site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 मलाई थाहा थियो दरबारले यस्तै धोका दिन्छ भनेर
SkywellSkywell

भोपालस्थित इन्जिनियरिङ कलेजबाट उनले डिप्लोमा सिध्याए । त्यस पछिको यात्रा काठमाडौंतर्फ मोडिनु स्वाभाविक थियो । किनभने काठमाडौं राजधानी थियो । यहाँ अवसर पनि थियो । २०१७ सालको कुरा हो यो ।  इन्जिनियर शिरोमणिप्रसाद उपाध्यायले पीडब्ल्युडीमा काम शुरु गरे । यो यो अहिलेको भवन विभागजस्तै प्रकृत्तिको थियो । यसले भवन निर्माणका कामहरू हेर्दथ्यो । 

जागिरमा उनको पदस्थापन पाल्पामा भयो । उनी पाल्पा गए र काम थाले । तिनताक नै तत्कालीन राजा महेन्द्रले शासनसत्ता आफ्नो हातमा लिए । जननिर्वाचित सरकार अपदस्त भयो । २०१७ सालको अन्तिम तिर तत्कालीन सरकारले चौधै अञ्चलका लागि दौडाहा टोली बनाएर परिचालित गर्यो । दौडाहा टोलीमा न्यायाधीश, इन्जिनियर, प्रशासकलगायतका सरकारी अधिकारीहरू राखियो । 

धवलागिरी अञ्चलका लागि पनि विकास विस्तार कार्यको निरीक्षण र अनुगमन गर्न न्याय क्षेत्रबाट मोहनप्रसाद शर्मा रहेको एउटा टोली गठन भयो । त्यसैमा इन्जिनियरकारुपमा संलग्न गराइए शिरोमणिप्रसाद उपाध्याय (८१) । 

KFC Island Ad
NIC Asia

सोमबार मित्रपार्कस्थित आफ्नो निवासमा ती दिनका कुरा सम्झिँदै थिए, इन्जिनियर उपाध्याय । उनले भने, “इन्जिनियरिङ क्षेत्रबाट म परेँ धवलागिरीको दौडाहा टोलीमा । पत्रका मलाई बाग्लुङ गएर टोलीमा सम्मिलित हुन भनियो । सायद, मेरो काम देखेरै मलाई त्यहाँ पठाइएको थियो । वास्तवमा एकदम शक्तिशाली टोली थियो त्यो ।”

त्यो उच्चस्तरीय टोलीले त्यस क्षेत्रको भौतिक विकास कति भएको छ ? योजनामा परेका काम भएका छन् कि छैनन् ? विकासका नाममा गलत गरेका त छैनन् ? यी सारा कुरामा ध्यान दिनु थियो । उपाध्यायका अनुसार सायद तत्कालीन राजा महेन्द्रले अपदस्त गरिएको सरकारलाई काउण्टर दिनै पनि यो कदम चालेका थिए । त्यसबेला शंका लागेकाहरूलाई टोलीले तुरुन्तै कारवाही पनि गथ्र्यो । विशेषाधिकार प्राप्त टोली थियो त्यो । 

Royal Enfield Island Ad

त्यसबेला करिब दुई तीन महिना उनले टोलीका साथमा धवलागिरीका गाउँ गाउँमा बिताए । टोलीमा सैनिक र पुलिस पनि साथै रहन्थे । त्यसबेला उनको तलब २ सय रुपैयाँ थियो । भ्रमणका बेला भत्ता अलग थियो । त्यो दुई तीन महिना दह्रोसँग खटे उपाध्याय र उनी सम्मिलित टोली । अनि काठमाडौं पुगेर प्रतिवेदन बुझाए । 

