site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुई कविता

अक्षर हराएपछि

नयनराज पाण्डे


पल्टाउँदा पल्टाउँदै 
वर्णमालाका श्यामस्वेत पानाहरू
अचानक 
गायब भएका छन्
केही अक्षरहरू,
केही स्वर र केही व्यञ्जन वर्णहरू 
र, बोल्दाबोल्दै
अबरुद्ध भएका छन् उच्चारणहरू .
रोकिएका छन् त्यसैले
गाउँदा गाउँदैका लोकगीत र दोहोरीहरू,
फुर्न छाडेको छ
विमल निभालाई नयाँ व्यङ्ग्य,
र श्यामललाई नयाँ कविता,
संवादको अभावमा
रोकिएको छ अनुप बरालको नयाँ नाटकको रिहर्सल .

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीत रोकिएपछि
रोकिएका छन् नृत्यहरू 
बन्द भएका छन् सङ्गीत पाठशालाहरू
र, रेडियो नेपालमा बन्द भएको छ 
नयाँ गायकहरुका लागि 
स्वर परीक्षा र बजिरहेछ लगातार
दिक्क लाग्दो शोकधुन .

उफ्, छापिँदा छापिँदै 
रोकिएका छन् प्रेसमै
प्रेम कविताका केही किताबहरू
र, केही सुन्दर आख्यानका नयाँ संस्करणहरू 

अलपत्र परेको छ
बालकहरुको अक्षरारम्भको साइत,
स्थगित भएको छ साक्षरताको अभियान
र, कर्णालीतिर पठाइँदै गरेका पाठ्यपुस्तकहरू
झारिँदै छन् खच्चरहरुको पिठ्युँबाट .

विश्वविद्यालय लाटो भएको छ
बन्दाबन्दैको नयाँ पाठ्यक्रम स्थगित भएको छ,
पग्लिएर मौनता 
कक्षा कोठाहरु चिसा भएका छन्,
भोलिको लागि व्याख्यान तयार गर्न नसकेका प्राध्यापकहरू
गर्दैछन् विश्वविद्यालयको चौरमा
अनुलोम विलोम र कपालभाती
विद्यार्थीहरु औषधि पसलमा लाम लागेका छन्
डाबरको च्यवनप्रास खरिद गर्न 

रोकिएका छन् प्रेमी र प्रेमिकाका ओँठओँठमै
प्रेमका प्रस्तावहरू 
र, प्रेम दिवसका ग्रिटिङकार्डहरुमा
लेखिन सकेका छैनन्
शुभकामनाका शब्दहरू .

हराएका अक्षरहरुकै कारण टेलिभिजनबाट
प्रसारण हुँदाहुँदैकोे समाचार रोकिएको छ 
र, बजिरहेछ चौधरी र कटुवालको जाली आत्मकथा .
राष्ट्रिय दैनिकहरुमा छापिन थालेका छन्
प्रधानमन्त्री निवासमा सुनिएका अश्लील चुट्किलाहरू .

रोकिएको छ 
हुँदाहुँदैको शान्तिवार्ता,
संसद्को शीतकालीन सत्रका लागि जडान गरिएको 
लाउडस्पिकरबाट
बज्न थालेको छ नयाँ हिन्दी सिनेमाको गीत
र, प्रयोजनहीन भएका माइकअगाडि उभिएर
मर्यादापालकका छोराहरुले
गाउन थालेका छन् नर्सरी राइम्स, 
सभामुखको खाली कुर्सीमा 
पिसाब फेरेको छ कालो बिरालोले,
राति संसद्भित्र बस्न थालेका छन् चमेराहरू 
र, सुक्न थालेको छ
संविधानको सर्वमान्य प्रस्तावना लेख्न तयार गरिएको 
नयाँ कलमको निलो मसी .

रोजगारीका लागि विदेश गएका युवाहरुले 
आमाहरुसित
सोध्न पाएका छैनन् घरको हालचाल
र, आमाहरुले पनि बताउन सकेका छैनन्
कुन तिथि र कुन मितिमा 
नजिकैको जङ्गलमा भयो
बुहारीको 
सामूहिक बलात्कार .
बुढा बाहरुबाट
बन्द भएको छ मुटुरोगको गुनासो
र, अभिव्यक्त हुनै सकेको छैन पीडा
कि कसरी धमिलो हुँदै गएका छन् सुन्दर संसारका दृश्यहरू
उनीहरुका आँखाबाट 

केही अक्षर त हराएकै हुन् 
पढ्दापढ्दैको वर्णमालाका पानाहरुबाट
त्यसैले त
रोकिएका छन् सबै प्रक्रियाहरु जीवनका
र सुखका वार्तालापहर 
बस्, रोकिएको छैन 
युद्धको धम्की,
सेतो सिंहदरबारको परिसरतिरबाट आइरहेको
सम्भोगको अश्लील आवाज,
सरकारबाट राष्ट्रको नाममा जारीे सन्देश,
चक्रे मिलनको एकल कवितावाचन
र, दिनबन्धुको पुराण

० ० ०

कविताको मृत्युमा
आजसम्म
मरेको छैन कुनै कवि । 
ईश्वरलाई मृत घोषणा गर्‍यो 
कविता मरेको घोषणा गर्‍यो 
तर आजसम्म 
आफ्नु मृत्युको घोषणा गरेको छैन
कुनै कविले ।
भनेपछि
कवितालाई
कहिले पो माया गरेको रहेछ र कविले ?
उसले त कवितालाई
आफू माथिमाथि उक्लने भर्‍याङ पो बनाएको रहेछ
आफू अमर हुने प्रपञ्च पो रचेको रहेछ उसले 
बडो योजनाबद्ध ढङ्गले ।
तर बुझ्नुपर्ने एउटा कुरा
बुझेकै रहेनछ कविले
कि,
कविता मरेर
कुनै कवि बाँचेको छैन
आजसम्म ।

प्रकाशित मिति: शनिबार, साउन २५, २०७६  ०८:२४
प्रतिक्रिया दिनुहोस्