
– ध्रुव लम्साल
बिहानको ११ बज्न १५ मिनेट बाँकी थियो । पण्डित बा आइपुगे । बलेंसीमा जुत्ता खोलेर फलैंचामा बस्ने तयारी गर्दै थिए पण्डित बा, लुमडीप्रसादले खुट्टैमा ढोगे । कपाल खौरिएका लुमडीप्रसादको टुप्पी लामो छ । ६–७ वर्षकी बालिकाको कपालको चुल्ठोजस्तै । अहिलेका केटाहरूले टुप्पी नराखेकोमा निकै ठूलो गुनासो छ उनको । पँधेरामा नुहाएका बेला केटाहरूको काँधमा जनै देखेनन् भने सातो खान्छन् ।
गाउँकै सबैभन्दा ठूलो घर, ज्यान उस्तै मोटो, बलवान पनि । टुप्पीजस्तै धेरै कुरा फरक छ अन्य गाउँलेको तुलनामा । त्यही कारण हैकम गाउँभरि छ लुमडीप्रसादको । काठमाडौं बस्ने केटाहरू गाउँ गएका बेला पँधेरामा नुहाउन जानुअघि आमासँंग जनै माग्छन् । काँधमा जनै नभएकै कारण धेरैले लुमडीप्रसादको हप्काइ खाइसकेका छन् पटक–पटक । गोविन्देमात्रै त्यो भाग्यशाली तन्नेरी हो, जसले आजसम्म जनै नलगाएबापत लुमडीप्रसादको गाली खाएको छैन ।
गोविन्दे काठमाडौं बस्छ । युवाहरूलाई विदेश पठाउनु उसको मुख्य व्यवसाय । केटी बेचेको समेत आरोप लागेको छ उसलाई । सिंहदरबारभित्रका केही मान्छेसँग चिनजान भएकाले कारबाही हुन्न । उसले विदेश पठाएका मध्ये कतिले घर फर्केर खरको छानो फालेर जस्ता लाए । कतिले बाजा बजाएर बिहे गरे त कति अहिले पनि विदेशको जेलमा मृत्यु कुरेर बसेका छन् । उसलाई चिन्नेहरू अहिले पनि कुरा गर्छन्, “३६५ दिनमा ६५ दिन पनि साँचो कुरा बोल्दैन । मोबाइलको सिमकार्ड त दुई सय वटा फेरिसक्यो होला ।”
ठगी केसमा उजुरी त कति प¥यो कति । अहिले पनि उसलाई दुई–चार जनाले खोजिरहेका छन् । आफूले विदेश पठाएका मध्ये कुनै युवाले दुःख पाएको खबर सुन्नेबित्तिकै मोबाइल स्विचअफ गरेर गाउँ पुगिहाल्छ । जोसुकैलाई ठगोस्, लुमडीप्रसादलाई चासो छैन । उनको बुझाइमा गोविन्दे सबैभन्दा राम्रो मान्छे हो, उसले धर्म छोडेको छैन, जनै लगाएर नुहाउँछ । नुहाएपछि जनै समाएर धारामा गायत्री मन्त्र जप्छ ।
आज लुमडीप्रसादका बा नरनाथको वार्षिक श्राद्ध । बाको श्राद्ध यति भव्य हुन्छ कि सकिएको तीन दिनसम्म पनि गाउँमा श्राद्धमा पाकेको खान्कीकै चर्चा हुन्छ ।
“पेट गडबडी भयो भने एमजिट खुवाउँला, सकेको खानुपर्छ है,” हरेक वर्ष निम्तालुहरूको बीचमा बसेर भन्ने गर्छन्, “श्राद्ध जति भव्य गर्यो, पितृ त्यति नै खुशी हुन्छन् र पितृले आशीर्वाद दिए भने यो जन्म सुखी हुन्छ ।”
पण्डितजी फलैंचामा बसेर कुश बनाउँदै छन् । चारजना भिनाजु पर्नेहरूले आँगनमा गुन्द्री ओछ्याएर दहलमाराको खाल जमाइसके । माघको महिना भएकाले आँगनकै गुन्द्रीमा रमाउँछन् पाहुनापाच्छा । पूर्वपट्टि ढोका फर्किएको भव्य घर छ । घर, गोठ पूरै घेरेर पर्खाल लगाएका छन् । इँटाजस्तो चार कुना मिलेको छपनी गाउँकै नमुना मानिन्छ ।
घर, गोठ र आँगनमा मात्रै एक बिहानको मेलो खर्च गरेका छन् । घरसँगै छ, अर्को सानो जगेडा घर । अरू बेलामा यो घरको खास काम हुन्न । श्राद्ध, नारायण पूजालगायतका चाडपर्वमा यो सानो घरको भव्य काम आउँछ ।
