
— चर्चित ढुंगेल
म ‘अरिंगाल’ बारे उठान गर्दछु ।
भैरव अर्यालको चेलो भएकाले शब्दको उत्पत्तिबारे अनुमान गर्छु । भन्दिहाल्छु— अनुमान गर्नु ‘हनुमान’ हुनु होइन । मैले अनुमान गरेकोलाई तपाईं अन्तिम सत्य नमान्न पाउनुहुन्छ र मान्न पनि । मानेकै वा नमानेकै आधारमा म कसैलाई केस गर्दिनँ र तपाईं थुनिनु पनि हुन्न । आई ग्यारेन्टी इट !
‘अरिंगाल’ शब्दको उत्पत्तिबारे मान्य भाषाशास्त्रीहरू नै जानून् । तर, यसको नामाकरणको बारेमा मलाई यो लाग्छ कि— स्वभावअनुसार यसले चिल्दा चिलाइखाने जन्तु अर्रोसम्म हुनेगरी गल्ने र गालिने भएकाले यस प्रजातिको चिलुवालाई ‘अरिंगाल’ भनिएको हुन सक्छ । अथवा यसो पनि हुन सक्छ— यसले ‘बेजी’ हानेपछि थाप्नेलाई अत्ति रिंगटा छुट्ने, ज्वरो आउने र ज्यानैसमेत जाने गरी गलाउने भएकाले ‘अरिंगाल’ भनिएको हुन सक्छ । मैले यसको नामाकरण यिनै दुई कारणले ‘अरिंगाल’ रहन गएको अनुमान गरें । यसभन्दा बढी जान्नु र बुझ्नु छ भने आदरणीय ‘केपी बा’लाई सम्पर्क गर्नुहोला किनकि यो धरामा जुनसुकै टपिकमा स्रोतालाई ‘हो हो, सही हो’ भन्न बाध्य हुने गरी स्पिच दिन सक्ने र परर ताली खान सक्ने खुबिलिटी कसैमा छ भने त्यो केपी बासँग मात्रै छ । आई ग्यारेन्टी इट !
संसारमा हरेक शब्दको उखान हुन्छ कि हुँदैन ? मलाई थाहा छैन । कुनै दिन उखानका अप्रक (अत्ति प्रयोगकर्ता) केपी बासँग जम्काभेट भएछ भने सोध्नेछु । तर, बिन्तीपत्र हालेर, भनसुन गरेर वा निरीह भएर बाँचुन्जेल ढोगभेट गर्न जान्नँ । उसै पनि मलाई मेरा घुँडा र पाइन्टको औधि माया छ । घुँडा फुस्कियो र पाइन्ट फाट्यो भने जोड्दिने, टाल्दिने वा नयाँ हाल्दिने मेरा लागि राज्य र सरकार छैन । यसकारण पनि नभएको हो कि, मलाई ‘त्वम् शरनम्’मा भन्दा ‘अहम् मरणम्’मा गर्व छ । मलाई ‘नकचरो’ हुनुमा भन्दा ‘निम्छरो’ हुनुमै निको छ । त्यसैले म निम्छरो नेपाली नागरिक नै ठीक छु । नतमस्तक भएर, नम्र निवेदन हालेर नमस्कार गर्न जान्नँ । आई ग्यारेन्टी इट !
ओके ! म उखानको कुरा गर्दैथें । ‘अरिंगाल’बारे कतिवटा उखान बनेका छन् ? मैले थाहा पाउने ठेक्का नलिएको भएर मलाई थाहा छैन । तर, सबैभन्दा चलेको र सुनेको उखान यही हो— ‘अरिंगालले पानीमुनि पनि छोड्दैन ।’
यहाँभन्दा माथि म ‘रियल अरिंगाल’को कुरा गर्दैथें । अब ‘राजनीतिक अरिंगाल’बारे केही लेख्छु । अल्छी लाग्यो भने पढ्न छोड्दा हुन्छ । त्यसो त पढ्दै नपढ्ने यहाँसम्म आइपुग्दैन पनि । आधी पढेपछि अब आधी पढ्न खासै सकस पनि हुन्न, पढ्नुस् । केही खास, केही मीठास भर्ने यत्न गरेको छु । बीचैमा बोर लाग्नेछैन भनेर आई डन्ट ग्यारेन्टी !
