
काठमाडौं । कृष्ण साहित्य सदनले बालसाहित्यका क्षेत्रमा क्रियाशील व्यक्तित्व शान्तदास मानन्धरलाई ‘रमाइला नानी बालसाहित्य पुरस्कार’द्वारा सम्मानित गरेको छ ।
काठमाडौंमा मंगलबार साहित्य सदनद्वारा आयोजित एक कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले मानन्धरलाई सो बालसाहित्य पुरस्कार तथा सम्मान प्रदान गरे । साहित्यकार कृष्णप्रसाद पराजुलीको ८५औं जन्मजयन्तीको छेको पारेर सो सम्मान प्रदान गरिएको हो ।
सम्मानित स्रष्टालाई सम्मान-पत्रसहित २१ हजार रुपैयाँ नगद राशी प्रदान गरियो । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यकार कृष्णप्रसाद पराजुलीको साहित्यिक योगदानका बारेमा चर्चा गरे ।
डा. शैलेन्दुप्रकाश नेपालले बालसाहित्यमा कलम चलाउने साहित्यकारहरू कृष्णप्रसाद पराजुली र शान्तदास मानन्धरको व्यक्तित्व र कृतित्वका बारेमा उल्लेख गरे । प्रा. डा. चुडामणि बन्धुको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्तदास मानन्धर, संस्थाका संरक्षक शाश्वत पराजुली, यादव भट्टराईलगायतले बोलेका थिए ।
साहित्यकार पराजुली पुस्तक ‘रमाइला नानी’, ‘राम्रो रचना मिठो नेपाली’लगायत दर्जनौ कृतिका स्रष्टा हुन् ।