
काठमाडौं । नेपालको परराष्ट्र मामिला विभिन्न कालखण्डमा कस–कसले, कसरी चलाए ? हाम्रो परराष्ट्र नीति कसरी तय हुँदै आयो ? कुन नेता वा मन्त्रीको कार्यशैली कस्तो थियो ? पूर्व परराष्ट्रसचिव डा.मदनकुमार भट्टराईको भर्खरै प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्रः नेपाली कूटनीतिको सञ्चालन र सञ्चालक’ले यस बारेमा तथ्यपरक जानकारी दिएको छ ।
“यो पुस्तक लेख्नुको मेरो उद्देश्य यस क्षेत्रकै पुरानो परराष्ट्र कार्यालयबारे थप अध्ययन र अनुसन्धान, खोजी र संहिताकरणलाई झकझक्याउनु हो,” डा. भट्टराईले भने, “यो पुस्तक एक हिसावले नेपालको परराष्ट्र कार्यालय र यसका स्रस्टा वा प्रमुख पात्रहरुको भूमिकाको व्याख्या हो ।”
कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका भट्टराईले भारतको वैदेशिक सेवाका विभिन्न पक्षको मूल्यांकन गरी महाविद्यावारिधिसमेत गरेका छन् । मुलुकको कुटनीतिक सेवामा झण्डै चार दशक बिताएका उनको यो पुस्तक विदेश अड्डाका प्रमुख सञ्चालकहरुको भूमिकावरिपरी घुमेको छ । पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।
सन् १९७७ को लोकसेवा आयोग परीक्षामा प्रथम स्थान हासिल गरी परराष्ट्र मन्त्रालयको शाखा अधिकृतका रुपमा सेवा प्रवेश गरेका डा.भट्टराई सन् २००९–११ को अवधिमा नेपालको परराष्ट्र सचिव थिए । उनी दुई वर्ष (सन् २०१६–१८) राष्ट्रपतिका परराष्ट्र मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकार पनि रहे । जर्मनी र जापानमा राजदूतको जिम्मेवारी सम्हालिसकेका भट्टराई कूटनीतिअघि अध्यापन र पत्रकारितामा संलग्न थिए ।
‘परराष्ट्रका पात्र’मा जैसीकोठा र मुन्सीखाना जस्ता नेपालका प्रारम्भिक वैदेशिक अड्डादेखि त्यसका सञ्चालकहरुका बारेमा पनि थुप्रै नयाँ तथ्य समेटिएका छन् । पुस्तकमा बीपी, गिरिजाप्रसाद र मातृकाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाहलगायतका कुटनीतिज्ञ र राजनीतिज्ञहरुको बारेमा विश्लेषण छ ।