
सम्पदा मल्ल भारतीय चर्चित टीभी सिरियल तथा केही चलचित्रकी पटकथा लेखिका हुन् । उनले भारतको नयाँ दिल्लीस्थित ‘एसियन एकेडेमी अफ फिल्म्स् एन्ड टीभी ’मा ‘फिल्म मेकिङ’मा स्नातकोत्तर गरेकी छन् । नाटक परिवारमै जन्मिएकी उनले कक्षा ७ मा हुँदादेखि नै लेखनमा हात होलेकी थिइन् । वरिष्ठ नाटक निर्देशक अशेष मल्ल्ल र नाटककार डा. सावित्री मल्ल कक्षपतिकी छोरी हुन् सम्पदा । उनी आफनो परिचय बुवाकोे नामबाट भन्दा पनि आफ्नै कामबाट दिन चाहन्छिन् ।
भारतीय टीभी सिरियल र चलचित्रसँगै उनले तीनवटा नेपाली चलचित्र पनि लेखिसकेकी छन् । तर नाटक हेरेरै हुर्किएकी सम्पदाले नाटक लेखन भने ‘अर्को कुरुक्षेत्र’बाट सुरु गरेकी छन् । ‘अर्को कुरुक्षेत्र’ साउन २४ देखि भदौ २१ गतेसम्म सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ, जसको निर्देशन अशेष मल्लले गरेका छन् । नाटक लेखन, निर्देशन तथा चलचित्रबारे सम्पदासँग वाह्रखरीकर्मी वर्षा महर्जनले गरेको कुराकानीको सारः
ठूलो बजार भएको भारत छोडेर नेपालको सानो रङ्गकर्मको बजारमा किन आउनुभएको ?
आफ्नो माटोको चिजमात्रै आफूले लेख्न सकिँदो रहेछ । भारतमा टीभी सिरियलहरु लेख्दा एकदमै गाह्रो हुन्थ्यो । किनभने त्यो कला, संस्कृतिमा म राम्ररी भिजेको थिइनँ । हामीले लेखकका रुपमा समाज देखाउनु पर्दा आफ्नो देशको ‘बेस्ट’ देखाउन सकिन्छ भनेर त्यहाँको ठूलो अवसर र बजार छोडेर नेपाल आएको हुँ । नेपालमा नेपालकै विषयमा काम गर्छु भनेर फर्किएको हुँ ।
नेपालमा नाटक लेखकहरु निकै कम छन् । यही कारण पनि तपाईं नाटकलेखनमा आउनुभएको हो ?
म त पहिलेदेखि नै लेखनमा छु । मुम्बईमा पढाइसकेर उतै जीटीभी, कलर्सजस्ता च्यानलमा सिरियल लेखकको रुपमा काम गरेँ । अहिले यहाँ पनि म चलचित्र लेखन गरिरहेको छु । मैले लेखेको तीनवटा चलचित्र प्रदर्शनमा आउँदै छ । जसमध्ये उषा रजक (नाट्यकर्मी) भएको चलचित्र ‘कठपुतली’ पनि आउँदैछ । आफूलाई लेखन नै मन पर्ने भएकोले मैले नाटक लेखनमा पाइला चालेको हो ।
परिवार नै नाट्यक्षेत्रमा लागेपछि कत्तिको सहज हुन्छ ?
सहजता त अवश्य हुन्छ । यो क्षेत्रमा प्रवेश गर्न पहिलो चुनौती भनेकै पारिवारिक हुने गर्छ । यो क्षेत्रमा लागेर एकैचोटी पैसा कमाउन सकिँदैन, लामो सघङ्र्ष गर्नुपर्छ । यसले गर्दा परिवारको साथ पाउन गाह्रो पर्छ । म आफूलाई धेरै भाग्यमानी ठान्छु । किनभने, परिवार पहिल्यैदेखि यसमै लागेको भएर उहाँहरुले सङ्घर्ष बुझ्नुभएको छ र मलाई सहज छ ।
यसका नराम्रा पक्ष पनि हुन्छन् ?
सानै उमेरदेखि म लेख्न थालेँ । यसकारण, मिडियामा मेरा अन्तरवार्ता, समाचारहरु छापिन्थ्यो । तर त्यहाँ जहिले पनि अशेष मल्लकी छोरी भनेर लेखियो, जुन आवश्यक थिएन । मलाई अशेषकी छोरीको रुपमा परिचय गर्नुपर्दैन भन्दा पनि मिडियाले लेख्न छाडेन । आफ्नो परिचय छायाँमा परेको हो कि जस्तो लाग्छ ।
तर यो एउटा ‘सेकेन्डरी’ कुरामात्रै हो । फाइदाहरु धेरै छन् । मेरै सहकर्मीहरुले गर्नुपरेको सङ्घर्ष देखेकी छु मैले, जुन मेरोभन्दा निकै कठिन छन् । विशेष त महिलाहरुले धेरै सङ्घर्ष गर्नुपर्छ । यो हिसाबले परिवार नाटक या कलाक्षेत्रमै आवद्ध हुनुमा फाइदा धेरै छ ।
चलचित्र लेखनबाट नाटक लेखनमा कसरी प्रवेश गर्नुभयो ?
खासमा यो मैले लेखेको एउटा कथा थियो । यो कथाबारे बुवासँग कुरा गर्दा उहाँले यसलाई नाटकमा प्रस्तुत गरौं न त भन्नुभयो । बुवाजस्तो एक लिजेन्डरी निर्देशकले यसमा काम गर्छु भन्नु मेरा लागि अझै ठूलो हौसला र सफलताको कुरा बन्यो । र, उषा दिदीसँग म पहिलादेखि नै नजिक थिएँ । उहाँमा म कलाकारिताको भोक सधैं देख्थँे । मैले उहाँसँग पनि कुरा गरेँ, उहाँ पनि मेरो प्रस्ताव स्वीकार गरेर नेपाल आउनुभयो । बच्चादेखि नै म नाटक हेरेर हुर्किएकी हुँ । तर चलचत्रि लेखनप्रति मेरो बढी झुकाव भयो । मैले नाटक नै लेख्छु भनेर सोच बनाएको भने थिएन । नाटक लेखनमा प्रवेश गर्ने एउटा राम्रो अवसर देखेर मैले यो नाटक लेखेको हुँ ।
हेरेरै हुर्किनुभयो । नाटकको दर्शक साँच्चै नै बढेका हुन् ?
एकदमै बढेको हो । हामी आफै हीनताबोध गर्छौं– अन्यमुलुकको भन्दा हाम्रो राम्रो छैन, बजार छैनजस्ता कुरा गरेर । पछिल्लो समय नेपालमा नाटकको अवस्था धेरै राम्रो भएको छ । अहिले नै सर्वनामसँगै काठमाडौंमा थुप्रै निजी नाटकघरहरु चलिरहेका छन् । जहाँ नाटकको ‘हाउसफुल सो’ हुन्छ । दर्शक २०० देखि ५०० सम्मको टिकट किनेर नाटक हेर्न जान्छन् ।
भनेपछि अब नाटक गरेरै कलाकारहरु जीवन चलाउन सक्ने अवस्था आयो ?
अहिले नाटक गरेरै जीविकोपार्जन गर्न सक्ने अवस्था छैन । तर पहिलाको तुलनामा नाटकको दर्शक वृद्धि भएको अवस्था छ । थुप्रै नाटकघरहरु छन्, एउटै नाटक दुई महिनासम्म पनि चल्न थालेको छ । तर चलचित्रमा जत्तिको नाटकमा दर्शक वृद्धि भएको छैन । पहिले चलचित्रमै लागेर पनि जीविकोपार्जन गाह्रो थियो । अहिले यसमा परिवर्तन आएको छ । नाटक हाम्रो लागि गुरु हो । नाटकमा पैसाको आश गर्ने होइन । नाटक अहिले नै व्यावसायिक रुपमा अघि बढेको छैन, तर यसले अभिनय तिखार्नका लागि ठूलो मद्दत गर्छ ।
मलाई लाग्छ, विस्तारै व्यावसायिक हुँदैछ । पहिला लगानी पनि उठ्दैथ्यो, अहिले त्यो अवस्था छैन ।
तपाईंले भारतमा अध्ययन गरेको विषय नाटक लेखनसँग सम्बद्ध छ ?
छैन, एकदमै फरक छ । नाटक लेखनमा अमूर्तता र कलात्मक शैली हुन्छ भने चलचित्र लेखन यथार्थवादी हुन्छ । मैले अघि भनेजस्तै नाटक गुरु हो । नाटकबाटै चलचित्र जन्मेको हो । दुवैमा कथा वाचन गर्ने नै हो । तर दुवैको आआफनै शैली छ । आखिर भन्ने त कथा नै हो नि !
पछिल्लो समय प्रायः नाटक कथाबाट तयार पारिएको देखिन्छ, यसको कारण के हुन सक्ला ?