उपाध्यायले सम्झिए एउटा प्रसँग । उनी भन्दैथिए, “अहिले पनि आङ सिरिङ्ग हुन्छ सम्झिँदा ! एक पटक म एउटा कुलो हेर्न डाँडामा गएँ । माथि डाँडामा पुगेर कुलो हेरेँ । कुलो देखाउन त्यहाँका स्थानीय पनि साथै थिए । त्यो गोरेटोमा हिँड्दा सेनाका दुई जवान अगाडि दिए । दुुई जना प्रहरी पछाडि थिए । भन्न त स्थानीयहरू भन्दै थिए, ‘काम भएको छ भनेर लेखिदिनुस् न’ । तर आफूले आँखाले नहेरी कसरी रिपोर्ट दिने ? हुँदैन भनेर म आफैँ हेर्न गएँ ।” 

त्यहाँको पहरामा पनि कुलो बनाएर लगेका रहेछन् । तल कालीगण्डकी बगिरहेको थियो । कसैगरी उपाध्याय र अरु केही व्यक्ति पुगे । परियोजना हेरे र फर्किए । 

एक दुई दिन पछि टोलीको क्याम्प अर्को डाँडा तिर सर्‍यो । त्यो डाँडामा जाँदा पो उनले आफू गएको कुलोको इलाका देखे । उनको आङ सिरिङ्ग भयो । त्यहाँबाट झरेको भए के हुन्थ्यो ? यो प्रश्नले उनको मथिङ्गल खायो । ‘नगएको भए पनि हुन्थ्यो’ भन्ने उनको मनले भन्यो । 

उनी हाँसे । भन्न थाले, “त्यो भीरमा समाउने सानो बुट्यान पनि थिएन । तर युवा जोश थियो सायद । त्यसैले नै त्यो कदम चालिएको थियो ।” काठमाडौं फर्किएर टोलीले रिपोर्ट दियो । तर त्यो रिपोर्ट कहाँ गयो ? के भयो ? त्यसका बारेमा हामी कसैलाई केही थाहा भएन !

०००

शिरोमणिप्रसाद उपाध्यायको बाल्यकाल सिरहाको भलुवाही गाउँमै बित्यो । उनका अनुसार त्यो बेलाको गाउँ स्वर्ग समान थियो । मधेसी पहाडीको फिलिङ अलिकति पनि थिएन । सबै मिलेर बसेका थिए । उनका अनुसार त्यसबेला मानिसले मानिसको कदर गर्थे । प्रायः सबै खेतीपातीमै व्यस्त रहन्थे । खेतीपातीको व्यस्तताले टिका–टिप्पणी र आलोचनामा खर्च गर्ने समय कसैसँग हुन्थेन ।  

तराईको त्यस गाउँमा करिब दुईसय वर्ष अघि उनका पूर्खाहरू पुगेका थिए । तत्कालिन अवस्थामा खेतीपाती नै तिनको चासोको विषय रहन्थ्यो । उपाध्याय भन्छन्, “सन्ततिलाई दुःख नहोस् भनेरै हाम्रा पुर्खा त्यहाँ पुग्नु भएको हो । पछि गएर आफ्ना सन्तानको पढाई लेखाईमा उहाँहरूको विशेष ध्यान रह्यो ।”

यद्यपि, पहिले गाउँमा शिक्षकको व्यवस्था थिएन । जितो कामतीले बाह्रखरी र पहाडा (हिसाब किताब) सिकाउँथे । पछि गाउँलेको सहमतिमा शिरोमणि उपाध्यायका पिताजी अयोध्याप्रसाद उपाध्यायले सीमावर्ती भारतीय नगरबाट एकजना शिक्षक भलुवाहीमा ल्याए । 
त्यतिबेला घरको पिँढी र आँगनमा पढाउँथे उनले । त्यस पछि मात्रै एउटा स्थान तोकेर भलुवाहीमा मिडिल स्कुलको स्थापना भयो । 

