site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मैले पनि अवार्ड पाएँ भनेर गर्व गर्ने अवस्था छैन 

गत शुक्रबार सरकारले राष्ट्रिय चलचित्र अवार्ड वितरण गर्यो । ०७३, ०७४ र ०७५ तीन वर्षको अवार्ड एकैपटक वितरण गरियो । अवार्ड वितरणसँगै विभिन्न टिकाटिप्पणीहरु आए । पाउनुपर्नेले नपाएको तर पाउनै नहुनेलाई भने अवार्ड दिएर समग्र नेपाली चलचित्र क्षेत्रकै अपमान गरेको गुनासो धैरैबाट आयो । चलचित्र निर्देशक तथा निर्माताहरुले नै चलचित्र बुझ्ने व्यक्तिलाई जुरी (निर्णायक)मा नराखिएको भन्दै सार्वजनिक रुपमै फेसबुक स्टाटस लेखे ।

०७५ सालको उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘बुलबुल’बाट निर्देशक विनोद पौडेलले पाए । उत्कृष्ट निर्देशकको अवार्ड पाउँदा पनि उनी त्यति धेरै सन्तुष्ट छैनन् । अवार्ड पाउनैपर्ने र दिनैपर्ने चलचित्र छुटेको उनी बताउँछन् । आफू निर्णायक हुँदा अवार्डका लागि दबाब दिने व्यक्तिले नै आफूँसँगै अवार्ड थाप्न आउँदा अवार्डको नै अपमान भएको उनी बताउँछन् । उनै पौडेलसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः 

‘बुलबुल’ निर्माण गर्दैगर्दा राष्ट्रिय अवार्ड जित्छु जस्तो लागेको थियो ? 
लेख्ने बेला, बनाउने बेला अवार्डतिर मेरो ध्यान जाँदैन । जस्तो मन लाग्छ, त्यस्तै काम गर्छु । सुटिङ गर्दैगर्दा म एक्सन–कट गरिरहेको हुन्थेँ र सम्पादनको टेबुलमा आइसकेपछि छेउमा बसेका साथीहरु ‘ल... यसले नेशनल अवार्ड खाने भयो’ भनेर जिस्काउँथे । त्यही बेला उनीहरु भन्थे, ‘पैसा चाहिँ कमाउँदैनौं । नेशनल अवार्डचाहिँ जित्छौ भन्थे । म त्यसमा खासै वास्ता गर्दिन थिएँ । हाम्रो देशमा नेशनल अवार्डको भ्यालु नै क्रिएट भएको छैन, त्यसैले पनि होला सायद त्यसप्रति त्यतिधेरै लोभ नलागेको । नेपाल बाहिरका अवार्डको अपेक्षा बढी हुन्छ । म आफैँले भोगिसकेको थिएँ । कस्ता निर्णायक पर्छन्, चलचित्र बुझ्ने पर्छन् कि पर्दैनन् भन्ने थियो । आफ्नो आसेपासेलाई निर्णायक राखिन्छ । ती आसेपासेले तिनीहरुका आसेपासेलाई नै अवार्ड दिन्छन् । त्यही भएर पनि होला अवार्डको अपेक्षा गरेको थिइनँ । यदि स्वच्छ अवार्ड हुन्थ्यो भने अवार्डको दाबेदार म पनि हुँ है भन्ने हुन्थ्यो होला ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अपेक्षा नगरेको अवार्ड पाउँदा कस्तो अनुभव हुँदोरहेछ ?
पाउँदा खुसी पनि छु । तर, त्यति धेरै सन्तुष्ट पनि छैन । किनभने अरु अवार्ड जसरी वितरण गरिएको छ । देभभित्रै राम्रो समीक्षा भएको छ । हलमा चलेको पनि छ, त्यसैले पो दिएको हो कि जस्तो लाग्छ । व्यक्तिगत रुपमा निर्णायकहरुले भेटेर राम्रो चलचित्र बनाउनु भएको रहेछ, बधाई छ भनेर भन्नुभयो । त्यतिबेलासम्म पनि रमाइलो नै लागिरहेको थियो तर जब निर्णायकहरु मध्ये केहीले भने, तपाईंको चलचित्र एकदम मनपर्यो तर असभ्य भाषा प्रयोग नगर्नुभएको भए बेस्ट फिल्मको अवार्ड पनि पाउँथ्यो । त्यतिबेला मैले अनुभव गरेँ चलचित्र बुझेको मान्छे त छैन रहेछन् । विश्वभरका चलचित्र हेरेका र बुझेका मान्छे त कोही पनि रहेनछन् । त्यस्ता अग्रज व्यक्तिहरुले नै त्यसो भन्छन् भने चलचित्रको न्यारेटिभ भित्र पसेर के विश्लेषण भएको होला र ? त्यसैले अवार्ड जित्दा पनि त्यति धेरै मजा आइरहेको छैन । 

