_555182002.jpg)
— रामकुमार पाँडे
चर्काचर्की र झर्काझर्कीले सदनमा संकट आएको थियो । सत्तामा बस्ने भत्तावाला भन्थे, “आकाशको तारा झार्ने र आकाशको स्याउ मुखमा पार्ने ह्याउ नभए बंगाारा झारिदिउँला ।”
जनता भन्थे, “काम गर्नेलाई फुलौरा, नगर्नेलाई लौरा दे !”
उनीहरू ‘नसक्ने चोर कुर्सी छोड् !’ पनि भन्थे ।
यस्तै हुँदै थियो सभामा । सदन संरक्षकले एउटा कागजको खोस्टो अध्यक्षलाई दियो र गयो । अध्यक्षले शून्य समयमा सुनाएपछि सदनमा सनसनी फैलियो । त्यो कागजको टुक्रोमा टिपिएको थियो, “सदनभित्र कोही सांसद नकटो छ ।”
‘संसद्भित्र नकटो सांसद’ सुन्नेबित्तिकै सबै मुखामुख गर्न थाले । एक–अर्काका नाक हेर्दै आफ्नो राम्रो भन्दै धाक दिन थाले । सदनमा त फुच्चेको नाकसमेत चुच्चे थियो । बुच्चे त छँदै थिएन । कसैको नाक कोहीभन्दा कम थिएन । नकटोको आक्षेप लागेकाले एउटा थ्याप्चो नाक भएको बापत्तीजस्तो सांसदले नियमापत्ति ग¥यो ।
अध्यक्षले भने, “यो पर्चा यताबाट हैन, जनताबाट आएकाले ‘म नकटो छैन’ भन्ने प्रमाणित सबै सांसदले गर्नुप¥यो । यो नियमभित्रकै कुरा हो, नियमापत्ति भन्न मिल्दैन ।”
सांसदहरूको दिमाग गुम भयो । एउटा सांसदले अध्यक्षलाई प्रश्नको पर्रा छोडे, “अध्यक्ष महोदयले नै को नकटो छ भनिदिनुप¥यो ताकि नकटोलाई निकालेर अरू बाँच्न सकियोस् । एउटा कुहिएको आलुले बोराभरिको आलु बिगार्छ । नेता चालू भए आलुजस्तै सबैको तालु खुइल्याउँछ ।”
अध्यक्षले भने, “प्रश्न साह्रो छ, यो भन्न गाह्रो छ । त्यसैले नकटोले आफ्नो नाक आफैंले छामेर भने भइहाल्छ ।”
प्रश्न आयो, “आफूलाई नकटो भनाउन को चाहन्छ ?”
अलि चुच्चे नाक हुने नाक फुलाउँदै थियो, “मेरो नाक त तीखो छ ।”
अलि मोटो नाक हुने मख्ख पर्दै थियो, “मेरो नाक कोहीभन्दा कम छैन ।”
अलि लामो नाक हुने मनमनै गम्दै थियो, “मेरो नाक नकटो हुनै सक्दैन ।”
आखिर आफूलाई नकटो भन्न कोही पनि तयार भएनन् । एउटा सांसदले बडो बुझेझंै गरी भन्यो, “नकटो त पहिलेको माननीय हुनुपर्छ ।”
अर्कोले भन्यो, “पहिला त सबै नाकै नभएका थिए, नकटोको प्रश्नै आउन्न ।”
फेरि अर्को सांसदले भन्यो, “अध्यक्ष महोदय ! पहिलेका पनि त यहाँ आएका छन् ।”
सबैले पुराना सांसदतिर दृष्टि दिए । पुराना माननीयको नाक त झन् सिंगौरी खेल्ने सिङझैं तीखो थियो । कसै–कसैको त अझ चिल्लो पनि थियो ।
अध्यक्षले भने, “माननीयहरूले यसको अर्थ आफैं लगाउनु प¥यो ।”
सांसद चड्क्यो, “सबैको अर्थ हामीले नै लगाउने ?”
