
— राजु अधिकारी
(१)
बासँग जजमानहरूको गाह्र जान मलाई निकै मन पथ्र्यो । पुरेतको छोरो भनेर मलाई विशेष सुविधा थियो । केरा र खिर मलाई निकै मन पथ्र्यो । कतै पूजा हुन थाल्यो भने बाको पछि लागेर म दौडिहाल्थें । म सम्झिने उमेरको हुँदा हामी देवीस्थानको मन्दिरअगाडि बनाइएको एउटा सानो झुपडीमा बस्थ्यौं । बा त्यही देवीस्थान मन्दिरको पुजारी हुनुहुन्थ्यो । त्यहाँ चढाइएका अन्न, फलफूल र दान–दक्षिणा अनि अरू जजमानको घरमा गएर बाले गर्ने पुरेत्याइँले हाम्रो दैनिक गुजारा चल्थ्यो । हाम्रो घरमा जहिले पनि रंगीन भात पाक्थ्यो । जजमानको घरबाट ल्याएको चामलमा रातो, पहेंलो अक्षता जसरी भए पनि परिहाल्थ्यो । अनि जति धोए पनि नजाने ।
बाले जस्तै मैले पनि सानो छँदा धोती लगाउँथें । मन्दिरमा चढाएको सेतो, पहेंलो जस्तो कपडा हुन्छ, त्यसलाई कम्मरमा बेरेपछि धोती भइहाल्यो । सजिलो पनि, किन्नु पनि नपर्ने ।
अलि ठूलो भएपछि म स्कुल जान थालें । पहिलो दुई–चार दिन म धोती नै लगाएर स्कुल गएको थिएँ तर साथीहरूले निकै जिस्काउन थाले । कसैले ‘बाहुन काठा सुँगुर पाठा’ भन्थे, कसैले धोती तानिदिन्थे अनि मलाई रिस उठेर उनीहरूलाई गाली गर्दा उल्टै मलाई ‘आलुको तरकारी सिन्कीको झोल, बाहुन काठा ठीकसँग बोल्’ भनेर गाली गर्थे ।
एकदिन उनीहरूले मेरो धोती तानेर मलाई नांगै बनाई घर पठाए । म रुँदै घर गएँ र लाजले अर्को दिनदेखि स्कुल जान छोडें । बाले निकै फकाइफुल्याइ गरेर मलाइ स्कुल जाने बनाउनुभयो तर मेरो एउटा शर्त थियो— मैले अब कहिल्यै धोती लगाउनेछैन ।
छोरो स्कुल जान्छ भनेर बाले पनि मान्नुभयो । त्यो दिन मैले कैंची ल्याएर मेरा सबै सेता, पहेंला धोतीहरू दनादन टुक्रा–टुक्रा पारेर काटें ।
(२)
धोतीबाट छुटकारा पाएपछि म खुरुखुरु स्कुल जान थालें । तर, धोती छुटे पनि सबैलाई थाहा थियो म बाहुन हुँ भन्ने । त्यसैले मलाई उनीहरूले ‘बाहुन काठा सुँगुर पाठा’ भनेर जिस्काउन छोडेनन् । असह्य भएपछि मैले स्कुल छोड्ने निर्णय गरें ।
“बा म स्कुल जान्नँ,” एकदिन साहस निकालेर मैले बालाई भनें ।
“किन ? फेरि के भो र ?” बाले सोध्नुभयो ।
“बाहुन काठा सुँगुर पाठा भनेर दिनदिनै जिस्काउँछन्,” मैले मलिन अनुहार बनाउँदै उत्तर दिएँ ।
“बाहुनको छोरो नपढेर कहाँ हुन्छ र ? तेरो पछि जिन्दगी चलाउने नै त्यही पढाइले नै हो । पुरेत्याइँ गर्न भए पनि, अरू जागिर खान भए पनि नपढेर त हुँदै हुँदैन । सहनुपर्छ । अहिले दुःख गरे पछि सुख पाइन्छ । जिस्काउनेहरू जिस्काइरहन्छन् । हात्ती हिँड्दै छ, कुकुर भुक्दै गर्छ,” बाले मलाई सम्झाउन अनेक कोसिस गर्नुभयो । तर, म सम्झिने स्थितिमा थिइनँ ।
“जति गरे पनि म त्यो स्कुलमा त जाँदै जान्नँ,” मैले अड्डी कसें ।
“उसो भए अर्को स्कुलमा जा न त । पढाइ छोड्ने कुरो त गर्दै नगर्,” बाले उपाय लगाउनुभयो ।
“हुन्छ, बरु स्कुल सर्छु तर त्यो स्कुलमा त मरे पनि जान्नँ,” मैले पनि स्वीकारें ।
गाउँदेखि अलि टाढा हामीलाई नचिन्ने ठाउँको स्कुलमा एक्लै गएर मैले नाम लेखाएँ । नाम लेखाउँदा बालाई थाहा नदिएर आफ्नो थर काटें । ‘मोहनदास शिवाकोटी’बाट दोहोरो अर्थ लाग्ने ‘मोहन दास’मात्रै राखें ।
(३)
त्यो स्कुलमा मलाई कसैले चिन्दैनथे । मैले आफ्नो थर काटेको हुँदा मेरो नामबाट मलाई बाहुन हो भनेर पनि भन्न गाह्रो थियो । त्यसैले म ढुक्कसँग पढ्दै गएँ । त्यहाँ कसैले मलाई दुःख दिएन । बाहुन नहुँदाको स्वत्रन्त्र जिन्दगी मैले निकै रमाइलोमा बिताएँ । स्कुल अलि दुर्गम ठाउँमा थियो । विद्यार्थी पनि धेरै थिएनन् । अधिकांश त्यहीँका स्थानीय ‘तल्लो’ जातका भनिनेहरू थिए । उनीहरू सबैको तुलनामा मेरो पढाइ निकै अब्बल थियो । बाले भनेजस्तै मेरो खाने भाँडो भनेकै पढाइ थियो, त्यसैले मैले मरिमेटी पढ्थें ।
पुरेत्याइँ गरेको पैसा जम्मा गरेर बाले सानो तिनो खेतबारी जम्मा गर्नुभएको त थियो तर घरबासभन्दा बढी थिएन । खेती–किसानीले पुग्ने कुरै थिएन । त्यसैले पढाइ नै मेरो लागि सबैथोक थियो । अरू विद्यार्थीहरूले पढाइमा त्यति ध्यान दिँदैनथे, त्यसैले म त्यो स्कुलको हीरा थिएँ ।
पढेपछि त्यसको फल त प्राप्त हुने नै भयो । म कक्षामा सधैं पहिलो हुन्थें । पाठ्यक्रमको पढाइमात्र होइन, म अन्य विधाहरू— जस्तैः निबन्ध लेखन, वादविवाद, हाजिरी जवाफमा पनि निकै पोख्त थिएँ । स्कुलमा होस् या जिल्लास्तरीय प्रतियोगितामा— मैले केही न केही पुरस्कार पड्काइहाल्थें । त्यसमा पनि हाजिरीजवाफमा मेरो विशेष रुचि थियो । सामान्य ज्ञानका अधिकांश कुरा मैले कण्ठस्थजस्तै पारेको थिएँ । हाजिरीजवाफमा प्रश्न सोधी नसक्दै मलाई उत्तर थाहा भइसकेको हुन्थ्यो ।
म १० कक्षामा पढ्दा एकपटक जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता भयो । हाम्रो स्कुलबाट गएको टोली प्रथम भयो । टोलीनेता म थिएँ, त्यसैले मैले नै तुलनात्मक रूपमा राम्रो ज्ञान भएका छात्रहरूबाट टोली बनाएको थिएँ, जसमा अधिकांश ‘ठूलो’ जातका थिए । टोलीनेताको हैसियतमा म पुरस्कार लिन मञ्चमा गएँ । त्यहीबेला पुरस्कार बाँड्न आएका अतिथिले मेरो निधारमा अबिर लगाइदिन खोज्दा मैले कहिल्यै टाउकोबाट ननिकाल्ने ढाकाटोपी खस्यो अनि मेरो लामो टुप्पीले सबैलाई अचम्ममा पा¥यो । मेरो टुप्पीले मलाई निकै लज्जित बनायो । तर, त्यो लाजभन्दा ठूलो कुरो अर्को दिन स्कुल गएपछि थाहा भयो— उनीहरूले म बाहुन भएको पत्ता लगाए । बाहुन भएकोले घरमा राम्ररी पढ्ने वातावरण पनि भएको अनि बाहुन भएकैले मैले हाजिरीजवाफमा छानीछानी ‘ठूलो’ जातिकालाई आफ्नो टोलीमा राखेको प्रचार गरियो । टुप्पीले गर्दा मैले बेइज्जती र लाञ्छना भोग्नु प¥यो । त्यही दिन घर आएर बालाई नभनी सुटुक्क आफ्नो टुप्पी काटें ।
(४)
धन्न एसएलसी आउन धेरै बाँकी थिएन, त्यसैले त्यो स्कुलमा मेरो बाहुनको पहिचान खुलेपछि धेरै बस्नु परेन । एसएलसी पास गरेपछि शहर गएर क्याम्पस पढ्न थालियो । घरको स्थिति त्यही नै हो, बा पनि अलि बूढो हुनुभयो । पुरेत्याइँ गर्न पनि कम गर्नुभएको थियो । त्यसैले पढ्नुभन्दा कतै जागिर पाइन्छ कि भनेर म जागिर खोज्नतिर लागें । प्रहरीको जागिर खुलेको थियो, निवेदन हालें । शरीर नापजाँच हुँदा मैले लुगा फुकालें । जनै देखेर त्यो जाँच गर्ने मान्छे हाँस्यो र भन्यो, “ए बाजे ! बाहुन भएर पुरेत्याइँ नगरी के प्रहरी हुन आ’छौ ? अनि जनै फुकालेर आउनु पर्दैन ?”
मैले केही उत्तर दिइनँ, हाँसेमात्रै । मेरोजस्तो सुकेको जिउलाई कसले प्रहरी बनाउँथ्यो र ? तैपनि मलाई आशा थियो । तर, उनीहरूको जनैप्रतिको वक्रदृष्टि देखेर मलाई जनैदेखि नै रिस उठ्यो— शायद त्यो जनै नभएको भए प्रहरीको जागिर भइहाल्थ्यो कि जस्तो पनि लाग्यो । अनि त्यसै दिन आएर मैले राति सुटुक्क जनै पनि काटें ।
(५)
प्रहरीमा पस्न नपाएकोले मलाई निकै नरमाइलो लाग्यो । बाहुन भएकोमा पछुतो लाग्न थाल्यो तर पनि मैले हार मानेको थिइनँ । दुई महिनापछि लोकसेवाको आवेदन खुल्यो । लोकसेवाका लागि पहिलेदेखि नै तयारी गरिरहेको थिएँ । लोकसेवामा नाम निकालेर सबैलाई देखाउनु थियो अनि जागिरे भएर बाबु–आमालाई पनि सुखमा पाल्नु थियो । सामान्य ज्ञानको विज्ञजस्तो नै भएकोले मलाई लोकसेवा त्यति गाह्रो हुने कुरै भएन, मेरो नाम पहिलो नम्बरमा निस्क्यिो । भित्तामा टाँसेको नाम निस्केको सूची हेर्न जाँदा भीड छिचोल्दै म अगाडि पुगें । आफ्नो नाम पहिलो नम्बरमा देखेपछि खुशी नहुने कुरो भएन, म खुशीले कराएर त्यहीँ उफ्रिएँ । म खुशीले कराएको देखेर सबैले अचम्म मान्दै हेरे । मैले लाज मान्दै मेरो नाम पहिलो नम्बरमा निस्किएको बताएँ । तर, त्यो थाहा भएपछि त्यहाँ परिणाम हेर्न आएका र विशेषगरी नाम ननिस्केकाहरू अधिकांशको अनुहार अँध्यारो भयो । म बाहुन भएर पहिलो नम्बरमा नाम निस्केकोजस्तो गरेर हेर्दै थिए । यो मेरो शंकामात्रै पनि हुन सक्थ्यो ।
तर, उनीहरूलाई कसरी थाहा भयो ? मलाई अचम्म लाग्यो । मसँग धोती पनि थिएन, थर पनि मैले काटिसकेको थिएँ । नाम निस्केको सूचीमा मेरो थर थिएन । मैले टुप्पी पनि काटिसकेको थिएँ, जनै पनि काटेको थिएँ । अझै के बाँकी थियो र बाहुनको चिन्ह ?
मलाइ अचानक याद आयो— मेरो चुच्चो नाक । सबै काटे पनि नाकै त म कसरी काटूँ र ? म भीडबाट सुलुक्क बाहिर निस्केर बाले भने जस्तो ‘हात्ती हिँड्दै गर्छ, कुकुर भुक्दै गर्छ’ भन्ने लोकोक्ति सोच्दै बाटो लागें । जसले जति डाह गरे पनि अब मलाई मतलब थिएन । मलाई जागिर खान कसैले रोक्न सक्ने स्थिति थिएन । म बाहुन हुँ भन्न पनि मलाई समस्या थिएन । पछि अन्तर्वार्तामा पनि मैले गर्वका साथ आफू बाहुन भएको बताइदिएँ ।
केही दिनपछि लोकसेवाको नतिजा सार्वजनिक भयो । म फुर्तीका साथ नाम निस्केको सूची हेर्न फेरि भीड छिचोल्दै अगाडि गएँ । तर, आफ्नो नाम देखिनँ । मलाई विश्वास थिएन आफ्नो नाम नहोला भनेर । दोहा¥याएर, तेहे¥याएर हेरें । जतिपटक हेर्दा पनि मेरो नाम फेला परेन । मैले नाम निकालेकाहरूको सूची हेरें— महिलाहरू छानिएछन्, दलितहरू छानिएछन्, अशक्तहरू छानिएछन्, हिमाली÷पहाडी÷मधेसीहरू छानिएछन्, म छानिइनछु । मलाई निकै लाज लाग्यो । बाहुन भएर जाबो लोकसेवामा पनि नाम निकाल्न सकिएन भनेर ग्लानि भयो ।
मैले बाहुनको धोती, थर, टुप्पी, जनै त पहिले नै काटिसकेको थिएँ । बाँकी भएको एकमात्र चिनो मेरो त्यो तिखो नाक चक्कुले काट्न त सकिनँ तर लोकसेवामा फेल भएर काटें ।