site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
स्वस्तिमाको खुलदुली

काठमाडौं । बक्स अफिसमा मल्टिस्टार चलचित्र सुरक्षित मानिने हुँदा बेलाबेलामा यस्ता चलचित्र आइरहन्छन् । भलै नेपालमा दर्शक तान्ने स्टारडम कलाकार कमै भएकाले स्टार मानिएका कलाकारहरुको भिडभाड भएका चलचित्र पनि नचलेका थुप्रै उदाहरण छन् । 

निर्माताले सुरक्षित बाटो खोज्ने नाममा कलाकारको भिड लगाउँछन् । तर, यस्ता चलचित्रमा धेरै कलाकार खेल्न रुचाउँदैनन् । स्टारडमको छायामा पर्ने डरले कलाकारहरु यस्ता चलचित्रका प्रस्ताव स्वीकार गर्छन् । तर, स्वस्तिमा खड्का भने स्टारडमदेखि डराउँदिनन् । स्टारडमदेखि डराउँथिन् त शायद उनी ‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’मा काम गर्दिन थिइन् । 

“मेरो को–एक्टर को छ र मेरो तुलना ऊसँग हुन्छ भनेर सोच्यो भने त सायद काममा ध्यान नै जाँदैन,” स्वस्तिमा भन्छिन्, “आफ्नो क्यारेक्टर कसरी निर्माण गर्ने र स्ट्रङ बनाउने भन्नेमा जोड दिन्छु । स्टारडमको ओभर स्याडोमा पर्छु भन्ने डरले म काम गर्दिन । मलाई लाग्छ त्यसबारे सोच्नु पनि हुँदैन होला ।”  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संयोग पनि त्यस्तै परिरहेको छ । पहिलो चलचित्र ‘होस्टल’मै उनी मल्टि एक्टरका साथ रजतपटमा भित्रिइन् । त्यसैले पनि स्वस्तिमालाई मल्टिएक्टरको त्रास र स्टारडमको छायाको त्रासको भयले समाउँदैन । 

क्यारेक्टर निर्माणमात्रै होइन, अर्को पक्ष पनि छ स्वस्तिमालाई लपेट्ने । त्यो हो पारिश्रमिक । आफूले लिएको पारिश्रमिक बराबरको कमाइ उनका कारण चलचित्रले गर्छ कि गर्दैन ? उनलाई यो कुराले तनाव दिइरन्छ । केही दिन अगाडि चलचित्र हजार जुनीसम्मको प्रेस मिटमा उनी भन्दैथिइन्, “यो चलचित्रमा सिक्किमे केटीको रोलमा छु, पक्कै पनि दशर्कलाई केही नयाँ फिल दिन सकिन्छ भनेर गरेको हुँ । दर्शकले रुचाउनु हुन्छ होला । गरेको कामको प्रतिफल त आउला ।”

उमेर र लुक्सले पनि होला प्रायः उनलाई निर्माता निर्देशकले चुलबुले चञ्चले युवतीको रोलमा अफर गर्छन् । अधिकांश चलचित्र पनि त्यस्तै छन् । बुलबुल भने फरक थियो । टेम्पो चालक महिलाको क्यारेक्टर थियो । श्रीमान् विदेश गएको, घरमा वृद्ध ससुरा । साथमा छोरी । घर चलाउनु थियो । 

स्टोरी ठिकै थियो । स्क्रिप्ट पढ्दा त्यस्तो भयङ्यकर केही थिएन । टेम्पोमा उनको पछि लाग्ने केटा (चोपेन्द्र)को रोलमा उनकै श्रीमान् निश्चललाई बुलबुल निर्देशकले अफर गरेका थिए । तर, निश्चलले त्यसमा खासै चासो देखाएनन् । पछि मुकुन (चोपेन्द्र) आइपुगे । 

निश्चलले चासो नदेखाएको कथाले स्वस्तिमालाई तान्यो । उनी पहिला स्क्रिप्ट होइन, चलचित्रको निर्माण युनिट हेर्छिन् । “बुलबुलमा पनि के छ र ? एउटी केटी हुन्छे । उसको श्रीमान् विदेशमा हुन्छ । उसले घर चलाएर स्वदेशमा बसिरहेकी हुन्छे त्यही न हो । न साउथ इन्डियन मुभी जस्तो ट्विस्ट एन्ड टन्र्ड छ,” स्वस्तिमा भन्छिन्, “आखिर यसमा भएको कुरालाई टिमले कसरी पोट्रेट गर्छ भन्ने त हो । टिमले चलचित्रको सानो सानो कुरामा ध्यान दियो । चलचित्र राम्रो बन्यो । सबैले मन पराउनुभयो । सबैले स्क्रिप्ट स्क्रिप्ट भन्नुहुन्छ तर नेपालको सन्दर्भमा मलाई त त्यस्तो लाग्दैन । सिम्पल स्क्रिप्ट होस् तर त्यसलाई राम्रोसँग बनाउने टिम छ भने म त ओके गर्छु ।”

