रोजाइ होस् वा बाध्यता अहिले सबै महिलाका लागि आर्थिक सशक्तीकरण प्रमुख लक्ष्य र आवश्यकता बनेको छ । आर्थिक सक्षमताले जीवनका अन्य धेरै पक्षलाई सहज बनाउने हुँदा यो आवश्यकता स्वाभाविक धारणा मानिन पुगेको छ ।
स्वस्थपरकरूपमा परिवार चलाउन महिला र पुरुष दुवैको सहकार्य आवश्यक हुन्छ । बदलिँदो समय र परिवेशमा परम्परागतरुपमा निर्वाह गर्नुपर्ने कार्यका अतिरिक्त अर्थोपार्जनको जिम्मेवारी र चाहना महिलाको काँधमा थप भएको छ । उसो त महिलाका जिम्मेवारी समयको कुनै पनि कालखण्डमा कम त भएनन् तर महिलाले निर्वाह गर्ने भूमिकालाई ‘गैरमौद्रिक’ संज्ञा दिईयो र तिनको कहिल्यै मूल्यांकन पनि गरिएन ।
घरायसी कामहरुमा महिलाले खर्च गर्नुपर्ने श्रमको पहिचान नहुनु पुरानो कुरामात्र भने हैन । आज पनि घर व्यवस्थापनमा महिला जतिसुकै निपुण भए पनि त्यसको परिवार र समाजमा मूल्यांकन हुने गरेको छैन । सामाजिक संरचनाअनुरुपका मूल्य र मान्यताबमोजिमै महिलाहरु आफूलाई अनुकूलन गर्दै बाँचिरहेका छन् । समयले कोल्टो फेरिरहँदा घरबाहिर र भित्रका दुवै कामसँगै गर्ने महिलाको संख्या पनि बढिरहेको छ ।
कामकाजी महिलालाई लागि घरबाहिर र भित्रका काम उत्तिकै जिम्मेवारीपूर्ण तरिकाले गर्नु निकै चुनौतीपूर्ण भने बनेका छन् । एकातर्फ ठूला शैक्षिक उपाधि हासिल गरी वृत्ति विकासमा पुरुषकै दाँजोमा क्षमता प्रदर्शन गर्नु र आर्थिकरुपमा महिलाले अन्यमा आश्रित नभई स्वावलम्बी बन्नु सबै महिलालाई जरुरी भएको छ । पेसागतरुपमा महिलाहरु आफूलाई परिभाषित गर्न कुनै पनि जिम्मेवारी लिन पछि सर्दैनन् भने अर्कातिर महिलाले परम्परागतरुपमा परिवारप्रति निर्वाह गनुपर्ने दायित्व पनि सँगसँगै लानुपरेको हुन्छ ।
सबै क्षेत्रमा महिलाहरुले विभिन्न हैसियतमा कार्यरत भएर सृजनशीलता र क्षमता प्रर्दशन गरिरहेका छन् । तर, महिलाले घर व्यवहारमा पूरा गर्नुपर्ने भूमिकामा परिवर्तन नआएकोले आफू दोहोरो मारमा परेको अनुभव पनि धेरै महिलाले गरेका छन् । एकजना साथी राष्ट्रसंघको राम्रो पदमा कार्यरत छिन् । कहिलेकाँही फोन सम्पर्क हुँदा भने दुखेसो पोख्ने गर्छिन् – पैसा पनि छ, देश विदेश घुम्न पनि पाइएको छ तर घर जाँदा परिवारसँग पर्याप्त समय बिताउन नपाउँदा सँधै मन भारी भइरहन्छ ।
अर्की परिचित कामकाजी महिलाका अनुसार – बिहान घरबाट निस्कँदा बच्चा सुतिरहेको हुन्छ र बेलुका घर फर्किँदा निदाइसक्छ । अनि कस्तो मुटु घोंचेजस्तो लाग्छ ।
अर्की एकजना साथी अफिसको पूरै काम सकेर घर फर्कँदा घरायसी कामले आफैँलाई पर्खेेर बसेको देख्दा दिक्क लाग्ने गरेको समय समयमा सुनाउँछिन् ।
आर्थिक सक्षमतासँगै आफूलाई स्थापित गर्ने क्रममा कतिपय यस्ता भोगाइ महिलाका अनुभवसँग गाँसिन पुग्दा कामकाजी महिलाको मानसिकतामा एकप्रकारको ‘ल्याकिङ फोर्स’ले काम गरिरहेजस्तो लाग्छ । घरबाहिर र भित्रका कार्यहरु गर्नुपर्दा कतिपय महिलामा कतै न कतै दृश्य र अदृश्यरुपमा असन्तुष्टिहरु प्रकट भइरहेको हुन्छ । धेरैजसो असन्तुष्टि आफूले पूरा गरिरहेका प्राकृतिक र सामाजिक संरचनाले तोकेका कर्तव्य सन्तुष्ट हुने तरिकाले गर्न नसकेर होजस्तो लाग्छ । महिलाले अर्थोपार्जनको जिम्मेवारी त लिन थाले तर पितृसत्ताले ओतप्रोत समाजमा उनीहरूले परम्परादेखि गरिरहेको काममा साझेदारीको मानसिकता भने विकास भएको बिरलै देखिन्छ । पत्नी, बुहारी, आमाका रुपमा पूरा गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी जस्ताका तस्तै छन् । अर्कातर्फ कतिपय महिला घरको जिम्मेवारी पूर्णरुपमा निर्वाह गर्न नसक्दा आत्मग्लानिका सिकार पनि भइरहेका हुन्छन् ।
