site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गुडनाइट काजीदाइ !

ध.च. गोतामे


१९५७ ताका म काठमाडौं, न्ह्योखास्थित कन्यामन्दिर हाइस्कुलमा पढाउँथेँ । स्कुलका प्रधानाध्यापक केदारनाथ नेउपाने थिए । नेउपाने अत्यन्त सरल स्वभावका व्यक्ति थिए । त्यसै स्कुलमा मसितै कृष्णचन्द्रसिंह प्रधान पनि पढाउँथे । उनी त्यहाँ पुराना शिक्षक थिए र उनैको प्रयासले म त्यस कन्या पाठशालामा शिक्षक भएको थिएँ ।

एकदिन कृष्णचन्द्रसिंहले मलाई भने– “विश्वशान्ति सम्मेलन श्रीलङ्कामा हुने भएको रहेछ । नेपालबाट सम्मेलनमा प्रतिनिधित्व गर्न जम्मा अढाइ टिकट प्राप्त भएको छ । यहाँको शान्ति समितिले आतेजाते भएको दुई टिकटमा जानेगरी काजीदाइ र मलाई छानेको छ । एउटा टिकट एकतर्फी, अर्थात् जाने मात्र भएकोले तपार्इंलाई सोधेको हूँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मैले भनेँ– “फर्किंदा निजी खर्चमा यात्रा गर्ने गरी कस्तो हवाईटिकट पठाएको होला ? तपाईंलाई थाहा छ, म घरघर डुलेर ट्युसन पढाउने यस विद्यालयको निम्न वेतनभोगी शिक्षक हूँ । फिर्ती यात्राको त्यत्रो व्ययभार कसरी वहन गर्न सक्छु ? अतः जाने कुरै आउँदैन ।”

कवि सिद्धिचरण श्रेष्ठसित मेरो राम्रो परिचय भइसकेको थियो । उनका जेठा ज्वाइँ हेमचन्द्र रौतहटका भएकाले केटाकेटीदेखिका मेरा मित्र थिए, म कहिलेकाहीँ काजी दाइको घर जाने–आउने गर्थें । कृष्णचन्द्रद्वारा उठाएको निम्ताको प्रसङ्ग एक किसिमले नजाने गाउँजस्तै भएकोले बिर्सी पनि सकेको थिएँ । पाँच–सात दिनपछि एकदिन काजी दाइसित भेट भयो– “धनुषचन्द्रजी ! जाऊँ न श्रीलङ्का । तपार्इंसित गयो भने रमाइलो हुन्छ ।” मैले ठट्टा गर्दै भनेँ– “तपाईंहरूसित टिकट छ, मलाई छाडेर आउनु भो भने मैले के गर्ने ? रावणको भात पकाएर त्यहीँ बस्ने ?” 

“केही न केही उपाय गरिहालौंला नि । आँटको कुरा हो ।” सिद्धिचरणजीले भन्नुभयो । मैले पुनः ठट्टाको पारामा उत्तर दिएँ– “काजी दाइ ! आँट्ने नै हो भने यो दुई महिना म घनघोर पौडी खेल्न सिक्छु, अनि मात्र निर्धक्क भएर तपाईंहरूसित जान सक्ने छु ।” काजी दाइ हाँस्न थाल्नुभयो । हामी दुवै छुट्टियौं ।

म नयाँ सडक नजिकै डुगमबहिलमा बस्थेँ । एकदिन सिद्धिचरणजीले मेरो डेरामा आएर भन्नुभयो– “जाउँ प्रधानमन्त्रीकहाँ गएर केही आर्थिक सहायताको याचना गरौं, त्यसबाट टिकट खर्चको समाधान हुन सक्ला ।”

हामी दुवै प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको घरतिर लाग्यांै । त्यसबेला टङ्कप्रसादजी चारखाल अड्डाबाट बाइपास भएर डिल्लीबजारको मूलसडकमा मिसिने एउटा सडक किनारको घरमा बस्नुहुन्थ्यो । हामीले सबै कुरा उहाँका अगाडि ओछ्यायौं । श्रीलङ्काबाट आएको निम्तोपत्र पनि दियौं । उहाँको मन्त्रिमण्डलमा चूडाप्रसादजी परराष्ट्रमन्त्री हुनुहुन्थ्यो । “तपाईंहरू परराष्ट्रमा गएर पासपोर्ट बनाउन लाउनुस् । जे दिने आर्थिक सहायता परराष्ट्रमन्त्रीले नै दिनुहुनेछ, म भनिदिउँला,” प्रधानमन्त्रीले भन्नुभयो ।