निर्देशन गर्दै थिए विनोद पौडेलले । जो ओस्कार इन्टरनेसनल केलजका प्रिन्सिपल थिए । चलचित्रको सानो सानो पक्षलाई मिहिन ढङ्गले केलाउँथे उनी । लेखेका पनि उनैले । हजारौं विद्यार्थीलाई चलचित्रको कखरा घोटाएका उनलाई आफ्नो इज्जत पनि बचाउनु थियो । कलेजको नाम राख्नु थियो । विद्यार्थीका आगाडि आफ्नो नाक जोगाउनु थियो । 

हेर्दा चञ्चल र चुलबुले भए पनि उनलाई यो थाहा थियो । त्यसैले उनले भनिन्, हुन्छ म काम गर्न तयार छु । उनी भन्छिन्, “सुरुमा म टिम हेर्छु । कस्तो टिमले चलचित्र बनाउँदैछ मेरो ध्यान त्यसमा जान्छ, अनिमात्रै म स्क्रिप्ट हेर्छु । टिम हेर्ने भएकाले नयाँ कोही मेकर हुनुहुन्छ भने उहाँ नयाँ भएकैले म गर्दिन भन्दिन । यदि उहाँप्रति मलाई विश्वास लाग्यो भने चलचित्र गर्छु । म अलिकति अभिनेत्रीका हिसाबले सेल्फिस भएर पनि हेर्छु, कुन ब्यानरमा काम गर्दा, कुन टिमसँग काम गर्दा मलाई कसरी हेरिन्छ, त्यो पनि हेर्छु,” इमान्दार भएर बोल्छिन् स्वस्तिमा । 

बुलुबुल व्यावसायिक चलचित्र थिएन । बक्स अफिसमा हिट हुन्छ, रातारात पैसा कमाउँछ भन्ने पनि थिएन । यो कुरा कति स्वस्तिमालाई पनि थाहा थियो । कति कुरा विनोदले पनि भनेका थिए । आर्ट मुभी हो । चलचित्र बुझ्ने व्यक्तिले प्रंशसा गरिरहेका थिए । चलचित्रले समीक्षकहरुको तारिफ पाइरहेको थियो । तारिफ अनुसारको व्यापार भने चलचित्रले गरिरहेको थिएन । नेपाली चलचित्रको बजार अपेक्षित नै थियो, त्यो । तर पनि स्वस्तिमा विनोदलाई हरेक दिन फोन गरेर सोधिरहन्थिन्, चलचित्रको कलेक्सन कस्तो छ, कति कलेक्सन गर्यो । 

“हुन त चलचित्रले कति कमाउँछ, त्यो मेरो सरोकारको विषय होइन भन्ने मलाई थाहा छ । तर, मलाई खुलदुली भइरहन्थ्यो । म हरेक दिन विनोद (पौडेल) दाइलाई फोन गरेर सोधिरहन्थेँ कति उठायो चलचित्रले भनेर,” स्वस्तिमा भन्छिन्, “मैले पारिश्रमिक लिएर काम गरेको चलचित्रको प्रोड्युसर मबाट खुसी हुनुपर्छ । चलिचत्रबाट उसले लगानी उठाउनुपर्छ भन्ने मेरो मान्यता हो । मैले यति पारिश्रमिक लिएको चलचित्रमा मेरो कारणले यति पैसा चलचित्रले उठाउनुपर्छ भनेको कारण पनि यही हो ।” 

अमेरिका पुगेका विनोदलाई हामीले सोध्यौं, हो ?

विनोदले भने, “हो । निकै धेरै कन्सर्न राख्थिन् । मनदेखि काम गर्ने थोरै अभिनेत्रीको सूचीमा उनको नाम सायद अगाडि नै आउँछ । अहिले पनि इन्टरनेसनल राइट्स, अवार्ड कहाँकहाँ के हुँदैछ भनेर सोधिरहेकी हुन्छिन् ।”

नार्ईं नभन्नू ल, छक्का पञ्जा, लभ लभ लभ जस्ता व्यावसायिक चलचित्रमा अभिनय गर्ने स्वस्तिमाले बुलबुल जस्तो गम्भीर चलचित्र गरिन् । बक्स अफिसमा बम्पर व्यापार गर्ने तर समीक्षकको गाली खाने पनि र हलमा दर्शकको संख्या न्यून तर समीक्षकको प्रशंसा बटुल्ने चलचित्र दुबै । स्वस्तिमालाई सबै खालका चलचित्र गर्न मन लाग्छ । कमर्सियल र नन कमर्सियल पनि । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १२:१८
प्रतिक्रिया दिनुहोस्