मञ्चनकै लागि भनेर पनि नाटक लेखिएका छन् । बुवाकै कुरा गर्ने हो भने पनि उहाँले जति नाटक गर्नुभयो ती सबै आफैं लेख्नुभयो । किताबबाट ‘एडप्ट’ पनि हुन्छ । यो चलचित्रमा पनि हुन्छ । यसको कारण नेपालमा नाटक लेखकको कमी हो । नाटक लेखकमात्रै होइन, चलचित्र लेखकको पनि कमी छ यहाँ । नाटक र चलचित्र निर्देशकहरु धेरै भए, तर लेखकहरुचाहिँ कम । त्यसैले अहिले हामीजस्तो नयाँपिढीका लेखकहरुको लागि ठूलो अवसर छ । नाटकमा ८–१० लाख रुपैयाँ हाल्न लगानीकर्ता तयार छन् । तर लेखक नै भएनन् ।
सर्वनाममा राम्रा कलाकार किन टिक्दैनन् ?
कामको सिलसिलामा मानिसहरु एक ठाउँबाट अर्कोमा जानुहुन्छ । यो जीवनको एउटा पाटो हो । त्यसैले सर्वनाममै टिकिराख्नु जरुरी छैन । आफूलाइ जहाँ राम्रो लाग्यो त्यहीँ जाने हो । नाटकमा धेरै कलाकार आउँछन्, तर पछि आर्थिक समस्या या त अन्य कारण नाटकमै टिकेर रहन सक्दैनन् ।
अशेष मल्लको निर्देशन परम्परागत मानिन्छ नि !
उहाँको निर्देशन शैली परम्परागत छ भनेर म मान्दिनँ । किनभने, म उहाँमा सधंै नयाँ कुराको खोज गर्ने र नयाँ शैलीबारे अध्ययन गर्ने आदत देख्छु । उहाँको निर्देशनमा नयाँपन जहिले पनि पाइन्छ । त्यसैले उहाँको निर्देशन शैली परम्परागत छ भन्ने कुरा मलाई लाग्दैन ।
नेपालमा थिएटर कल्चरको किन विकास नभएको होला ?
अहिले नेपालमा पनि यसको विकास भइरहेको छ । सर्वनाम मात्रै होइन, मण्डला, शिल्पी, कौशी नाटकघरहरुमा नाटक हुँदा फोन आउँछ । दर्शकहरु अहिले कुन नाटक चलिरहेको छ भनेर फोन गर्छन् । टिकट बुकिङ हुन्छ । शनिबार र आइतबार त हाउसफुल हुन्छन् नाटकघरहरु । चलचित्रको भन्दा पनि महँगो छ नाटकको टिकट । तर पनि दर्शकहरु आइरहेकै छन् । नेपालको जस्तो कल्चर र दर्शकको विश्वास त भारतमा पनि छैन नाटकप्रति ।
नाटकमा दर्शकको लगाव कहिलेदेखि बढ्न थालेको महसुुस गर्नुभयो ?
यो सुनील पोखरेल अङ्कलको गुरुकुल नाटक घरबाट सुरु भएको हो । बुवाहरुले पनि पहिला नाटक गर्नुहुन्थ्यो, तर हल थिएन । सर्वनाम त्यतिबेला बनिसकेको थिएन । मलाई अहिले पनि याद छ, सर्वनामको वार्षिकोत्सवमा नाटक हुन्थ्यो । र, विहानदेखि एफएमहरुले आज सर्वनामको नाटक हुँदैछ भनेर प्रसारण गथ्र्यो । नाटक हेर्ने दर्शकको यति धेरै भीड हुन्थ्यो कि खुट्टा राख्ने ठाउँ पनि हुँदैनथ्यो । पछि गुरुकुल नाटकघर बन्यो । यसले नाटक निरन्तर मञ्चन गर्न थाल्यो । सर्वनाम, मण्डला बन्यो ।
चलचित्रहलमा जत्तिको भौतिक सुविधा नाटकहलमा हुन्न । तर पनि नाटकको मूल्य किन धेरै ?
एउटा चलचित्र रिलिज हुनेबित्तिकै डीभीडीमा राखेर विश्वव्यापी हेर्न सक्छौं । तर नाटक लाइभ हुन्छ । मेहनत र खर्च धेरै छ । महिनौं दिनसम्म रिहर्सलको लागि समय छुट्याउनुपर्छ । नाटक हुँदा पनि समय लाग्छ । यति हुँदाहुँदै पनि कलाकारहरुको लागि जीवन चलाउन गाह्रो परिरहेको छ । अलिकति सम्झौताचाहिँ दर्शकले गर्नुपर्छ भन्ने लाग्छ मूल्यमा । हो म मान्छु, मल्टिप्लेक्स हलमा जतिको सुविधा नाटकघरमा हुन्न । तर अब त नाटकघरहरुले पनि विस्तारै सेवासुविधा थप्दैछन् ।