त्यसै मिडिल स्कूलबाट उनले ६ कक्षा पास गरे । शिरोमणि भन्दा जेठो उमेरका केटाहरू त्यसबेला पढ्नलाई जयनगर, दरभंगा, बनारस र जनकपुर तिर जान्थे । धेरै केटाकेटी त्यसरी पढनलाई हिँडे ।  उपाध्यायका अनुसार पहिले पहिले सुनेरै संस्कृतका श्लोक याद हुन्थ्यो । सु्रती परम्परा नै गाउँको चलन थियो । यो वैदिककालदेखि नै चल्दै आएको परम्परा मान्दछन् उपाध्याय । झनै ब्राह्मण परिवारमा त्यो आवश्यक मानिन्थ्यो ।

ती श्लोकहरू जति याद हुन्थ्यो त्यो कहिले नबिर्सिने हुन्थ्यो । यसरी नै उनले चण्डी, रुद्री  र अमर कोष पढे । यो नै उनको आधारभूत पढाई थियो । 

उपाध्यायको मुहार उज्यालियो । उनले सम्झिए आफ्ना पिताजीको वाचन कलालाई । भने, “मैले संस्कृतका श्लोकहरू पढेर जानेको होइन । बुबाले पाठ गर्नुहुन्थ्यो । मैले त्यही सुनेर कण्ठ गरेको हुँ । सायद बुबाले पनि आफ्नो बुवाबाट नै सिक्नु भएको होला । अहिले पनि म त्यो श्लोक पाठ गर्छु ।”  गाउँमा मिडिल स्कूलको स्थापनासँगै अंग्रेजी पढ्ने कुरो भयो । तर उनका हजुरबुबाले नातीलाई अंग्रेजी पढाउन मानेनन् । ‘नातीलाई बिगार्न लागे’ भन्नेसम्मको कुरा उठ्यो । उपाध्यायका हजुरबुबा उनलाई संस्कृत नै पढाउने विचारमा थिए ।

तर उनका पिताजीले आफ्ना पिताजीका अगाडि अड्डी नै लिए । गाउँका केही केटाहरूले दरभंगा गएर अंग्रेजी भाषा पढ्न थालिसकेका थिए । उनका हजुरबुबाले नाई भन्न सकेनन् । त्यसपछि शुरु भयो अंग्रेजी भाषामा फस्र्ट बुकको पढाइ । ६ कक्षासम्म उनी गाउँमै पढे । त्यस पछि उनी जनकपुर गए । जनकपुरको रामस्वरुप रामसागर जनकपुर हाइस्कूलमा एकै पटक ८ कक्षामा भर्ना भए । पछि यस स्कूलको नाम परिवर्तन भयो र सरस्वती हाइस्कूल राखियो । त्यसबेला भारतबाट आएका गंगाधर दत्त हेडमास्टर थिए ।

जनकपुरको हाईस्कूलबाट २०११ सालमा उनले एसएलसी फस्र्ट डिभिजनमा पास गरे । सरस्वती स्कूलबाट फस्र्ट डिभिजनमा पास गर्ने उनी एक्ला व्यक्ति थिए । एसएलसी पास गरे पछि उनी आइएससी पढ्न भारतीय सहर दरभंगा गए । आइएससीको पढाई जोडतोडका साथ अगाडि बढ्यो । आइएससीको पढाई सक्किनै लागेको थियो । त्यसैबेला इन्जिनियरिङको डिप्लोमा कोर्सका लागि आवेदन दिने कुरा उठ्यो । उनले पनि आवेदन दिए । उनको नाम निस्कियो पनि । यसरी उनी छात्रवृत्ति पाएर भोपाल स्थित इन्जिनियरिङ कलेजमा थप पढाईका लागि पुगे । ।

भोपालमा एसपी पोलिटेक्निक इन्जिनियरिङ कलेजबाट उनले सिभिल इन्जिनियरिङ पढ्न गए । र, ०१७ सालमा पढाइ सकेर फर्किए ।  