परराष्ट्र मन्त्रालयबाट पासपोर्ट प्राप्त गर्नमा कुनै ढिलाइ भएन । तर चूडाप्रसादजीलाई भेट्न भने तीन–चार दिन सिंहदरबार धाइरहनुपर्‍यो । हिँड्ने दिन नजिकिँदै थियो, तर म भने जाने–नजानेको दोमासे तर्कवितर्कमा झुण्डिएकै थिएँ । मसक्क आँट्न सकेको थिइनँ । यता परिवारका मानिस र साथीहरू निरन्तर विरोध गरेको गर्‍यै थिए । विदेशमा यत्रो खतरा अंँगालेर जानु मेरो बहुलठ्ठीपन मात्र हो भन्ने तिनको भनाइ थियो ।

चूडाप्रसादजीले जनही दुई सय भारु भन्दा बढी दिनुभएन । उहाँले ठट्टा गर्दै भन्नु भो– तपार्इंहरूको निम्तोमा श्रीलङ्कामा ज्यास्ती पानी पर्ने भएकोले छाता र बर्साती अनिवार्य रुपले ल्याउन भनिएको रहेछ । मैले त्यसैको लागि मात्र यो रकम दिएको हुँ ।

अब कुनै विकल्प थिएन । पासपोर्ट लिइसकेकोले झन् साह्रो म बन्धनमा परेँ । अरु त होइन काजी दाइ भने मेरो पुच्छर निमोठ्या निमोठ्यै हुनुहुन्थ्यो । 

केही बैंसको ऊर्जा, केही विदेश भ्रमणको चौचौले गर्दा एकदिन खोरण्डी टिकट बोकेर, जे पर्लापर्ला भनेर श्रीलङ्काको लागि प्रस्थान गरिहालेँ ।

शान्ति समितिलाई बामपन्थीहरूले पार्टीमा तान्ने लिस्नु बनाएका थिए । त्यसबेला यो पूर्णरुपले कम्युनिस्ट प्रभावित सङ्गठन थियो । जसमा डा. डिल्लीरमण रेग्मी, सिद्धिचरण श्रेष्ठजस्ता विद्वान् र साहित्यकारहरूलाई पनि थामथुम पारेर राखेका थिए, जसबाट यो सङ्गठन पूर्णतया साम्यवादीहरूबाट निर्देशित होइन भनेर देखाउन सकिन्थ्यो ।

शान्ति सम्मेलन हुनेताका लङ्कामा बौद्ध सम्मेलनको पनि आयोजना गरिएको थियो । अतः बौद्ध सम्मेलनमा हामीसितै नेपालबाट जाने तीनजना पनि थिए । दयावीरसिंह कंशाकार, आशाराम शाक्य र गृहमन्त्रालयका एकजना हरिहर सुब्बा ।
काजी दाइको नेतृत्वमा नेपाल शान्ति समितिको प्रतिनिधिमण्डल काठमाडौंदेखि कलकत्तासम्म रेलबाट र त्यहाँबाट हाम्रो यात्रा वायुमार्गबाट गरिने व्यवस्था मिलाइएको थियो ।

विशाखापट्टनम्मा कलकत्ताबाट उडेको हाम्रो वायुयानले अडान लियो । यस ठाउँबाट हामीले भारतको अन्तरराष्ट्रिय वायुसेवाको उडानबाट शेषयात्रा भ्याउनुपरेको थियो । अन्य देशका नागरिक भएकाले त्यहाँको नियमअनुसार हामीबाट केही औपचारिकता पूरा गर्न लगाइयो । एउटा कार्यकक्षमा लगेर एकएक फाराम भर्नुपरेको थियो । अरु सामान्य कुराका साथै हामीले आफूसंँग रहेको भारतीय मुद्रा कति छ त्यो पनि उल्लेख गर्नुपर्ने भयो । फाराममा जनाउनेसम्म त हो भनी सल्लाह ग¥यौं । पैसा भैभै छैन कसरी भन्नु ? कसले कति रकम उल्लेख गर्‍यो, त्यो पनि थाहा भएन । पछि फाराम बुझाउने ठाउँमा जाँदा त्यहाँका अधिकृतले भएजति सबै भारु विदेश जाँदा यहीँ जम्मा गरेर जानुपर्छ भन्यो । हामी फसादमा पर्‍यौं जस्तो लाग्यो । केही सीप लागेन, नाङ्गेझार भएर आफूसँग भएको द्रव्य बुझाउनुपर्‍यो ।