माझघरकी कमलाले सेल पकाउन थालेको दुई घण्टा भो । एउटा कुनामा चुलढुंगा लगाएर ताई बसाएको छ, त्यहीँ सेल पकाउँदै छे कमला । अलि पर छिन् डबाड्नी माइली, पुछारघरकी सान्नानी र देवकी । देवकी र सान्नानी तरकारीका लागि काउली काट्दै छन् । डबाड्नी माइली अचारका लागि मुला कोर्दै छिन् ।
६५ वर्ष पार गरेको भए पनि लुमडीप्रसादको उत्साह २५ वर्षे युवाको भन्दा कम छैन । अहिले पनि छाकमा माना चामलको भात सकाउँछन् । काम पनि उस्तै चर्को गर्छन् । २५ पाथी धानको धोक्रो उचाल्न साथी चाहिँदैन ।
उनले घाँसको भारी बोकेर आएको देखेपछि प्रायःले बाटो छोडिदिन्छन् । दुई हल गोरु, दुई वटा लैना, दुई वटा बकेर्ना भैंसी र १५–१६ वटा बाख्रा उनको घरमा अनिवार्य हुन्थ्यो । बाको निधन, छोराको विदेश यात्रा, आफ्नो बुढेसकाल । घटनाक्रमले पुराना कुरा स्मृतिमा सीमित गरिदियो । अहिले पनि दुई कुन्यु मकै भएन भने उनलाई चित्त बुझ्दैन । आफू बाँचुन्जेल पसलको चामल खान नपरोस् भनेर कामना गरेका छन् । गोठ पनि भव्य छ, घरजस्तै । बाकै पालामा बनेको खोल्मोसहितको गोठमा तल वस्तु, माथि पराल, खोस्टा । समयले गोठमा उग्राउने गाई र भैंसी विस्थापित गरिदियो । गोरुको थलोमा दुई वटा हाते ट्र्याक्टर छन् ।
“ठूलो बा, अहिले त गोरुको थलामा ट्याक्टर बाँध्नुभएछ नि !” प्रायः लुमडीप्रसादलाई जिस्क्याइरहन्थ्यो डाँडाको सानेको छोरा मनोज ।
“तैंले पनि ८ कक्षामा पढ्दैमा लभ गरिस् रे नि त !” त्यसपछि मनोजले जिस्क्याउन छोड्यो ।
घरमा पाहुनापाच्छा आउने क्रम जारी छ । श्राद्धमा आउनेहरूले दही, दूध, फलफूल वा अन्य केही न केही लिएर आएका छन् । भान्सामा बसेकी छन्, लुमडीप्रसादकी श्रीमती चेतकुमारी । उनको नाम नागरिकता र निर्वाचन परिचयपत्रमा मात्र सीमित छ । गाउँका मान्छेले ‘शिवकी आमा’ भनेर बोलाउँछन् । जोठो छोरा शिवराम जन्मेपछि लुमडीप्रसादले ‘शिवकी आमा’ भनेर बोलाउन थाले । गाउँलेले पनि त्यही सुने अनि भन्न थाले ।
“ए हजुर ! मलाई सिदा लगाउन हतार भयो । यहाँ भान्सामा कसैलाई पठाइदिनुभए हुन्थ्यो,” शिवकी आमाले आग्रह गरिन् ।
सेल पकाएर सकाउन लागेकी थिई कमलाले । पाँच वटा जति सेललाई पुग्ने पीठो थियो कसौंडीमा । तीन घण्टादेखि रापमा बसेकी कमलाको गाला रगत झर्लाजस्तै रातो भएको थियो । पसिना तपतपी चुहिन थालेको थियो । भन्ज्याङमा टेलरिङ सेन्टर खोलेकी मुनाले कमलाको ब्लाउज अलि धेरै नै खोलिदिइछ । उसको पुष्ट स्तन कतिबेला ब्लाउजको टाँक खुस्किएला र निस्कन पाउँला भनेझैं गरी अटेसमटेस गरेर बसेका थिए । दाहिने हातमा पीठो, देब्रे हातमा रोटी झिक्ने झिर लिई टाङ फारेर बसेकी छे कमला ।
लुमडीप्रसाद कमलाको छेउमा पुगे र अगाडिपट्टि टुसुक्क बसे । गर्मीले होला— लुंगी घुँडासम्म सारेकी थिई । नजिकै बस्नेले कमलाको तिघ्रा सजिलै देख्थ्यो ।
“छिः, आज त गर्मी पनि कस्तो !” कमलाले लुमडीप्रसादलाई देखेपछि भनी ।
“तँ भित्र जान पर्ने भो रे !”
