
एजेन्सी । प्रायः मानिसहरुको नयाँ कपडा किनेपछि त्यसलाई नधोइ लगाउने बानी हुन्छ । तर यसले हाम्रो छालामा नकारात्मक असर गर्न सक्ने बताइएको छ । “डर्मटाइटिस” नामक एलर्जी हाम्रो प्रतिरोघात्मक प्रणालीसँग सम्बन्धित रियाक्सन हो ।
यसरी हाम्रो छालामा एलर्जी गराउने तत्व, “एलर्जेन” सँग सम्पर्कमा आएपछि डर्मटाइटिसको लक्षण देखा पर्न थाल्छ । तर यसको असर संक्रमण हुने बित्तिकै नदेखिएर ढिला रियाक्सन हुने गर्दछ । जस्तै एलर्जेन छालासँग सम्पर्कमा आएको केही दिनपछि छाला रातो हुने चिलाउने हुन्छ र हप्तौसम्म एलर्जी निको हुँदैन । यसबारेमा छाला सम्बन्धी विशेषज्ञ डाक्टर सुसन नेडोरोस्ट भन्छिन्, ‘प्रायः डर्मटाइटिस हामीले लगाउने लुगाबाट सम्पर्कमा आउने गर्दछ । र विशेषगरी सिन्थेटिक कपडा जस्तै नाइलन र पोलिस्टरका लुगाहरुमा प्रयोग गरिने रङमा हुने गर्दछ । यसरी नधोइएको नयाँ लुगाहरुमा यो एलर्जेन उच्च स्तरमा हुने गर्दछ । ”
उनका अनुसार लुगा लगाइसकेपछि हाम्रो पसिनासँग त्यसको रङ मिसिँदा र छालासँग रगडिदा एलर्जेन सबैतिर छरिन्छ र लक्षण देखा पर्न सुरु हुन्छ । यसरी शारीरिक व्यायामका समयमा लगाउने कपडाले धेरै मानिसमा यो समस्या उत्पन्न गराउने गरेको उनको भनाइ छ । यसले तिनका घाँटी, काखी र ढाडमा चिलाउने उत्पन्न गराउन सक्छ । यसरी संवेदनशील छालामा पर्दा त यसले झन धेरै असर गर्न सक्छ । तर मान्छेहरुमा यो समस्या साधारण भए नभएको चाहिँ स्पष्ट भएको छैन । तापनि यसबाट बच्ने सबैभन्दा उपयुक्त उपाय भनेको नयाँ लुगा किनेपछि त्यसलाई धोएर मात्र लगाउनु हो । यसले कपडाबाट अतिरिक्त रङ कम गर्दै हाम्रो छालासँग एलर्जेनको सम्पर्क न्युन गराउन सक्छ । उनी भन्छिन्, अझ यसमार्फत घाउहरुमा संक्रमण भयो भने त त्यसको असर धेरै लामो समयसम्म पर्न सक्छ ।
लुगामा प्रयोग हुने रसायनले एलर्जी मात्र गराउँदैन । स्टकहोम युनिभर्सिटी स्वीडेनका अनुसन्धानकर्ताहरुले २०१४ मा गरेको अध्ययनमा ३१ वटा लुगाका स्याम्पल खरिद गरिएको थियो जसमध्ये प्रत्येक भिन्दाभिन्दै ब्रान्ड, रङ, गुणस्तर, भिन्दाभिन्दै देशमा निर्माण भएको र मूल्यमा पनि फरक थियो । यस्तोमा उनीहरुले ३१ मध्ये २९ वटा स्याम्पलमा “क्वीनोलिन” नामक तत्व उच्च स्तरमा फेला पारेका हुन् , विशेषगरी पोलिस्टरका कपडामा, जसलाई अमेरिकी वातावरण संरक्षण एजेन्सीले सम्भावित कार्सिनोजेनको नाम दिएको छ । कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गराउन सक्ने तत्व हो ।
यसका साथै स्टोकहाम युनिभर्सिटी समुहका अर्का सदस्य एवम् प्रोफेसर अल्रिका निल्सनले पनि लुगामा अन्य दुई रसायन, “नाइट्रोएनिलाइन्स” र “बेन्जोथिएजोल्स” बारे पनि पत्ता लगाएका हुन् जुन स्वास्थ्यका लागि हानिकरक हुने र क्यान्सर समेत गराउन सक्ने यसअघि नै प्रमाणित भइसकेको छ । तरपनि कतिपय रसायनहरु कपडाका फाइबरमै रहिरहने हुँदा असर नगर्न पनि सक्छ तर छालासँग लामो समय सम्पर्कमा आइरहँदा, समयसँगै केमिकलहरु हामीले सास लिने हावामा वा छालामा पुग्न सक्छन् । यसरी कपडा उद्योगमा प्रयोग हुने सबै किसिमका रसायनहरुबारे ग्राहकलाई बताइने गरिँदैन तर दाग प्रतिरोधक, एन्टि–रिङ्कल एजेन्ट, नरम बनाउने केमिकल लगायत कपडामा थुप्रै रसायनहरु मिसिएका हुन्छन् । टाइमबाट