सबभन्दा दुःखी काजी दाइ हुनुभयो । उहाँ तीन हजारजति लिएर जानुभएको रहेछ । उहाँलाई त्यो ठूलो रकम बुझाउनुपरेकोले दुःख लागेको थिएन, मेरो लागि बरू उहाँको मन पोल्न थाल्यो । सिद्धिचरण श्रेष्ठ कति दयालु र स्नेही मानिस हुुनुहुँदो रहेछ भन्ने अमिट छाप मेरो मनमा त्यहीँ पर्‍यो । फर्कंदा म साँच्ची नै सङ्कटमा पर्न गएँ भने भारत भूमिसम्म टेक्न सक्ने हवाई भाडा भर्न सकिएला भनेर त्यो रकम साथ लिएर आउनुभएको रहेछ ।

पैसा जम्मा गरेवापत् हामीलाई रसिद दिएर भनियो– फर्कंदा हामी आफ्नो सबै रकम प्राप्त गर्न सक्ने छौं । हामीले आमन्त्रणपत्र देखाउँदै बरसाती र छाता खरिद गर्नुपर्ने अनिवार्यताबारे भनेपछि अधिकृतले रसिद सच्चाएर जनही दुई सय दियो । संयोगले चूडाप्रसादले जुन आर्थिक सहायता हामीलाई दिनुभएको थियो, त्यही रकम उसले पनि हिल्ला लायो ।

काजी दाइको सहानुभूतिप्रति म आभारी थिएँ । तर म त्यो प्रकट गर्न सकिरहेको थिइनँ, किनकि अब हामीबाट टिकटको व्यवस्था हुन सक्ने कुरै थिएन । म जानीजानी जिद्दी गरेर विपत्तीपूर्ण परिस्थितिको चक्रव्यूहभित्र छिर्दै गइरहेको छु, जहाँबाट निस्केर सास फेर्ने अवसर पनि पाउँछु पाउन्न भन्ने लाग्यो । काजी दाइलाई भने– “म त यहीँबाट काठमाडौंतिर फर्कुं कि क्या हो ? पछि घरतिर फर्कने बेला म तपाईंहरुको लागि पनि अनावश्यक भार हुन जानेछु । न उतै छाडेर हिँड्नु, न त बोकेर फर्काउनु । कसो ?” 

“आ...यहाँसम्म आएर पनि फर्केर जान्छन् ? हिँड्नुस् । केही न केही युक्ति लागि हाल्ला नि ! हिम्मत गर्नेलाई भगवान्ले हेर्छन् ।” मलाई थाहा थियो सिद्धिचरण पनि भित्रबाट भरङ्ग भइसकेका छन् । अनि त उनी पनि अन्तिममा भगवान् सम्झँदै थिए । त्यसपछि मैले पनि हनुमानजस्तै पारि तर्ने सङ्कल्प गरेरै श्रीलङ्कामा अवतीर्ण हुने वायुयानभित्र विराजमान भई कुर्सीको पेटीको बलियो खिपको चुकुल ठोकेँ ।

तर्छु क्षारसमुद्र आज सहजै भन्या इरादा धरी ।

विशाखापट्टनम्मा झारझुर गरेर पैसा बुझाउनुपरेकोले सिद्धिचरणजी पुनः एकपटक चुकचुकाउनु भयो– “कस्तो फसाद् आइलाग्यो । यहाँ रकम नबुझाएको भए तपाईंबारे हामीले कुनै फिक्री नै लिनुपर्ने थिएन । काठमाडौंबाट हिँड्दा ढुक्क भएर हिँडेको थिएँ, यहाँ कस्तो कुसंयोग प¥यो ! फर्कंदा पैसा दिने रे । मरिसकेपछि औषधि पाएर के गर्नु ?” काजी दाइ निक्कै आहत भएर फत्फताइ रहनुभएको थियो । मैले उहाँलाई आश्वस्त पादै भनेँ– “नियम त्यस्तै भएपछि के गर्ने ? मान्नैपर्ने भो । नियम भनेको सबको लागि समान हुन्छ ।” हामी भन्दा पहिला लहरमा बसेका बौद्ध सम्मेलनमा जानेहरूमध्ये एकजना मेरो कुरा सुनिसकेपछि आफ्नो फोहोरी दाँत गिजासम्म देखाएर निक्कै बेर हाँसे– “होइन, त्यसले सबै लुगा फुकालेर बुझाऊ र नाङ्गो तिघ्रा ठटाउँदै लङ्का जाऊ भनेको भए तपाईंहरू के गर्नु हुन्थ्यो ? त्यसको नियम मानेर परदेशमा मगन्ते भएर हिँड्ने ? हामीले त सयको नोट देखाएर यतिमात्र छ, राख्ने भए राख भन्यौं । केही नबोली खुरुक्क छाडिदियो ।” उनी पुनः हाँस्न थाले । यो व्यावहारिक बुद्धि नआएकोमा हामी झन् खिस्रिक्क प¥यौं । तल, अतल गहिराइ भएको वारपार कतै नदेखिने हिन्द महासागर, माथि उडिरहेको फुच्चे डकोटा वायुयान, त्यसभित्र गाँठ गुमाएर सुर्ताइरहेका तीन अकिञ्चन यात्रुहरू ।
श्रीलङ्काको राजधानी कोलम्बो मलाई निकै रमाइलो लाग्यो । स्वच्छ सहर, विनम्र सिँहलीहरू र बसोबासको सुखद व्यवस्थाले गर्दा केहीबेरको लागि सबै क्लेश बिर्सेर हामी आनन्दमा विभोर भयौं ।

ती र हामी तीनजना एउटै अतिथि गृहमा राखिएका थियौं । म र काजी दाइ एउटै कोठामा बस्यौं । हाम्रो सम्मेलन भने बेग्लाबेग्लै ठूलो होटेलमा राखिएको थियो । भोलिपल्ट बिहान आठ बजे सम्मेलन स्थलमा पुगिसक्नुपर्ने थियो ।
बिहान उठेर मुख–हात धोएका मात्रै थियौं । अतिथि सदनको एक परिचारक आएर ‘ब्रेकफास्ट इज रेडी सर’ भनेर गयो । खान भनेर टेबुलनिर पुग्दा तीनछक परेँ । सात बजे बिहान प्लेटभरि भात, दाल, तरकारी फिँजाएर राखिएको रहेछ । मैले खाना ल्याउनेसँग सोधेँ– “के सिंँहली ब्रेकफास्ट यस्तै हुन्छ ?” उसले भन्यो– “होइन सर ! तपाईंहरूमध्येकै कुनै महोदयले यस्तो ब्रेकफास्ट ल्याउने फर्माइस गर्नुभएको थियो ।”

मैले टेबुलवरिपरि भोकाएर बसेका मित्रहरुतिर दृष्टिपात गरेँ को होला यो भतुवा ? पुनः उही ‘लाफिङ बुद्ध’ म तिर आँखा झिम्काएर आफ्नो व्यावहारिक बुद्धिको परिचय दिइरहेका थिए– “त्यो लन्चसन्च भनेको कहिले हो कहिले खान पाउने ! यसो पेटमा तातो दुई गाँस पसेपछि नेपालीको फुर्ती नै बेग्लै हुन्छ भनेर मैले नै यस्तो फर्माएको हुँ ।” यसपछि हामीले आफ्नो बसोबास सारेर सम्मेलन हुने होटलमै बस्ने व्यवस्था मिलायौं ।

सम्मेलनको सभाकक्ष निकै ठूलो थियो, झण्डै तीन सय मानिस अटाउन सक्ने । भाषाको लागि सम्मेलनमा कसैलाई कठिनाइ नहोस् भनेर दुई–तीन भाषामा सुन्न सकिने गरेर प्रत्येकका लागि एयरफोनको व्यवस्था गरिएको रहेछ । सम्भवतः कोलम्बोको सबभन्दा ठूलो होटेलमा विश्व शान्ति सम्मेलनको आयोजना गरिएको थियो । लिफ्टबाट अनेक तला उक्लनुपर्ने त्यस्तो भव्य होटेल मैले पहिलोचोटी त्यहाँ देख्न पाएँ ।

पहिलो दिनको प्रारम्भिक कार्यक्रमअनुसार हरेक मुलुकबाट सहभागी हुन आएका प्रतिनिधि मण्डलका नेताको परिचय दुई–चार पङ्क्तिमा गराउनुपर्ने थियो । भारतका नेता बयोवृद्ध सैफुद्दिन किचलुपछि काजी दाइको नाम उद्घोषित गरियो । काजी दाइ र म विशाल मञ्चमाथि उक्ल्यौं । त्यस दिनको अध्यक्षता चिनियाँ संस्कृतिमन्त्री कुओमोजोले गरेका थिए ।

मैले सिद्धिचरणजीको सानो परिचय लेखेर लगेको थिएँ । पढेर सुनाएँ । मैले भनेँ– “सिद्धिचरण देशका एक महान् कवि मात्र नभएर एकतन्त्री शासनको कठोर यातनाबाट देशलाई मुक्त गराउने स्वतन्त्रता सङग्रामका अग्रणी योद्धा पनि हुन् ।

त्यसको लागि उनले सात वर्ष लामो अवधि जेलको कालकोठरीमा व्यतीत गर्नुपर्‍यो, यसै अनुभवले गर्दा उहाँले आफ्नो देशको नयाँ पुस्तालाई जागृत तुल्याउन आफ्नो सशक्त कविताद्वारा शङ्खघोष गर्नुभयो– ‘क्रान्तिबिना शान्ति दैमखु’ अर्थात् क्रान्तिको सफलताबिना शान्तिको कामना गर्नु निरर्थक हो । यस सम्मेलनको लागि पनि यही पवित्र सन्देश उहाँ मित्रहरूलाई दिन चाहनु हुन्छ ।” यति भनिसकेपछि ठूलो करतल ध्वनिले सारा स्रोेताले काजी दाइको प्रशंसा गरे । अध्यक्षता गरिरहेका कुओमोजोले जुरुक्क उठेर अभिवादनको लागि उहाँसित हात मिलाए । अप्रत्याशित स्वागत र प्रशंसा पाएर सरल हृदयका सिद्धिचरणका आँखा रसाउन थाले ।

तीन दिनजति सम्मेलन चलेर समाप्त भयो । अन्तिम दिन तत्कालीन प्रधानमन्त्री, हाल राष्ट्राध्यक्ष चन्द्रिका कुमारातुङ्गेका पिता भण्डारा नायकेद्वारा उहाँको निवास, टेम्पुल गार्डेनमा एक रात्रिभोजको आयोजना गरिएको थियो । त्यसबखत चन्द्रिका फ्रक लाएकी नौ–दस वर्षकी पनि त्यहाँ हुँदीहुन् ।

मलाई भने त्यो भोजभतेर पटक्कै मनपरेको थिएन । मनमा चिन्ता भएपछि रमाइलो कसरी लाग्ने ?

कोलम्बो छाड्ने दिन आइपुग्न लागेकोले मेरो फिक्री झन्झन् बढ्न थाल्यो । दुई वा तीन दिनपछि पक्कै साथीहरू उडेर जाने छन् । मेरो के होला ? यही चिन्ताले गर्दा न दिनमा खान मन लाग्थ्यो न राति निदाउन सक्थेँ । राति सुत्ने बेला काजी दाइलाई गुहारेँ– “के गर्ने, अब त पर्सितिर तपार्इंहरू घरको लागि प्रस्थान गर्नुपर्ने हुन्छ । के म यहाँ एक्लै बस्ने ? फेरि, मसित बस्नको लागि खर्च पनि त छैन ।” काजी दाइ केही बोल्नुभएन । मलाई थाहा थियो मबारे मलाईभन्दा बढी फिक्री उहाँलाई छ । “तपाईंलाई यहाँ अलपत्र पारेर म जाने प्रश्नै आउँदैन । शिष्टमण्डलको नेता भएकोले एकजना सदस्य कहाँ छाडेर आउनु भो भनेर त्यहाँ प्रश्न गर्न थाले भने मैले के उत्तर दिने ? तपाईंलाई छाडेर जानु मेरो धर्म होइन ।” 

त्यस रात काजी दाइ पनि राम्रोसित सुत्न पाएनन् जस्तो लाग्छ । भोलिपल्ट बिहानीपख काजी दाइले भने– “हिँड्नुस, जाऔं एक ठाउँ कोसिस गरेर त हेरूँ । तपाईंको पुर्पुरो बलियो भए काम बन्ला, नभए फर्केर आउँला ।”
“जाने कता हो ?”

“त्यो चिनियाँ मन्त्री यस सम्मेलनमा सहभागी हुने सबभन्दा ठूलो पदको मानिस हो । म त चीन पुगेर आइसकेको छु । त्यहाँ पनि त्यो माओत्से तुङ्गको दाहिने हातजस्तै छ । मसँग किन हो निकै स्नेह प्रदर्शन गर्छ । भेटेपिच्छे हाँसेर हात मिलाउँछ । एक पटक गुहारौं न के नै बिग्रिहाल्ला र ?”

कुओमोजो त्यसै होटेलको माथिल्लो तलामा एउटा सिङ्गै सुइट लिएर बसेका थिए । तर पनि समय नलीई जानु त भएन । हामीले होटेलका म्यानेजरलाई भन्यौं । उसले टेलिफोन गरेर उनको सचिवसित दुई घण्टापछि भेट गर्ने समय लिइदियो ।
चिनियाँ संस्कृतिमन्त्री होटेलको पाँच तलामाथि बस्दारहेछन् । हामी पनि त्यसै होटेलमा बस्ने भएकाले उनको सुइटमा पुग्न बेर लागेन । सचिवलाई आफ्नो परिचय दियौं । उसले बडो अदबसाथ ढोका खोलेर भित्र पठायो । भित्र कुओमोजो स्वयम् स्वागतका लागि उभिइरहेका थिए । अग्ला मानिस, सौम्य व्यक्तित्व, हेर्दा आकर्षक ।

एकछिनमा एउटा दोभाषे आएर उनको पाश्र्वभागमा बस्यो । कुराकानी सुरु भयो । मैले अघि सरेर बोलिरहनु कुनै प्रकारले पनि उचित थिएन । एक त म दलको नेता थिइनँ, दोस्रो मेरैबारे याचना गर्नुपरेको थियो । अतः आफ्नो कोठामै काजी दाइलाई यही कुरा सम्झाइबुझाइ गरेर चिनियाँ नेतासित बोल्न तयार पारेँ । हामीबीच माध्यम त अङ्ग्रेजी भाषामात्र थियो, किनकि दोभाषेले बुझ्न सक्ने भाषा पनि त्यही थियो । एकछिन बसेर हामीले पूर्वाभ्यास ग¥यौं, अनि मात्र माथि उक्लेका थियौं । कुओमोजोले बडो स्नेहपूर्वक हात मिलाएर बस्ने सङ्केत गरे । उनको सदाशयले गर्दा मलाई भने झन् अप्ठेरो लागिरहेको थियो । फिर्ता टिकटको याचना गर्दा के भन्ठान्लान् ? यस्तो अपूरो टिकट लिएर किन यात्रा गर्नुपर्ने होला ? यी नेपालीहरु कस्ता दरिद्र रहेछन् । एकतिरको भाँडा पनि बेहोर्न नसक्ने भन्ठान्ने छन् । हामीले हात पसारे पनि कहीँ उनले ‘हुँदैन, मिल्दैन, चीन पुँजीपतिहरूको देश होइन, मैले पनि बढी पैसा बोकेर हिँडेको छैन’ आदि नकारात्मक उत्तर दिए भने हाम्रो लागि झन् लज्जास्पद कुरा हुन जानेछ । यिनै तर्कहरुले मेरो मन हुँडलिरहेको थियो ।

काजी दाइले कनीकुथी सबै वृत्तान्त र हाम्रो समस्या दोभाषेद्वारा प्रस्तुत गर्नुभयो । उनले उत्तरमा भने– “तपाईंहरुमा पर्न गएको समस्याप्रति मलाई सहानुभूति छ, तर तत्काल म केही भन्न सक्ने अवस्थामा छैन । साथीहरूसित सल्लाह गरेर भरेसम्म केही गर्न सकिन्छ कि सकिन्न, त्यो यकिन गरेर सूचित गर्नेछु ।”

हामी निराश भयौं । तर सचिवलाई आफ्नो नाम र कोठाको अङ्क टिपाएर आयौं । सिद्धिचरणजी पनि आशान्वित हुनुहुन्थेन । ठाडै गर्न सक्दिनँ भन्न नसकेर कूटनीतिक सौजन्य देखाएका हुन्– उहाँको भनाइ थियो । के गर्ने, कसो गर्ने भनेर दिनभरि मलाई छट्पटी लागिरह्यो । त्यही हाल काजी दाइको पनि थियो ।

साँझपख बाटो हेरिरहेँ, कुनै उत्तर आएन । हामी दुवैजना रात परिसकेकोले कोठामा सुत्ने तयारी गर्दै आआफ्नो ओछ्यानमा पल्टेर कुरा गर्न थाल्यौं । कुराको मुख्य मौलो त्यही फिर्ती यात्राको समस्या भएकोले घुमिफिरी हामी त्यसै विषयमा आइपुग्थ्यौं । १० बजेतिर कसैले ढोका ढक्ढकायो । हाम्रै जमातको कुनै साथी होला भनेर ढोका उघारेर हेरेँ, चकित भएँ । यी त उही कुओमोजोका सचिव पो रहेछन् । एउटा लामो खाम लिएर ढोकासामु ठिङ्ग उभिरहेका थिए । उनले हाँस्दै चिनियाँ भाषामा केही भनेर खाम मेरो हातमा राखिदिए । भित्र आएर हेर्छु त खामभित्र मेरो नामको फिर्ती हवाईटिकट पो रहेछ ! काजी दाइ अर्धनिद्रित भइसक्नुभएको थियो । गएर बेस्सरी घचघच्याएँ– “काजी दाइ ! मेरो टिकट आइपुग्यो ।” आनन्दातिरेकले अलिक ठूलै स्वरमा कराएछु । काजी दाइले जुरुक्क उठेर मलाई अङ्कमाल गर्नुभयो ।

