काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भूमिगत रुपमा आफ्ना गतिविधि बढाउँदै लगेको छ । गत फागुन अन्तिम साता सरकारले विप्लव समूहका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएपछि उसले भूमिगत रुपमा आफ्ना गतिविधि अगाडि बढाएको हो । प्रतिबन्धपछि कतिपय स्थानमा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ समेत भएको छ । यद्यपी विप्लव समूहले आफ्नो तर्फबाट कहिँ पनि प्रहरीमाथि आक्रमण नगरिएको दाबी गर्दै आएको छ ।
प्रहरी कारवाहीका क्रममा हालसम्म विप्लव समूहका सार्लाही इञ्जार्ज कुमार पौडेल र भोजपुरमा युवा मोर्चाका सदस्य तीर्थ घिमिरेको ज्यान गएको छ । पछिल्लो समय विप्लव समूहले पूर्वी नेपालका जिल्लाहरुमा आफ्ना गतिविधि बढाउँदै लगेको प्रहरी निष्कर्ष छ । सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी सुरज श्रेष्ठका अनुसार चन्दा आतंक, जनप्रतिनिधिलाई धम्क्याउने लगायतका गतिविधि विप्लव समूहले गर्दै आएको छ ।
प्रहरी स्रोतका अनुसार विप्लव समूहका महत्वपूर्ण वैठक पनि सुरक्षा संयन्त्रको सहज उपस्थिति नहुने जंगल क्षेत्रमा हुने गरेका छन् । यसअघि पनि जंगलमै हुने गरेको सूचना प्रहरीले पाएको थियो । कतिपय तालिम केन्द्रमा सशस्त्र प्रहरीले छापा हानेपनि असफल भएको थियो ।
जसको नियन्त्रणमा लागि देशभर नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा ‘सर्च एण्ड अरेस्ट अपरेसन’ समेत चलाउँदै आएको छ । अपरेसनका क्रममा जनशक्ति अभाव भए नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट प्रहरी र सशस्त्रको विशेष फोर्स समेत परिचालन हुँदै आएको छ । सुरक्षा संयन्त्रलाई प्राप्त रिपोर्टअनुसार विप्लव समूहका सबैजसो नेता–कार्यकर्ता अर्धभूमिगत छन् । उनीहरुका हरेक गतिविधिमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले निगरानी गरिरहेको छ । पार्टीका महासचिव भने पूर्ण रुपमा भूमिगत छन् । पछिल्लो दुई वर्षयता उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
विप्लवको अन्तर्राष्ट्रिय ‘कनेक्सन’ खोज्दै प्रहरी
विप्लव नेकपाका महासचिव हुन् । उनी कहाँ बस्छन् सुरक्षा निकायले चाल पाएको छैन । विप्लव मोवाइल बोक्दैनन् । उनले स्याटलाइट सेट प्रयोग गरेको हुन सक्ने प्रहरी आकलन छ ।
जसको रेकर्ड सुरक्षा निकायले राख्न सक्दैन । विप्लव समूहकै एक नेताका अनुसार उनी झण्डै १५० बढी तालिमप्राप्त कार्यकर्ताको सुरक्षामा बस्छन् । उनका लागि पत्रिका उपलब्ध गराउने, खाना पकाउने, किताब पुर्याउनेसम्मको छुट्टै टोली छ । यहाँसम्मकि कमाण्ड इञ्जार्ज र केही सीमित व्यक्तिबाहेक अरुले विप्लवसँग भेट नै गर्न पाउँदैनन् ।
सुरक्षा संयन्त्रले विप्लव कहिले भारत र कहिले नेपालमै हुने गरेको सूचना प्राप्त गरेको जानकारी दियो । केही समयअघि विप्लव सिन्धुलीमा रहेको चर्चा सुरक्षा संयन्त्रभित्र चलेको थियो । विप्लवको खोजीका लागि नेपाल प्रहरीको टोली सक्रिय छ । तर विप्लव खोज्ने अभियानले सफलता प्राप्त गर्न सकेको छैन । यसबीचमा विप्लव समूहको अन्तर्राष्ट्रिय ‘कनेक्सन’ पनि प्रहरी लगायत सुरक्षा संयन्त्रले खोजिरहेको स्रोत बताउँछ ।
एक प्रहरी अधिकारी भन्छन्,‘‘उनको पार्टीको पछाडि कसको हात छ । उनलाई कसले बाहिरबाट सहयोग गरिरहेका छन् वा गर्न खोजिरहेका छन् । यी सबै कुरामा हाम्रो नजर छ ।’’ अन्तर्राष्ट्रिय तत्व वा शक्तिको सहयोग भएको भए त्यो अवस्था डरलाग्दो हुने सम्भावना रहने सुरक्षा अधिकारी बताउँछन् । खासगरी द्वन्द्व चर्काउने विभिन्न मुलुकका विद्रोही शक्तिलाई अदृश्य रुपमा बाह्य सहयोग हुँदै आएको छ । त्यो सहयोग भने आर्थिकदेखि हतियारसम्म हुन्छ ।
प्रहरीका एक उच्च अधिकारी भन्छन् ‘‘विप्लव समूह यतिबेला रक्षात्मक अवस्थामा छ । उनीहरुका एजेण्डाप्रति जनताको आकर्षण छैन । उनीहरु अहिले ठाउँ–ठाउँमा वम राख्ने र जनमानसमा त्रास कायम भइरहोस् भन्ने चाहन्छन् । ’’
‘अलर्ट’मा सुरक्षा निकाय
विप्लव समूहले जनसुकै बेला जुनसुकै स्थानमा शान्ति सुरक्षामा बाधा पुर्याउन सक्ने भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख्यालयले ‘अलर्ट’ रहन मातहतका निकायलाई निर्देशन दिएको छ । विप्लव समूहका केही गतिविधि शंकास्पद रहेको सूचना प्राप्त भएपछि यस्तो निर्देशन दिइएको हो । विप्लव समूहले सादा पोशाकमा खटिएका प्रहरीलाई निसाना बनाउन सक्ने भन्दै आन्तरिक रुपमा सतर्क रहन निर्देशन दिइएको एक अधिकारीले बताए ।
सुरक्षा रिपोर्टअनुसार पूर्वी नेपालका जिल्लामा पछिल्लो समय विप्लव समूहका गतिविधि बढेका छन् । विप्लव समूहले तत्कालीन माओवादीकै संरचनालाई अपनाएको पाइएको छ । उनीहरुले १४ अञ्चल र ७५ जिल्लाकै संरचनाका आधारमा आफ्नो पार्टी संरचना तयार पारेका छन् ।
नेताको जिम्मेवारी हेरफेर
चन्द नेतृत्वको नेकपाले पदाधिकारीको सांगठनिक जिम्मेवारी हेरफेर गरेको छ । अहिले चार कमान्ड र ११ ब्युरोमा विभाजन गरेर सांगठनिक, राजनीतिक एवं फौजी गतिविधि अगाडि बढाएको छ । १२ जेठमा राजधानीमा वम विस्फोटमा परी आफ्नै कार्यकर्ताको ज्यान गएपछि ब्युरो र कमान्डको नेतृत्वमा फेरबदल गरिएको हो । विप्लव पार्टीको महासचिव र उनीहरुले भन्दै आएको जनसेनाको सर्वोच्च कमाण्डर हुन् ।
विप्लवकै नेतृत्वमा नौ सदस्यीय सैन्य विभाग रहेको स्रोत बताउँछ । सैन्य विभागले नै सैन्य, राजनीतिक र सांगठनिक गतिविधि गर्दै आएको छ । विप्लवपछिका दोस्रो वरियताका नेता खड्गबहादुर विश्वकर्मालाई प्रवक्ता र मध्यकमाण्डको जिम्मेवारी दिइएको छ । बीचमा प्रकाण्डलाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको थियो ।
सन्तोष बुढा मगरलाई पूर्वी कमाण्डको जिम्मेवारी दिइएको छ । यसअघि उनी पश्चिम कमान्डको कमाण्ड थिए । यस्तै धमेन्द्र बास्तोलालाई सुदूरपश्चिम कमाण्डको नेतृत्व दिइएको छ । उनी अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत हुन् । पश्चिम कमान्डको नेतृत्व वीरजंग चन्दलाई दिइएको छ । वीरजंग विप्लवका दाइ र पार्टीका पोलिट्व्युरो सदस्य हुन् । अन्य कमाण्डको इञ्जार्ज सबै स्थायी समिति सदस्य भएपनि पश्चिम कमाण्ड भने पोलिटव्युरो सदस्यलाई दिइएको छ । हाल विप्लव समूहका ११ व्युरो छन् । यसअघि १४ व्युरो थिए । केही समयअघि बसेको स्थायी समिति वैठकले व्युरोको संख्या घटाएको हो । कोसी–मेची ब्युरो, सगरमाथा ब्युरो, जनकपुर ब्युरो, पूर्वी ताम्सालिङ ब्युरो, नारायणी प्लस चितवन ब्युरो, उपत्यका पश्चिम ताम्सालिङ ब्युरो, गण्डक ब्युरो बनाइएको छ । यस्तै धौलागिरी ब्युरो, भेरी कर्णाली ब्युरो, राप्ती ब्युरो र सेती महाकाली व्युरो बनाइएको छ ।