site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पलेँटीले गायिका बनायो, ठमेल बजारले चिनायो

भारत मनिपुरमा जन्मिएकी मीना पोखरेल (निरौला) मा सानै उमेरदेखि संगीतप्रति मोह थियो । स्थानीय मनीपुरी भाषाका गीत गाउँथिन् । गाउने मात्रै होइन उनको नाच्नमा पनि शोख थियो । घरगाउँमा हुने कार्यक्रममा उनी गाउँथिन्, नाच्थिन् । त्यहाँ नेपाली गीत कम सुनिन्थ्यो । त्यसैले हिन्दी र मनीपुरी भाषाकै गीत तथा भजन गाउँथिन् । कक्षा ११ पढ्दादेखि उनले क्लासिकल म्युजिक सिक्न थालिन् । चार वर्ष क्लासिकल म्युजिक सिकेकी उनले  भारतकै प्रसिद्ध क्लासिकल गुरु मोहिराङसँग संगीतको बिसारत तह पूरा गरिन् । मिनाले भोकलसँगै सितार र हार्मोनियम सिकिन् । 

२१ वर्ष अगाडि उनले पहिलोपटक गीत गरेकी थिइन् । उनका गीत विस्तारै लोकप्रिय हुँदै गए । मनिपुरमा उनको लोकप्रियता चुलियो । उनी नेपाल आइन् । नेपाली गीत गाउन थालिन् । पलेँटीमा पुगेपछि उनको सांगीतिक यात्राले उचित मार्ग पहिल्यायो । चलचित्र ‘लुट–२’को गीत ‘ठमेल बजार’ गाउन उनलाई कालीप्रसाद बाँस्कोटाले प्रस्ताव ल्याए । आफ्नो भोकल टोन आइटम गीतसँग मिल्छ भन्ने उनलाई थाहा थियो । गीत गाइन् । लोकप्रिय भयो । अहिले नेपाली चलचित्रको आइटम गीत गायनमा उनी पहिलो रोजाई छन् । करिब डेढ सय गीत गाइसकेकी उनै गायिका मिनासँग बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानी: 

० ० ०

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तपाईँ आधुनिक गीतबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गर्नुभयो तर, अहिले अधिकांश चलचित्रका ‘आइटम’ गीतमा तपाईँको स्वर सुनिन्छ । आइटम गीत रहर हो की बाध्यता ?

बाध्यता भन्न मिल्दैन । किन भने मलाई कसैले तिमीले गाउनै पर्छ भनेर मैले गाएको होइन । गाउनका लागि आग्रह गरेपछि मैले गाउने हो । अहिलेको बजार नै यस्तै छ । आइटम गीत चलिरहेको छ । आइटम गीतका लागि आवश्यक अदाह (एटिच्युड) मेरो स्वरमा छ भन्नुहुन्छ । सुरुमा मलाई आमरुपमा चिनाउने गीत पनि आइटम गीत (ठमेल बजार) हो । त्यस कारण पनि धेरैले मलाई आइटम गीत गाउने भनेर चिन्नु भएकाले यस्ता गीत मसँग ठोक्किन आइपुगेका होलान् । 

तपाईँको रोजाईमा आइटम गीत पहिलो नम्बरमा पर्छ ? 

गीतका विभिन्न विधा छन् । ती विधामा तिमीलाई कुन विधा सबैभन्दा धेरै मनपर्छ भनेर प्रश्न गर्दा आइटम गीत पहिलो रोजाइमा पर्दैन । म आधुनिक गीत गाइरहेको थिएँ । त्यो मेरो पहिलो रोजाई भए पनि आइटम गीतका लागि पनि मेरो स्वर ‘सुट’ हुन्छ भन्ने मलाई थाहा थियो । त्यसैले आइटम गीत पनि गाउन पाए हुन्थ्यो भन्ने मन थियो । कालीप्रसाद बाँस्कोटालाई धेरै पहिला मैले भनेको पनि थिएँ– ‘आइटम गीतमा मेरो स्वर सुहाउँछ । नेपालमा यस्तो गीत पनि छैनन् । गरौं न’ कालीप्रसाद दाइसँग मैले कुरा गरेका कारण पनि ठमेल बजार आएको हुनसक्छ । 

चलचित्रमा आइटम गीत गाउँदा बढी आत्मसन्तुष्टि मिल्छ कि आधुनिक गीतमा ? 

आइटम गीत गाउने ‘टोन’ मसँग थियो । त्यो प्रयोग गर्न पाएकाले यो पनि मेरा लागि खुसीको कुरा हो । तर, मेरो गीतको ‘रुट’ (जरा) त आधुनिक नै हो । मलाई पलेँटीमा सुन्नेहरुले तपाईँ यस्तो आइटम गीत पनि गाउनुहुन्छ भनेर छक्क पर्नुहुन्छ । मलाई आधुनिक गीतमा सुन्नेहरुले लामोसमय बाँच्ने गीत पनि तिमीले गाउन जरुरी छ भन्नुहुन्छ । अहिले जसरी हामी शान्ती ठटाल, बच्चु कैलाश, अरुण थापाका गीत गाएर उहाँहरुलाई सम्झिरहेका छौं । उहाँहरुका जस्तै कालजयी गीत गाउने मलाई रहर पनि छ । 

तर, यस्ता गीतको प्रस्ताव भने आउँदैन हैन ?

सांगीतिक उद्योगभित्र मीनाले यस्तो गीत पनि गाउन सक्छे है भन्ने थाहा पनि छ । भन्नेबेलामा तपाईँ त क्लासिकल पृष्ठभूमीबाट आउनु भएको है भन्नुहुन्छ । तर, ‘रिक्स’ लिन कोही तयार हुनुहुन्न । आज बनाएर आजै चल्ने गीत चाहिएको छ सबैलाई । अहिले गाइरहेका लोकगीत गाउन सक्छु । धेरैलाई थाहा पनि छ । तर, दिने बेलामा आइटम गीत नै दिनुहुन्छ । यद्यपि, विस्तारै चलचित्रका लोक बेसका गीत पनि मसामु आउन थालेका छन् । आधुनिक भने अझै दिनु भएको छैन । 

पलेँटीमा कसरी पुग्नुभयो ?

म मनिपुरमा बस्थेँ । उहाँ एक जना मामा सन्तन कुमार लिम्बू हुनुहुन्थ्यो । उहाँलाई पलेँटीले बोलायो । त्यहाँ मञ्जरी ब्यान्ड हिट थियो । त्यसमै म पनि गाउँथे । मेरा गीत पनि हिट थिए मनिपुरमा । मामा यहाँ आएपछि उहाँले मलाई सिफारिस गर्नुभएछ । त्यही कारण म नेपाल आइपुगेँ । १२ वर्षदेखि म पलेँटीमा छु ।

पलँेटीमा गाउँदा र बाहिर गाउँदा धेरै फरक हुन्छ । पलेँटीका जस्तै दर्शक स्रोताको अपेक्षा गर्नुहुन्छ कि महोत्सवकाजस्तै ? 

धेरै फरक छ । पलेँटीमा मलाई सुन्नेहरुले तपाईँ पलेँटीमा त्यस्तो प्यासन र डेडिगेसनका साथ गाउनुहुन्छ । कसरी त्यस्तो सम्भव छ भनेर सोध्नुहुन्छ । यही प्रश्नबाट पनि कति फरक छ भन्ने थाहा हुन्छ । माहोल, अनुशासन, दर्शकको चहानाले धेरै फरक पार्दोरहेछ । 

पलेँटीमा आफूभन्दा अग्रज दिदीदाइहरुको गीत उहाँहरुकै अगाडि गाउनुपर्छ । त्यहाँ आउने दर्शक गीतसंगीतमा पारङ्गत मात्रै हुनुहुन्छ । त्यसैले थोरै बिग्रियो भने मात्रै पनि बहिनीले आज यहाँ बिगार्‍यो भन्नुहुन्छ । तर, मेला महोत्सवमा त्यस्तो डर हुँदैन । पुरानो गीत सुनाउँछु भन्दा पनि पाइँदैन । मेला महोत्सवमा अहिलेका चलचित्रका आइटम गीत नै सुन्न रुचाउनुहुन्छ । 

म हरेक कार्यक्रममा गीतार, हार्मोनियमा लाइभ गाउन पाइन्छ भनेर सोध्छु । सुरुमा गम्भीर गीतहरु गाएर पछि डान्सिङ नम्बरहरु सुनौं–सुनाऔं भन्ने मेरो चहाना हुन्छ । तर, आयोजकले भनेपछि ट्रयाकमै गाउनुपर्ने बाध्यता हुन्छ । 

तपाईँको सांगीतिक यात्रामा पलेँटी नभेटिएको भए के हुन्थ्यो ?

