site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिंहदरबारभित्र यस्तो बन्दैछ संघीय संसद् भवन  

काठमाडौं । सरकारले संघीय संसदको भवन निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । सिंहदरबारभित्रको पुतली बगैँचामा बन्ने भवनका लागि टेन्डर आह्वान भइसकेको छ ।  सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले अहिले भवन निर्माणका लागि परेका टेन्डरको मुल्यांकन गरिरहेको जनाएको छ । विभागका विशेष भवन निर्माण इकाइका संयोजक प्रकिर्ण तुलाधरले भवन निर्माणको प्रक्रिया अघि बढिसकेको बताए । 

उनका अनुसार भवन निर्माणका लागि १७ वटा कम्पनीले टेन्डर हालेका छन् ।  अहिले ती कम्पनीका बारेमा मूल्यांकनको काम भइरहेको उनले बताए । संघीय संसद भवन निर्माणको काम यहि आर्थिक वर्षमा सुरु गरेर तीन वर्षभित्र सम्पन्न गरिसक्ने विभागको लक्ष्य छ ।  विभागका अनुसार भवन निर्माणमा भ्याटबाहेक ७ अर्ब रुपैयाँ लाग्नेछ । आफनै भवन नहुँदा हाल संघीय संसद भवन भाडामा छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वार्षिक करिब १५ करोड भाडा तिरेर बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हाल संघीय संसद छ ।  गुरुयोजनाअनुसार मुख्य संसद् भवनको दायाँतिर तीन तलाको संसद सचिवालयको भवन बन्नेछ ।  राष्ट्रियसभा भवनको उत्तरतिर अतिविशिष्ट व्यक्तिहरुको कार्यालय भवन बनाइनेछ । यो भवन चार तलाको हुनेछ । 
यही भवनमा प्रधानमन्त्रीको कार्यकक्ष, राष्ट्रिय सभाको कार्यकक्ष र उपाध्यक्षको कार्यकक्ष बनाइनेछ । 

यस्तो हुनेछ संघीय संसद परिसर 

भवन निर्माण इकाइले तयार गरेको गुरुयोजनाअनुसार सिंहदरबारस्थित  पुतली बगैँचामा रहेको एक सय ७३ रोपनी ८ आनामा संघीय संसद भवन बन्नेछ ।  संघीय संसद परिसरभित्र प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिहरुको कार्यालय भवन, पुस्तकालय, संसदीय दलको कार्यालय भवन, संसदीय समितिको भवन, चमेना गृह, छपाइ भवन बन्नेछन् । संघीय संसद परिसरमा सातसय वटा सवारी साधन पार्किङ गर्न सकिनेछ । 

भवन निर्माणको मुख्य गुरुयोजनालाई ४ भागमा विभाजन गरिएको छ । जसमा २७ प्रतिशत जग्गामा भवन निर्माण गरिनेछ भने ४५ प्रतिशत जग्गा हरियाली खुला क्षेत्र हुनेछ । बाँकी जग्गामा भने सडक र वाटर बडीका लागि राखिएको छ ।  संघीय संसद भवन छिर्ने मुल ढोका दक्षिणतिर राखिने छ । सांसदहरु संसद भवन प्रवेश गर्न उत्तरतर्फ ढोका राखिने छ भने दक्षिण पूर्वमा कर्मचारी र सर्वसाधारण प्रवेशका लागि गेट राखिनेछ । 

सबै भवनहरुको वास्तुकला तथा डिजाइन काठमाडौंको स्थानीय वास्तुकला झल्कने खालको हुने संयोजक तुलाधरले बताए ।  प्रायः सबै भवनहरु तीनतलाको हुनेछ भने संसदीय दलको समिति भवन र कार्यालय भवन भने ५ तल्लाको हुने छ ।  “संघीय संसद भवन परिसर निर्माण आयोजना आफैँमा एक विशाल एवं ऐतिहासिक आयोजनाका रुपमा लिन सकिन्छ,” विभागका संयोजक तुलाधरले भने, “हरियाली चौर, पानीका फोहोरा, सार्वजनिक खुला चौर, आदि खुला क्षेत्रलाई योजनावद्ध रुपमा प्रत्येक भवनको वरिपरी निर्माण गरिने छ ।” 

उनले यहाँ बन्ने संरचना भूकम्प, आगलागीजस्ता आपत्कालीन अवस्थालाई ध्यानमा राखेर नेपालको मापदण्डअनुरुप इन्जिनियरिङ डिजाइन गरिएको जानकारी पनि दिए ।  मुख्य संसद भवनको दायाँतिर उत्तरपूर्वमा ५ तलाको संसदीय समितिको कार्यालय भवन बन्नेछ ।  यसको दायाँतर्फ सानो छापाखानाको भवन रहनेछ । बायाँतर्फ उत्तरकुनामा ५ तलाको पार्टी कार्यालय भवन हुनेछ । यस परिसर वरपर करिब तीनसय पचास वटा गाडीहरु पार्क गर्न मिल्ने गरि पार्किङ्ग बनाइनेछ । यसबाहेक पनि तीन सय गाडी एकैपटक पार्किङ गर्न सकिने गरि डबल बेसमेन्टसहितको छुटटै पार्किङ भवनसहित सुरक्षा निकायको भवन राखिने छ । 

प्रतिनिधि सभा र राष्ट्रिय सभा भवन

प्रतिनिधि सभा भवन ४ सय सांसदहरु बस्न मिल्ने खालको बनाइने छ । सभामुखको कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, अति विशिष्ट कक्ष र शौचालय यही भवनभित्र निर्माण हुनेछ । प्रतिनिधि सभामा सांसदबाहेक थप तीन सय मानिस अट्न सक्ने बाल्कोनी हल पनि बन्नेछ । त्यस्तै सुरक्षाकर्मी र मार्सलका लागि दुईसय जना अटने अर्को हल पनि बन्नेछ । यसरी प्रतिनिधि सभा करिब ९ सय मानिस अटाउने गरि बनाइने तयारी छ । 

त्यस्तै राष्ट्रिय सभा भवनमा एक सय सांसद अटने ठुलो हल बन्नेछ । विभिन्न प्राविधिक कक्षहरु, सभा अध्यक्षको कार्यकक्ष र दुई सय जना अटने बाल्कोनी बन्नेछ । अरु थप तीनसय जना अटने अर्को हल बनाइनेछ । 

तस्बिर तथा भिडियोः सहरी विकास मन्त्रालय

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  ०९:४३
प्रतिक्रिया दिनुहोस्