राम्रो चलचित्र छुटेको छ । ‘हरि’ले कुनै अवार्ड पाएन । ‘कथा–७२’ भन्ने चलचित्र छ, त्यो अवार्ड पाउने चलचित्र थियो । त्यसलाई ‘स्पेशल फिल्म’ भनेर विकास बोर्डले सम्मान गरेको छ । केही भएर त ‘स्पेशल फिल्म’ भनेको होला । तर किन त्यसले अवार्ड पाएन ? नेशनल अवार्ड किन त्यही चलचित्र ‘स्पेशल’ भएन ? क्यामेरा, सम्पादन पक्ष राम्रो थियो । तर, दिइएन । अहिले क्यामेरामा कमर्सियल चलचित्रलाई अवार्ड दिइएको छ । सिनेमेटोग्राफी भयंकर सिन खिच्दैमा राम्रो हुने होइन । चलचित्रको कथासँग सिनेमेटोग्राफी जोडिएर अगाडि बढ्दै जाने हो । यहाँ त क्यामेराले राम्रो खिच्यो तर चलचित्र राम्रो थिएन भन्ने बुझाइ छ । निर्णायकको छनोट हेर्दा चलचित्र बुझ्ने मान्छे नै कम देखिए । त्यसैले आफैँले अवार्ड पाउँदा दुईटा अवार्ड पाउनैपर्ने चलचित्रले नपाउँदा जुन खुसी र उत्साह हुनुपर्ने हो, त्यस्तो छैन । 

अवार्ड वितरणलाई लिएर विरोध भइरहँदा कस्तो अनुभव हुँदोरहेछ ?
अघिल्लो वर्षको अवार्ड वितरण हेर्दा जस्तो पनि चलचित्रले अवार्ड पाएको छ । त्यो हेर्दा मैले पाएको अवार्डको पनि मूल्य घट्यो । मैले पनि सानका साथ अवार्ड पाएको छु भनेर छाती फुलाएर भन्ने अवस्था छैन ।  
विरोध हुनुपर्थ्यो, भयो । म त खुसी छु यो विरोध भएकोमा । तर, मलाई के चित्त बुझ्दैन भने फेसबुकको वालमा जसले पनि लेखेको चाहिँ मन पर्दैन । विरोधको पनि तरिका हुन्छ । तपाईं जब नेशनल अवार्डभित्र पस्नुहुन्छ प्रतिस्पर्धामा त्यहीबेला विकास बोर्डले तय गरेको मापदण्ड मैले मान्नुपर्छ र निर्णायकले गरेको निर्णय स्वीकार्नुपर्छ । निर्णय आइसकेपछि त्यसको विरोध गर्नुको अर्थ छैन । तर, समग्र संस्थालाई भने प्रश्न उठाउन सकिन्छ । 

व्यक्तिगत रुपमा गाली गर्न मिल्दैन । सकिन्छ भने त्यहाँ भित्र पसेर परिवर्तन ल्याउन सक्नुपर्छ । जुन बेला म राष्ट्रिय अवार्डको निर्णायकमा थिएँ, त्यो वर्ष विश्लेषण गरेर हामीले अवार्ड वितरण गरेको हो । विरोध हुनु ठिक हो तर त्यसको तरिका मिलिरहेको छैन । 

‘हरि’ले अवार्ड पाएन, किन ? ‘हरि’ कस्तो चलचित्र हो भन्ने नबुझ्ने निर्णायक बसेपछि कसरी ‘हरि’ले अवार्ड पाउँछ ? निणार्यक छान्दा गल्ति भयो । निर्णायक छान्नेको चाहिँ विरोध गर्नुपर्यो । जसले जति बुझेको छ, त्यति मूल्यांकन गर्ने त हो । ‘हरि’काे स्तरको चलचित्र बुझ्ने निर्णायक नभएपछि ‘हरि’ले कसरी पाउँछ अवार्ड । 

