site stats
बाह्रखरी :: Baahrakhari
देश
लामो समयसम्म एयरफोनको प्रयोगले स्मरण शक्तिमा ह्रास

काठमाडौं । प्रविधिको विकाससँगै आममानिसमा एयरफोन र हेडफोनको बढ्दो प्रयोगले कानको समस्या पनि बढ्दो क्रममा रहेको चिकित्सकहरुले बताएका छन् । वीर अस्पतालको नाक, कान र घाँटी विभागमा उपचार गर्न आउनेमा पछिल्लो समय कानका बिरामी सबैभन्दा बढी हुने गरेको बताइएको छ ।

विभागका प्रमुख डा. ढुण्डिराज पौडेलले पछिल्लो समय नाक, कान र घाँटी विभागमा सबैभन्दा बढी कानका बिरामी आउने गरेको बताए । “पछिल्लो समय कानको समस्या बढी देखिनुमा एक त बढ्दो एयरफोन र हेडफोनको प्रयोग हो,” उनले भने, “वायु प्रदुषणले श्वासप्रश्वासमा जस्तो असर गर्छ, त्यस्तै ध्वनी प्रदुषणले पनि स्मण शक्तिमा असर गर्ने गर्छ ।”

लामो समय अथवा घण्टौंसम्म एयर फोनको प्रयोग गर्दा हाम्रा कानभित्रका सेलहरु विस्तारै मर्छन् । जसका कारण स्मण शक्तिमा ह्रास आउने डा. पौडेल बताउँछन् । डा. पौडेलका अनुसार एउटै हेडफोन र एयरफोन विभिन्न व्यक्तिले प्रयोग गर्दा त्यसबाट किटाणुहरु पनि सर्ने गर्छन् । जसले कानको संक्रमण निम्त्याउने गरेको देखिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ठूलो आवाज आउने स्थानहरु कलकारखाना, भिडभाड हुने स्थानमा काम गर्ने मानिसमा छिटै नै श्रवण क्षमतामा कमी आउने गर्छ । कहिलेकाहिँ आफूखुसी कानमा औषधी लगाउने, तेल र अन्य सामग्रीहरु प्रयोग गर्दा सुन्ने क्षमता कम हुने डा. पौडेलको भनाई छ । 

चिकित्सकहरुका अनुसार एयरफोनबाट उच्च आवाजमा गीतसंगीत सुन्दा कानको जालीमा दबाब पर्ने र कानसम्बन्धी समस्या हुनुका साथै कानेगुजी समेत सामान्यभन्दा धेरै बन्ने गर्छ । यसले सुन्ने क्षमतालाई समेत प्रभावित पार्ने बताउँछन् ।

कतिपय मानिसहरु राति एयरफोन कानमा राखेर सुमधुर संगीत सुन्दा मिठो र गहिरो निद्रा पर्ने भन्दै सुत्ने गर्दा मष्तिष्कमा असर गरिरहेको त्रिवि शिक्षण अस्पतालका नाक कान र घाँटी रोग विशेषज्ञ डा. राजेन्द्र गुरागाईं बताउँछन् । 

“पछिल्लो समय कानको समस्या बालबालिका र युवायुवतिहरुमा बढी देखिने गरेका छ,”उनले भने, “बालबालिकाहरुमा कानमा तेल राखिदिने, कान कोट्याई दिने र उनीहरुलाई सुताएर दुध खुवाउँने (जसले- बगेर सिधै कानमा पर्छ ।) जसले गर्दा सानैमा कानको संक्रमण हुने गरेको छ भने युवायुवतिहरुमा एयरफोन घण्टौसम्म प्रयोग गर्ने अझ एउटै एयरफोन एकले अर्काले प्रयोग गर्दा एउटाको कानको समस्या अर्कोमा सर्ने हुन्छ ।”

कतिपय कानको संक्रमण वंशाणुगत पनि हुने हुँदा कानमा कुनै पनि समस्या आउँने वित्तिकै तुरुन्तै नाक, कान र घाँटी रोग विशेषज्ञकोमा जानुपर्ने डा. गुरागाईं बताउँछन् । विश्व स्वास्थ्य संगठनले विश्वमा अधिक मात्रमा एयरफोन वा हेलफोनको प्रयोगले एक तिहाई मानिसहरुमा कानको समस्या देखिएको छ । एक अर्ब बालबालिकाहरुमा स्मण शक्ति कमजोर हुने समस्या देखिएको संगठनले जनाएको छ । बालबालिकाहरुलाई सानै उमेरदेखि नै हेडफोन र एयरफोनको प्रयोगले स्मरण शक्तिमा ह्रास आउने संगठनले जनाएको छ ।

कानलाई संक्रमणबाट यसरी बचाउन सकिन्छ 

१. एयरफोन वा हेडफोन घण्टौंसम्म प्रयोग नगर्ने ( लामो समयसम्म इयर फोनमा गीत सुन्नाले पनि कान तथा श्रवण शक्ति कमजोर बनाउँछ ।)
२. एयरफोन वा हेडफोन साटासाट गरेर प्रयोग नगर्ने (एउटै एयरफोन वा हेडफोनको प्रयोग गर्दा कानको संक्रमण एकबाट अर्कोमा सर्छ ।)
३. म्युजिक सुन्दा सदैव म्युजिकको भोल्युमलाई मध्यम वा न्यून लेभलमा राख्ने
४. बच्चा जन्मनासाथ कानको जाँच गराउने ।
५. हरेक ६-६ महिनामा कानको चेकजाँच गर्ने
६. धेरै भिडभाड अथवा आवाज आउने स्थानमा जाँदा कानमा कपास अथवा  इयर प्लग राख्न सकिन्छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  २०:३२
प्रतिक्रिया दिनुहोस्