site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिनाकोटेसन खरिद गरिएका ६० वटा कम्प्युटरको फाइलमा सही गर्न सकिनँ
SkywellSkywell

डा. रामदयाल राकेश (७६) कीर्तिपुर क्याम्पसमा पढाउँथे । विषय थियो, हिन्दी भाषा साहित्य । प्राध्यापन पेशासँगै उनको लेखन क्रम पनि सुचारु थियो । विभिन्न पत्रपत्रिकामा उनका साहित्य र मैथिली संस्कृति विषयक आलेखहरू प्रकाशित भइरहन्थे ।   २०४९ साल तिरको कुरा हो । पञ्चायती व्यवस्था गएर बहुदलीय व्यवस्थाको पुनस्र्थापना भइसकेको थियो । नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । 

त्यसै समयमा धेरै सरकारी कार्यालय र संस्थानमा कार्यरत पुराना कर्मचारीहरूले अवकास पाए । जागिरले ३० वर्ष र उमेरले ५८ पुगेका धेरैले अवकास पाएका थिए । फलतः धेरै कार्यालयमा पद रिक्त भयो ।  रिक्त रहेका पदमा विभिन्न कार्यालयहरूबाट कर्मचारी पठाइयो । त्यसैमा परे डा. रामदयाल । त्रिविविबाट निर्वाचन आयोगको कर्मचारीकारुपमा उनको पदस्थापन भयो । उनी शिक्षकबाट प्रशासक भए ।   

निर्वाचन आयोगमा हुँदै उनी ‘फूल ब्राइट स्कलरसिप’ मा पोस्ट डाक्टर रिसर्चका लागि अमेरिका पनि गएका थिए । यो छ महिनाको  कोर्स थियो ।  उनी अमेरिकाबाट फर्किए । आफ्नो जिम्माको काम गर्न थाले । त्यसबेला विष्णुप्रताप शाह आयोगमा प्रमुख निर्वाचन आयुक्त भएर आएका थिए ।  कामका क्रममा चित्त नबुझेका विषयमा डा. रामदयाल प्रमुख आयुक्तसँग खरो विचारकासाथ प्रस्तुत हुन्थे । तर खै किन हो, प्रमुख आयुक्त शाहसँग बेलाबेलामा उनको ठाकठुक् परिरहन्थ्यो । 

KFC Island Ad
NIC Asia

केही समयपछि निर्वाचन हुँदै थियो । निर्वाचनको तयारीमा सबै जुटे । त्यसैबेला निर्वाचन आयोगको प्रयोजनका लागि ६० वटा कम्प्युटर खरिद गरिएको थियो । त्यो कम्प्युटर खरिदका लागि टेन्डर पनि गरिएको थिएन । खरिदका लागि आवश्यक कोटेशन पनि थिएन । त्योसँगै लाखौँको फोटोकपि पेपर पनि खरिद गरिएको थियो । कागजको पनि कोटेशन थिएन ।

निर्वाचन सम्पन्न भयो । निर्वाचन सकिएपछि खर्चबर्चका फाइल सदर गरिनु स्वाभाविक थियो । फाइल एउटा टेबल अर्को टेबल हँुदै डा. रामदयाल राकेशको टेबलमा पुग्यो ।   मंगलबार उनी काम विशेषले नेपाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए । त्यहीँ हामीबीच लामो कुराकानी भयो । डा. रामदयाल राकेश भन्छन्, “म असमञ्जसमा थिएँ । त्यति नै बेला रामचन्द्र पौडेल आयोगका आयुक्त हुनुहुन्थ्यो । उहाँले मलाई भन्नुभयो– ‘राजनीतिक नियुक्ती भएर आएकालाई त त्यति गाह्रो नहोला ।  कर्मचारी भएको नाताले भोलिका दिनमा तपार्इंलाई गाह्रो हुनसक्छ । खर्चको फाइल सही गर्दा विचार पुर्‍याउनुस् ।’ त्यसपछि मैले त्यो फाइल सही नगरेर फिर्ता पठाईदिएँ । त्यसै दिन साँझ मलाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको चिठी मेरो हात लाग्यो !”

