
यस्तो विद्वान् समुदायको सामु पुरस्कार– संस्थापिका रानीसाहेबको सामु आफ्नो वक्तव्य प्रस्तुत गर्दा मलाई जीवनको आफ्नो आश्चर्यमय अनुभूति भइरहेछ । तथापि, मदन पुरस्कार संस्थापिका सम्माननीया रानीसाहेब ! समारोहमा पाल्नुभएका मेरा अग्रज तथा सबै मान्यनहरू ! यहाँहरू सबैका हृदयमा यसबेला रहेकी माधवीलाई नमस्कार गर्दै तिनैलाई सम्बोधन गर्ने अनुमति निम्ति विनम्र प्रार्थना गर्दछु ।
देवी माधवी ! मदन पुरस्कारका निम्ति तिमी पुरस्कृत भयौ । तिम्रो द्विरागमन सम्पन्न भयो । तिम्रो इतिहास फर्किएर आएको छ । बढी फराकिलो, बढी जिउँदो र बढी मानववादी भएर । बढी सौम्य, झन् विदुषी, उत्सर्गवती–सहनशीला, निष्ठावती र आत्मदर्शी भएर । तिमी माधवी फेरि आयौ हजारौं वर्षपछि । यसपालिको तिम्रो मन्त्र भने शान्तिमन्त्र हुनेछ । तिमीले देख्ने विमोचन उपन्यासका पिच्छल, सारिका, झल्लाक्ष, गिरिका र शान्ताका जस्ता होइनन् कि मानवमात्रै पूर्ण विमोचनको अब साक्षी हुनेछ्यौ, तिमी माधवी !
त्यसैले व्यासकी माधवी तिमी हजारौं वर्षपछि अहिले मात्र पुरस्कृत भयौ, किनभने तिमीले वरुणबलीमा अब कुनै शिशुलाई अर्पित गर्नुपर्ने छैन, घोडाहरूसित साटिनुपर्ने छैन, नियोग निम्ति विश्वामित्रको आदेश पालन गरेर प्रमतकलाई विरक्त स्वागत गर्नुपर्ने छैन । आफूले उनेको मालामा गालबका फूल निम्ति अब रित्तो ठाउँ छाड्दै जानुपर्ने छैन ।
हर्यश्व दासशालाको ‘अमोहsमस्मि’ मन्त्रको त्यो अज्ञात दासले गरेको भविष्यवाणी– “अमोहsमस्मि ! शान्त हो, पुलह शान्त ! हाम्रो प्राणहरण निम्ति आदेश दिन थालिस् ? अन्त्य त मेरो पो आउँदैछ, हामी दासहरूले एकदिन दासशालाका शृङ्खलाको यो संसारबाट मोक्ष पाउनेछौं, यो संसारबाट अँध्यारो सागरपारिको प्रकाशमा हामी पुग्नेछौं बरु, तिमीहरू नै त्यो अँध्यारो सागरमा डुब्नेछौ”– आजको संसारमा चरितार्थ हुँदै छ– तिम्रो वैष्णवी मन्त्रपछि आजको वर्ग–विमोचनका मन्त्रद्वारा ।
मेरा आँसु, रगत र पसिनामा निथु्रक्क भिज्दै तिमीले फेरि यो संसारमा गएको चैत्रमा शब्दरूप पएकी थियौ, गालवले दोस्रोपटक गुरुदक्षिणा चढाएर गुरुत्तर भारबाट मुक्ति पाएको थियो । म प्रसन्न थिएँ । तिम्रो र गालबको साहचर्यमा न्याना उच्छ्वास छाड्दै मैले ती सात वर्षजति बिताएर २९ चैत्रमा तिमीहरूसित बिदा लिएको थिएँ । अहिले यो पुरस्कार पाएर गालबले सधैं नै देवी ‘माधवी !’ भनेर सम्बोधन गरिएकी तिमी वारुणी महामाया फेरि मेरासामु आइपुग्यौ । शब्दरूपमा कर्मरूपमा र शब्द तथा कर्म समन्वय रूपमा ।
शब्दरूपमा स्वागत छ देवी माधवी, तिमी यसैगरी सधैं–सधैं फर्किएर आइरहे– मेरा शब्द भएर, अरूका शब्द भएर, लाखौं नेपालीका शब्द भएर । वाणी–भारती, सरस्वतीका रूपमा सधैं हाम्रा हृदयमा बास गरिरहे । अनि विमोचनकारी कर्म भएर पनि तिमी बारम्बार आइरहे नेपालमा । लेनिनले सामाजिक परिवर्तन निम्ति सङ्गठन गर्दा कर्म र शब्दलाई सधैं सर्वोच्च ठाउँ दिएका थिए । आजको यो संसारलाई देखेर तिमीले बुझेकी छँदै छौ नि, देवी !
