site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सङ्गीतले घटाउँछ एन्जाइटी

काठमाडौं । वर्तमानको प्रविधिमय दुनियाँ र चरम भागदौडको अवस्थामा एन्जाइटी जोकोहीलाई हुन सक्छ । अधिक औषधिको प्रयोग पनि खतरनाक हुन्छ । यस्तो अवस्थामा एन्जाइटी अर्थात् बेचैनीलाई टाढा भगाउन सङ्गीत लाभदायी हुने पछिल्ला अध्ययनहरुले देखाएका छन् । पीडा कम गर्ने औषधिको काम सङ्गीतले गर्न सक्ने अनुसन्धाताहरुको दाबी छ । ‘नर्भ ब्लक प्रोसिजर’भन्दा पहिला एन्जाइटी हुने गर्छ । यो प्रोसिजरभन्दा पहिला आमरुपमा बिरामीले भोग्ने पीडा कम गर्न ‘मिडाजोलाम’ नामक औषधि दिइन्छ, यसले बिरामीको एन्जाइटी कम गर्न मद्दत गर्छ । 

औषधिको विकल्पमा सङ्गीत

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हालै गरिएको एक अनुसन्धानले के पत्ता लगाएको छ भने नर्भ ब्लक प्रोसिजरअघि बिरामीलाई रिल्याक्सिङ म्युजिक सुनाउँदा त्यसको राम्रो असर पर्न जान्छ । यो त्यति नै असरयुक्त हुन्छ जति मिडाजोलाम औषधिले फाइदा गर्छ । मिडाजोलाम बिरामीको नसामा सीधै दिइन्छ ।  ‘पेरिफेरल नर्भ ब्लक प्रोसिजर’ एकप्रकारको एनेस्थेसिया हो, यसले शरीरको खास हिस्सामा भइरहेको पीडालाई कम गरिदिन्छ । यो विभिन्नखाले सर्जरीको क्रममा प्रयोग गरिन्छ । 

यो अनुसन्धानकी मुख्य लेखक विना ग्राफले भनिन्, ‘‘हाम्रो अध्ययनले के देखाएको छ भने, नर्भ ब्लक प्रोसिजरजस्ता केही चिज गर्नुअघि बिरामीलाई शान्त बनाउन र बेचैनी कम गर्न औषधिको विकल्प मौजुद छ । हाम्रो एम्बुलेटरी सर्जिकल सेन्टरमा नयाँ तरिका आरम्भ गरेका छौं र सङ्गीत सुन्न चाहने बिरामीलाई हेडफोन उपलब्ध गराएका छौं । हाम्रो उद्देश्य के हो भने, बिरामीको शल्यक्रिया गर्नुअघि शान्त र बेचैनी हुन नदिन उसलाई आनन्द दिनुपर्छ । र, त्यो आनन्द सङ्गीतले दिन्छ ।’’ 

अनुसन्धानकर्ताको टोलीले १५७ वयस्कलाई अलगअलग दुई समूहमा राख्यो । र, तिनलाई पेरिफेरल नर्भ ब्लक प्रोसिजरको तीन मिनेटअघि दुई विकल्प दिइयो । पहिलो, मिडाजोलामको १–२ मिलिग्रामको इन्जेक्सन र अर्को एउटो हेडफोन जसमा मार्कोनी युनियनको आठ मिनेटको सङ्गीत ।  यो सङ्गीत विशेष ढङ्गमा तयार पारिएको थियो, जसले बिरामीलाई आनन्द वा चैन दिन्थ्यो । विकल्प चयन गर्नुअघि यी दुई समूहको एन्जाइटी लेबल परीक्षण गरिएको थियो । जसरी औषधि प्रयोग गर्नेको एन्जाइटी लेबलमा कमी आएको पाइयो, उसैगरी सङ्गीत सुन्नेकोमा पनि कम भएको थियो । 

बढ्दो औषधि सेवनले पुर्याउने हानिलाई दृष्टिगत गर्दा सङ्गीत बढी उपयोगी देखियो । साथै, औषधिको साइडइफेक्ट त छँदैछ ।  


 

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०६:१०
प्रतिक्रिया दिनुहोस्