अहिले बजारमा गुठी विधेयक सेलाइसकेको छ । विषादीयुक्त तरकारीले भान्छामा प्रवेश पाइसकेको छ । आइफा अब ‘गइफा’ हुने अन्तिम पिँधतिर पुगिसकेको छ । ‘छौंडाहरू’ निदाइरहेका छन् । तर, ‘अरिंगाल’को नेप्से उकालो, झन् उकालो चढिरहेको छ । भर्खरै केपी बाले सरकारका निर्णयको समर्थनमा पर्खाल भएर उभिन उर्दी जारी गरिसकेका छन् । योसँगै अब ‘अरिंगाल’हरूको सक्रियता बढिरहेको छ ।
कसरी चिन्ने ‘अरिंगाल’हरूलाई ? अब मानव जीवनधारी यी ‘अरिंगाल’हरूलाई चिन्ने तरिका बताइइहाल्छु । स्वरूपमा काटीकुटी तपाईं र मजस्तै देखिने यी ‘अरिंगाल’हरू तपाईं र मजस्तै सास फेर्छन्, खान्छन्, आची गर्छन्, सुत्छन्, सपना देख्छन् । तर, हामीले जसरी नै लुलो हुने गरी धूलो खाए पनि स्वीकार गर्दैनन् । हामी आफ्नै पाखुराको दमले खान्छौं । ‘अरिंगाल’हरू हुकुमले जे दियो, त्यो खान्छन् । जुठोपुरो खाएपछि उनीहरूको पहिलो र अन्तिम काम यही हो— आदेश पालना गर्नु । भलै त्यो देश र जनताको खिलाफमा किन नहोस् । हुकुमको नुन खाएपछि हुकुमकै गुन गाउनु तिनको कर्तव्य हो । भाँडोमा चामल र कराईमा तिहुनसामल हुकुमले हाल्दिएपछि हुकुमको समर्थनमा सामाजिक सञ्जालभरि खनिनु उनीहरूको प्राथमिक कर्म हो । त्यसो त कसैले पहिले नै भनिसकेको छ, ‘ड्युटी इज ब्युटी !’ बस् ‘अरिंगाल’हरू फगत ड्युटी गर्छन् ।
सरकार वा पार्टीको गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने मनुवा सरकार वा पार्टीको जुठो खानासाथ ‘अरिंगाल’ भइहाल्छ । सरकार वा पार्टीको खर्च र खान्कीमा भारत वा चाइना जानासाथ त्यो ‘अरिंगाल’ सरकार वा पार्टीको दाइना भइहाल्छ । हरेक कुरूप निर्णयको बचाउ गर्छ । हुकुमको बचाउ गर्छ । शायद अब ऊ जान चाहन्छ, निकै लामो युरोप भ्रमण ! अर्को टोलीमा शायद उसको नाम सिफारिस भइसकेको छ । बेफ्वाँकमा राज्यको ढुकुटी रित्याउनमा आफ्नो पनि योगदान रहेको देख्दैन । देख्छ, मात्र विरोधीहरु देख्छ । लेख्छ, मात्र हुकुमगाथा लेख्छ । खेद्छ, मात्र ‘मौरी’हरूलाई खेद्छ । ‘अरिंगाल’को धर्म, संस्कार, विचार, भाषा र पहिचान भनेकै फरक सोच र विचारमाथि खनिनु हो । ‘अरिंगाल’ मौरीजस्तो होइन ! आई ग्यारेन्टी इट !
एउटा ‘अरिंगाल’ विकसित हुँदै गएर अरूहरूसँग जोडिन्छ । जनसंख्या बढेसँगै पहिचान खोज्छ । संगठन खोज्छ । राजनीतिक भूमिका खोज्छ र खोज्छ आजीवन जीवनवृत्ति । यसका निम्ति ‘अरिंगाल’हरू तलभन्दा तल झर्न सक्छन् । जनभावनाको चीरहरण गर्न सक्छन् । देशकै प्राण हर्न सक्छन् ।
तपाईंलाई हुन मन छ भने हुनुस्, तर म बाँचुन्जेल ‘अरिंगाल’ हुन्न । आई ग्यारेन्टी इट !