जीवनमा म ज्यादै खुसी भएको दुई–चार प्रसङ्गहरूमध्ये यो पनि एउटा हो । कमलो मन भएका काजी दाइको आँखा हर्षाश्रुले रसाइहाले । उहाँले धोद्रे स्वर झिक्दै भन्नुभयो– “हे ईश्वर ! तिमीले ठूलो विपत्ति टारिदियौ । भोलि गएर नेतालाई धन्यवाद र कृतज्ञता प्रकट गरेर आऊ ।” त्यसरात सधैं बिझाइरहने विषालु काँडा झिकेजस्तै हामी सुखपूर्वक सुत्यौं ।

भोलिपल्ट आठ बजेतिर माथि उक्लेर चिनियाँ मन्त्रीलाई आफ्नो कृतज्ञता ज्ञापन गर्न जाँदा त मन्त्री एकाबिहानै प्रस्थान गरिसकेछन् । पछुतोको लागि मुखबाट लामो खुइय निस्क्यो– धिक्कार होस् धन्यवाद पनि दिन पाएनौं ।

संयोगले उक्त घटनाको ठीक ३६ वर्षपछि म कुओमोजोको बेइजिङ्गस्थित घरमा दाखिल हुन पुगेँ । नेतृत्व भने, चीन भ्रमणको लागि गएको २०५० सालमा राजकीय प्रज्ञा–प्रतिष्ठानको एक शिष्ट मण्डलमा डा. ईश्वर बरालको थियो । म पनि त्यस शिष्टमण्डलको एक सदस्य थिएँ ।

अरु कार्यक्रमका साथै चीनको राजधानीमा कुओमोजोको निवास पनि देखाउन लगे । हाल त्यो उनको स्मृति सदनका रुपमा राखिएको रहेछ ।

साधारण चिनियाँ बान्कीको मझौला किसिमको घर रहेछ । डुल्दाडुल्दै देखेँ, कुओमोजो विश्व शान्ति सम्मेलनमा कोलम्बो गएको बेलाका दुई–चारवटा ठूला आकारका माउन्ट गरिएका तस्बिरहरू भित्तामा झुण्ड्याइएका रहेछन् । एउटा तस्बिरअगाडि म अडियाअडियै भएँ । सबै देशका प्रतिनिधि नेताहरूमाझ कुओमोजो बसेका थिए र त्यसै पङ्क्तिमा हाम्रा काजी दाइ पनि विराजमान हुनुहुन्थ्यो । तस्बिर देख्नासाथ फनक्क फर्केर म सिलोन पुगेँ । त्यहाँका सम्पूर्ण घटना ‘रिबाइन्ड’ भएर एकएक गरी मेरा दृष्टिपटका सामु आउन थाले । 

कुओमोजोको देहावसान भएको निकै भइसकेको थियो । उनलाई पाउने त कुरै थिएन, काजी दाइको पनि निधन भइसकेको थियो । सम्पूर्ण स्मृति भवन डुलाउने र त्यहाँका सामग्रीहरुको परिचय दिने एक महिला थिइन् । चियापानको बेला उनीसित अनौपचारिक कुराकानी हुँदा के पनि थाहा पाएँ भने, उनी कुओमोजोकी जेठी छोरी पो रहिछन् । हिँड्दा उनैलाई नै अलि बढी धन्यवाद दिएर आएँ ।

टिकट पाएको भोलिपल्ट हामी पनि स्वदेशको लागि सकुशल प्रस्थान गर्‍यौं ।

विशाखापट्टनम्मा ओर्लेपछि हामीलाई आफूले जम्मा गराएको पैसा अशुलउपर गर्नु थियो । एक त भारतको ठाउँ बञ्चकहरु विविध वेशभूषामा हुन्छन् । त्यो रसिद दिने वायुयान कर्मचारीसित भेटै पनि हुने हो होइन ! त्यसको नामनामेसी पनि त हडबडमा टिप्न बिर्सियौं । त्यसमाथि विमानघाटको विपरीत किनारमा हामीलाई ओरालिदियो । १५ मिनेटपछि नै हाम्रो अर्को प्लेन उड्ने भएको थियो । त्यो अपरिचित ठाउँमा मानिस त के, त्यो कार्यालयसम्म पत्तो लाउन हामीलाई धौधौ भयो । हामी तीनैजना आआफ्नो कुटुरो बोकेर कुदिरहेका थियौं । तै एकजना दयालु मानिस भेट्यौं । रसिद देखाउनासाथ उसले ठीक ठाउँमा पुर्‍याइदियो । संयोगले मानिस पनि आफ्नै आसनमा रहेछ । रसिद देखाएर पैसा लिँदा यसो घडी हेरेको त विमान उड्न अब तीन मिनेटमात्रै बाँकी थियो । पैसा लिएर हिँड्दा नजिक भएकोले काजी दाइले, कृष्णचन्द्रलाई धन्यवाद दिएर आउनुस् है भन्नुभयो । उनले कुदाकुदको हडबडमा मद्रासी अफिसरसित हात मिलाएर ‘गुडनाइट गुडनाइट’ भने । कृष्णचन्द्रले हिँड्ने हडबडमा मुखबाट चिप्लेको होला भन्ठाने, तर काजी दाइ भने मरीमरी हाँस्न थाले । चिण्डो पोल्ने मद्रासको मध्याह्नमा गुडनाइट भन्दा त्यो मद्रासी पनि अवाक् भएर हेर्न थाल्यो । हामी कुदाकुद गर्दै उड्नै आँटेको वायुयानभित्र प्रवेश गर्‍यौं ।

काजी दाइ अत्यन्त विनोदी स्वभावको हास्यचेतना भएका मानिस हुनुहुँदोरहेछ । त्यो उहाँसित यस यात्रामा सन्निकट रहेर मैले पूर्णतया थाहा पाइसकेको थिएँ ।

यस पटक हामी पटना ओल्र्यौ । त्यस दिन आषाढको नौ गते थियो । काठमाडौंबाट ताजाताजी आउने एकजनाले काजी दाइलाई बधाई दियो र सुनायो– ‘श्री ५ बाट आज बिहान नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको गठन भएको छ । त्यसमा सिद्धिचरणजी पनि प्राज्ञका रुपमा मनोनित हुनुभएको छ ।’ हामीले काजी दाइलाई तत्काल बधाई दियौं । कृष्णचन्द्रलाई त धन्यवाद दिनुभयो, तर मलाईचाहिँ सुटुक्क गुडनाइट भनेर हाँस्न थाल्नुभयो ।

त्यस दिन अर्थात् प्रज्ञा–प्रतिष्ठानको गठन भएको दिन (२०१४ आषाढ ९) देखि आफ्नो देहावसान हुन्जेलसम्म काजी दाइले मलाई गुडनाइट गर्न छाड्नु भएन । त्यसका पछाडि रहेको इतिवृत्त र त्यसको सम्झना पनि कालान्तरले गर्दा धूमिल भइसकेको थियो । रहन गएको थियो भने काजी दाइ र मबीच प्रयुक्त हुने अभिवादनको कूटभाषिका ‘गुडनाइट’ मात्र ।

पछि सिद्धिचरणजी राजसभा स्थायी समितिको सम्माननीय सदस्य हुनुभयो, तर पनि आफ्नो अभिवादनको विनोदी शैली छाड्नुभएन । जुनसुकै समय वा स्थान होस् धक नमानी काजी दाइ टाढाबाटै कराउनु हुन्थ्यो, ‘गुडनाइट धनुषचन्द्र !’ दिउँसै केको गुडनाइट, मानिस मुखामुख गर्थे । तर उहाँले कहिल्यै अप्ठ्यारो मान्नुभएन ।

संयोगले शान्ति सम्मेलनमा श्रीलङ्का जाने तीनैजना अगिपछि गरेर प्रज्ञा–प्रतिष्ठानका सदस्य भयौं । म प्रज्ञा–प्रतिष्ठानमा भएको बेला काजी दाइ विस्तारै मेरो कोठामा आएर भन्नुहुन्थ्यो– “बरालजीलाई भेटन आएको थिएँ । तपाईंलाई ‘गुडनाइट’ नभनी कसरी जानु भन्ठानेँ ।” काजी दाइको मप्रतिको अपार स्नेह म कहिल्यै बिर्सन सक्दिनँ ।

एक दिन यस्तो पनि भयो– काजी दाइ बित्नुभयो भन्ने सुनेँ । उहाँको पार्थिव शरीर प्रज्ञा–प्रतिष्ठानको बरन्डामा राखिएको थियो । हामी प्राज्ञहरूले फूलमाला काजी दाइको शवमाथि राखेर अन्तिम श्रद्धाञ्जलि दियौं । मैले उहाँलाई अन्तिम नमस्कार गर्दै भनेँ– “काजी दाइ ! गुडनाइट अबलाई अन्तिम पटक गुडनाइट ।” 

(गोतामेको २०५३ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित संस्मरण कृति ‘कालान्तर’बाट)

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  ११:३२
प्रतिक्रिया दिनुहोस्