“सधैंको लागि हो ?” कमला ओठ टोकेर हाँसी ।
“कहिले पो बाहिर छेस् र ? राइँदाइँ गर्न देकै छु,” लुमडीप्रसादले कुरा सकाएका थिएनन् ।
“खुब, कसले पो ग¥या छ राइँदाइँ । आफ्नु ह्याँ ज्यान हल न चल भैसक्यो ।”
“भरे तेल तलाएर मालिस गर्दिम्ला,” मुख कानैमा लगेर फुस्फुसाए लुमडीप्रसाद ।
“यही झिरले घोच्दिम् ?” कमलाले मुसुक्क हाँस्दै हातमा लिएको झिरको टुप्पो लुमडीप्रसादको कम्मरमुन्तिर ताकी ।
“झिर मसँग छ, तैले के घोच्छेस् !” लुमडीप्रसाद बाहिरिएलगत्तै कान्छीले पनि ताई झिकी र भित्र गई ।
लुमडीप्रसाद र कमला एउटै खलकका होइनन् । तर, उनीहरूको सम्बन्ध गज्जब छ । बलरामको वैदेशिक यात्रापछि शुरु भएको थियो उनीहरूको दोस्ती । गाउँकै हुनेखानेमा पर्छन् लुमडीप्रसाद । कसैको आकस्मिक बिहे छिनियो वा कसैको झ्याप्पै भिसा लागिहाल्यो भने २५ प्रतिशत ब्याज तिर्ने कबुल गरेपछि जेथाअनुसारको ऋण दिन्छन् लुमडीप्रसाद । तीन वर्षअघि बिहे गर्दा बलरामले लुमडीप्रसादसँगै ८० हजार लिएको थियो ।
“ल बा, बिहेको रिन त तिरें । भोलि केही प¥यो भने आउने तपाईंकहाँ नै हो नि,” ८० हजारको सावाँ–ब्याज चुक्ता गरेर जाने बेलामा बलरामले भनेको थियो ।
“विदेश गएर कमाएर ले न । कति लाग्छ दिम्ला । अहिलेको जमानामा पनि...।”
लुमडीप्रसादको ऋण तिर्नुअघिसम्म बलरामले विदेश जाने विषयमा सोचेकै थिएन । जब लुमडीप्रसादले ‘कति लाग्छ म दिन्छु’ भने, बलारामको मनमा एकखालको छटपटी शुरु भयो ।
तल्लो गाउँको मदन र भुवन एकै साल मलेसिया गएका थिए । तीन वर्षपछि ७ लाख बोकेर आए । ६ महिनापछि गएको डाँडाको साइँलोले पनि २५ प्रतिशत ब्याजमा डेढ लाख ऋण गरेर गएको थियो । तीन महिनापछि कफिनमा सुतेर आयो । किरिया सकेकै भोलिपल्ट भएको जेथा लुमडीप्रसादको नाममा गरेर बूढी आमाले गाउँ छाडिन् । विचरी बूढी आमा अहिले बजारको होटलमा भाँडा माझेर बसेकी छन् ।
० ० ०
बलराम ओच्छ्यानमा पल्टेको छ तर निद्रा आएको थिएन । घरि यता घरि उता गरिरह्यो ।
“विदेश जाने हो भने पैसा हाल्दिन्छु भनेका छन् लुमडी बाजेले,” कमलाको कानमा मुख लगेर भन्यो बलरामले ।
कमलाले बलरामलाई जोडले आफूतिर तानी र कानमा फुस्फुसाई, “पर्दैन विदेश सिदेश । मलाई पनि लानी भएमात्रै ।”
सिरकले मुख छोपेर सुतेकी कमलाले बलरामलाई निकै बेरसम्म छोड्दै छोडिन । “विदेसाँ यस्तो पाइन्छ ?” कमला फेरि कानमा फुस्फुसाई । तर, बलराम निदाइसकेको थियो ।
बलरामलाई विदेश पठाए भविष्य उज्यालो हुने सपना देख्न थाली कमलाले पनि । तीन महिनापछि बलरामले खुर्सानी फूलको माला लगाउँदै गाउँ छाड्यो । त्यसपछि लुमडीप्रसाद कमलाका अभिभावक भए ।
सासू–ससुरा पहिल्यै बितेकाले कमला एक्ली थिई । दिनभरि मेलापातमा रमाउँथी । साँझ–बिहान घरमै बाख्रा–पाठा स्याहार्थी । दुई–चार पैसा आवश्यक प¥यो भने लुडमीप्रसादकै आँगन पुग्थी । एकछिन तोरी कुट्देको, बिस्कुल उठाइदेको हिसाब गर्दिनथी । पैंचोस्वरूप लुमडीप्रसादले पनि रुखका घाँस झारिदिन्थे । कोदो रोप्दा, मकै गोड्दा दुई–चार खेताला लुमडीप्रसादले नै जोहो गरिदिन्थे ।
झिमिक्क साँझ परेको थियो । आँगनछेउ सुन्तलाको बोटमा काली बाख्रो बाँधिएको थियो । तिलकने बोको उसकै वरिपरि हुतुतु ... गर्दै घुमिरहेको थियो ।
“यसबेलासम्म बाख्रा नहुलेर के ग¥या होला ?” लुमडीप्रसाद एक्लै बात गर्दै आँगनमा उक्ले ।
कमला बोलिन, हाँसीमात्रै । तिलकने बोकाका दुई वटा खुट्टा भुइँमा, दुई वटा काली बाख्रोको ढाडमा थिए । बोको एकैछिन डल्लो प¥यो ।
“बाख्रा थाम्या र’छ । राति सँगै थुन्दे हुन्छ,” लुमडीप्रसादले कमलालाई आदेश दिए ।
अँगेनामा आगो बलिरहेको थियो । कमला भात पकाउने सुरसार गर्दै थिई । लुमडीप्रसाद मूल ओछ्यानमा बसे ।
“तँ त अचेल झन्–झन् राम्री पो हुन थालिस् त,” लुमडीप्रसादले बोल्न बाँकी नै थियो, कमलाले जवाफ फर्काई, “तपाईंको गाउँको पानी नै राम्रो र नि त ।”
“बलेले पैसा पठाउन थाल्यो कि क्या हो ?” लुमडीप्रसादले फेरि सोधे ।
“पठाए नि मलाईभन्दा पहिला तपाईंलाई नै पठाउलान् नि ।”
कमलाको कुरा सुनेलगत्तै अँगेनाकै छेउमा पुगे लुमडीप्रसाद, “हैन कति नरम छाला । छाला नरम भा मान्छे त भाग्यमानी हुन्छ त ।” लुमडीप्रसादको हात कमलाको गालामा थियो ।
“होला ।”
लुमडीप्रसाद नजिक टाँस्सिएर हो कि क्या हो, बलेको जस्तै गन्ध आयो कमलालाई । साँझपख बले यसैगरी जिस्क्याउँथ्यो कमलालाई । उसको ज्यानबाट पसिनाको एकखालको गन्ध आउँथ्यो । त्यही गन्ध कमलालाई बास्ना आए जस्तो लाग्थ्यो ।
आँटीमा बलिरहेको बत्ती पुतलीले झ्याप्पै निभाइदियो । कमला र लुमडीप्रसादको ज्यान टाँस्सिएर एकछिन मूल ओच्छ्यानमा लडीबुडी ग¥यो । राति सपनामा कमलाले बलेलाई देखी । त्यही दिन लुमडीप्रसादले कमलालाई भनेका थिए, “बलेले लिएको ऋणको ब्याज छुट गरिदिम्ला । ब्याजको पैसाले पेवा बाख्रा किनेर पाल् ।”
० ० ०
पाहुनाले पिँढी ढाके । भान्सामा परिकारहरू पाक्ने क्रम जारी छ ।
“ए हजुर ! साइत भयो, अब शुरु गरम्,” खासमा श्राद्ध तिथिमा गरिने कार्य हो तर लुमडीप्रसादले पण्डितलाई साइत पनि हेर्न निर्देशन दिन्छन् ।
आँगनमा रहेको मोठको छेउमा सिदा लगाएको छ । पण्डित चकटीमा बसेर विधि पढ्न शुरु गर्छन् । कुशासनमा बसेका लुमडीप्रसाद पण्डितजीकै निर्देशनअनुसार कर्म गर्दै छन् ।
आँगन ठूलो भएकाले मान्छेहरूको जमघटले कसैलाई अप्ठ्यारो परेको छैन । चार–पाँच जना जम्मा हुनेबित्तिकै आँटीमा राखेको गुन्द्री ओच्छ्याउँछन् र मिलेर बसिहाल्छन् । भित्तामा झुन्डिएको रेडियो मधुरो स्वरमा बजिरहेको छ । रेडियो आफ्नै तालमा गन्गनाइरहेको छ तर कसैले पनि चासो दिएका छैनन् । १२ बजेको समाचारको धून बजेपछि भने सबैको ध्यान रेडियोमै केन्द्रित भयो । अचेल गाउँमा पनि एफएमहरूले घण्टा–घण्टामा समाचार दिन्छन् । त्यसकारण घण्टा–घण्टामा मान्छेका कान ठाडा हुन्छन् ।
सधैंजस्तै थियो मुख्य समाचारको शीर्षक । सरकारको विरोधमा प्रतिपक्ष दलले माइतीघर मण्डलामा प्रदर्शन गर्ने, सार्वजनिक यातायातमा सिन्डिकेट कायमै, निजी शैक्षिक संस्था चर्को शुल्क असुल्दै, मन्त्रीका आफन्त घूस लिँदालिँदै पक्राउ ।
बीचको व्यापारिक विश्राम सकिएलगत्तै अर्को समाचार आयो— प्रविधिमा चामत्कारिक विकास । स्वर्गमा रहेका आफन्तसँग पृथ्वीका मान्छेले इमेलमा कुरा गर्न पाउने ।
समाचार बाँकी नै थियो, झ्याप्प बत्ती गयो । आँगनमा जम्मा भएका मान्छेहरू खासखुस कुरा गर्न थाले । लुमडीप्रसाद एकछिन ट्वाल्ल परे ।
“हैन पण्डितजी, के हो खास कुरा ? मलाई त अचम्म लाग्यो त !”
“अचम्म मान्न पर्दैन हजुर । अहिलेजस्तो मोबाइल फोनको सुविधा सत्यजुगमै थियो,” पण्डितजीले भने ।
“पुष्पकविमानको प्रसंग त सुन्नुभएकै होला । अहिलेको श्रीलंका, ऊ बेलाको लंकामा जानकै लागि बानरहरूले समुद्रमा पुलै बनाएका थिए । विज्ञान केही होइन । विज्ञानको सूत्र भनेको हाम्रो वेद हो । अहिलेका वैज्ञानिकभन्दा तगडा थिए हामा ऋषिमुनीहरू ।”
पण्डितजीको कुरा सुन्नेहरू अरू थपिँदै गए ।
