site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यौनबारे घरमा कहिल्यै कुरा गर्न सकिनँ

सोनाक्षी सिन्हा

बलिउड अभिनेतृ सोनाक्षी सिन्हा आफ्नो नयाँ फिल्म ‘खानदानी शफाखाना’का कारण चर्चामा छिन् । यो फिल्ममा सोनाक्षी ‘सेक्स क्लिनिक’ चलाउने युवतीको भूमिकामा छिन् । यही विषयमा केन्द्रित रहेर ‘नवभारत टाइम्स’ले सोनाक्षीसँग गरेको कुराकानीको सार—

तपाईंले सधैं पारिवारिक मनोरञ्जनात्मक फिल्ममा काम गर्नुभएको छ । अहिले एक्कासि ‘सेक्स क्लिनिक’ चलाउने युवतीको भूमिकामा देखिँदा अप्ठ्यारो लागेन ?

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो फिल्म पारिवारिक होइन भनेर तपाईंलाई लागेको मात्रै हो । यो पनि पारिवारिक फिल्म हो । तपाईंले मेरा पहिलेका काम हेर्नुभयो भने म धेरैजसो ‘फ्यामिली एन्टरटेनर’ फिल्लमै काम गरेकी छु । ‘खानदानी शफाखाना’को वनलाइनर कथा सुन्दा शुरुमा यस्तो फिल्म लिएर मकहाँ किन आएका होलान् भन्ने लागेको थियो । तर, स्क्रिप्ट सुनेपछि मलाई खुब चित्त बुझ्यो । यति रमाइलो विषय छ नि यसको ! संसारकै धेरै जनसंख्या भएको मुलुकमा यौनलाई बर्जित किन मानिन्छ ? यो खराब कुरा कसरी हुन सक्छ ? यौनबारे हामी खुलेर कुरा किन गर्न सक्दैनौ ? मलाई लाग्यो— यो अत्यावश्यक मुद्दा हो, मैले यो फिल्म गर्नैपर्छ । यो फिल्ममा हामीले महिलाको बराबरीको मुद्दा पनि उठाएका छौं । जब एक स्त्रीरोग विशेषज्ञ पुरुष हुन सक्छन् भने एक युवतीले ‘सेक्स क्लिनिक’ चलाउन किन सक्दिन ? वास्तविकतामा ठूला तर बुझाइमा स–साना यस्ता कुराबारे फिल्मले बोल्छ, जसबारे कसैले कुरै गर्न चाहँदैन ।

हाम्रो समाजमा यौनलाई ट्याबु (बर्जित) मानिन्छ । स्कुलमा शिक्षकहरूले समेत यस्तो पाठ पढाउँदैनन् भन्ने खबर सुनिन्छन् । तपाईंले व्यक्तिगत रूपमा यस्तो अनुभव गर्नुभएको छ ?

बिलकुल । अहिले पनि कयौं स्कुलमा यौन शिक्षा (सेक्स एजुकेसन) छैन । मैले पढ्ने स्कुलमा पनि थिएन । यौनसम्बन्धी विषयलाई लुकाइन्छ । त्यही भएर बच्चाहरू पनि यसलाई लिएर लज्जित महसुस गर्छन् । यसलाई सामान्य प्रक्रियाको रूपमा बुझाइएको भए यस्तो हुँदैनथ्यो । मैले यो फिल्म गर्नुको अर्को कारण पनि छ । म मुम्बईमा जन्मिएँ, हुर्किएँ । हाम्रो परिवार यति आधुनिक छ र पनि मैले आमा–बुवासँग यौनबारे कहिल्यै कुरा गर्न सकिनँ । मजस्तो शिक्षित र आधुनिक युवतीको अवस्था त यस्तो छ भने कल्पना गर्नुस् त हाम्रो पिछडिएको समाजमा कस्तो अवस्था होला ? यही कारणले गर्दा मैले यो फिल्म आँखा चिम्लिएर गरेकी हुँ ।

हाम्रो समाजमा अझै पनि महिलाले यौनबारे कुरा गर्नुलाई अनैतिक मानिन्छ । एकाध वर्षपहिले स्वरा भाष्करले हस्तमैथुनको एउटा सिन गर्दा अहिलेसम्म उनलाई सामाजिक सञ्जालमा ट्रोल गरेको देखिन्छ । तपाईं यसमा के भन्नुहुन्छ ?

यो मान्छेको कुत्सित सोच हो । स्वराले जे गरिन्, कलाकारको रूपमा गरिन् । उनले आफ्नो चरित्र निभाएकी हुन् । यदि मानिसलाई त्यसमा आपत्ति हुन्छ भने समस्या स्वराको होइन, तिनै मानिसको हो । यस्तो सोचको बारेमा हामीले यो फिल्ममा पनि कुरा गरेका छौं । हामीलाई शुरुदेखि नै यौन बर्जित चिज भएको सिकाइयो, हाम्रो दिमाग त्यहीअनुसार प्रशिक्षित छ । मैले यो फिल्मबाट एउटा कुरा सिकेकी छु— ‘रोग शरीरमा होइन, दिमागमा हुन्छ ।’ यस्तो रोगग्रस्त दिमागलाई उपचारको जरुरी छ ।

पहिले–पहिले कलाकारहरू यस्तो यौन या समलैंगिक चरित्र निभाउनबाट भाग्थे । अहिले सोनम (कपुर) होऊन् या स्वरा, विकी (कौशल) होऊन् या आयुषमान (खुराना)— यस्तो भूमिका सजिलै गर्न थालेका छन् । यो परिवर्तनको कारण केलाई मान्नुहुन्छ । तपाईं स्वयं यस्ता चरित्रालाई लिएर कत्तिको सहज हुनुहुन्छ ?

पहिलो कुरा— कलाकार किन डराउँछन् ? यो समाजको वास्तविकता हो । दुनियामा यही भइरहेको छ । समाजमा यस्ता मान्छे हुन्छन् । यदि सिनेमा समाजको ऐना हो भने भने यस्ता मान्छेबारे पनि फिल्म बन्छन् नै । तपाईंले सही भन्नुभयो— अहिले कलाकारहरू यस्ता भूमिका गर्न हिच्किचाउँदैनन् । यो अत्यन्त राम्रो सुधार हो । रह्यो मेरो कुरा । म कुनै पनि फिल्म साइन गर्नुअघि सोच्छु— यो फिल्म म आफ्नो परिवारसँग बसेर हेर्न सक्छु कि सक्दिनँ । यदि मैले आमालाई छेउमा बसालेर त्यो फिल्म हेर्न सक्छु भने म अवश्य त्यो भूमिका गर्छु । यो ‘बोल्ड सिन’को मात्रै कुरा होइन । मलाई स्क्रिनमा कुनै अनैतिक काम गर्नुपर्ने छ भने म त्यो काम गर्दिनँ । कलाकारको रूपमा म त्यस्तो मात्रै काम गर्छु, जसमा म आफूलाई सहज महसुस गर्छु ।

यो फिल्मका अतिरिक्त तपाईं ‘दबंग–३’, ‘मिसन मंगल’, ‘भुज’ जस्ता फिल्ममा सलमान खान, अक्षय कुमार, अजय देवगनजस्ता हिट अनस्क्रिन पार्टनरसँग पर्दामा आउँदै हुनुहुन्छ । उनीहरूसँगको तपाईंको सम्बन्ध कस्तो छ ?

उहाँहरू सबैसँग काम गर्दा राम्रो अनुभव हुन्छ । जो कलाकारसँग यति धेरै काम गरिएको छ र जो सफल पनि छन्— उनीहरूसँग पुनः काम गर्ने मौका पाउनु असाध्यै सुखद अनुभूति हो । यी तीन वटै फिल्म बिलकुल फरक विधाका छन् । त्यसैले कलाकारका रूपमा मैले तीनै फिल्ममा केही न केही नयाँ र फरक देखाउन सक्ने सम्भावना अधिक छ । मेरा तीनै सहकर्मीसँग अत्यन्तै राम्रो सम्बन्ध छ । त्यही भएर नै हो— दोहोरिएर उहाँहरूसँग काम गर्न पाएको ।

‘कलंक’ ठूलो र विशेष फिल्म थियो । तर, दर्शकले त्यति रुचाएनन् । के कमी रह्यो ?

हिजोका कुरा छाडिदिनुस् । हिजोका कुरा पुराना भए । आउने दिनका कुरा गरौं ।
 

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  ११:०६
प्रतिक्रिया दिनुहोस्