०००

पाल्पा र बाग्लुङबाट फर्किसके पछि शिरोमणि उपाध्याय काठमाडौंमै काम गर्दैथिए । त्यसबेला टेक्निकल ट्रेनिङ इन्टिच्युटको भवन बन्दै थियो । त्यस्तै इँटा कारखानाको भवन पनि निर्माण हुँदै थियो । इन्जिनियरका रुपमा ति कामहरूसँग उनी जोडिएका थिए । ति काम उद्योग विभाग अन्तगत थियो । यस्ता सरकारी काममा उनको समय बित्दो थियो । 

फूर्सदको समयमा उनी इन्जिनियर शंकरनाथ रिमाल कहाँ पनि पार्ट टाइम काम गर्दैथिए । रिमालले धेरै ठाउँको कामको जिम्मा लिएका थिए । रिमालले धेरै कामको जिम्मेबारी लिएकोले धेरै युवा र उर्जाशील इन्जिनियरहरु उनीसँग आवद्ध थिए । यसै सिलसिलामा उनी जोडिएका थिए प्रज्ञा प्रतिष्ठान र सोल्टी होटल बनाउने काममा पनि । नारायणहिटी राजदरबारको भवन मर्मतका लागि पनि शंकरनाथ रिमालले उनलाई पठाउँथे । 

उनी भन्छन्, “राजदरबार जाँदा भने सारै गाह्रो हुन्थ्यो, काम गर्न । टन्टलापुर घाम होस् वा दर्के पानी परोस्, दरबारमा छाता ओढ्न पाइन्थेन । कैयौं पटक यस्तो अवस्था भोगेको छु मैले । खै के कडा के कडा !”  करिब २०२४ साल तिरको प्रसँग हो । त्यस बेला बालुवाटारमा नेपाल राष्ट्र बैंकको भवनको मर्मत सम्भार सम्बन्धी काम हुँदै थियो । त्यसैमा लागिभिडी गर्नलाई शंकरनाथ रिमालले इन्जिनियर शिरोमणि उपाध्यायलाई पठाए ।

त्यहाँ तीन चार महिनासम्म उनले काम गरे । उनी काम गरे पछि भिडेरै काम गर्थे । त्यसैले उनको काम गराई तत्कालीन गभर्नरको नजरमा परेको थियो । गभर्नरलाई लाग्यो, ‘हैन, शिरोमणिलाई बैंकमै राख्नु पर्छ ।’ 

गभर्नरले शिरोमणि उपाध्यायलाई नेपाल राष्ट्र बैंकमा नै काम गर्न आग्रह गरे । र, ०२४ सालमा उनी इन्जिनियर पदमा सरुवा भएर राष्ट्र बैंकमा आए ।  

इन्जिनियर उपाध्याय भन्छन्, “वास्तवमा त्यसबेला सरकारी काममा आफूले मरीमरी काम गर्‍यो । जस भने अरुले नै लिन्थ्यो । बैंकमा त आफूले गरेको कामको जस अपजस जे भए पनि आफ्नै भागमा पथ्र्याे । त्यसैले यहाँ काम गर्दा राम्रो हुन्छ भन्ने लागेर मैले नेपाल राष्ट्र बैंकमा नै काम गर्ने निर्णय गरेको थिएँ । र मैले त्यहाँ काम गर्दा आफ्नो काममा इन्जोय पनि गरेँ ।”

त्यसपछि उनले राष्ट्र बैंकको भवन तथा अन्य निर्माणको काममा आफ्नो इन्जिनियरिङ कौशलता देखाउँदै गए । उनले भवन मात्रै होइन, भल्ट अर्थात् ढुकुटी निर्माणको काममा पनि विशेष ध्यान दिए । त्यसबेला केही विदेशी मुलुकमा अब्जरभेसन भ्रमणमा गएर भल्टका विषयमा थप ज्ञान पनि हासिल गरे ।

उनले मुलुकका विभिन्न स्थानमा राष्ट्र बैंकको भवन तथा ढुकुटीको डिजाईन बनाउन लगाए । उनी त्यसका लागि धेरै खटे पनि । उनले नेपालभरि ठाउँ ठाउँ गएर राष्ट्र बैंकको बिल्डिङ निर्माणको प्रारम्भिक काम गरे ।

त्यसबेला बैंकको भवन बनाउँदा भल्ट निर्माणमा नै आफूले विशेष ध्यान दिने गरेको उनको भनाई छ । नगद रकम राख्नु पर्ने भएकोले यसको सुरक्षामा विशेष ध्यान दिनैपर्ने उनको तर्क छ । 

उपाध्याय भन्छन्, “जब म बेलायत गएँ, मैले त्यतिबेलै देखेँ, भल्टमा सीसी टीभी जडान गरिएको । भल्टको निर्माण पनि नयाँनयाँ किसिमबाट हुनेगरेको थियो । कम्प्युटर सिस्टम सुरु भइसकेको थियो । म त चकित परेको थिएँ त्यहाँको सुविधा देखेर ! यहाँ त हामीले हाम्रो देश र सेवा सुविधा अनुसार नै काम गर्ने हो ।” 

उनले बेलायतमा नयाँ तरिकाबाट काम गर्ने विषयमा त सिके । तर सिके अनुसार काम गर्न पाएनन् । उनी फर्किएको केही वर्षमै (२०४७मा) मुलुकमा प्रजातन्त्र पुनरबहाली भयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला हरेक सरकारी कार्यालय र संस्थानहरूका पुराना कर्मचारीलाई अनिवार्य अवकासमा जान भनियो । उनले पनि अनिवार्य अवकास लिए । 

०००

आफ्नो काममा उनी सँधै उत्साहका साथ लागे । भोपालबाट फर्किए पछि उनले पछाडि फर्केर हेरेनन् । जोश थियो । जाँगर थियो । त्यसैले कामलाई नै महत्व दिए । दरबारमा काम पर्दा छाता नओढेरै पनि काम गरे । तर कामलाई पूर्णता दिए । २०३० सालमा सिंहदरबारमा आगो लाग्यो । त्यहाँ राष्ट्रिय योजना आयोगको बैठक कक्ष पनि थियो । जहाँ राजा पनि आउँथे आयोगको अध्यक्षता गर्नलाई ।

आगो लागे पछि योजना आयोगको बैठक कहाँ बस्ने भन्ने बारेमा छलफल भयो । सायद बैठक केही महिना पछि नै हुुनुपर्ने थियो । राजा नै बैठकमा जानुपर्ने भएकोले सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त हुनुपर्ने थियो, त्यो बैठकस्थल । नेपाल राष्ट्र बैंक हरेक दृष्टिले सुरक्षित थियो । त्यसबेला योजना आयोगका उपाध्यक्ष थिए, डा. हर्क गुरुङ । खोज्दै जाँदा नेराबैंकको हल हुनसक्ने विषयमा कुरा चलेछ । राजाबाट पनि त्यसलाई स्वीकृति मिल्यो । 

अनि सुरु भयो शिरोमणि उपाध्यायको टीमको काम । त्यो हललाई मर्मत गर्न उनी र उनका साथीहरू रातदिन नभनेर लागे । हल ठूलो थियो । त्यसलाई राम्रो बनाउनु पर्ने थियो । उनी रातरात भर बसेर काम गर्न थाले ।  यसरी सबै काम समयमै सिध्याए । प्रशिद्ध कलाकार लैनसिंह बाङदेलले ठूलोठूलो दुई वटा चित्रकला तयार पारे । त्यसलाई ठूलो भित्तामा सजाइयो । पाटनबाट उड कार्भिङका कामहरू भए । अन्ततः त्यो हललाई चिटिक्क बनाए ।

राष्ट्र बैंकको मर्मत गरिएको हलमा योजना आयोगको बैठक सम्पन्न भयो । साँझ त्यहीँ भएको कार्यक्रममा उपाध्यक्ष डा. हर्क गुरुङले उपाध्यायलाई राजा वीरेन्द्रसँग दर्शन भेट गराए । उनले उपाध्यायले गरेको कामका विषयमा राजालाई बताए । राजाले पनि उपाध्यायलाई ‘राम्रो ग¥यौ’ भन्दै धन्यवाद दिए । त्यहीँ राजाले छेउमै रहेका पाश्ववर्तीलाई संकेत गरेपछि  शिरोमणि उपाध्यायको नाम डायरीमा लेखियो । 

उपाध्याय यो प्रसँग सुनाउँदै गर्दा हाँसे । उनले भने, “राजाका पीएले नाम लेखे पछि अफिसका सबैले मलाई बधाई दिए । त्यसबेला गभर्नर विदेश भ्रमणमा गएका थिए । मलाई सबैले ‘शिरोमणिजी, यस पटक तपाईँले तक्मा पाउनु हुन्छ’ भने । तर जब तक्मा पाउनेको नाम निस्कियो । मेरो नाम थिएन । गभर्नरको नाम तक्मा पाउनेमा पर्यो । मेरो नाम परेन । मलाई थाहा थियो, दरबारले यस्तै धोका दिन्छ भनेर ।” 

उनले दरबारसँग जोडिएको एउटा अर्को सन्दर्भ बताए । उनी नेपाल राष्ट्र बैंकमा गइसकेका थिएनन् । सरकारी सेवामै थिए । त्यसैबेला शिक्षा मन्त्रालयले ६ वर्षका लागि उनलाई इन्जिनियरिङमा थप अध्ययनका लागि रुस पठाउने भयो । त्यसबेला दरबारमा उनको नाम सिफारिस भएर गयो । 

उनका साथी थिए शिक्षा मन्त्रालयमा । उनैले उपाध्यायलाई नाम सिफारिस भएको खबर गरेका थिए । शिरोमणि उपाध्यायलाई ठुलै चिठ्ठा परेको अनुभूति भयो । आफ्नो कामको प्रशंसा भएको अनुभव भयो । तर दरबारबाट आउँदा उनको नाम थिएन । अरु कसैको नाम थियो । यो पनि उनका साथीले नै बताएका थिए । त्यसबेला मन्त्रिपरिषदको उपाध्यक्ष थिए, डा. तुलसी गिरी ।

उपाध्याय भन्छन्, “माहिलो बुबा (भोला बाबु) काठमाडौंमै हुनुहुन्थ्यो । मैले माहिलो बुबालाई यावत कुरा भनेँ । उहाँको सम्बन्ध डा. गिरीसँग थियो । उहाँले नै हिँड भनेर मलाई डा. गिरी कहाँ लग्नु भयो । मैले सबै कुरा डा. गिरीलाई सुनाएँ । यो कुरा त डा. गिरीले क्याबिनेटमै उठाएछन् ।”  उपाध्यायका साथी उनलाई भन्दै थिए रे, ‘शिरोमणिजी, कसरी कुरा बाहिर गयो भनेर मन्त्रालयलाई दरबारका मानिसले थर्काइ रहेका छन् । मेरो त जागिरै पो जान्छ कि ?’

उपाध्यायका अनुसार दरबारबाट नाम आउँदा ‘शिक्षा मन्त्रालयले फलानोलाई पठाउन भनेर सिफारिस गरे तापनि फलानोलाई पठाउनू भनेर श्री ५ बाट हुकुम भएकोले सोही अनुरुप गर्नू’ भनेर लेखिएर आएको रहेछ ।  तर डा. गिरीको हो हल्लाले फेरि शिरोमणि उपाध्यायकै नाम सिफारिस भएर आयो । र उनी रुस जाने तयारी गर्न थाले ।

यो सुनाउँदै गर्दा उपाध्याय हाँसे । भने, “तर मैले जान भनेर लेखिएकै रहेनछ । पछि मैले फर्म भर्दा विवाहित भनेर फर्म भरेँ । अविवाहित लेखेको भए सायद जान पाउँथे । यत्तिले गर्दा म रुस जान पाइन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro