ्ग’ नामक कार्यक्रम सुरु गरिन् । हास्यव्यङ्ग्यको उक्त कार्यक्रम तीन वर्ष चलाउँदा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजपाल थापा, ध्रुव हाडा, मदनदास श्रेष्ठ, सिद्धान्तराम जोशी, शकुन्तला शर्मालगायतलाई बोलाइन् । पञ्चायतकाल थियो । के दिनु हुने र नहुने लामो समय रेडियोमा काम गरेकाले ताम्राकारलाई थाहा थियो । तर पनि रेडियो नेपालका कार्यकारी निर्देशक भोग्यप्रसाद शाहलाई देखाउँथिन् ।

“निर्देशक भोग्यप्रसाद शाहलाई स्क्रिप्ट देखाउँथेँ । कति कुरा त म ठीक छ, यतिको मिल्छ भनेर जिद्धी गर्थे । लुकाउँथे । प्रसारण भएपछि सबै हाँस्थे,” उनी भन्छिन्, “अहिलेको जस्तो हुँदैनथ्यो । हास्य र व्यङ्ग्य दुवै हुन्थ्यो । सामाजिक चेतना र शिक्षाका कुरा पनि हुन्थे । हास्य र व्यङ्ग्यको मीठो सङ्गम हुन्थ्यो । कहिल्यै पनि त्यो गाली भएन ।”

ताम्राकारलाई हरिवंश र मदनकृष्णले ‘रसरङ्ग’को सुरुमै भनेको याद छ, माथिका मान्छेले तलका मान्छेलाई राम्रो गरेन भने जे पनि हुन्छ ।” शासकले जनताको पक्षमा काम गरेन भने शासक अथवा सरकार तथा व्यवस्थाविरुद्ध जनताले विद्रोह गर्छन् भन्नलाई महले उक्त वाक्य प्रयोग गरेका थिए । 

त्यही शैलीलाई जनता मन पराउँथे । रेडियो नेपालको हलमा उक्त गाईजात्रा हेर्नेको भीड लाग्थ्यो । टिकट थिएन, तर पास चाहिन्थ्यो । पास माग्नेको भीड रेडियोमा भन्दा ताम्राकारको घरमा ठूलो हुन्थ्यो । 

“म एक दिन प्युखाबाट घर फर्किंदै थिएँ । एउटा पसलमा ठूलो भीड देखेँ के रहेछ भनेर हेर्दा त रसरङ्ग कार्यक्रम सुन्न मान्छे जम्मा भएका रहेछन्,” आफ्नो समयको गाईजात्रा सम्झिएर नोस्टाल्जिक हुन्छिन् उनी, “अहिलेको गाईजात्रामा गाली हुन्छ । त्यो बेला गाईजात्रा नाटकजस्तो कलात्मक लाग्थ्यो । त्यो कलात्मक शैली अहिले कहाँ पाइन्छ र ?” 

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ०६:३१
प्रतिक्रिया दिनुहोस्