
काठमाडौं । राणाकालकै समयमा कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ संगीतबद्ध भएको केही दशकपछि म्युजिक भिडियोमा उतार्न लागिएको छ । यस कवितालाई अम्बर गुरुङले लामो समयपछि वीर रसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए ।
उतिबेलै गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो ।
नेपाली झण्डाको महिमा गाउने क्रममा हाम्रो गौरवमयी इतिहास र गाथा बयान गर्ने यो गीतलाई पछिल्लो समय लोक रक ब्याण्ड नेपथ्यले गाउँदै आएको छ । नेपथ्यले यो गीतलाई रेडियो नेपालका पुराना श्रोतामा मात्र सीमित नराखेर नयाँ पुस्तामा लगिदिएपछि यसको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ ।
“पुरानै गीतलाई हाम्रो थप प्रयास स्वरुप नयाँ एरेन्जमेन्टले सजाएपछि श्रोताहरुलाई सुनाउँदै आएका छौं,” नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, “सन् २००२ यता ब्याण्डका हरेकजसो कन्सर्टमा नछुटाइकन यो गीत प्रस्तुत हुने गरेको छ ।”
संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति ब्यान्डले प्राप्त गरेपछि केहि वर्षअघि तयार भएको नेपथ्यको एल्बम ‘मेरो देश’ मा यसलाई समेटिएको थियो । त्यसैगरी नौ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाउने निधो गरेपछि उसका प्रत्येकजस्तो औपचारिक कार्यक्रममा यो धुन बजाउँदै आइरहेको छ ।
“म्युजिक भिडियोमा नेपथ्य ब्यान्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई संयोजन गरिएको छ । गीत गाउँदा दर्शकहरुमा देखिएको व्यापक उत्साह र ऊर्जाले नै शब्दको शक्ति देखाउने भएकाले यस्तो निर्णय लिएका हौं,” ब्यान्डको व्यवस्थापक नेपालयका किरणकृष्ण श्रेष्ठले भने ।