site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
लिभ वेल, लभ वेल, लीभ वेल

जसरी पाखुरीमुनि छाता र झोला च्यापेर छुट्नै लागेको बस समात्ने यत्नमा बेतालसFग दौड्दा मानिस अरूले के भन्लान् भन्ने चिन्ताबाट बेखबर हुन्छ त्यसैगरी चालीसको मध्यमा पुग्दा जिन्दगीका विसगंतिलाई लौरो बनाएर हिँड्दैगर्दा अरू मानिसले मेरा बारेमा के सोच्छन् होला भन्ने कौतुहल मबाट हराउँदै गएको छ  ।

यथार्थमा म को हुँ र जे गरिरहेछु त्यो किन गर्नुपरिरहेछ भन्ने प्रश्नले तिखो तर तर्कपूर्ण जवाफ मागिरहने कालखण्ड रहेछ यो दशक भनेजस्तो लागिरहेछ  । यही प्रश्नको जबाफका लागि आफूलार्इ साँचो अर्थमा खोज्न थालिरहेकोछु आजकल  । आफ्नो विगत, अध्ययन, अनुभव, सामाजिक एवं पारिवारिक सम्बन्धलगायतका गहन विषयवस्तुलाई दिमागको भकारीबाट बाहिर ल्याएर नयाँ बुझाइको मान्द्रोमा बिस्कुन लगाइरहेको छु म यस समयावधिमा । यसै कारणले भनिएको हुनुपर्छ यसलार्इ  जीवनको मध्यकालीन सकंटको घडी अर्थात् 'मिड लाइफ क्राइसिस'को दशक भनेर । पुन:मूल्यांकन एवं पुन:सिकाइका क्रममा मानिसले यसअघि सिकेका कुरालार्इ बिस्कुन बनाई सुकाउने क्रममा दिमागलार्इ लगभग शून्यको स्थितिमा पुर्‍याएको हुन्छ । म त्यही दशाबाट गुज्रिरहेको रहेछु अहिले । नयाँ सिकाइका लागि आफ्नो सक्कली सोच र आफू बाँचिरहेको जिन्दगीबिच तालमेल शून्य बनाएर म बसेकोछु ।

गत अक्टोबरदेखि करिब पाँच महिनासम्म म परिवार छोडेर भर्जिनियाबाट चार घन्टाको हवाई यात्रा गरी पुगिने मध्य पश्चिमी राज्य कलराडोको सदरमुकाम डेन्बरमा बस्नुपर्ने बाध्यकारी अवस्थामा थिएँ । आफ्नी पत्नीलार्इ दुई स्कुले छेाराछोरीसहितको जति गरे पनि नसकिने घर व्यवहार अनि व्यवसायको ठूलो भारी बोकाएर कलराडो पुगेपछि मसँग जागिरे कामबाहेक अरू गर्नुपर्ने व्यवहारहरू खासै थिएनन् ।

KFC Island Ad
NIC Asia

बाहिरबाट हेर्दा स्वतन्त्रजस्तो देखिए पनि म त्यस समयावधिमा सायद सबैभन्दा बढी लादिएँ त्यही समयसापेक्ष प्रश्नको जबाफको खोजीमा । बुद्ध बन्ने लालसा कदापि होइन तर जीवनमा बुद्धु हुनबाट बच्ने उत्कट चाहना थियो र अझै पनि छ ।

बउल्डर देखि कलराडोस्प्रिङसम्म पसारिएका हिमशैललार्इ शिरानी बनाईकन म धेरै रात घोत्लिएर बिताएँ । मित्रहरू विजय घिमिरेदेखि रामचन्द्र पन्त, सचिन मानन्धरहरूसँग म कलराडोस्प्रिङ, क्यासल रक अनि बाउल्डरसम्मका सानातिना पहाडहरू चढ्दै ओर्लँदै गरेँ । आफ्नै शरिररूपी ढुंगालार्इ घचेट्दै म चुचुरोमा पुग्दै खस्दै गरेँ । प्रत्येक चढाइ र झराइलार्इ जति ध्यानपूर्वक नियालेँ त्यतिकै व्यर्थ  व्यग्रताको नितान्त व्यक्तिगत अनुभव गरेँ ।