मलाई यो ठाउँमा ल्याएको नै पलँेटीले हो । मलाई इन्डियामा हुँदा मेरा गीत हिट थिए । मलाई राम्रै गाउँछुजस्तो लाग्थ्यो । तर, जब म पलेँटीमा आएँ । अमर गुरुङलगायत नेपाली गीतसंगीतका मुर्धन्य श्रष्टाहरुसँग भेट भयो, अनि मलाई लाग्यो मैले सिक्न धेरै बाँकी छ । मैले नेपाल आएपछि फेरि शून्यबाट सांगीतिक यात्रा सुरु गरेँ । 

पलेँटीले मलाई हिट हुनभन्दा पनि ‘एभरग्रिन’ हुन सिकायो । पलँेटीमा मैले जति सिकेँ त्यो मैले अन्त कहिँबाट पनि सिक्न सक्तिन थिएँ । स्टारडमको घमण्ड पाल्नु हुँदैन भनेर मैले अमर गुरुङको व्यक्तित्वबाट सिकेँ । एकाग्रता, समयको महत्व र गीतमा ‘फिलिङ्स’को महत्व बुझेँ । 

तपाईंलाई सांगीतिक क्षेत्रमा पलेँटीले चिनायो कि ‘ठमेल बजार’ले ?

‘ठमेल बजार’ले चिनायो । तर, गायकी भर्ने काम पलेँटीले  गरेको हो । पलेँटीमा आउने सीमित व्यक्ति र सांगीतिक क्षेत्रभित्रका व्यक्तिले मात्रै मलाई चिन्नुहुन्थ्यो । आम नागरिक समक्ष भने ‘ठमेल बजार’ले नै चिनाएको हो । 

क्लासिकल गीत मन पराउन छाडिएको हो ? 

पछिल्लो समय नेपालमा मात्रै होइन सबैतिर यस्तै भइरहेको छ । भारतमा पनि क्लासिकलभन्दा अरु गीत नै बढी सञ्चारमाध्यम तथा मेलामहोत्सवमा बजिरहेका हुन्छन् । मेरो विचारमा विस्तारै परिवर्तन हुँदै जान्छ । र, गम्भीर गीतसंगीत नै रुचाइन्छ होला । पलेँटीजस्ता ठाउँमा किन नारायण गोपालका गीत गाइन्छन् ? राम्रो भएर त हो । त्यसैले घुम्दै पुनः राम्रो ठाउँमा नै आइपुगिन्छ होला । 

आधुनिक गीत मात्रै गाएर जिविकोपार्जन गर्ने अवस्था छ ?

छैन । अहिलेको अवस्थामा छँदै छैन । नाच्ने गीत भए पुग्छ । शब्दको मतलब छैन । गायकीको मतलब छैन । म्युजिकको तालमा नाच्ने गीत भएपुग्छ अहिले ।

पलँेटीमा तपाईँले अग्रज गायकगायिकाका गीत गाइरहँदा पुराना र नयाँ गीतमा के फरक पाउनुभयो ?

एउटा गीत बनाउन गीतकार, संगीतकार, गायक, एरेन्जर बाध्यबाधक सबै एकै ठाउँ बस्ने चलन थियो । डेडिकेशन थियो त्यो बेला । अहिले को–कहाँ छ कसैलाई थाहा हुँदैन । संगीतकारले तयार पारेको डमीमा गीत तयार हुन्छ । हिजो मात्रै चिन्दै नचिनेकको एकजनाले फोन गरेर मलाई भन्नुभयो, मीनाजी तपाईंलाई भोलिका लागि स्टुडियो बुक गरेको छु ।
गीत रेकर्ड गर्नुथियो । न शब्द, न संगीत, न चिनेको  छ । यसरी गाएको गीत कसरी हुन्छ राम्रो ? 

कला पहिला साधना र अहिले व्यवसाय मात्रै भयो ?

हो । व्यवसाय मात्रै भयो कला । परिणाम राम्रा गीत कम आए । नाच्ने र नचाउने गीतको बोलावाला भयो । 

गीतसंगीत व्यवसाय हैन कला हो । र, यसका लागि साधना चाहिन्छ भन्ने बुझाई फर्किएला अब ?

फर्किन्छ । र, फर्किनु पनि पर्छ । धमिलो पानी केही तल पुगेपछि संग्लिएजस्तै सांगीतिक क्षेत्रमा पक्कै पनि एकदिन नराम्रा कुरा थिग्रिन्छन्, तैरिन्छन् । राम्रा कुरा मात्रै बाँकि रहन्छ । साधना नभएसम्म गायकी राम्रो हुँदैन भन्ने दिन आउँछ । आज स्कुल, कलेज तथा विभिन्न इन्स्टिीच्युटमा जाँदा सानासाना भाइबहिनीहरु संगीतको शिक्षा लिइरहनु भएको छ । यसले पनि देखाउँछ भोलिका दिनमा कला साधना हो भनेर आउनेको संख्या उच्च हुनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्