अध्यक्ष— “सांसदको आसन नै भाषण गर्ने प्रकारको छ । भाषणकै एउटा शीर्षक ‘नेता र नकटोको नाक’ भित्र यो पनि पर्छ ।”
सांसद– “हामी आफ्नै विषयमा मात्र भाषण गर्छौं, त्यो पनि चुनावमा मात्र । जनताको विषयमा हरदम भाषण गर्ने ठेक्का हाम्रो होइन । यसको जिम्मा पदमा बस्ने मन्त्री महोदयको हो, जो जुनसुकै समारोहमा जान्छ र सबै विषयमा भाषण गर्न अघि सर्छ । त्यसैले ‘नकटो नायक’को विषय जुन मन्त्रीको विषयमा पर्छ, उसैले बोल्नुप¥यो ।”
एक सांसद जुरुक्क उठेर खुरुक्क भन्न थाले, “यो विषय नाकसँग सम्बन्धित भएकाले यो डाक्टरी विषय, स्वास्थ्यमन्त्रीको हो ।”
अर्को सांसद झर्को मान्दै भन्न थाले, “‘नाक भएको मान्छे’ र ‘नाक काटिएको मान्छे’ भन्ने कुरा भाषामा पर्ने भएकाले यो विषय शिक्षा र संस्कृतिको हो ।”
रोस्टममा शिक्षामन्त्री उभिए र चर्कन थाले, “म त यसको अर्थमात्र भन्न सक्छु । नकटो भनेको नाक काटिएको भनिएको हो । नेप्टो नाक भएकालाई पनि नकटो भन्छन् । यसको लाक्षणिक अर्थ अमर्यादित बोली व्यवहार भएको भन्ने लाग्छ, अर्थात् नकच्चरो, निर्लज्ज व्यक्ति । अझ गहिरिएर भन्ने हो भने छाँट नमिलेको बेछाँटको अर्थात् छकटो, नेप्टो र नकच्चरो, छाँट नमिलेको र उत्ताउलो । तर, कतिसम्म नाक नभएकोलाई नकटो भन्यो भन्ने यो नापजोखको कुरा भएकाले मेरो विषय हैन । यो विषय कसको अन्तर्गत पर्छ ? माननीयहरूले नै बताइदिनुप¥यो ।”
एउटा माननीय उभिए र भने, “हामीले के–के बताउने ? यहाँ नकाबधारी पनि छन् । जो बढी नकटो थियो, त्यो नै चुच्चे नाक बनाएर आएको हुन सक्छ । नकटो यहाँभित्र पस्नुभन्दा पहिल्यै पत्ता लगाउनुपथ्र्यो । जो नकटो छ, उसले यति लामो समयसम्म प्लास्टिक सर्जरी गरेर सबैभन्दा चुच्चे नाक बनाइसक्यो । त्यसैले बुच्चे हैन, चुच्चे नाक नाप्नुप¥यो । यो विषय नै रहस्यमय छ । व्यक्तिगत आक्षेपयुक्त छ । त्यसैले यो मुद्दा गाली–बेइज्जतीको भएकोले कानुन अघि सर्नुप¥यो ।”
कानुनमन्त्री रोस्टममा उभिए र चर्किए, “कानुनलाई प्रमाण चाहिन्छ । माननीयहरूले प्रमाण दिनुहुन्छ भने नकटो नेता को हो, यसको निर्णय कानुनले गर्नेछ ।”
एउटा सांसद पड्किए, “प्रमाण आलुभान्टा दिने ? शिक्षामन्त्रीको परिभाषाअनुसार नकटो भनेको छाँट नमिलेको मान्छे हो । राष्ट्रिय पोशाक नलाउनेलाई यो गरिमामय पदमा छाँट मिलेको भन्न सकिन्न । बकुल्लाको हुलमा कौवा नकटो हुन्छ ।”
अर्का सांसद चर्किए, “शिक्षामन्त्रीजीको परिभाषाअनुसार नकटो भनेको नकच्चरो पनि हो । आफूले राष्ट्रभाषा बोल्न जान्दाजान्दै पनि मैले जानेको छैन भनेर आफैंले पनि राम्ररी नबुझ्ने भाषा बोल्ने नकच्चरो नै नकटो हो । मौका पर्दा चाट्ने, आश्वासनमा ढाँट्ने, मनपरी गर्न आँट्ने र कुरामात्र काट्ने पनि नकटा हुन् ।”
अर्का सांसद सन्किए, “भाषाको परिभाषाअनुसार उत्ताउलो हुने पनि नकटो हो । सदनमा सन्कनेहरू नकटा हुन् । सदनमा जनताका कुरा नभन्ने लुरा पूरा नकटा हुन् र सदनमा झुक्ने नाकहरू नकटै हुन् । सरकारी कार तरकारी किन्न दुरुपयोग गर्नेदेखि मनपरी लेख्ने बोल्ने सबै नकटा हुन् ।”
सदनमा हंगामा मच्चियो । अध्यक्षले टेबल ढकढकाएर भने, “नकटोको अर्थ शिक्षामन्त्रीले नेप्टो नाक भएकालाई पनि लगाउनुभएको छ । नेप्टो नाक भएका माननीयहरू धेरै हुनुहोला । यसको अर्थ धेरै माननीयहरूलाई नकटो भनिएको हैन । शिक्षामन्त्रीजीले नकटोको प्रारम्भिक परिभाषामा नाक काटिएकोलाई भन्नुभएको छ । संक्षेपमा भन्ने हो भने यसरी आक्षेप लगाउने हो भने प्रजातन्त्र पटाक्षेप हुन सक्छ । तगडा काम छोडी झगडातिर मुख मोडी एकले अर्काको हतियार जोडी नाक काट्ने हो भने हामी सबै जनताको आँखामा नकटो हुनेछौं । एकले अर्काको नाकमा बक्सिङ हान्ने हो भने कसैको नाक बच्नेछैन ।”
यो सुनी एक सांसद उठे, “अध्यक्ष महोदय ! यदि मलाई नकटो भनिन्छ भने म बहादुरीसाथ बैठक बहिष्कार गर्छु ।”
अर्का सांसदले भने, “कसैले बहिष्कार नगरी बिनासित्ती बहकिएर बाहिर जाने पनि नकटो नै हो । आफूलाई नकटो प्रमाणित गर्न चाहनुहुन्छ भने बहिष्कार गर्नोस् । तर, जनताले नाक भएको को र नभएको को भनेर चिनेका छन् । नचिने पनि चिन्नेछन् । जनतालाई स्पष्टीकरण नदिए मथिंगल पिन्नेछन् ।”
अध्यक्ष— “माननीयहरू ! जनताको मनशाय कसैले बताउन सक्नुहुन्छ ?”