“मैले त मोबाइल फोन किनेकै दिनाँ अनुमान गर्या थें । कुन दिनाँ स्वर्गमा बस्या हजुरबाले नाति भनेर बोलाउनुहुन्छ भनेर ।”
“देख्यौ ? श्राद्ध गर्दा विधि पुर्याउनुपर्छ भनेर मैले त्यसै भन्या हो ? ल हेर, आज मेरै बाको श्राद्धको दिनमा पृथ्वी र स्वर्गलोकबीच संवाद हुने कुरा सुन्न पायौं,” लुमडीप्रसादको कुरामा सही थापे पण्डितजीले ।
“अब चिन्ता गर्न पर्दैन हजुर । अब छिट्टै हजुरले आफ्ना पुर्खासँग कुरा गर्न पाउनुहुन्छ ।”
“ए मेरो मोबाइल कता छ, लेऊ त,” शिवकी आमाले मोबाइल फोन ल्याइदिइन् । मिसकल आएको छ कि भनेर हेरे, केही थिएन । जतनले छेउमै राखे मोबाइल । तीन महिनाअघि मात्रै सिंगारे खसी बेचेर किनेको ‘ओप्पो एथ्री सेभेन’ मोबाइलको सिंगारे खसीजत्तिकै माया लाग्छ उनलाई । त्यो पनि छोराको अस्ट्रेलियाको भिसा लागेसि किन्या । फोनमा भन्दा म्यासेन्जरमा कुरा गर्दा सस्तो पर्छ भन्दै छोराले फेसबुक पनि खोल्द्याथ्यो । डाटा अन गरेपछि इन्टरनेट चल्छ भन्ने थाहा थियो उनलाई । मोबाइलको डाटा अन गरेर छाडे ।
“पण्डितजी, अब पाहुनाहरूलाई चमेना खुवाउने बेला भएन ?” लुमडीप्रसादले सोधे ।
“भयो भयो, चमेना दिँदा हुन्छ,” पण्डितजीले चमेना खाने अनुमति दिएलगत्तै लुमडीप्रसादले फेरि आदेश दिए, “ल है पाहुनाहरू, चमेना खाऔं । श्राद्धमा आउनेले खानलाई लाज मान्न पाइन्न है ।”
भान्सामा भएका महिलाहरू खीर, पुरी, सेल, तरकारी अचार लिएर आँगनमा निस्किए । आँगनमा भएका पाहुनापाच्छा लाइन लागेर बसे । मध्यानीको भोजन शुरु भयो । पण्डितजी पढ्न थाले, श्राद्धको बाँकी काम शुरु भयो ।
श्राद्धमा बसेका लुमडीप्रसादको ध्यान प्रायः मोबाइलमै थियो । यदि श्राद्ध नसकिँदै स्वर्गमा भएका बासँग संवाद गर्ने अवसरमा पाएमा देशभरि उनको नाम कहलिने निश्चित थियो । आज उनको घरमा ५० जनाभन्दा बढी पाहुना जम्मा भएका छन् । यी पाहुनाको बीचमा १३ वर्षअघि बितेका बासँग सम्वाद गर्न पाए ! घरमा जम्मा भएका पाहुनाहरूले आ–आफ्नो ठाउँमा गएर हल्ला गर्ने थिए । श्राद्ध सकियो । बाको सन्देश आएन ।
“ल, छोरी–चेली यता आओ त टीका लगाऊँ,” लुमडीप्रसादले बोलाउनेबित्तिकै साना केटाकेटीहरू टीका लगाउन लाइनमा बसे । छेउमै भएको मोबाइलमा सन्देश आएको टोन बज्यो । यसो हेरे । बाको तस्बिर देखियो ।
“बाकै तस्बिर त हो,” लुमडीप्रसादले निकै बेर हेरे । दाह्री, जुँगा, ओठ, नाक सबै कुरा बासँग मिल्दो थियो ।
“छोरा ! तिमीले मेरो श्राद्ध साह्रै भव्य गर्ने गरेका रहेछौ, म असाध्यै खुशी छु,” अर्को सन्देश आयो, “हेर त, तिम्रा घरमा जम्मा भएका मान्छेहरू कति खुशी भएर भोजन गरिरहेका छन् ।”
लुमडीप्रसादले आँखा आँगनतिर डुलाए । गाउँका मान्छेहरू आँगनमा लाइन बसेर निकै मीठो स्वादमा खाइरहेका थिए । खीर, पुरी, सेल, दही— जसलाई जे मन लाग्छ, त्यही खाइरहेका थिए ।
“मलाई बाको सन्देश आयो, मलाई बाको सन्देश आयो !”
जोडले चिच्याउन मन लाग्यो लुमडीप्रसादलाई । किनकि, श्राद्धकै दिन उनलाई स्वर्गबाट बाको सन्देश आएको थियो । यसरी स्वर्गबाट इन्टरनेटमार्फत सन्देश पठाउने शायद उनका बा पहिलो पात्र थिए, देशकै ।
“बाबु ! तिमी धैर्य गर । मैले तिमीलाई सन्देश पठाएको कुरा कसैलाई नगर है,” अर्को सन्देश पढेपछि लुडमीप्रसादलाई नरमाइलो लाग्यो । यो सन्देश नयाँ खालको एपमार्फत आएको थियो, जहाँ प्रश्न सोध्ने विकल्प थिएन । फेरि अर्को सन्देश आयो, “बाबु ! नेपालीहरूले बिनाकाम म्यासेज र फोन गर्ने कुरा यहाँ पनि फैलिएको रहेछ । त्यसकारण एप नै यस्तो बनाएका छन् । तिमीले केही सोध्नै मिल्दैन । त्यसकारण तिमीले मेरो कुरामात्रै पढ्न पाउँछौ, मलाई केही सोध्न मिल्दैन किनकि मैलै यहाँबाट तिम्रो बारेमा सबै कुरा बुझिरहेको छु । अब एकछिन आफ्नो काम गर । म तिम्रो काम सकिएपछि मात्रै अनलाइनमा आउँछु ।” बाको फोटो अलप भयो ।
