site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मृत्युको आयु बजारमा

काठमाडौं । जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका सशक्त हस्ताक्षर रवीन्द्र समीरको नयाँ कृति मृत्युको आयु बजारमा आएको छ ।  वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपश्चात् त्यस व्यक्तिको आत्माको दृष्टिकोणबाट लेखिएको यो नवीनतम कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा सुन्दर रुपमा प्रस्तुत गरेको छ । 

यस कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाहरुका रुपमा पढ्न सकिने ससाना कथाहरुलाई उनेर लेखकले उपन्यास बनाएका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यही नयाँपनलाई लक्ष्य गर्दै आख्यानकार नयनराज पाण्डेले भने, “एउटा खास किसिमको फम्र्याटमा आइरहेको नेपाली आख्यान क्षेत्रमा मृत्युको आयु फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको छ ।” उनले थपे, “रेमिट्यान्सको भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्छ । ब्ल्याक ह्युमरको प्रयोग यो सूत्र उपन्यासको अर्को बलियो पक्ष हो ।”

स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी रहेको आख्यानकार अमर न्यौपानेले बताए । भने, “खाडी मुलकहरुबाट वार्षिक सयौंको सङ्ख्यामा रातो बाकस नेपाल आउँछन् । ती रातो बाकसमा उनीहरुको जीवनसँगै सपना र रहर पनि मृत भएर आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्व गर्ने एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो ।” 

त्यस्तै लेखक तथा व्यवसायी जीवा लामिछानेले भने, “वैदेशिक रोजगारीमा गएर आकस्मिक मृत्युवरण गर्नेहरुको दारुणिक कथा हो मृत्युको आयु ! मृतकको आत्माले कहेको यो कथा मार्मिक र अझ बढी पीडादायी छ !”

उपन्यासका बारेमा बोल्दै लेखक समीरले भने, “लघुकथाहरुलाई बुनेर उपन्यास बनाउने प्रयोग मैले यस कृतिमा गरेको छु । यसका एक सय ६६ लघुकथा आफैंमा स्वतन्त्र छन् । यिनबाट बनेको सिक्री उपन्यास पनि आफैँमा स्वतन्त्र छ, फूल र माला जस्तै ।” 

समीरका आठ ओटा लघुकथा सङ्ग्रह, एकएक ओटा मुस्तक सङ्ग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन् । मृत्युको आयु उनको बाह्रौं साहित्यिक कृति हो । उनले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन् । 
पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६  ०७:०२
प्रतिक्रिया दिनुहोस्