काठमाडौं । तत्कालीन नेकपा माओवादीका दुई नेता हुन्, रामबहादुर थापा ‘बादल’ र नेत्रविक्रम चन्द ‘विप्लव’ । सँगै सशस्त्र युद्धमा होमिएका दुई कमाण्डरमध्ये रामबहादुर थापा यतिबेला केपी शर्मा ओली नेतृत्वको सरकारका गृहमन्त्री छन् भने विप्लव सशस्त्र संघर्षमै ।
राजनीतिमा असम्भव, स्थायी शत्रु र मित्र कोही हुँदैन भन्ने मान्यता बादल–विप्लवको सम्बन्धले पनि देखाउँछ । कुनै समय प्रचण्डलाई ‘लालगद्दार’को संज्ञा दिँदै विप्लवसहित पार्टी छाडेर गएका थापाले गृह प्रशासन सम्हाल्दा प्रहरी कारवाहीमा विप्लव समूहका कार्यकर्ता मारिइरहेका छन् ।
पछिल्लो समय मारिएका व्यक्ति हुन्– सर्लाही जिल्ला इन्जार्च कुमार पौडेल । गत बिहीबार सर्लाहीमा मारिएका पौडेल जिल्ला इन्चार्जमात्रै नभएर कुनै समय बादललाई नै आदर्श मानेर सँगै एकै पार्टीमा थिए ।
गएको फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि प्रहरी कारवाहीमा मारिएका पौडेल उच्च तहका नेता हुन् । गृहमन्त्री थापाले पौडेलको मुठभेडमा ज्यान गएको बताइरहँदा विप्लवले विज्ञप्ति जारी गर्दै गैरन्यायिक हत्याको आरोप लगाएका छन् ।
उनीहरुले पौडेललाई पक्राउ गरेर प्रहरीले बर्बर तरिकाले हत्या गरेको आरोप लगाएका छन् । यस विषयमा मानवअधिकार आयोगले समेत छानबिन गर्दैछ । आफ्ना जिल्ला नेताको ज्यान गएपछि सरकारविरुद्ध विप्लवले ०६ असार ०७६ विज्ञप्ति जारी गर्दै हत्याको बदला लिने चेतावनी दिए ।
यस्तो छ, कुमार पौडेलको हत्यापछि जारी विज्ञप्ति
२८ फागुन ०७५ मा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगायो । सरकारले प्रतिबन्ध लगाएपछि देशभरबाट विप्लव समूहका ५ सय नेता–कार्यकर्ता पक्राउ परेका छन् भने दुई जनाको प्रहरी कारवाहीमा ज्यान गइसकेको छ ।
सरकारले प्रतिबन्ध लगाएपछि विप्लवले २८ फागुनमै विज्ञप्ति जारी गर्दै भनेका थिए, ‘‘दलालहरुले आफ्नो स्वार्थका लागि राज्यका अङ्गहरुलाई जथाभावी जनताका विरुद्धमा प्रयोग गर्दै आएका छन् । तर उनीहरु कहिल्यै सफल भएका छैनन् । केपी–बादल कम्पनीले पनि यही अपराधिक षड्यन्त्र गरिरहेको छ ।’’
प्रतिबन्धपछि विप्लवले जारी गरेको विज्ञप्ति
प्रतिबन्धपछि विप्लव समूहका नेता–कार्यकर्ता प्रहरी निसानामा छन् । त्यसो त मुलुकका विभिन्न स्थानमा विस्फोट गर्ने, बम राख्ने, चन्दा असुलीसहित गैरकानुनी कार्य विप्लव समूहले गर्दै आएको छ ।
विप्लव समूहमाथिको प्रतिबन्धबारे सत्तारुढ र प्रमुख प्रतिपक्षी दलसम्म विभाजित छन् । विप्लव समूहले भोजपुरमा मारिएका कार्यकर्ता तीर्थ घिमिरेको हत्या विरोधमा नेपाल बन्दको आह्वान गरेको थियो । नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौंको घट्टेकुलो र सुकेधारामा बम विस्फोट भए । विस्फोटमा विप्लव समूहकै चारजनाको ज्यान गयो । काठमाडौंमा भएको विस्फोटपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरिसकेको खुलासा गरे ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले जनसरकारको रुपमा जनपरिषद् भन्ने संस्थाको र जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरेको खुलासा गरेका हुन् ।
गृहमन्त्रीले विप्लव समूहको मुख्य निसानामा काठमाडौं उपत्यका रहेको दाबी गरे । गृहमन्त्रीको यो खुलासाले विप्लव समूहलाई झन् फाइदा पुर्याएको सुरक्षा मामिला जानकारको तर्क छ ।
तर नेकपाकै एक नेता भने चार कम्पनी सेना निर्माण गरेको सूचनाको खुलासा गरेपछि दमन गर्न सजिलो हुने निष्कर्षका साथ गृहमन्त्रीले त्यसो भनेको दाबी गर्छन् । पछिल्लो समय विप्लवसँग प्रचण्ड नरम रुपमा प्रस्तुत हुँदा बादल भने निकै कठोरताका साथ प्रस्तुत हुने गरेका छन् ।
राजनीतिक अस्थिरतातर्फ मुलुक
राज्यसत्ता नै परिवर्तनको नारा अघि सार्दै गोप्य रुपमा फौजी रणनीतितर्फ अगाडि बढेका विप्लव समूहका गतिविधि हिंसात्मक छन् । एकपछि अर्को गर्दै उसले गर्दै आएका विस्फोटनले त्यसको पुष्टि गर्छ । पछिल्लो चार–पाँच महिनाको घटनाक्रमलाई नजिकबाट हेर्ने हो भने सरकार र अहिलेको मूलधारको भनिएको राजनीतिक प्रक्रियाबाट अलग रहेको विप्लव नेतृत्वको नेकपाबीच टकराव बढ्ने सम्भावना प्रष्ट देखिन्छ । राज्य र विप्लव समूह दुवै एक अर्कालाई पूर्ण रुपमा निषेध गर्ने रणनीतिक योजनासहित अगाडि बढेको देखिन्छ ।
जानकारहरुको भनाइलाई आधार मान्ने हो भने पूर्वमाओवादीकै अन्तरकलहबाट विप्लवको असन्तोष बढ्दै जाँदा मुलुक अर्को हिंसाको चपेटामा पर्ने देखिन्छ ।
२२ फागनु ०७५ को प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमाओवादी वरिष्ठ नेता समेत रहेका डा. बाबुराम भट्टराईले विप्लव समूहको क्रियाकलापलाई गम्भीरतापूर्वक लिन सरकारलाई सचेत गराएका थिए । बाबुरामले भनेका थिए, ‘‘विप्लव समूहमा भर्भराउँदो युवाहरू देख्दा चिन्ता लागेर आयो । उनीहरू गम्भीर ढङ्गले लागेका छन् । हामीले बेलैमा विकास र समृद्धिको सपना पूरा गर्न सकेनौँ र हामीले जनतालाई सुशासन दिन सकेनौँ भने त्यो ज्वाला फेरि फर्केर आउने खतरा देख्छु ।’’
तर, प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाले भने राजनीतिक रुपमा भन्दा पनि प्रशासनिक रुपमा विप्लव समस्याको हल खोज्न लागिपरेको विश्लेषकहरुको तर्क छ ।
प्रतिबन्धबारे बादलको त्यो प्रस्ताव
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निष्कर्षसहित गतिविधि नियन्त्रण गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री रामबहादुर थापाले नै गरेका थिए । सत्तारुढ एउटा कम्युनिष्ट पार्टीको सरकारले विद्रोही कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने विषयमा पार्टीमा कुनै छलफल नै नगरेको भन्दै पूर्वमाओवादी नेताहरुले खुलेरै गृहमन्त्रीको विरोध गरेका थिए ।
विप्लवसँगै प्रचण्डलाई छाडेका थिए बादलले
प्रचण्डसँगको मनभेद र मतभेद दुवैमा व्यापक अन्तर आएपछि मोहन वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो । मोहन वैद्यको साथमा थिए रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल, देव गुरुङ र विप्लव ।
प्रचण्ड नेतृत्वको तत्कालीन एकीकृत माओवादीसँगको विभाजनपछि २–३ असार २०६९ मा बौद्धमा भएको भेलाबाट मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन भयो, जसको महासचिव रामबहादुर थापा ‘बादल’ भए । प्रचण्ड–बाबुरामले क्रान्तिलाई धोका दिएको र जनवादी क्रान्तिका लागि भन्दै ४० प्रतिशतभन्दा बढी सदस्य लिएर उनीहरुले पार्टी गठन गरेका थिए ।
त्यतिबेला अधिकांश युद्धकालीन नेता–कार्यकर्ता वैद्य नेतृत्वको नयाँ पार्टीमा थिए । त्यो सम्बन्धबिच्छेदका मुख्य पात्र थिए विप्लव र बादल । ०७१ मंसिरसम्म आइपुग्दा वैद्य र विप्लवबीच अन्तरविरोध उत्कर्षमा पुगिसकेको थियो ।
वैद्य नेतृत्वमा तत्कालीन नेकपा–माओवादीको २९–३० कात्तिक ०७१ मा केन्द्रीय बैठकमा विप्लव पक्षको तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले फरक मत दर्ज गरे । त्यही बैठकले विप्लव समूहलाई गुटगत भेला, बैठक र कार्यक्रम गरेको भन्दै आत्मालोचनासहित लिखित स्पष्टीकरणका लागि निर्देशन दियो ।
विप्लव समूहले अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले आत्मालोचना गर्नुपर्ने माग गरेपछि विवाद सतहमै देखियो । विप्लव समूहले पूर्ण विस्तारित बैठकको माग गरेपछि मंसिर ६ गते विस्तारित बैठक बोलाइयो ।
त्यो बीचमा विवाद यतिसम्म बढिसकेको थियो कि विप्लव र वैद्य बादलको नेतृत्वमा बस्न सक्ने अवस्थाको अन्त्य भइसकेको थियो । त्यो बैठकमा विप्लवले हालका गृहमन्त्री रामबहादुर थापाको निकै आलोचना गरेको एक केन्द्रीय सदस्य बताउँछन् ।
विप्लव समूहले ११–१४ मंसिरमा चितवनमा राष्ट्रिय भेलाबाट नेकपा माओवादी गठन गर्यो । नेकपा माओवादीको १ फागुन, ०७३ मा रोल्पामा भएको सातौं महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी राखियो । हाल विप्लव नेकपाको महासचिवको हैसियतमा छन् ।
विप्लवले साथ छाडेपछि वैद्य नेतृत्वबाट बादल समूह ठूलो हिस्सा लिएर पुनः प्रचण्ड नेतृत्वको माओवादीमा फर्र्किए । प्रचण्ड नेतृत्वको एकीकृत माओवादी केन्द्र र तत्कालीन एमालेबीचको एकतापछि नेकपा बनेको छ । ओली–प्रचण्डको नेकपाबाट बादल गृहमन्त्री छन् भने विप्लव भूमिगत छन् ।
युद्धकालमै बादल–विप्लव टकराव
कुनै समय एकै पार्टीमा सँगै युद्ध लडेका दुई नेता एकअर्काको शत्रु भएको इतिहास निकै कम छ । तर बादल विप्लवप्रति किन आक्रामक भए त ? यसका लागि युद्धकालीन इतिहास खोतल्न जरुरी छ ।
तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रका स्थायी समितिका एक सदस्यका अनुसार २०६० सालमा मोहन वैद्य ‘किरण’ भारतमा पक्राउ परे । उनी भारतमा पक्राउ परेपछि २०६१ सालमा रोल्पाको फुन्टिवाङमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाइयो ।
त्यही बैठकले भारतमा रहेका प्रचण्डसहित सबै शीर्ष नेताहरु नेपालमै आएर क्रान्तिको नेतृत्व गर्ने निर्णय भएको थियो । त्यतिबेला माओवादीका चार कमाण्ड थिए । मोहन वैद्य भारतमा पक्राउ परेपछि माओवादीले तीन कमाण्ड बनायो । पूर्वी कमाण्डको जिम्मेवारी रामबहादुर थापा, मध्यकमाण्डमा डा. बाबुराम भट्टराई र पश्चिम कमाण्डको जिम्मेवारी पोष्टबहादुर वोगटी ‘दिवाकर’ को थियो ।
योबाहेक व्युरोहरु पनि थिए । राप्ती व्युरोको इञ्जार्ज थिए नेत्रविक्रम चन्द ‘विप्लव’ । राप्ती व्युरोमा रुकुम, रोल्पा, जाजरकोट, दाङ, सल्यानलगायत जिल्ला थिए । भारतबाट फर्र्किएपछि प्रचण्ड रोल्पा बस्न थाले । प्रचण्डको सुरक्षा र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी विप्लवले नै पाए ।