एक माननीय— “जनताको मनशाय नकटो सांसद पत्ता नलगाए नाक भाँच्ने भन्ने छ । पत्रपत्रिकादेखि घरकी श्रीमतीसम्मलाई जनताको आवाज मान्ने हो भने उनीहरूले दिनहुँ पाठ गर्ने कुरा महँगीको मार र सामन्तीको कार हो । साराले नारा लगाउँदै आएको विषय घुस्याहा झार ! समस्या टार ! बन्डा र डन्डा तोड ! मुख नमोड ! सक्दैनौ भने कुर्सी छोड ! हो, आफ्नो जिम्मेवारी पूरा नगर्ने र कुरामात्रै गर्ने नै जनताको भाषाका नकटा हुन् ।”
उपाध्यक्ष— “नाक भनेको सत्ता हो । नाक जोगाउने मामिला भएकाले नकटो सांसद भन्नेले मैले पत्ता पाएअनुसार सत्ताधारी र भत्ता आहारी सांसदहरू हुन् ।”
मन्त्रीहरू आफूमाथि आक्षेप आएकाले सबै एकै स्वरमा चिच्याए, “सत्ता भन्नाले मन्त्री र मन्त्रीहरू भन्नाले महामन्त्री अर्थात् प्रधानमन्त्री यसको जिम्मेवार हुनहुन्छ ।”
अध्यक्ष– “प्रधानमन्त्रीज्यू ! नकटो सांसद को हो ? निक्र्यौल गर्नुप¥यो । स्पष्टीकरण दिनुहोस् ।”
प्रधानमन्त्री– “सांसदहरूले आफ्नो नाक कस्तो छ भन्न सक्नुहुन्न भने मैले नाक नकटो कसरी भनौं ? माननीयहरुलाई दृष्टिभ्रम भयो, आँखा कमजोर भयो, एक आँखाले मात्रै हेर्नु भएन । यसैले पहिला चश्माको जाँच हुनुप¥यो । यसै क्षण आँखा परीक्षण हुनुप¥यो । राइटले राम्ररी देख्छ कि लेफ्टले ? यो बुझ्न समय लाग्छ ।”
प्रधानमन्त्रीको जवाफले एकथरी सांसद रुष्ट भए र प्राप्त नारा लगाउन लागे, “नकटो सरकार मूर्दावाद !”
अध्यक्षले रुलिङ गर्दै भने, “माननीयहरुको यसमा बढी जोड छ भने नकटो जाँचबुझ आयोग गठन हुनेछ । तर, सत्ताधारी पार्टीको सांसदले व्यक्तिवादी भएर मूर्दावाद भन्नु भएन ।”
सांसदहरू कराउँदै थिए, “सार्वजनिक कुरा सरकारको मात्र हैन, सबैको सरोकारको कुरा हो । हामीलाई आयोगमा विश्वास छैन । आयोग भनेको आयो गयो । खोई अहिलेसम्म आयोगले के–के भने ?”
नकटो आयोगले आफ्नो कार्यालय खोलेर देशका तमाम नकटाहरूबारे जानकारी माग ग¥यो । तर, कसैले सही जानकारी दिएनन् । एकथरीले गाँडलाई गहना र भाँडलाई बहाना बनाए । अर्काथरीले जान्नेलाई हान्ने र बलियालाई बान्ने गरे । एकांगी विचारले पत्रिका भरे । सब दोष सांसदमा गयो । खैलाबैला भयो । नकटोको नारा लाग्यो । पत्रिकाहरूले जानकारी त दिए तर एकथरीले गालीमात्र दिए, अर्काथरीले तालीमात्र । तटस्थ हैन, पक्षपाती भएर जानकारी दिएकाले त्यो निरर्थक भयो । आखिर सांसदको नाक परीक्षण गर्ने निर्णय भयो र परीक्षण प्रारम्भ भयो ।
अन्तमा आयोगको प्रतिवेदन थियो, “कुनै व्यक्ति सांसदलाई नकटो भनिएको हैन । जसले संसदभित्र नाक राख्ने काम गर्दैन, त्यो नै नकटो हो ।”
(पाँडेको हास्यकथा–१ बाट)