Royal Enfield Island Ad

डा. राकेशका अनुसार त्यसबेला हिरण्यलाल रेग्मीलाई विष्णुप्रताप शाहले मनपराएका थिए । त्यसबेला मन्त्रिपरिषदले अरु कोही व्यक्तिलाई आयोगको सचिवमा पठाएको थियो । तर शाहले साम दाम दण्ड भेद प्रयोग गरी आफ्ना मानिस हिरण्यलाल रेग्मीलाई भित्र्याए ।  त्यस उप्रान्त डा. राकेश शिक्षा मन्त्रालयमा हाजिर भए । र मन्त्रालयमा नौ महिना जगेडामा बसे । नौ महिनापछि मात्रै उनको सरुवा सानोठिमीस्थित ‘टेन प्लस टू’ को काम गर्ने कार्यालयमा भयो । त्यहाँ नत उनको दरबन्दी थियो नत काम नै । 

तर पनि उनी सरुवा भएको ठाउँमा गए । पछि उनको सरुवा अनौपचारिक शिक्षा केन्द्रमा भयो । 

०००

साहित्य र संस्कृति विषयमा कलम चलाउँदै आएका डा. रामदयाल राकेशको बाल्यकाल सर्लाही जिल्लाको सिसौटियामा बित्यो । उनी त्यहीँ जन्मिए । मिश्रित समाजको बसोबास रहेको सिसौटिया शिक्षा र सम्पन्नताका हिसाबले उन्नती गर्दै गएको गाउँ मान्छन्, डा. राकेश ।  प्रारम्भमा डा. राकेश र उनकै उमेरका केटाकेटीहरूले पढाइ सुरु गरेका हुन् । त्यसअघि घरमै पढ्ने प्रचलन थियो । 

जब उनीहरूको पढ्ने उमेर भयो, गाउँमै एउटा पाठशाला स्थापना गर्ने कुरा चल्यो । सोही अनुरुप पाठशाला खुल्यो । गाउँभरिका केटाकेटीलाई भारतबाट आएका एक शिक्षकले पढाउँथे । ट्युसन शुल्क बापत पैसा दिने चलन थिएन । धान चामल दिने चलन थियो । त्यसबखत काठको पाटीमा कखरा र एकदेखि सयसम्म लेखाइन्थ्यो । बाँसको कलम भट्ठा (खरी)लाई गलाएर बनाइएको सेतो मसीमा चोपेर पाटीमा लेखिन्थ्यो ।

डा. रामदयाल राकेशभन्दा जेठा तीनजना दाइ थिए । जेठा दुई दाइहरू शिक्षित थिए तर धेरै पढेका थिएनन् । तर पनि शिक्षाको ज्योति आफ्ना भाइहरूलाई दिनुपर्छ भन्ने मानसिकता उनका जेठा माइला दाइहरूमा थियो ।  तत्कालीन अवस्थामा घरेलु पाठशालामा कक्षाको वर्गीकरण थिएन । त्यसैले पढाइको पृष्ठभूमिलाई ध्यानमा राखेरै केही वर्षपछि उनको र उनीभन्दा जेठा दाजुको छिमेकी गाउँमा स्थापित मिडिल स्कूलमा एकैपटक ६ कक्षामा भर्ना भयो । 

उनको घरगाउँ सिसौटियाभन्दा केही परको गोडैतामा स्थापित मिडिल स्कूलमा वार्षिक परीक्षाफल प्रकाशित गर्ने दिन विशेष कार्यक्रमको आयोजना गरिन्थ्यो । र पास भएका विद्यार्थीहरूलाई पुरस्कारस्वरुप कलम र कापी दिने चलन थियो ।  ती दिन स्मरणीय र उर्जाशील भएको उनी बताउँछन् । उनी मिडिल क्लासमै पढ्दै थिए । असार साउनको महिना थियो । त्यसैवर्ष नराम्ररी गाउँ पस्यो, बाढी । त्यो बाढीमा जंगलतिरबाट गैँडा पनि बगाएर ल्यायो ।  

कताको जंगलबाट त्यो गैँडा बगेर आयो, थाहा भएन । तर त्यो बगेर आएको जंगली जनावर हेर्न स्थानीयहरूको भीड लाग्यो । खतरनाक जनावर भएकोले सबै डराए पनि ।  गाउँमै तामराज मास्के नाम गरेका एक प्रभावशाली व्यक्ति थिए । उनको घरमा बन्दुक पनि थियो । उनले त्यही बन्दुकले त्यो बगेर आएको गैँडा मारे । त्यसपछि मात्रै सबैले राहत महसुस गरे । 

तर त्यो गैँडाको मासु, रगत र छालाका लागि मारामार र लुछालुछ भएको आज पनि उनको सम्झनामा छ ।  उतिखेर पूरै सर्लाहीमा हाइस्कूल थिएन । हाइस्कूल नभएपछि भारतीय सिमावर्ती सहरमा गएर पढ्नुको विकल्प थिएन । त्यसैले डा. रामदयाल राकेश र उनका दाइ भारतको सीमावर्ती सहर रिगा स्टेशन गएर पढ्न थाले ।
डा. राकेश सुनाउँछन् त्यो प्रसंग, “म मिडिल स्कूलमा सेकेण्ड भएको थिएँ । फस्र्ट विद्यार्थी रिगा स्टेशन पढ्नै भनेर गएपछि म पनि त्यहीँ गएँ । र रिगाको बलभद्र उच्चाङ्गल विद्यालयमा भर्ना भएँ, आठ कक्षामा ।”

तर फस्र्ट हुने विद्यार्थीको मामाघर त्यही गाउँमा थियो । त्यसैले उसलाई सहज थियो बसोबास । तर रामदयाल राकेश र उनका दाइ होस्टलमा बस्थे । उनीहरूलाई रिगाको बसाइ र पढाइ उच्चाटलाग्दो हुँदै गयो । होमसिक पनि भयो ! उनीहरू दुबै दाजुभाइ दुई तीन महिनामै सिसौटिया फर्किए । 

रिगा उनीहरूको गाउँबाट आठ कोस पर थियो । त्यहाँ आठ कक्षामा भर्ना हुँदा रामदयाल राकेशले आठ कक्षामा साइन्स विषय लिएका थिए । त्यसैबेलादेखि त्यहाँ साइन्स, आर्ट र वाणिज्य छुट्याइएको उनको भनाई छ ।  त्यसपछिको केही समय गाउँमै बित्यो । उनका पिताजी उनी पाँच वर्षको हुँदै बितेका थिए । आमा थिइन् । तर ठूला दाजुहरूको काँधमा पारिवारिक जिम्मेवारी थियो । 

उनका दाजुहरूले फेरि दुबै भाइलाई पढ्नका लागि मलंगवा पारिको सीमावर्ती बजार सोनबर्सा पुर्‍याए । त्यसबेला डा. राकेश  र उनका दाजु कक्षा नौमा भर्ना भए । सोनबर्सा उनको गाउँबाट चार कोस टाढा थियो । त्यसैले पहिलेभन्दा नजिक भएकोले उनीहरूलाई त्यति गाह्रो भएन । उनी हाँस्दै भन्छन् “त्यतिबेला हामीलाई नेपाल भारतबारे थाहा पनि थिएन । बोर्डरका विषयमा के जानकारी हुन्थ्यो !”

०००
उनले एउटा अर्को रोचक प्रसंग सुनाए । रामदयालले गोडैताको मिडिल स्कूलबाट छ कक्षा पास गरिसकेका थिए । त्यसैबेला उनको दाजुको बिहेको कुरा चल्यो । दाजुका लागि मलंगवा नजिकको ब्रह्मपुरीमा केटी हेरियो ।  जुन घरमा उनका दाजुको बिहेको कुरा हुँदै थियो । त्यसै घरमा सम्धीका भाइका पनि छोरी रहिछन् । एकै घरमा दुई कन्या भएकाले डा. राकेशका दाजुहरूले दुबै दिदी बहिनीको बिहे गर्ने कुरा टुंगो गरेरै आए । र, रामदयाल राकेशलाई बिहे गर्न भने । 

अर्थात ब्रह्मपुरीका एकैघरका दिदीबहिनी एउटै घरमा देउरानी जेठानी भएर भित्रिने टुंगो भयो ।  डा. दयाललाई बिहे गर्न मन थिएन । उनी पढाइलाई निरन्तरता दिन चाहन्थे । त्यसैले उनले बिहेको खुबै विरोध गरे । तर उनको केही लागेन ।  उनी यो कुरा गर्दैगर्दा हाँसे । अनि भने, “तीलक र फलदान हुने दिन मेरा दाइपर्नेले स्कूलबाट मलाई काँधमा बोेकेर घर ल्याए । यसरी तीलकको विधिविधान पूरा गरियो । तर मलाई मैले पढेसम्म पढाउने विषयमा दाजुहरूलाई वचनबद्ध गराएको थिएँ । मलाई पढ्नुपर्छ भन्ने मात्रै थाहा थियो । पढेर के गर्ने ? यो भने थाहा थिएन !”

दाजुले आश्वासन दिएपछि उनी बिहे गर्न माने । यसरी बालकै उमेरमा उनको बिहे भयो । तथापि, आज पनि उनी आफ्नो बिहे जबरजस्ती भएको भन्न हिच्किचाउँदैनन् ।  रिगाबाट फर्किएको केही समयपछि सोनबर्साको स्कूलमा दुबै दाजुभाइको भर्ना भयो कक्षा नौ मा । आठ कक्षा उनीहरूले पढेनन् । रामदयाल राकेशले सोनबर्साको स्कूलमा साइन्स नलिएर कला विषय लिए ।  

उनीसँगै पढ्ने उनका दाजुले ९ पास गरेपछि पढाइ छाडे र खेतीपातीमा लागे । रामदयालको पढाइ निरन्तर अगाडि बढी रह्यो ।  सोनबर्सा स्थित हाईस्कूलबाट उनले प्रथम श्रेणिमा म्याट्रिक पास गरे । त्यो स्कूलका फस्र्ट विद्यार्थीलाई उनले म्याट्रिक परीक्षामा एक नम्बरले जितेका थिए । 
०००
म्याट्रिक पास गरेपछि कलेजको खोजी सुरु भयो । जनकपुरमा कलेज थियो, तर सिसौटियाबाट टाढा भएकोले उनले जनकपुर जाने मन बनाएनन् ।  उनी भारतीय सहर सीतामढीको गोयन्का कलेजमा गएर आइएमा भर्ना भए । दुई वर्षमा उनले आइए सिध्याए । र, सन् १९५८ मा उनले आइए पास गरे ।   तर त्यसअघि उनी ओभरसियर पढ्ने मनस्थितिमा थिए । उनका एकजना साथी काठमाडौं गएर ओभरसियर पढ्ने तयारीमा थिए । डा. राकेश पनि काठमाडौं जाने भए, साथीसँगै । 

उनीहरू दुबैजना काठमाडौं जान भनेर भारतीय मार्ग हुँदै रक्सोल पुगे । त्यहाँबाट वीरगञ्ज गए । तर भिमफेदीदेखि हिँडेरै काठमाडौं पुग्नुुपर्ने कुरा थाहा पाएपछि डा. राकेशले आफू हिँड्न नसक्ने भनेर वीरगञ्जबाटै गाउँ फर्किए । अनि उनले सीतामढीको बाटो समाए । 

डा. रामदयाल राकेश सम्झिन्छन् ती पुराना दिन । भन्छन्, “सीतामढीबाट आइए पास भएपछि अंग्रेजी विषयमा ‘अनर्स’ गर्ने मन बनाएँ । त्यसपछि म सिमराबाट प्लेन चढेर काठमाडौं आएँ । त्यसबेला ४० रुपैयाँ थियो प्लेन भाँडा । काठमाडौं पुगेर त्रिचन्द्र कलेजमा गएर सम्पर्क गरेँ । तर काठमाडौंमा बीएमा अनर्स गर्ने सिस्टम रहेनछ । म फेरि गाउँ फर्किएँ । र, दरभङ्गा गएर आफूले चाहेको विषय पढ्न थालेँ ।” 

काठमाडौंबाट फर्किँदा भने उनी चित्लाङको बाटो हुँदै हिँडेर फर्किए । भिमफेदी पुगेर गाडी चढेर अमलेखगञ्ज गए । त्यहाँबाट रेल चढेर वीरगञ्जका लागि हिँडे । तर उनी चढेको रेलका केही डिब्बाले लिक छोड्यो । रेल दुर्घटनामा प¥यो । तर उनी र उनका सहयात्रीहरूलाई केही भएन । त्यहीँ वीरगञ्जबाट अर्को रेल आयो । र, सबै यात्रुलाई बोकेर वीरगञ्ज पुर्‍यायो । 

०००

दरभङ्गाबाट बीए पास गरेका रामदयाल राकेश एमए पढ्न काठमाडाैं आए । उनले त्रिभुवन विश्वविद्यालयको त्रिपुरेश्वरस्थित क्याम्पसमा अंग्रेजी विषय लिएर एमए पढ्न सुरु गरे । त्यसबेला त्रिपुरेश्वरमै थियो विश्वविद्यालय । उनले एक–डेढ महिना काठमाडौंमा बिताए । त्यसपछि दशैँको बिदा भयो । उनी घर गए । घर पुगेर उनले दाजुहरूलाई आफूलाई काठमाडौंको पानी सुट नगरेको भन्दै काठमाडौं नफर्किने कुरो सुनाए । मूलतः उनी अंग्रेजी विषयका किताबहरू महँगो भएकोले घरमा दाजुहरूलाई बोझ दिन चाहँदैनथे । 

डा. राकेश भन्छन्, “यद्यपि त्यो मेरो बहानाबाजी थियो । कारण काठमाडौंमा बसेर पढ्दा धेरै खर्च हुन्थ्यो । म परिवारलाई बोझ दिन चाहन्थिन । त्यसैबेला गोडैताको हाइस्कूलमा एउटा मास्टर चाहिने भयो । र, म त्यहीँको स्कूलमा पढाउन थालेँ ।”  गोडैताको स्कूलमा उनले नौ महिना पढाए । फेरि के मन लाग्यो, उनी काठमाडौं आए । र हिन्दी विषय लिएर त्रिभूवन विश्वविद्यालयमा एमए पढ्न थाले । त्यसबेला केही भारतीय र केही नेपाली प्रोफेसरहरूले पढाउँथे । 

त्रिविविमा उनले ढुण्डिराज भण्डारीसँग हिन्दी पढे । यसरी पढ्दै गर्दा एक वर्षको समय बित्यो । उनले एमएको फस्र्ट पार्टको परीक्षा दिए । अनि विदामा घर फर्किए ।  उनी गाउँ पुगेकै बेला उनलाई छिमेकी गाउँमा स्थापित हाइस्कूलमा हेडमास्टर भइदिन आग्रह गरियो । उनले पनि के सोचे कुन्नी, घरपायक पाएको हेडमास्टरको जागिरलाई हुन्छ भनिदिए ।

त्यसैबीच उनले एमए पुरा गरे । हेडमास्टर हुँदै उनले सेकेन्ड पार्टको परीक्षा प्राइभेट दिए र एमए पास गरे ।

उनी सुनाउँछन्, “त्यसबेला मैले एमएमा फस्र्ट क्लास फस्र्ट पोजिसन ल्याएँ । हरेक विषयमा फस्र्ट ल्याउनेहरूको नाम रेडियो नेपालले समाचारमा भन्थ्यो । मेरो नाम पनि भनियो । त्यसपछि त मेरो चर्चा सबैतिर भयो । सर्लाहीका सिडियोले पनि बधाई दिए ।”

डा. रामदयाल त्यसबखत सर्लाहीकै बैलबासमा आयोजित हेडमास्टरहरूको सम्मेलनमा भाग लिन गएका थिए । उनी फर्किँदा मलंगवा आए । सिडियो इश्वरचन्द्र उपाध्यायसँग भेट भयो । उनले बधाई दिए । जब उनी गाउँ पुगे, त्यसबेलासम्म त स्कूलमा हलुवाई (मिठाई बनाउने) उनको नाममा मगाएर भोजभात पनि सम्पन्न गरिसकेका रहेछन् । 

यति सुनाउँदै गर्दा डा. रामदयाल राकेश हाँसे । उनी नोस्टाल्जिक भए ।  गाउँको राजनीतिले उनलाई स्कूलमा हेडमास्टर भइरहन मन लागेन । अनि, राजीनामा दिए र फेरि एक पटक २०२०÷०२१ सालतिर काठमाडौं छिरे । उनी काठमाडौं त आए तर कतै दरबन्दी खाली थिएन । उनले  ढुण्डीराज भण्डारीसँग भेट गरे । भण्डारीले उनकी छोरी तथा उनका केही केटी साथीहरूलाई अंग्रेजीको ट्युशन पढाइदिने काम मिलाई दिए । उनलाई केही राहत भयो, यसबाट ।  

०००

पद्म कन्या कलेजबाट एकजना हिन्दीका प्रोफेसर भारत फर्किँदै थिए । पद्म कन्या कलेजकी अंगुरबाबा जोशीले रामदयाल राकेशलाई केही समय अवैतनिकरुपमा हिन्दी पढाउन भन्दै रिक्त पदमा उनलाई नै राखिने वाचा दिइन् । उनले पनि अवैतनिकरुपमा पढाउन थाले । यसरी नौ महिना अवैतनिक पढाएरै बित्यो । त्यसपछि उनको अस्थायी नियुक्ति पद्म कन्या कलेजमा हिन्दी विषयको लेक्चररमा भयो । 

पछि उनले स्थायीका लागि फेरि लोकसेवा आयोगबाट लिइएको परीक्षा दिए । सरकारी सेवाका लागि जाँच दिनै पर्दथ्यो ।  यो परीक्षामा उनका केही प्रतिश्पर्धी पनि थिए । एकजना महिला पनि थिइन् । ती महिलाको विषयमा कुरा पनि चलेको थियो । रामदयाल जहाँ पनि जान सक्छन् । उनले अन्त पनि काम पाउन सक्छन् । उनले सुनेका यस्ता संवादहरुले डा. राकेशलाई निराश बनाएको थियो । 

तर उनको नाम निस्कियो । उनी स्थायी लेक्चरर भए पद्म कन्या कलेजको र उनले पढाउँदै गए निरन्तर ।  त्यसैबीचमा त्रिविविले पनि हिन्दी विषयका लागि लेक्चरर माग गर्‍यो । उनले त्यहाँ पनि आवेदन दिए । त्यस पदका लागि लखनउका एकजना पीएचडी गरेका व्यक्तिको पनि आवेदन परेको थियो । 

विज्ञ व्यक्तित्वकारुपमा दिल्ली विश्वविद्यालयका हिन्दी विभागका प्रमुख डा. नगेन्द्रलाई पनि बोलाइएको थियो । यहाँ रामदयाल राकेशलाई आफ्नो नाम निस्कनेमा विश्वास थिएन् । तर आश्चर्यजनकरुपमा उनको नाम निस्कियो । नेपालीलाई नै मौका दिनुपर्छ भनेका रहेछन्, डा. नगेन्द्रले । तर उनले आफ्नो अभिभावकजस्तै रहेकी अंगुरबाबा जोशीलाई यस विषयमा सोधे । उनले नजाउ भनेपछि उनी कीर्तिपुर गएनन् । पद्मकन्यामै पढाउँदै गए ।