तपाईं पनि राष्ट्रिय चलचित्र अवार्डको निर्णायक बसिसक्नु भएको मेकर । कत्तिको सहज हुन्छ ?
हामीले इमान्दार भएर प्रयास गरेका थियौं । चलचित्रको विश्लेषण गरेर अवार्डको निर्णय लिएका थियौं । हामीभित्रै फरकफरक बुझाइ हुन्थ्यो एउटै चलचित्रलाई लिएर । त्यसमा बुझेका साथीहरुले बुझाउँथ्यौं । त्यसैले त्यो वर्ष (२०७३)को अवार्डमा विवाद नै आएन ।

अवार्ड पाउनैपर्ने व्यक्तिले पाएन र अरु कसैलाई दिइयो भने यसले चलचित्रकर्मीलाई कुनै असर गर्छ ?
एउटा इमान्दार कलाकारले अवार्डका लागि काम गर्नुहुँदैन । सुन्दा आदर्शवादी सुनिन्छ तर काम आफ्ना लागि गर्ने हो । निर्माणको प्रक्रियामा, ट्रयाक रेकर्डका लागि र हौसलाका लागि अवार्डले काम गर्छ । राष्ट्रले कामको मूल्यांकन गर्दा, अन्तरराष्ट्रिय स्तरबाट रिकग्निसन हुँदा मनोबल उच्च हुन्छ मेकरका लागि । तर, मास्टर लेवलका निर्देशकका लागि अवार्डको मतलब पनि हुन्न । भर्खर शुरु गरिरहेकालाई आत्मविश्वास भर्ने कामचाहिँ गर्छ । अवार्ड हुनु नराम्रो होइन तर मेकरले अवार्डका लागि भनेरै काम गर्नु चाहिँ हुन्न । 

एकपटक अवार्ड पाइसकेपछि त्यसले आउँदा दिनमा कत्तिको दबाब सिर्जना गर्छ ? 
आउँदो चलचित्रका लागि दबाब त सिर्जना गर्छ । तर म जब चलचित्र लेख्न थाल्छु ला ! मलाई त राम्रो चलचित्र बनाउनै पर्छ भन्ने दबाब चाहिँ आउँदैन । राम्रो त बनाउन जसले पनि खोज्छ । तर, चाहँदैमा त हुँदैन । त्यसैले इमान्दार भएर काम गर्ने हो । ‘बुलबुल’ र ‘साँघुरो’ लेख्दा मैले दबाबको महसुस गरिन । ‘साँघुरो’ लेख्दा ट्याबुको विषय थियो । यौन मनोविज्ञानको विषय भन्नबित्तिकै मान्छे जिव्रो टोक्थे । तर, म ढुक्कले लेख्थेँ । कसले के भन्ला भन्ने थिएन । ‘साँघुरो’को राम्रो समीक्षा आएको छ । त्यसैले ‘बुलबुल’ले त्योभन्दा राम्रो समीक्षा पाउनुपर्छ भन्ने दबाब लिइन । म लेख्दा जेमा मजा आउँछ त्यही लेख्छु । राम्रो गर्छु भन्दैमा राम्रो हुने होइन । आफ्नो लेबल जति हुन्छ त्यो देखिन्छ नै ।

तपाईं भुटानी शरणार्थीको कथामा चलचित्र बनाउने तयारीमा हुनुहुन्छ । कहाँ पुग्यो तयारी ?
मलाई स्क्रिप्ट फाइनल गर्न अझै चार महिना जति लाग्छ । लगानीका लागि अर्को तीनचार महिना लाग्छ । अझै एक वर्ष लाग्छ । 

बुलबुलमा समाजको ट्याबु विषय मैले उठाएको थिइन । समाजको अहिलेको गहन विषय उठाएको थिएँ । वैदेशिक रोजगारीले पारेको प्रभाव उठाएको थिएँ । त्यस्तो गहन विषय उठान गरेर काम गर्दा त यहाँ दुईचार वटा शब्दले माने राख्छ । अग्रजहरुले यो शब्द नराखेको भए हुन्थ्यो भन्नुहुन्छ । यसले हतोत्साही बनाइरहेको छ मलाई । नेपालमा अझै पनि काम गर्ने वातावरण रहेनछ । दबिएर यो राख्नुहुन्छ । यो राख्नु हुँदैन भनेर काम गर्नुपर्ने रहेछ । खुलेर काम गर्न नपाइने । त्यसैले अबको चलचित्र म नेपालबाहिरबाट बनाउने तयारीमा छु । नेपालबाहिरबाट काम गर्दा त्यहाँ त कसैले नरोक्ला नि । 