Royal Enfield Island Ad

विजयले अघिल्लो दिन स्यानिटास नामक पहाडको उकालो चढ्दाको रोमाङ्चक अनुभव सुनाउँदा मलार्इ उसले कुन सुनौलो यात्राको कुरा गरिरहेछजस्तो लागिरहेको थियो । म छुट्टिइसकेको थिएँ हिजो या अस्तिबाट । दिमागलार्इ खाली राख्ने यत्नमा जो थिएँ । वास्तवमा ती पहाडहरू चढ्दै गर्दा, अनि मेरा चर्म चक्षुले टाढा टाढासम्म देख्दै गर्दा मेरो ज्ञान चक्षु भने निष्पट्ट अन्धकारमा छटपटिइरहेको महसुस हुन्थ्यो । मैले आफ्नै अगाडिको ढुंगालार्इ कालो छायाको थुप्रोजस्तो देख्थेँ ।

बिहान साँझ वर्कआउट गर्दादेखि कामको सानो अफिसदेखि , बैठककक्षको सोफाको बसाइदेखि बिस्तरामा नपल्टिउन्जेल म सौम्य देखिन्थेँ तर मभित्र एउटा आँधी चलिरहेको हुन्थ्यो जसले मैनबत्ती त निभाउँथ्यो तर जगंलको डढेलोलार्इ अझ बढी ऊर्जा दिने सामर्थ्य राख्थ्यो । बाहिरबाट कसैले हेर्दा म शान्त देखिन्थेँ तर भित्रभित्रै म सूर्यको डल्लोलार्इ लुकाउने असफल यत्नमा थिएँ ।

पहाड चढ्दाका क्षणहरू होउन् या निष्क्रिय घरभित्र रहँदाका प्रहरहरू -- सबैले हानेका घण्टका मर्म मेरा कानका लागि उत्तिकै प्रवाह युक्त हुन्थे । आफ्नो मनको मन्दिरमा म दिनहुँ शरण पर्थेँ र आफ्नो अज्ञान गिड्गिडाइरहन्थेँ । तर, मान्द्रोमा सुकिरहेका मेरा पहिलेका अनुभव र सिकाइबाहेक नयाँ कुरा दिमागमा त्यति ठूलो ठाउँ हुँदाहुँदै पनि पस्न सकिरहेका थिएनन् । 

असिकाइ र नया कुरालार्इ ग्रहण गर्दा असुरक्षित भइन्छ कि भन्ने भयको पहाडले मेरो प्रयास माथि ठूलो धावा बोलिरहेकोथियो । जीवन दस वर्षे सुरुङ यात्रामा व्यतित भएको प्रतित भइरहेको थियो । वर्षको तीन सय दिन घाम लाग्ने ठाउँमा हुँदापनि मेरो मनको बादल फाट्न सकिरहेको थिएन । ओसिलो ठाउँमा महिनौदेखि हिउँ जमेर बरफ टाँसिएको धर्तीले मलार्इ चिप्ल्याउन खोजिरहेको थियो ।

दुनियाको सबैभन्दा ठूलो विश्वविद्यालय भित्ताहरूले घेरेको ठाउँ हैन बरू आफू वरपरको समाज हो भन्ने सुनेको थिएँ । तर, महसुस गर्न मलार्इ कलराडो पुग्नुपर्‍यो।

सचिनबाट मैले धेरै नयाँ कुरा सिकेँ । नयाँ कुरा सिक्न मैले उसको अगाडि आफु १५ वर्ष जेठो छु भन्ने दम्भ बिर्सनु थियो । यसमा मलार्इ सजिलो किन भयो भने मैले मेरा विपश्यना ध्यानपछि भाग्न नसकी दिमागको अन्तरकुन्तरमा लुकिबसेका दम्भलार्इ दिमागबाट निकालेर बिस्कुन जो लगाइसकेको थिएँ ।

मैले उसलार्इ भनेको थिएँ  गल्ती गर्दासाथ मलार्इ सचेत गराउनु भनेर । उदाहरणका लागि,  उसले मलार्इ म अरूसामु भावनात्मकरूपमा बहकिँदाका क्षणलार्इ मैले थाहै नपाउने गरी अडियो रेकर्ड लिन्थ्यो र हामी साझमा सँगै बसेर समीक्षा गर्थ्यौँ ।

बोल्दा एउटै कुरा दोहोर्‍याउने मेरो बानीले श्रोतामा हुने दिक्दारी, मैले दुई भाषा मिलाएर बोल्दा सुनिने हास्यास्पद अवस्थालगायत मेरो इमानदारी, सत्यको खोजी, मिड लाइफ क्राइसिसका कारक तत्त्व, राजनीति, पुँजीवाद, पुरूषवादी दम्भका रसायनिक ऊर्जा तथा महिलामा प्राकृतिकरूपमा हुने मानसिक उतारचढाव र त्यसको परिवार तथा सिंगो समाजमा पर्ने प्रभाव, आदिमा बहस हुँदा मैले त्यति सत्य सिके जति अर्धज्ञान पहिले जानी नजानी ग्रहण गरेको थिएँ ।

यी नयाँ पुराना साथीहरूसँगको भेट र जीवन शैलीले मेरो आफ्नो स्वकीय स्थान कति र कस्तो रहेछ जीवनमा भन्ने महसुस यति गहिरोसँग भयो कि म राजेश रञ्जितको जीवन कहिल्यै बिर्सन सक्तिन ।

साठी वर्ष पुग्नै लागेका राजेश एक यस्ता पात्र हुन् जसले मलार्इ मेरा चार दशकले नसिकाएको शिक्षा दिए । त्यति विशेष क्षमता केही नभए पनि सबै भएका ती राजेश जीवनमा अवसरले दिएको हाँगो समाएका तर  त्यहाँबाट न रुखमाथि चढ्न सकेका न जमिनमा झर्न सकेका त्यस्ता प्रतिनिधि पात्रहुन् जसले स्यामुअल वेकेटको "गोदोको प्रतीक्षा" नामक ग्रन्थका पात्रहरू भ्लादिमीर र इस्ट्रेन्जरको भन्दा सशक्त भूमिका खेलिरहेका छन् जीवनको यो बृहत् नाट्यशालामा । उनको कथालार्इ त एउटा छुट्टै लेखले मात्र न्याय गर्नेछ जस्तो लाग्छ ।

तर, पनि यत्ति चाहिँ भन्नै पर्छ कि उनी बाटोपारीको एउटै रेस्टुराँमा विगत चौध वर्षदेखि काम गर्दैआइरहेका छन् । वर्षको दुई दिन - थ्यांकस्गिभिगङ र क्रिसमस्मा मात्र बिदा लिन्छन् । बिहान बाटो काटेर रेस्टुराँ अनि साँझ फर्केर कोठाबाहेक उनलार्इ अमेरिका भनेको अरू पनि हो भन्ने थाहा छैन । दसैँमा नेपाल गएपछि नफर्कने बिचारमा छन् । धन्य छन्, अमेरिका बसेर पैसा कमाई घर पठाउन पाएकोमा । पत्नीसँग बाँकी जीवन खुसीसाथ जिउने आशामा छन् । त्यसबाहेक अरू केही सोच्न चाहन्नन् । 'जीवन भनेको बाँच्ने कुरा त रहेछ नि, हैन र कृष्ण सर?' मैले अल्झेको उत्तर दिउँला कि भनेर आफैँले बीट मार्ने गरी कुरा गर्छन् ।

यति हुदैगर्दा मेरा आँखा एकदिन म दिनहुँ ओहरदोहर गरिरहने बाटोको एक छेउमा रहेको मुर्दाघरको अगाडि लेखिएको छोटो वाक्यमा गएर टक्क अडिन्छन् ।

मैले सिकेका र अनुभवले सँगालिएका कुरा जस्तै त्यो वाक्य पनि सार्वजनिक स्थानमा सायद वर्षौंदेखि बिस्कुनमा सुकिरहेको थियो । सधैँ छुटाएको रहेछु पढ्नलार्इ । जहिले पनि ठूला अक्षरले लेखिएको त्यस मसान गृहको नाममात्र पढ्दै भाग्दै गर्ने आँखा र लम्कँदै गर्नेगरेका मेरा पाइला त्यसको ठीकमुनि लेखिएको सानो वाक्य एक साँझमा हिँउले ढाकिँदै गर्दा यन्त्रवत् रोकिए । सायद मैले महिनौदेखि खोजिरहेको कुरा त्यही थियो ।त्यसपछि मलार्इ सबै कुराको अर्थ बिस्तारै एउटा गणितको समस्या सुल्झेजस्तै सुझ्दैजान थालेको महसस भयो । जीवनको यस ठूलो रंगमंचमा केही दिनअगाडि चढेका उकालीओरालीहरूले समेत अर्थ दिन थाले ।

लिभ वेल, लभ वेल, लीभ वेल । अर्थात -- राम्रो जीवन बाँच; राम्रै मायामा बाँच; राम्रै छाप छाड । यसबाहेक मलार्इ जान्नुपर्ने बाँकी केही रहेन । मेरो 'मिडलाइफ क्राइसिस'को त्यो अन्तिम दिन थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २, २०७३  ००:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro