
काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा अहिले आफ्नो आउन लागेको फिल्म ‘मिसन मंगल’को प्रचारप्रसारमा व्यस्त छिन् । प्रमोशनकै क्रममा भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै उनले बक्स अफिस कलेक्सन भन्दा पनि आफ्नो अभिनय क्षमता र अभिनयको लागि पाउने तारिफमा ध्यान दिने बताइन् ।
ट्रस्ट अफ इन्डियासँग उनले भनिन्, ‘बक्स अफिस कलेक्सनको लागि म कहिले पनि लालची भइन । यो आफैं भएको हो । मैले अभिनय यात्रा सुरु गर्दा कहिले पनि मेरो फिल्मले सय करोडको व्यापार गर्छ भनेर सोचिन । तर ती सबै ब्लकबस्टर सावित भए । दर्शकले दिएको त्यो मायाको लागि खुशी छु । समयसँगै परिवर्तन आयो । पहिले हेर्ने र अहिले बन्ने फिल्महरु परिवर्तन हुन थालेका छन् । कलाकारको रुपमा मेरो छनोट पनि परिवर्तन भएको छ ।’
उनले थपिन्, ‘मैले सबै विधाका फिल्म गरिसकेको छु । आज म आफैंमा गर्व महसुस गर्छु कि म कमर्सियल फिल्म पनि गर्न सक्छु । मैले सबैमा सन्तुलन कायम गर्न सकेको छु ।’ सोनाक्षी फिल्म हिट र फ्लप बनाउने क्षमता दर्शकको भएको बताउँछिन् ।