site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पुस्तक परिचय

सरलतामा दृढता : सुशील कोइराला
(व्यक्तिवृत्त : शङ्कर तिवारी)
नेपाली काङ्ग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममात्रै हैन, उनको कार्यशैलीसँग पनि सिङ्गो नेपाली परिचित छन् । काङ्ग्रेसका नेता कोइराला जति सरल थिए, त्यति नै आफ्नो कर्मप्रति दृढ र जुझारू पनि थिए । 
कोइराला लामो समय पार्टीको सङ्गठन विस्तारमा सक्रिय रहे । उनको साङ्गठनिक सक्रियताले नेपाली काङ्ग्रेसलाई बलियो बनाएको धेरैले धेरै ठाउँमा उल्लेख गरेको विषय हो । 

सुशील कोइराला मुलुकको प्रधानमन्त्री भएको समयमा उनकै नेतृत्वदायी स्थितिमा सङ्घीय लोकतान्त्रिक संविधान नेपाल र नेपालीले पाए । यसै कारण पनि सुशील कोइरालाको व्यक्तित्वले इतिहासमा खास महत्व राखेको यस पुस्तकमा उल्लेख छ ।

यस पुस्तकमा कोइरालाको कार्यशैली र कर्मप्रतिको निष्ठाका बारेमा पनि उल्लेख छ । पुस्तकका लेखक लेख्छन्, ‘‘सुशील हठयोगी व्यक्ति थिए, उनको त्यही व्यक्तित्व संविधान निर्माणका लागि सहायक सिद्ध भयो । उनको हठयोग व्यक्तिगत लाभहानिका लागि भन्दा पनि लोकतन्त्रको रथलाई सफल बनाउनका खातिर प्रयुक्त भएको थियो ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुशील कोइराला मेमोरियल फाउन्डेसनले कोइरालाको राजनीतिक जीवन प्रसङ्ग पुस्तक प्रकाशित गरेको हो । पुस्तकको मूल्य तोकिएको छैन । 

उ रनपाओ
(जीवनी :मूल लेखक– ख्ह चियानमिङ, अनुवाद– डा. झमकप्रसाद शर्मा)
चाह्यो भने जे पनि गर्न सकिन्छ, तर चाहनासँगै त्यसलाई पूर्णता दिन कार्यक्षेत्रमा भिडेर पनि लाग्नुपर्छ । अनिमात्रै विकास हुन्छ भन्ने तथ्य चिनियाँ लेखक ख्ह चियानमिङको पुस्तक ‘उ रनपाओ’मा प्रस्तुत छ । 

उ रनपाओ, चीनका एक विकासवादी व्यक्ति हुन्, जसले एउटा अति विपन्न गाउँ ख्वासीलाई सर्वाधिक सम्पन्न गाउँका रुपमा विकसित तुल्याए । यो पुस्तक तिनै उ रनपाओले ख्वासीलाई समृद्ध बनाउन गरेका कार्यहरूको विवरण हो । 

कुनै समयमा अति विपन्न गाउँ मानिने ख्वासीमा बसोबास गर्ने हरेक व्यक्ति आज सम्पन्न अवस्थामा रहेको पुस्तकमा उल्लेख छ । ख्वासीको समृद्धि देखेपछि त्यसवरपरका १६ वटा गाउँहरू ख्वासीमा गाभिए । विकास अभियन्ता उ रनपाओले केवल २५ वर्षमा ख्वासी गाउँलाई सर्वाधिक सम्पन्न र विकसित गाउँमा परिणत गरेका थिए ।
मकालु प्रकाशन गृहले बजारमा ल्याएको यस पुस्तकको मूल्य ३२५ रुपैयाँ तोकिएको छ ।

कमलराज रेग्मीका कविताहरू
(कविता : कमलराज रेग्मी)
राजनीतिज्ञ तथा चिन्तक कमलराज रेग्मीद्वारा रचिएका काव्य रचनाहरूको सँगालो प्रकाशनमा आएको छ । कवि रेग्मीकी सुपत्री कलाकार सन्ध्या रेग्मीद्वारा सम्पादित यस कवितासङ्ग्रहमा रेग्मीका ३० वटा लामा–छोटा कविता सङ्गृहित छन् ।
जता हेर जननी, जननी,
कोदालो खन्दै रहेको किसान एउटा जननी हो,
छिनो कप्दै गरेको डकर्मी,
बसिला ताछ्दै गरेको डकर्मी, 
गह्रुँगो घन ठोक्दै रहेको श्रमिक,
कुम्भकार,
मूर्तिकार,
शिल्पकार,
साहित्यकार आदि
यी  सबै प्रसूतिवेदना बेहोर्ने आमा हुन्....
(आमाको चरणमा मेरो निधार)
१० वर्षको उमेरदेखि कविताका क्षेत्रमा कलम चलाउँदै आएका राजनीतिज्ञ कमलराज रेग्मीका कवितामा दर्शन, विचार, भावना र प्रकृति पोखिएको छ ।
बुद्ध शान्ति फाउन्डेसन, ललितपुरद्वारा प्रकाशित कवितासङ्ग्रहको मूल्य २०० तोकिएको छ ।

विसर्ग

(उपन्यास : परशु प्रधान/गोविन्द गिरी प्रेरणा)
वरिष्ठ आख्यानकार परशु प्रधान र आख्यानलगायत विविध विधामा कलम चलाउँदै आएका साहित्यकार गोविन्द गिरी प्रेरणाको संयुक्त लेखनमा प्रकाशित उपन्यास हो, ‘विसर्ग’ । 

उपन्यास लेखनका क्षेत्रमा संयुक्त कृति खासै छैन । केही लेखकहरू मिलेर लेखिएको पहिलो संयुक्त उपन्यास ‘आकाश विभाजित छ’लाई मानिन्छ । यो उपन्यास १० जनाले लेखेका थिए । त्यसबाहेक अरु पनि केही नेपाली उपन्यासहरू संयुक्त लेखनमा रहेको पाइन्छ । धु्रवचन्द्र गौतम र धु्रव सापकोटाका पनि संयुक्त उपन्यास छन् ।  

केही समयअघि मात्रै प्रकाशनमा आएको विसर्ग दुई चर्चित साहित्यकारहरूको संयुक्त लेखन हो । यस उपन्यासमा प्रेम छ, जीवन छ, गाउँ छ, माटो छ, कर्मचारीतन्त्र र राजनीतिदेखि भ्रष्टाचारसम्मका कथा अभिव्यक्त छ । अर्थात्, आजको सिङ्गो समकालीन परिवेशको कथा विसर्गमा उतार्न खोजिएको छ ।

रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको यस उपन्यासको मूल्य २५० राखिएको छ ।  
 
 
 

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  १३:३२
प्रतिक्रिया दिनुहोस्