मानव समाजमा कर्म र शब्द अमृत, अजर, अमर र शाश्वत छन् । शब्दले ईश्वरसमेतको सृष्टि ग¥यो, कर्मले ज्ञान–विज्ञान र विकासमा क्रान्ति गरिरहेछ र दुवैको समन्वयले विश्वमा स्थायी शान्ति ल्याउने भएको छ ।
तिमी त्यो समवेत रूप हौ माधवी र समवेत भएरै मेरो जीवन आयौ– आफ्नो अधूरो रहेको कर्म, त्यो स्वयम्बरलाई हजारौं वर्षपछि नेपालमा यहाँ पूरा गर्यौ । साँच्चै नै आजको संसार मानव जीवनको परिपूर्तितर्फ नै त झन्झन् लम्किरहेको छ । आऊ अघि बढौं– सँगसँगै । त्यो कर्णिकार बोटमुन्तिर गालबले गरेको आफ्नो त्यो प्रतिज्ञालाई आज फेरि सम्झ– “सहनाभवतु सहनौ भुनक्तु सहवीर्य करवाव है....।” त्यस दिनको तिम्रो त्यो प्रतिज्ञा नै आजको हाम्रो, समग्र नेपालीको प्रथम प्रतिज्ञा हुनुपरेको छ । लौ आऊ देवी माधवी सँगै उभिएर शान्त मनले त्यो प्रतिज्ञालाई आज हामी सबैले दोहोर्याऊँ । मेरो जीवनमो तिम्रो द्विरागमन त्यही प्रतिज्ञामा सार्थक हुनेछ– अब तिमीले र गालबले त्यसरी पहिलेझैं दासत्वमा भौंतारिँदै हिँड्नुपर्ने छैन र सजिलै गुरुदक्षिणा– भारबाट मुुक्ति पाउनेछौ ।
“चरैवेति–चरैवेति” कै त्यो तिम्रो जीवन थियो । आज त्यसमा झन् नयाँ दिशा र झन् नयाँ बेग थप्नुपरेको छ, लौ फेरि सँगै काम गरौं । सबै नेपालीमा नयाँ शक्ति थपौं । व्यासासनसामु हात जोडेर हजारौं वर्ष मौन उभिइरह्यौं महाभारतमा, अब हिँड र नेपालको तीर्थयात्रा गर्दै संसारलाई अँगालोमा अटाउने कोसिस गर । नेपालीहरू तिम्रा साथ छन् । यी सात हिमाल ती एक्काइस सागर तिम्रै कर्मक्षेत्र हुन् ।
मलाई थाहा छैन देवी माधवी, तिमी के भाषा बोल्थ्यौ ! तर तिम्रो जीवनले यो मेरा नेपाली भाषामा थप पूर्णता र बढी परिपूर्ति पायो– त्यो परिपूर्ति नभएको भए तिमी पुरस्कृत पनि हुने थिइनौ र एउटा ठूलो राष्ट्रिय सम्मानबाट बञ्चित हुने थियौ । तिम्रो यो सम्मानबाट आज व्यास नै कति प्रसन्न भए होलान्, मेरो त के कुरा ! तिम्रो समयमा मुद्रा थिएन देवी–मन्त्र र माला थिए । त्यसकारण आजको यो पुरस्कारको राशिलाई भन्दा पनि साथको दियोको यो प्रकाशलाई हेर, आफ्नो अमोहकमस्मिको– म प्राण हुँ, म मानिस हुँ, भन्ने मूलमन्त्रलाई सार्थक तुल्याउन नेपाली वाङ्मयको अझ बढी सम्बद्र्धन निम्ति यो पुरस्कारलाई यो दीपशिखालाई न्याय र विवेकका दृष्टिले हेरेर ग्रहण गर अनि झन् सुन्दरी, झन् विदुषी झन् आत्मनिष्ठ, आत्म–निग्रही, झन् उज्याली र शब्द–कर्म–समन्वयी भएर नेपाली वाङ्मयको अभिवृद्धि निम्ति हरेक वर्ष आऊ र यसैगरी पुरस्कार र दीपशिखा ग्रहण गर्दै नेपाली लेखनीको सरस्वतीरूपको सम्बद्र्धन गर देवी ! यो मदन पुरस्कार भनेको तिम्रै निम्ति थियो, तिम्रै निम्ति भयो र तिम्रै निम्ति रहने निश्चित विश्वास गर, आत्मविश्वासलाई तिमीले गुमाउनुपर्ने छैन भन्ने बुझ ।
मलाई थाहा छ, आजको यो कथाबारे पनि तिमीले व्यास, वैशम्पायन र शुकलाई मुटु अठ्याउने गरी सुनाउनेछ्यौ । तिमीले आफ्नो कथाको यो निम्ति त तिमीप्रति आभार व्यक्त गर्नेछु । तिमीसित मेरो यस्तो साक्षात्कार नै त मेरा निम्ति तिमीप्रति आभार व्यक्त गर्छु । तिमीसित मेरो यस्तो साक्षात्कार नै मेरा ठूला ज्ञानका स्रोत बनेका छन् ।
धन्यवाद छ, देवी म फेरि पनि तिमीप्रति नै ऋणी रहनेछु र सकेँ भने तिमीलाई फेरि भेट्नेछु ।
साथै, यो वरिष्ठ सभामा मेरो कृतिलाई लिएर यो वरिष्ठ सभामा विद्वान् समुदायबाट जेजति उद्गार भएका छन् । त्यसको निम्ति म हार्दिक धन्यवाद अर्पण गर्दछु ।
धन्यवाद !
(स्व. मदनमणि दीक्षितले ‘माधवी’ औपन्यासिक कृतिका लागि २०३९ सालको मदन पुरस्कार ग्रहण गर्दा २०४० साल असोज २५ गते दिएको मन्तव्यको उद्धृतांश)
तस्बिर साैजन्यः मदन पुरस्कार गुठी