ज्वाइँ, भानिज र पाको उमेरका प्रायःले भोजन गरिसकेका थिए । साना केटाकेटी आँगनमा लाइन लागेर खाँदै थिए ।
“म त फोनमा बिजी भएँ,” लुमडीप्रसादले दुई बट्टा शिखर चुरोट ल्याएर खाटमा राखिदिए । केही महिलाहरू भान्सामा सघाउँदै थिए भने केही महिला पिँढीमा बसेर गफ गर्दै थिए । श्राद्धको दिन पाहुनाले नखाएसम्म मुखमा पानी पनि हाल्दैनन् । पण्डितजीको असाध्यै सम्मान गर्छन् । सिदा कहिल्यै बोक्न लगाउँदैनन् । आफूले भ्याएनन् भने पनि अरू कसैलाई बोकेर पठाउँछन् ।
“म त हिँड्नुपर्ने भो, आफैं गएर बस्तुलाई पानी खुवाउनु छ,” पण्डितजीले बिदा मागे । लुमडीप्रसादले फेरि खुट्टैमा ढोगे र बोतामा पोको पारेर केही पैसा दिए, दक्षिणास्वरूप, “यो भुरसी लिऊँ त हजुर ।”
पण्डितजी भुरसी गोजीमा हालेर उकालो लागे । घरमा आएका पाहुनामध्ये महिलाहरू भाँडा माझ्न, जुठो लोटाउन र सफाइका अन्य काममा व्यस्त थिए । पुरुषहरू क्रमशः आ–आफ्नो घरतर्फ लाग्दै थिए ।
मोबाइल फेरि टिङटिङ ग¥यो । यसो हेरेको, फेरि बाको फोटो देखियो, “छोरा ! यो आजको अन्तिम संवाद हुनेछ । अब फेरि मैले तिमीलाई कहिल्यै सन्देश पठाउन पाउनेछैन ।”
लुमडीप्रसादलाई लागेको थियो— बा कस्तो ठाउँमा हुनुहुन्छ ! मैले दिएको तर्पन पाउनुभएको छ कि छैन ! अँध्यारो–उज्यालो कस्तो ठाउँमा हुनुहुन्छ ! के खानुभा’छ ! के लाउनुभा’छ ! सब कुरा सोध्न मन थियो । आँखाबाट बलिन्द्र आँसु झर्न थाले । गला हिँक्कहिँक्क भयो ।
“बाबु तिमीले गरेको सबैथोक मैले पाएको छु । श्राद्ध सारै भव्य ग¥यौ, म निकै खुशी छु । अहिले स्वर्ग छिर्ने द्वारमा छु । आजसम्म यहीँ बस्न पाएको तिम्रै कृपाले हो ।”
“प्रणाम गरें बा,” भन्दै हातमा भएको मोबाइललाई ढोगे लुमडीप्रसादले ।
फेरि टिङटिङ आवाज आयो । अर्को सन्देश रहेछ, “छोरा ! अब मसँग एक मिनेटमात्रै समय छ ।”
“बा भन्नुस् । म तपाईंको लागि सबथोक गर्न तयार छु । के गरौं ?” लुमडीप्रसाद एक्लै बोले ।
फेरि सन्देश आयो, “बाबु ! तिमीले मेरो लागि निकै ठूलो त्याग ग¥यौ । मैले तिमीलाई जे–जे सिकाएँ, त्यही–त्यही ग¥यौ । हरहिसाबमा तिमी मभन्दा पनि कडा भएर निस्कियौ । मलाई गर्व छ तिमीप्रति । मैले उठाउन बाँकी आसामी पनि मेरो मृत्युपछि तिमीले उठाएछौ, म असाध्यै खुशी छु । म बिरामी हुँदा तिमी एक महिनासम्म अस्पतालमै बस्यौ । मर्नुभन्दा चार दिनअघिदेखि मैले ओछ्यानमा दिसा–पिसाब गरें । तिमीले कत्ति झर्को नमानी स्याहार ग¥यौ । स्याबास छोरा, स्याबास ! पृथ्वीमा त खराब काम गरे पनि थोरै राम्रो गरेपछि हाईहाई होइन्छ । यहाँ त त्यस्तो हुँदो रहेनछ । यहाँ त प्रत्येक कुराको हिसाब हुँदो रहेछ । गाउँका मान्छेले सोधे भने बाले स्वर्गबाट फोन गर्नुभाथ्यो भन्दिनू । म अहिलेसम्म स्वर्ग जाने ढोकैमा छु । बाबु, कसैलाई पनि नभन्नू ल । मेरो अब स्वर्गको बास सकियो । अब पूरै जीवन नर्कमा गएर बिताउनु पर्नेछ । नर्कमा इमेल, इन्टरनेट केही छैन । सधैं जंगलमा बस्नुपर्छ रे– स्याल, मुसालाई साथी बनाएर ! गाविस सचिव हुँदा वृद्धभत्ता बाँड्ने क्रममा डाँडागाउँका चार जना अक्षर नचिन्ने बूढीआमाको पैसा पाँच वर्षसम्म खाएको थिएँ । त्यसैको सजायस्वरूप अब मेरो बाँकी जीवन नर्कमा बित्ने भएको छ ।”
“तँसँग अब जम्मा ३० सेकेन्ड बाँकी छ, छिटो कुरा सक्,” निकै ठूलो स्वरमा राक्षसको जस्तो आवाज लुमडीप्रसादले पनि सुने ।
“बाबु, म मरेपछि तिमीले आमालाई वृद्धाश्रममा लगेर राखेछौ । सक्छौ भने आमालाई घरमै लिएर आऊ । बाउ–आमालाई नपाल्ने छोराछोरीलाई यहाँ त तेल तताएर कराईमा डुबाउँदा रहेछन् ।”
फोन काटियो । लुमडीप्रसादले एकछिनसम्म फोनमा हेरिरहे । अघि देखिएको बाको तस्बिर पनि हरायो ।
० ० ०
सबै पाहुनाले खाइसकेपछि स्वादले भात खान्थे लुमडीप्रसाद । आज पटक्कै रुचेन । थोरै दही र भात खाएर उठे ।
“आज हजुरलाई सन्चो छैन कि क्या हो ? अनुहार पनि मलिन छ,” शिवकी आमाले सोधेको प्रश्नको जवाफ दिएनन् ।
दिनभरिको थकानले होला— शिवकी आमाले अनुमान गरिन् । उनलाई पनि थकाइ चर्को लागेको थियो, बेलैमा निदाइन् । लुमडीप्रसादलाई पटक्कै निद्रा लागेन । झल्झली बाले भनेको कुरा याद आइरह्यो ।
“बाउ–आमा नपाल्ने छोरालाई यहाँ त तेल तताएर कराईमा डुबाउँदा रहेछन्...” बाको यही शब्दले घोचिरह्यो ।
बा बितेको दोस्रो वर्ष आमालाई पेटसम्बन्धी समस्या देखियो । काठमाडौं लगेर वीर अस्पतालमा जाँच गराए, डक्टरले केही औषधि लेखिदिए र अन्तिममा भने, “तपाईंकी आमालाई अल्सर भएको छ । अलि बढी ख्याल गर्नुहोला ।”
आमालाई लिएर घर पुग्नेबित्तिकै पिँढीमा मान्छे भरिए । के भयो, कसो भयो, डाक्टरले के भने आदि । नयाँ मान्छेले भेट हुनेबित्तिकै लुमडीप्रसादलाई सोधिहाल्थे, “आमालाई के भएको रहेछ ?”
आमालाई सन्चो हुँदै गयो । बाको निधन हुनुअघिसम्म बिहान–बेलुकाको भातभान्सा आमाले गर्दै आएकी थिइन् । शिवकी आमा घरबाहिरको काम गर्थिन् । सासू बिरामी भएपछि हो शिवकी आमा भान्सामा पसेकी ।
डक्टरले दिएको औषधि सकियो । आमा रोगमुक्त भइन् ।
“अब त बज्यै ठीक हुनुभयो । भात त बज्यैले नै पकाउनुपर्ला,” शिवकी आमाले आग्रह गरिन् ।
“मैले जति गर्नु गरें । अब भातसात पकाउन सक्दिनँ । तिमेरले पकाएर दिए खाम्ला, नदिए यस्सै बसम्ला,” आमाले भनिन् ।
“यस्सै बसेर खान त हातखुट्टा कुँजो भा छैन । लाज पनि त होला नि !”
सासू–बुहारीको ठोलाबाजी लुमडीप्रसादले पिँढीमा बसेर सुनिरहे, केही बोलेनन् । त्यत्ति नै हो, सासू–बुहारीबीचको विवाद । सासू–बुहारीको बोलचाल पूरै बन्द भयो । आमा र श्रीमतीको बोलचाल बन्द भएको लुमडीप्रसादलाई पनि राम्रो लागेन । आमाले कुनै गुनासो गरिनन् । शिवकी आमाले दिनदिनै गुनासो गरिन् ।
“म बस्तुभाउ स्याहारूँ कि तपाईंकी आमालाई ?” शिवकी आमाले प्रश्न गर्थिन् । लुमडीप्रसाद बोल्दैनथे । लुमडीप्रसाद घरमा भएका बेला शिवकी आमाले राम्रै व्यवहार गर्थिन् । यसो यताउति नाता कुटुम्बकोमा गएका बेला भने आमाको बिजोक हुन्थ्यो ।
शिवकी आमा माइत गएकी थिइन् । आमाले लुमडीप्रसादलाई भनिन्, “बाबु, मलाई देउघाटमा लगेर राख्दे । म यहाँ बस्न सक्दिनँ ।”
“म पालिहाल्छु नि आमा,” लुमडीप्रसादले कुरा सकाएका थिएनन्, आमाले भनिन्, “तँलाई मैले ९ महिना कोखमा राखेर जन्माएकी हुँ, म तेरो अनुहारमा दुःख देख्न सक्दिनँ ।”
“शिवकी आमालाई म सम्झाउँछु आमा ।”
आमाले भनिन्, “मलाई थाहा छ तँ सम्झाउँछस् । मलाई अर्को कुरा पनि थाहा छ, शिवकी आमाले कहिल्यै सम्झिन्न । तँ पनि साँच्चै मलाई माया गर्छस् भने मलाई देउघाट लगेर राख्दे । म तँलाई सधैं आशीर्वाद दिनेछु ।”
० ० ०
बिहान झिसमिसे नै थियो । लुमडीप्रसादलाई निद्राले छोड्यो । मोठको छेउमा राखेको अम्खोराको पानीले मुख धोए । ‘मंगलम् भगवान विष्णु ...’ भन्दै बाटो लागे । दोबाटो नपुग्दै कमला रित्तो गाग्री लिएर पँधेरोतिर जाँदै रहिछे । लुमडीप्रसादलाई देखिहाली, “लौ न ! कता जान लाग्नुभा होला, म त रित्तो गाग्री बोकेर हिँडिरा’छु । एकैछिन बस्नुस्, म भरेर ल्याइहाल्छु ।”
कमलाले हतार–हतार गाग्री भरेर ल्याई । गाग्रीमा दुई रुपैयाँको सिक्का चढाएर लुमडीप्रसाद बाटो लागे । रिचोकटार पुगेपछि गाडी रोक्कियो ।
“जाम त लामै होला जस्तो छ,” चालकको कुरा सुन्नेबित्तिकै यात्रुहरू रोक्किए । चाउचाउ, चिजबल, पानी बेच्नेहरू चर्को स्वरमा चिच्याउँदै थिए । लाग्थ्यो— यस्ता जाम उनीहरूका लागि एकखालको उत्सव हो । लुमडीप्रसादलाई बसबाट ओर्लन मन लागेन । बसमै बसिरहे । अरू तीनजना यात्रु बसमा चढे ।
“के भएको रहेछ ?” लुमडीप्रसादले अपरिचित यात्रुलाई सोधे ।
“नारायणघाटबाट काठमाडौं आएको बसले मुग्लिनमा दुई वटा हाँस किचिदिएछ, त्यसैको जाम ।”
हाँसवाला साहू र गाडी साहूबीच चार घण्टाको वार्तापछि बाटो खुल्यो । लुमडीप्रसाद देवघाट पुग्दा दिउँसोको ३ बजेको थियो । १२ वर्षअघि र अहिलेको देवघाटमा निकै धेरै अन्तर आएछ । पहिला घरहरू थोरै थिए, अहिले धेरै भएछन् । नारायणी नदी आफ्नै गतिमा सुसाइरहेको थियो । आमा कुन घरमा छिन्, लुमडीप्रसादलाई थाहा थिएन । कसैलाई सोध्न पनि अप्ठ्यारो लागिरहेको थियो । के भनेर सोध्ने ? एकछिन टक्क अडिएर यताउति हेरे । कोही चिनेको मान्छे भेट पो भैहाल्छ कि ! नदीकिनारमा केही मान्छेहरू झुरुप्प थिए । उनले सोचे, “कुनै मेला होला, बरु त्यतै लाग्छु ।”
लुमडीप्रसाद जति नजिक पुग्थे, भीडमा कल्याङमल्याङ त्यति नै बढी हुन्थ्यो ।
“आमा राम भन्नुस्,” बूढी मान्छेको स्वर सुनियो । लुमडीप्रसादले छिटोछिटो पाइला चाले । लुडमीप्रसाद आउँदै गरेको भीडमा भएका मान्छेले पनि देखेका थिए । भीडको बीचमा नदी किनारमा एउटी आमा सुतिरहेकी थिइन् । निधारको बिउँत देख्नेबित्तिकै लुमडीप्रसादले आमाको अनुहार चिनिहाले । आँखा चिम्म गरेर आमा शान्तसँग निदाइरहेकी थिइन् । लुमडीप्रसाद छेउमै पुगे र बोलाए, “आमा !”
आमाले आँखा हेरिन् । मुसुक्क हाँसिन्, “बाबु आइपुग्यौ ?”
“आइपुगें आमा । मबाट गल्ती भो आमा । मलाई माफ गर्नुस्,” लुमडीप्रसादले आमाको खुट्टामा ढोगे । आमाले इशाराले छोरालाई उठाइदिन आग्रह गरिन् । लुमडीप्रसादले आमालाई उठाए । आमा सजिलै उठिन् । कपाल सेतै फुलेको, गोरो वर्णकी आमाको अनुहारमा एकखालको तेज थियो ।
“आफ्नो सन्तानजस्तो पनि अरू हुन्छ ? हेर्नुस् त, छोरालाई देखेपछि आमा कति खुशी हुनुभाको,” आमालाई सेवा गरेकी महिला बोलिन् ।
“म असाध्यै खुशी छु बा तिमीहरूदेखि । तिमीहरू सबैले मेरो लागि गर्नु गर्यौ । तिमीहरू सबैलाई मेरो आशीर्वाद छ ।”
आमाको कुरा सुनेपछि लुमडीप्रसादको आँखाबाट आँसु झर्यो । आमाले दाहिने हातले छोरोको आँसु पुछिदिइन्, “छोरो मान्छे भएर पनि रुन्छन् ? मेरो आशीर्वाद छ ।”
छोरोको अनुहारमा आमाले एकोहोरो हेरिरहिन्, “बुहारीलाई सन्चै त होला ?”
“सन्चै छ आमा । अहिले त ऊ पनि तपाईंको बारेमा पीर मानिरहन्छे,” लुमडीप्रसादले भने ।
“पीर मान्न पर्दैन । मेरो आशीर्वाद छ भन्दिनू,” आमाले भनिन्, “मोबाइल बोक्या छस् ?”
आमाको आकस्मिक प्रश्नले लुमडीप्रसादलाई अचम्म लाग्यो र हत्तपत्त गोजीबाट झिके, “बोक्या छु आमा यी । तीन महिनाअघि किनेको ।”
“आमा–छोराको एउटा सेल्फी खिचौं न त,” सेल्फीका लागि मुख चुच्चो बनाउन खोज्दाखोज्दै आमाको बोली बन्द भयो । ज्यान चिसो भएर आयो । वरिपरिका मान्छे जोडले कराउन थाले, “रामनाम सत्य हो, राम नाम सत्य हो ...!”