चलचित्र त नेपालमै प्रदर्शन गर्ने होइन र ?
चलचित्र इन्टरनेशनल डिष्ट्रिब्युशन गर्ने तयारी छ । निर्माता अमेरिकाकै हुनुहुन्छ । त्यसैले हाम्रो प्राथमिकता इन्टरनेशनल डिष्ट्रिब्युशन हो । फेष्टिबल र नेपालमा रिलिज गर्ने हो । 

अवार्डमै फर्काैं, निर्णायक बस्दा अवार्ड दिलाइदिनु पर्यो भनेर कत्तिको दबाब आउँदोरहेछ ?
निकै धेरै आउँछ । मैले त त्यसरी दबाब आउँछ भनेर सोचेकै थिइँन । चलचित्र हेरिरहेका बेला निकै धेरै फोन आउँथे । मलाई त्यतिबेला धेरै कमले चिन्नुहुन्थ्यो र पनि फोन आउँथ्यो । मलाई भन्दा अरुलाई झन् धेरै आउँथ्यो । तर, उहाँहरुलाई आएको प्रेसर अन्ततः मसँग पनि आउँथ्यो । त्यतिबेला मलाई रिस उठ्थ्यो । ओस्कार इन्टरनेशनल कलेजको प्रिन्सिपल पनि भएकाले मलाई विद्यार्थीहरुले पनि हेरिरहेका थिए । यसले कस्तो चलचित्रलाई अवार्ड दिन्छ हेरौं भन्ने थियो मेरा विद्यार्थीहरुलाई । एकेडेमिक मान्छे हो हेरौं के गर्छ भनेर चलचित्र उद्योगले नै नजर लगाइरहेकाले पनि मलाई चुनौती थियो । त्यसैले जतिसुकै प्रेसर आए पनि मेरो विचारमा म अडिग रहन्छु भन्नेमा दृढ थिएँ । र, भएँ पनि । 

रातिराति फोन आउँथ्यो । कतिले आफैँ गर्थे । कतिले अरुलाई फोन गर्न लगाउँथे । रिजल्ट तयार पारेर सिल गरिसकेपछि पनि दबाब आएको थियो ।  

कतिले सरोकारवाला पक्ष र व्यक्तिमार्फत् दबाब दिन लगाउँथे । अनि सबैभन्दा निकटको सरोकारवाला निकायका प्रमुखले मलाई भन्नुभयो– विनोदजी, साह्रै गर्यो मेरो रिक्वेस्टमा मेरा लागि यति  चाहिँ गरिदिनुस्, अरु जेजे गर्छौ गर त्यसलाई एउटा अवार्ड चाहिँ देऊ है । तर, मैले मानिन । पछि म अन्य दुईटा अन्य अवार्डमा निर्णायक बस्दा पनि तिनै व्यक्तिको दबाब आयो । अहिले सबैभन्दा धेरै विवाद आएको पनि तिनै व्यक्तिले पाएको अवार्डलाई लिएर हो । 

जब ती व्यक्तिले अवार्ड पाए, अनि मलाई लाग्यो अवार्ड त किनबेच नै भएका हुन् । किनबेच नभए पनि प्रभावित भएका हुन् । व्यक्तिगत रुपमा उनीहरु राम्रो होलान् तर चलचित्रमा उनीहरुको ज्ञान, कथा भन्ने तरिका र चलचित्रको बुझाइका हिसाबले अवार्ड दिन योग्य छैनन् भनेका व्यक्तिले नै अवार्ड पाए । जब उनीहरुले अवार्ड पाए अनि मैले पाएको अवार्डको मूल्य फिका भएको मैले अनुभव गरेँ । म निर्णायक भएका बेला जसले मलाई अवार्ड दिन दबाब दियो त्यही व्यक्तिले मसँगै बसेर त्यही अवार्ड थापेपछि म कसरी खुसी हुन सक्छु र छाती फुलाएर भन्न सक्छु कि मैले राष्ट्रिय अवार्ड पाएँ । 

मैले फेसबुकमा सेयर गरेँ किनभने मेरो परिवार खुसी हुन्थ्यो । साथीहरुले तिमीले पाएको सफलता हो सेयर गर भने त्यसैले फेसबुकमा राखेको मात्रै हुँ । मनदेखि खुसी भएर गरेको होइन ।  त्यसैले त अहिले राष्ट्रका भन्दा बाहिरका अवार्डको हामी बढी विश्वास गर्छौं र त्यसको अपेक्षा गरिरहेका छौं । 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०७६  १३:२९
प्रतिक्रिया दिनुहोस्