फुन्टिवाङ बैठकले नै जनसेनाका तीन डिभिजन कायम गर्यो । पूर्वी डिभिजनको कमाण्डर वर्षमान पुन, पश्चिम डिभिजन जनार्दन शर्मा प्रभाकर र मध्य डिभिजनको जिम्मेवारी पोष्टबहादुर वोगटीलाई दिइएको थियो ।
प्रचण्डको सुरक्षामै रहेकाले विप्लव र प्रचण्डको सम्बन्ध निकै गहिरो बन्दै गयो । एक स्थायी समिति सदस्यले बाह्रखरीसँगको कुराकानीमा भने, “विप्लवको क्षमताबारे प्रभावित भएर त्यतिबेलै प्रचण्डले भावी उत्तराधिकारी तिमी नै हो भनेका रहेछन् । सर्वोच्च कमाण्डर प्रचण्डले नै भावी उत्तराधिकारी भनेपछि विप्लव उत्साहित हुँदै गए ।’’
त्यसबीचमा ०६२ मा माओवादीको चुनवाङ बैठक बस्यो । चुनवाङ बैठक माओवादी इतिहासकै चर्चित बैठक मानिन्छ । त्यही बैठकबाट माओवादीले लोकतान्त्रिक गणतन्त्रको बाटो अवलम्बन गर्दै शान्तिपूर्ण राजनीतिमा सहभागी हुने निर्णय गरेको हो ।
चुनवाङ बैठकले जनसेनाका चार डेपुटी कमाण्ड बनायो । हालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ, चन्द्रप्रकाश खनाल, वर्षमान पुन र जनार्दन शर्मा ‘प्रभाकर’ डेपुटी कमाण्डर भए ।
त्यतिबेलासम्म विप्लव र प्रचण्डको सम्बन्धमा दरार थिएन । त्यतिबेला वर्षमान र रामबहादुर थापा ‘बादल’बीच गहिरो सम्बन्ध रहेको माओवादी नेताहरु बताउँछन् ।
बादल प्रचण्डका विश्वासपात्र थिए । ती स्थायी समिति सदस्य भन्छन्, ‘‘बादल प्रचण्डको विश्वासपात्र भएकाले वर्षमानले उनलाई प्रयोग गरेर डेपुटी कमाण्डरसँगै उपत्यका इञ्जार्ज पाउन सफल भए । एकातिर प्रचण्डले आफूलाई उत्तराधिकारी भन्ने तर सबै जिम्मेवारी वर्षमानलाई दिन थालेपछि विप्लव प्रचण्ड र बादलसँग चिढिएका थिए । विस्तारै विप्लवभन्दा वर्षमान प्रचण्डको ‘कोर’ टिमका सदस्य भए ।’’
जानकारहरु भन्छन्– विप्लवले त्यतिबेलै बादल र प्रचण्डले गरेको अन्यायको बदला लिने आफूनजिकका नेता–कार्यकर्तालाई भन्ने गरेका थिए ।
प्रचण्डलाई कमजोर बनाउनकै लागि विप्लवले माओवादी शान्ति प्रक्रियामा आएपछि बादललाई साथ दिन थाले । बादललाई समेत प्रचण्डले विश्वास गर्न छाडेपछि विप्लवले बादललाई प्रचण्डविरुद्ध प्रयोग गरे ।
बादलसहितको ठूलो समूहलाई प्रचण्डबाट छुटाएर नयाँ पार्टी बनाए । मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बनाएर बादल र वैद्यलाई छाडेर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरे ।
बादल प्रचण्डकै नेतृत्वमा फर्किए तर युद्धकालीन अवस्थामा जस्तो प्रचण्ड र बादलको सम्बन्ध बन्न सकेन । आफूलाई समेत कमजोर बनाएको भन्दै बादलले विप्लवमाथि ‘इगो’ साँधिरहेको कतिपयको आरोप छ ।
त्यसैले उनी बेलाबेला प्रशासनिक रुपमा विप्लव समस्याको हल खोज्ने बताउँछन् । प्रशासनिक भनेको बल प्रयोगको सिद्धान्तबाट । सत्तारुढ नेकपाकै पूर्वमाओवादी नेताहरु भन्छन्, “बादल माओवादी स्वभावका बादल रहेनन् । उनमा बढेको दम्भ निकै खतरनाक छ । यसले पार्टी र मुलुकलाई ठूलो क्षति गर्न सक्छ । उनी जनताको भावना बुझ्ने गृहमन्त्री भन्दा पनि प्रहरीकै हाकिमको रुपमा मात्र प्रस्तुत भइरहेका छन् ।’’