site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्रकर्मीका नौ बुदेँ मागमा सरकार सकारात्मक

काठमाडौं । नेपाली चलचित्र क्षेत्रलाई थप व्यवस्थित, सुविधा सम्पन्न र रोजगारीको क्षेत्र बनाउने वातावरण बनाउन माग गर्दै चलचित्रकर्मीहरुले सञ्चारमन्त्री समक्ष ज्ञापनपत्र बुझाएका छन् । मंगलबार साँझ विभिन्न नौ बुँदे माग राख्दै  चलचित्रकर्मीहरुले सञ्चारमन्त्री गोकुल बाँस्कोटा समक्ष ज्ञापनपत्र बुझाएका हुन् । 

विशेषज्ञहरुको मरामर्शमा राष्ट्रिय चलचित्र नीति परिमार्जन गरिनु पर्ने, हाल जडित बक्स अफिस भरपर्दो र पारदर्शी नभएकाले मान्यताप्राप्त सफ्ट्वेरसहितको बक्सअफिस प्रणाली जडान गर्नुपर्ने, नेपाली चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार गर्न सरकारले सहयोग गर्नुपर्ने, सरकारको पहल र सक्रियतामा प्रत्येक वर्ष चलचित्र महोत्सव आयोजना गर्नुपर्ने, विदेशी चलचित्र नेपालमा छायांकनका लागि सहज वातावरण र सुलभ अवस्था सिर्जना गरिदिनुपर्ने चलचित्रकर्मीको माग छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सेन्सर बोर्डलाई चलचित्र नियमन र वर्गिकरण गर्नमा केन्द्रित गर्नुपर्ने, छायांकन उपकरण तथा चलचित्रका लागि आवश्यक सामग्रीको सहज उपलब्धताका लागि विशेष ब्यबस्था हुनु पर्ने, चलचित्र प्रदर्शनमा रहेको सिन्डिकेटको अन्त्य गरिनुपर्ने, सबैलाई स्वीकार्य हुने गरि राष्ट्रिय चलचित्र अवार्डको छनोट र वितरण हुनु पर्ने तथा ब्यबस्थित र सुविधा सम्पन्न हल निर्माणका लागि प्रोत्साहन गर्नु पर्नेलगायत माग राखेर मन्त्री बाँस्कोटा समक्ष ज्ञापन पत्र बुझाइएको कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । 

“हामीले राखेका मागप्रति मन्त्री ज्युले चासो ब्यक्त गर्दै चलचित्र क्षेत्रको विकास र विस्तारका लागि आफू सधैँ तयार रहेको बताउनु भयो,” बानियाँले बाह्रखरीसँग भने, “हामीले प्रस्तुत गरेका विषयमा थप छलफलल गर्न तयारी गरेर आउनु भन्नुभएको छ ।” मन्त्री वाँस्कोटाले छलफलका लागि चाँडै बोलाउने आश्वासन दिएको उनले बताए । 

चलचित्र क्षेत्रलाई सरकारले चासो दिएर थप ब्यबस्थित गर्दै जान सके बर्सेनि हजारौं युवालाई रोजगार प्रदान गर्न सकिने बानियाँले बताए । रोजगारसँगै चलचित्रले नेपाली कला, साहित्य, संस्कृति र परम्पराको संरक्षण सम्बद्र्धनसमेत गर्ने भएकाले यसमा सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ । 

रवीन्द्रसिंह बानियाँ, दीपकराज गिरी, सामिप्यराज तिमलसिना, प्रचण्डमान श्रेष्ठ, प्रदीप भट्टराई, श्रीधर पौडेल र हेमराज बिसीले मन्त्री बाँस्कोटा समक्ष ज्ञापनपत्र बुझाएका थिए । 

प्रकाशित मिति: बुधबार, साउन १, २०७६  ०७:१३
प्रतिक्रिया दिनुहोस्