
राजविराज (सप्तरी) । सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका–१, भलुवा जाने बाँधको भित्री सडकखण्डमा आइतबार दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।
कंकालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को१०प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा५५प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्किँदा दुवै चालकको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार, बा५५प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ नपा–११, राजपुर बस्ने वर्ष १९ का अविनाश मण्डल र को१०प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरूप नपा–१ बैरवा बस्ने वर्ष ३४ को ओमप्रकाश पञ्जियारको मृत्यु भएको हो ।
मण्डलको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा र पञ्जियारको विराटनगरस्थित न्युरोमा उपचारका क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।
त्यस्तै, को१०प ५६२ नम्बरको मोटरसाइकलको पछाडि सवार कञ्चनरुप–१ कै वर्ष ३० को सुभास महतो घाइते भएका छन् । उनलाई उपचारपछि घर पठाइएको र दुर्घटना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस