
सूर्यमाला शर्मा
सूर्यमाला, चन्द्रमाला, निशा— यी तीनै दिदीबहिनीले अभिनय गरेका नाटकले एक समय तहल्का मच्चाउँथे । यिनै तीन दिदीबहिनीमध्येकी एक रंगकर्मी सूर्यमाला शर्माले ‘प्रतिभा आकाश माग्छे’, ‘मृगतृष्णा’, ‘भग्नावशेष’, ‘सिद्धार्थ’, ‘हो यो नाटक होइन’ लगायत दर्जनौं नाटकमा जीवन्त अभिनय गरेर आफूलाई नाट्य क्षेत्रमा स्थापित गरिन् । तर, रंगमञ्चकी यी शक्तिशाली कलाकार अहिले यसबाट टाढा छिन् । बुधबार सूर्यमालासँग रंगमञ्च र फिल्मका बारेमा लामै कुराकानी भयो । प्रस्तुत छ उक्त कुराकानीको अंश—
२५ वर्षअघि नाटक गर्दागर्दै अचानक किन हराउनुभयो ?
हराएकी होइन । सन् १९९९ मा म अमेरिका गएँ । त्यसअघि नाटक र टेलिफिल्ममा सक्रिय नै थिएँ । म अमेरिका जानुअघि ‘अन्धायुग’मा अभिनय गरेकी थिएँ । पछि नेपाल फर्किएर पनि ‘सान्दाजुको महाभारत’मा अभिनय गरेकी नै हुँ । भिलेज थिएटरमा मञ्चन भएको त्यो नाटक शायद डा. अभि सुवेदीले लेख्नुभएको थियो ।
३५ वर्षअघि नाटकमा निरन्तर सक्रिय हुँदाको समय अचेल सम्झना हुन्छ ?
हुन्छ । त्यतिखेर उमेर पनि थियो । समूह पनि थियो । समूहमा पारिवारिक वातावरण थियो । सबै एकै परिवारका सदस्यहरू नाटक खेल्न जुर्मुराएको भान हुन्थ्यो । एक–आपसमा सबै निकट थियौं । सुनीलजी, बद्री अधिकारी दाइले नाटक निर्देशन गर्नुहुन्थ्यो । हामी सबै आफूलाई दिइएको पात्रसँग न्याय गर्न भिडेर लाग्थ्यौं । त्यसबेला घरेलु जिम्मेवारी पनि खासै थिएन । जति समय बित्थ्यो, नाटकमै बित्थ्यो । तर, पछि बिहे भयो । बच्चा भए । जिम्मेवारी थपियो । अनि बच्चाको भविष्यका बारेमा सोचियो । त्यसैले जिरोबाट शुरु गर्नु नै छ भने अमेरिका नै किन नजाने भनेर त्यतै हिँड्यौं हामी ।
बच्चा भइसकेपछि उनीहरूलाई माइतीमा राखेर म कतिपटक नाटक खेल्न गएकी छु । कहिले दिदीकहाँ, कहिले आमाकहाँ छाड्थें । मरिमेटेर लागियो नाटकमा । तर, जब होश आयो, त्यसपछि मैले बच्चाहरूका लागि नै केही गर्नुपर्ने सोचें । आजका दिनमा मेरो पहिलो प्राथमिकता परिवार भएको छ । छोरा–बुहारी भएका छन् ।
तर, सूर्यमाला शर्मालाई त त्यही नाटकले जन्माएको हो नि !
मैले त्यसलाई होइन भनेकी पनि छैन । आजसम्म पनि दर्शकले सूर्यमालालाई सम्झिदिनुभएको छ । इज्जत र मानसम्मान दिनुभएको छ । म उहाँहरूप्रति अनुगृहित छु ।
त्यसो भए नाटक किन खेल्नुभएन ?
स्पष्ट भन्ने हो भने मैले नाटक गर्ने समूह नै भेटिनँ । पुराना साथीभाइसँग दुई दशकभन्दा बढी समय काम गरें । तर, म अमेरिकाबाट पूर्ण रूपमा फर्किएपछि मलाई कसैले ‘आऊ, सँगै नाटक गरौं’ भन्नुभएन । मैले देखें— यहाँ त आ–आफ्नो समूह वा गुट बनाएर नाटक गर्ने वातावरण बनिसकेको रहेछ । त्यसमा म अटाइनँ ।
मलाई यो क्षेत्रमा ल्याउने मेरी बहिनी चन्द्रमाला हुन् । मेरो पहिलो गुरु पनि चन्द्रमाला नै हुन् । उनीपछि मात्रै सुनील पोखरेल, बद्री अधिकारीहरूको नाम लिन्छु । म अमेरिकाबाट फर्किएपछि चन्द्रमालाले रंगमञ्चलाई लिएर केही गरौं भनेकी पनि हुन् । तर, मैले नै नगर्ने भनेर पन्छिरहें । पछि नाइ भन्न सकिनँ । दुवै मिलेर ‘माला एकेडेमी’ स्थापना गर्यौं । अहिलेको मेरो समय यसैमा बितिरहेको छ ।
त्यो समयमा तपाईंहरूले गरेको अभिनय जीवन्त हुन्थ्यो । तपाईहरूको चर्चा पनि चल्थ्यो । सम्झिँदा कस्तो लाग्छ ?
शायद डेडिकेटेड थियौं हामी, नाटकलाई लिएर । त्यसबेला रिहर्सलमा हामी सबैले पैसा उठाएर चिया पिउँथ्यौं । हल भाडा तिर्न कहिलेकाहीँ पैसा नपुग्दा घडी र कानमा लगाउने कुण्डल बेचेर पनि नाटक गथ्र्यौं । तर, त्यो बेलाको वातावरण र अहिलेको वातावरणमा आकाश–जमिनको फरक पाउँछु म । त्यसबेला राम्रो अभिनय गर्नेलाई जुनै नाट्य समूहले पनि बोलाउँथे । यो फलानाको समूहको भन्ने थिएन । कहिले नाटकमा दिनेश अधिकारी दाइ उद्घोषण गर्न आउनुहुन्थ्यो, कहिले शलभ दाइ आउनुहुन्थ्यो । विशुद्ध पारिवारिक माहोल थियो त्यो समयमा । तर, आज म २०७२ सालदेखि काठमाडौंमै बसिरहेकी छु । आजसम्म कसैले पनि मलाई नाटक खेल्न आऊ भनेर बोलाएका छैनन् ।
त्यो बेला दैनिक नाटक गर्नुपथ्र्यो ?
कति गरें गरें । पचासौं नाटक गरें । कहिलेकाहीँ त एकै दिनमा दुइटा नाटकमा पनि अभिनय गरँं । एउटा नाटक सभागृहमा दिउँसो मञ्चन हुन्थ्यो, अर्को नाचघरमा साँझ हुन्थ्यो । एउटै नाटक दुई शो त कति गरियो गरियो । त्यसबेला एकेडेमी र जीएए कम्पिटिसनमा पनि भाग लिइयो । रमाइलो थियो । नाटकमै सर्वस्व छ भन्ने लाग्थ्यो ।
परिवारले केही भन्थेन ?
मेरो माइतीमा सधैं कलापूर्ण वातावरण रह्यो । आमा–बुवाको पूरा समर्थन थियो । मेरा मामाहरू डबलीमा नाटक गर्नुहुन्थ्यो । वर्षैपिच्छे हुने इन्द्रजात्रामा हुने डबली नाटक (डबु प्याँख)मा मामाहरू नाटक गर्नुहुन्थ्यो । हामीले उहाँहरूबाट अभिनय सिक्दै गयौं । तर, आमा–बुबाले नभने पनि अरूले कुरा काट्थे । हामीचाहिँ वास्तै गर्दैनथ्यौं ।
तपाईंहरू तीनै दिदीबहिनी एकनासले अभिनयमा बलियो हुनुहुन्थ्यो । यसको कारण के थियो ?
हामीलाई त्यही डबलीले कलाकार बनाएको हो भन्ने लाग्छ । कहिलेकाहीँ फिल्म हेरेर आएपछि त्यही फिल्मको गीतको किताब ल्याएर गाउँदै चन्द्रमाला अभिनयको कपी गर्थिन् । म हेरिरहन्थें । मलाई अलि बढी नै लाज लाग्थ्यो । तर, स्टेजमा उत्रिएपछि अभिनय कहाँबाट आउँथ्यो आउँथ्यो ।
नेपाल टेलिभिजन स्थापना भइसकेपछि तपाईंहरू पनि टेलिभिजनमै लाग्नुभयो । कति फरक हुँदो रहेछ ?
धेरै लागिएन । टेलिभिजनले नाटकको माहोललाई अलि धमिलो बनाइदिएको थियो । धेरै रंगकर्मीहरू टेलिभिजनमा सक्रिय भएकाले नाटक हराएर गयो । त्यसैबखत केही टेलिफिल्महरूमा मैले पनि अभिनय गर्ने मौका पाएकी हुँ । तर, त्यसले मात्रै सन्तुष्टि दिन्थेन । टेलिभिजनले थिचेको त्यही समयमा ‘आरोहण शनिबार’ शुरु भयो, जहाँ निरन्तर नाटक मञ्चन हुन्थ्यो । सुनील पोखरेलजी फर्किनुभएको थियो एनएसडी, दिल्लीबाट । त्यसपछिका दिनमा भने सयौं राम्रा नाटकमा हामीले अभिनय गर्यौं । वास्तवमा हामीले धेरै संघर्ष ग¥यौं । तर, संघर्ष गरे पनि यहाँ केही हुने स्थिति नदेखिएपछि हामी विदेश गयौं । लाग्यो— यहाँ पनि शून्यबाट संघर्ष गर्नुपर्छ, उहाँ पनि शून्यबाटै । शून्यबाटै नगर्ने हो भने किन नजाने भन्ने सोच्यौं ।
यदि यहाँको वातावरण राम्रो भएको भए के हुन्थ्यो ?
निश्चय पनि यहीँ बसिन्थ्यो । किन विदेशी भूमिमा जान्थ्यौं र हामी पनि ? खासमा जिम्मेवारी थपिएपछि आर्थिक उपलब्धतामा पनि ध्यान दिनुपर्छ । अर्को कुरो— आफ्नोभन्दा आफ्ना बच्चाहरूको भविष्यका बारेमा सोच्नुपर्दो रहेछ । हामीले त्यही गर्यौं ।
सरोज (खनाल)जी नेपाली फिल्मको जबर्जस्त हिरोका रूपमा स्थापित हुनुभएको थियो । यस्तो अवस्थामा कसरी गाह्रो भयो बाँच्न ?
तर पनि गाह्रै थियो । सोचेजति सजिलो र सहज थिएन जीवन निर्वाह । हाम्रो बिहे भएपछि हाम्रा दुबै परिवारले स्वीकार नगरेको अवस्था थियो । त्यस स्थितिमा हामी जिरोबाट उठ्नु पर्ने हुन्थ्यो । त्यसमाथि सरोजजीलाई हिरोको छविअनुसार आफूलाई मेन्टेन पनि गर्नु थियो । घरपरिवारबाट सपोर्ट नमिलेको अवस्थामा हामीले हाम्रोभन्दा पनि बच्चाहरूको भविष्यलाई पहिलो नम्बरमा राख्यौं । त्यसैले पनि अमेरिका जाने सोचाइ बनेको हो ।
अमेरिका पुगेपछि तपाईंले नाटक गर्नुभएन ?
अहँ, गरिनँ । सरोजजीले समय–समयमा अभिनय गर्र्नुभयो तर मैले गर्न सकिनँ । किनभने, त्यहाँ न त नाटक थियो न त थिएटरको वातावरण । त्यसैले म चुपचाप नै बसें ।
०७२ सालमा फर्किएपछि के गर्नुभयो ?
फर्किएको केही समयपछि नै ‘सान्दाजुको महाभारत’ नाटकमा अभिनय गरेकी थिएँ । त्यसैको केही समयपछि म एउटा नेपाली फिल्म बनाउने सोचाइमा थिएँ । तर, मैले खोजेको जस्तो स्क्रिप्ट पाइनँ । जति स्क्रिप्ट हेरे पनि चित्त बुझेन । पछि शलभ दाइले राजेश गोङ्गजुसँग भेट गराउनुभयो । उनले स्क्रिप्ट लेख्ने सहमति भयो । प्रारम्भिक लेनदेनका कुरा पनि भए । उनले स्क्रिप्ट लेख्न तीन महिना लाग्ने भन्दै महिनाको डेढ लाखका हिसाबले पैसा मागे । मैले पनि ‘हुन्छ’ भनें र डेढ लाख एड्भान्स पनि दिएँ । तर, आज चार वर्ष भयो, ती मानिसले नाकमुख देखाएका छैनन् । ती कहाँ भागे भागे ! त्यसपछि बेइमान मानिसहरूको भीडमा किन फिल्म बनाउने भन्ने लाग्यो । मैले फिल्म बनाउने सोचै त्यागें । म नाटक क्षेत्रबाट आएकी हुँ । शायद हामी धेरै फास्ट हुन सकेनौं । अब त रुचि नै पनि छैन ।
तपार्इं फर्किंदै गर्दा सुनील पोखरेल यसै क्षेत्रमा हुनुहुन्थ्यो । तपाईंले चिनेका अशेष मल्ल नाटकमै हुनुहुन्थ्यो ? किन कसैले बोलाएनन् त ?
त्यो त उहाँहरूलाई नै सोध्दा हुन्छ कि ? मैले सुनीलजीलाई भनेकी थिएँ, नाटक गरौंं भनेर । तर, उहाँले मान्नुभएन । अशेष दाइले पनि अमेरिका आउँदा ‘नेपाल फर्क । सँगै नाटक खेल्नुपर्छ’ भन्नुभएको थियो । उहाँले पनि बोलाउनुभएन । म त बोलाएको अवस्थामा नाटक गर्ने मुडमै थिएँ । कसैले बोलाएनन् । म पनि चुपचाप बसें । पहिले–पहिले त्यसरी नाटकमा लाग्दा पनि त्यसबेलाका साथीभाइले बिर्सिएको देखेर भने मलाई साहै्र चित्त दुखेको छ ।
आएपछि नाटकहरू त हेर्नुभयो होला । के अनुभव गर्नुभयो ? नेपाली नाटकको अवस्था कस्तो पाउनुभयो ?
पहिले विशुद्ध सामाजिक नाटक मञ्चन हुन्थे । नाटकमा रमाउँथे दर्शक । अहिले त नाटकमा प्रयोगका नाममा सूत्रधार र मुखौटामात्रै प्रदर्शन भइरहेको देख्छु । के हो यो ? पहिले पञ्चायतकाल हुँदा पनि हामी आफ्नो संवाद स्पष्ट बोल्थ्यौं । कहिल्यै डराएनौं । आज खुला समय छ भनिन्छ । त्यसमा पनि मुखौटा ? डर हो कि फेसन हो ? मैले त बुझ्न सकिनँ ।
त्यसैले नाटकप्रतिको रुचि हराएर गएको हो ?
त्यो होइन । मैले खेल्छु नै भनेकी छु । घिमिरे युवराजसँग एउटा नाटक गर्ने वाचा गरेकी छु । त्यो म अमेरिकाबाट केही महिनामा फर्किएपछि मात्रै गर्ने कुरा भएको छ ।
तपाईं अमेरिकाबाट फर्किंदा नेपाली फिल्महरू पनि धमाधम बनिरहेका थिए । त्यहाँ पनि काम पाउनुभएन ?
मलाई अफर नआएको होइन तर सेड्युलअनुसार खबर गरेर कसैले बोलाएनन् । ‘तपाईंको सिन आयो, सुटिङ स्पटमा आउनुस्’ भन्थे । यसरी त म काम गर्दिनँ भनेर मैले अफर आएका फिल्म गरिनँ । कुनैको स्क्रिप्ट चित्त बुझेन, कुनैमा पैसा मन परेन ।
अहिले पनि ‘आमा’ खेल्नुभएन । फिल्मी वृत्तमा सूर्यमालाले धोका दिइन् भन्ने चर्चा छ । के भन्नुहुन्छ ?
मैले धोका दिएको होइन । दीपेन्द्र खनालजीलाई धोका होला भनेरै मैले नखेलेको हो । म अमेरिका जाँदासम्म ‘आमा’ चलचित्रको काम नसकिने भयो । तर, मेरो घरेलु कारणले म अमेरिका जानु जरुरी भएकोले यो अवस्था आएको हो । मैले छोराहरूलाई पनि त हेर्नुपर्छ । दीपेन्द्रजीले फिल्मका कतिपय दृश्यहरू वर्षाको पानीमा खिच्नुपर्ने थियो । ती दृश्य समयमा पूरा नभएको भए गाह्रो हुन सक्थ्यो । म सुटिङ चाँडै सकेर अमेरिका जान खोज्थें । यो स्वाभाविक हो पनि । किनभने, यतिबेला मैले मेरी बुहारीप्रति विशेष ध्यान दिनुपर्ने अवस्था छ । तर, पानी नपरेर वा अरू कुनै कारणले सुटिङ सिध्याउन नसकेको भए हामी दुबैले तनाव झेल्नुपर्ने हुन्थ्यो । त्यसैले मैले ‘आमा’ खेल्न भ्याउँदिनँ भनेकी हुँ ।
(बोल्दाबोल्दै सूर्यमाला मौन भइन् । बोल्न सकिनन् । उनको आवाज अवरुद्ध भयो । आँखामा आँशु रसाए । टेबलमै रहेको टिस्यु पेपरले आँखा पुछ्दै अवरुद्ध आवाजमा भन्न शुरु गरिन् ।)
अहिले मैले म आमा भएको कर्तव्य निर्वाह गर्नु जरुरी भएको छ । रिलको ‘आमा’भन्दा मलाई रियल आमाले आफ्नो कर्तव्य निर्वाहप्रति डोर्याएको छ । कुनै बेला आफ्ना स–साना बच्चाहरूलाई छोडेर नाटक खेल्न गएकी नै हुँ । शायद त्यसबेला उमेरका कारण त्यो सोच्ने क्षमता थिएन । तर, अहिले मेरा लागि मेरा बच्चाहरू नै मेरो प्राथमिकतामा छन् । मेरा छोरा–बुहारी, नाति–नातिनाका अगाडि फिल्म वा नाटक गौण हो ।
प्रस्तुति: राजेश खनाल