धेरै महिलाले परिवारका लागि वित्तीय भरथेग गरिरहेको भए पनि महिलाले परिवारबाट विशेषगरी पुरुषबाट भने सोचेअनुरुप आवश्यक सहयोग प्राप्त गरिरहेका हुँदैनन् । दोहोरो कामको दबाबले शरीरप्रति ध्यान दिन नसक्दा मानसिक अवसादका कारण असमयमै विभिन्न रोगका सिकार भएका महिला पनि ठूलै संख्यामा भेटिन्छन् ।
यसो हुनुमा कतै न कतै हाम्रो समाजमा जरा गाढेर बसेको समाजिक संरचनाको मनोविज्ञानले पनि काम गरिरहेको हुन्छ । यसको एउटा प्रमुख कारण महिलाले गरेको प्रगतिमा समाजले गर्व गर्न नसक्नु र निरन्तर चलिआएको महिलाप्रति समाजिक सोच परिवर्तन हुनु नसक्नु हो । महिलाका घरायसी कामलाई कामको दर्जा नदिइनु र यसको कुनै मूल्यांकन र यसको उपयोगिता लाई महत्त्व नदिने मानसिकता निरन्तर चलिरहेको छ । घर व्यवस्थापन गर्नमा महिलाहरुले शारीरिक तथा मानसिक श्रम निकै खर्चिनु पर्छ । यसलाई हाम्रो परिवारको संरचनाले बुझ्न खोजेको देखिँदैन ।
घर व्यवस्थापनमा कुनै भूमिका समय र श्रमको खाँचो पनि रहन्छ र भन्ने सोच पुरुषमा विद्यमान छ । तर, तिनै घरायसी कार्यको व्यवस्थापनमा महिलाले श्रम खर्चिँदा आफूभित्र रहेका सृजनाहरु बाहिर ल्याउन सकिरहेका हुँदैनन् भन्ने पुरुष वा परिवारका अन्य सदस्यले धेरै अवस्थामा बुझ्दैनन् । महिला स्वयंले पनि घर परिवारप्रति पूर्णरुपमा जिम्मेवारी पूरा गर्न नसकेकोले आत्मग्लानि अनुभव भएको स्वीकार गरिरहेका हुन्छन् । दिनभर थकित भएर काम गरेर फर्केपछि घरमा सबैकाम गर्नुपर्ने र घरका सबै सदस्यहरुको चित्त बुझउनुपर्ने कारणले महिला जतिसुकै अगााडि बढ्न खोजे पनि उसले पूरा गर्नुपर्ने परम्परागत कामले जिस्क्याइरहेका हुन्छन् । नारीले परम्परागत भूमिकामा कुनै कमी नआई थप नयाँ जिम्मेवारीले सशक्तीकरणले दिएको आनन्द पनि पूर्णरुपमा लिन सकिरहेका हुँदैनन् ।
विकसित देशमा कामकाजी महिलामाथि गरिएका अनुसन्धानहरुले पनि कामकाजी महिलाले बच्चासँग पर्याप्त समय बिताउँदा तनाव निकै कम हुने देखाएका छन् । मातृत्वको प्रकृतिक जिम्मेवारी पूरा गर्न नसक्ता वा नपाउदा नारीत्व नै खल्लो लाग्ने गुनासो पनि कतिपय महिलाले गरेका हुन्छन् ।
कतिपय अवस्थामा महिलाहरु आफू हुर्केको समयलाई सन्तान हुर्किरहेकोे समयसँग दाँज्छन् र समान अवस्था नपाउँदा असन्तुष्ट भइरहेका हुन्छन् । त्यस्तै कति महिलामा रुचिको काम एकातिर र गर्न परेको काम अर्कोतिर हुँदा घर र कार्यस्थल दुवैतिर असन्तुष्टि हुन्छ । महिलाले निर्वाह गरिरहेको दोहोरो भूमिकाबाट पूर्णरुपबाट मुक्त हुन त बिरलै सकिएला यसलाई सहीरुपमा व्यवस्थापन गर्नसमेत सहज भने छैन । त्यसैले कामकाजी महिलाले सक्षमता र आत्मनिर्भरताको आनन्द चाहँदा चाहँदै पनि अनुभव गर्न नसकेका हुन् ।