यसरी काठमाडौं आएका डा. नगेन्द्रले दिल्ली फर्किए पछि साप्ताहिक हिन्दुस्तानमा एउटा लेख लेखे । शीर्षक थियो, ‘मेरी पहली विदेश यात्रा’ । त्यो पत्रिका काठमाडौंमा पनि आयो ।  डा. रामदयाल राकेशले पनि त्यो आलेख पढेका थिए । त्यो आलेख गोरखापत्रका भैरव अर्यालले पनि पढेका रहेछन् । त्यतिखेर डा. राकेशले मैथिली लोक संस्कृतिका विषयमा फाट्टफुट्ट लेखहरू लेख्दै आएका थिए । 

एकदिन भैरव अर्यालले रामदयाललाई त्यो आलेख अनुवाद गर्न भने । उनले पनि अनुवाद गरे । त्यो अनुदित आलेख गोरखापत्रमा छापियो । यसरी उनी डा. नगेन्द्रसँग जोडिएका थिए । त्यसको केही समयपछि कोलम्बो प्लान अन्तरगत पीएचडी गर्ने सीट आयो । उनले पनि आवेदन दिए । तर उनले दिल्ली विश्वविद्यालयमा पाए मात्रै जाने भनेँ । उनले दिल्ली विश्वविद्यालयमा डा. नगेन्द्रको मातहतमै रहेर पीएचडी गर्ने मौका पाए । 

पीएचडी गर्दा ताका उनी परिवारसहित दिल्ली बस्थे । बालक उमेरमै बिहे भएकोले उनको छोराछोरी भइसकेका थिए । उनले दिल्लीबाट पीएचडी सक्याए । काठमाडौं फर्किए । त्यसबेलासम्म पद्मकन्यामा रहेको हिन्दी विभाग किर्तीपुरमा गाभीसकेको थियो । उनी काजको चिठि बोकेर कीर्तिपुर पुगे । यसरी अध्यापन पेशामा लागेका डा. रामदयाल राकेशले करिब २०/२१ वर्ष विद्यार्थीहरूलाई पढाए । 

०००
गाउँमा हुँदा अलिअलि लेखे पनि उनको लेखन यात्राको थालनी काठमाडौंबाटै भयो । पहिलो पटक उनको एउटा मैथिली लोक संस्कृति सम्बन्धी आलेख गोरखापत्रमा छापियो । आफूले मैथिली लोक संस्कृतिलाई सबैतिर पुर्‍याउनकै लागि त्यस किसिमको लेख लेखेको उनी बताउँछन् । यसरी लेखनमा लाग्दै गएका डा. राकेशले विभिन्न पत्रपत्रिकाहरूमा लेख्दै गए । त्यसपछि संस्कृतिका विषयमा मात्रै नभएर पुस्तकका समीक्षा पनि गर्न थाले । 

उनी भन्छन्, “त्यतिबेला कतै प्रकाशित हुँदा पनि चर्चा हुन्थ्यो । पछि गोरखापत्रकै राइजिङ नेपाल प्रकाशनमा आयो । त्यसमा पनि मैले लेख्न थालेँ । र आजसम्म निरन्तर लेखिरहेको छु ।’ 

डा. रामदयाल राकेशको अहिलेसम्म दर्जनौ पुस्तक प्रकाशित भइसकेका छन् । नेपाली, अंग्रेजी र मैथीली भाषामा उनका धेरै किताब छन् ।

निर्वाचन आयोगबाट शिक्षामा पठाइएका रामदयाल राकेश पछि अनौपचारिक शिक्षा केन्द्रका हाकिम भए । त्यसैबेला उनको नियुक्ति नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्यमा भयो । उनी जाउँ कि नजाउँ भन्ने मनस्थितिमा थिए । तर उनलाई लाग्यो, अब प्राज्ञिक काम गर्नुपर्छ । त्यसैले उनी मोहन कोइरालाको नेतृत्वका प्रज्ञा प्रतिष्ठानमा अरुभन्दा दुई महिना ढिलो नियुक्ति लिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro