
काठमाडौं । अभिनेता विपीन कार्की नयाँ चलचित्र ‘सेल्फि किङ’मार्फत दर्शकमाझ आउने भएका छन् । भर्साटाइल अभिनेताको छवी बनाएका कार्की यो चलचित्रमा पनि अरुमाभन्दा अलग भूमिका र लुक्समा देखिने भएका छन् । “हरेक चलचित्रमा नयाँ विनीलाई देख्नु मेरो परिचय नै भै हाल्यो । त्यसैले यो चलचित्रमा पनि दर्शकमाझ नयाँ रुपमा देखिँदैछु,” उनले भने ।
चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछन् । सापकोटाको यो डेब्यू निर्देशन हुनेछ । यो चलचित्रलाई ‘प्रसाद’ का निर्देशक र निर्माता दिनेश राउत र सुवास थापाले संयुक्त रुपमा निर्माण गर्ने छन् । चलचित्र कमेडी जानरामा बन्ने छ । चलचित्रको कथा कमेडियन टीभी आर्टिस्ट (सेल्फि किङ) को जीवनमा घट्ने एक घटनामा आधारित रहने निर्माण पक्षले जनाएको छ ।
अहिले विपीन आफनो नयाँ भूमिकाको तयारीमा लागेका छन् भने निर्माण टिम पनि स्क्रिप्ट फाइनल कार्यमा लागिरहेको छ । चलचित्र यहि भदौको पहिलो साताबाट छायांकनमा जाने बताइएको छ । चलचित्रमा दुई अभिनेत्री हुनेछन् । तर अभिनेत्रीहरु भने अहिलेसम्म फाइनल भैनसकेको बताइएको छ ।