
काठमाडौं । कमजोर सुरक्षा व्यवस्थाका कारण निर्माण व्यवसायीहरु पेशाबाटै पलायन हुनुपर्ने खतरा बढेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण व्यवसायीहरुलाई लक्षित गरी केही समय अघिदेखि निरन्तर धम्कीपूर्ण फोनहरु आइरहेको भन्दै उनीहरुले मुलुकमा काम गर्ने वातावरण नरहेको बताएका हुन् ।
मंगलबार महासंघ सचिवालय अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले राज्य संयन्त्र कमजोर भएका कारण व्यवसायीहरु ठूलो मारमा परेको बताए । “निर्माण व्यवसायीहरुलाई निरन्तर आइरहेको धम्कीका विषयमा सम्बन्धित निकायलाई समयमै जानकारी गराइँदा समेत कुनै सुनुवाई भएन,” अध्यक्ष सिंहले भने । लगातारको धम्कीका कारण निर्माण व्यवसायीसँगै उनीहरुका परिवार, कार्यालयका कर्मचारी समेत ठूलो त्रासमा बाच्नु परेको अध्यक्ष सिंहले बताए । महासंघका पूर्व अध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारी लगायत अन्य निर्माण व्यवसायी सदस्यहरु गरी करिव २५ जनालाई विगत केही समय अघिदेखि मोवाइलमा धम्कीपूर्ण भाषा प्रयोग गरी फोन आउने गरेको सिंहले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले धम्कीपूर्ण फोनबाट त्रासपूर्ण वातावरण सृजना भई निर्माण व्यवसायीहरु आफ्नो साईटसमेत सञ्चालन गर्न नसक्ने अवस्था रहेको बताए । महासंघका सल्लाहकार तथा पूर्व अध्यक्ष जयराम लामिछानेले मुलुकमा सरकार छ भन्ने प्रत्याभूति व्यवसायीहरुले गर्न नपाएको गुनासो गरे । शान्ति सुरक्षाकोे अभावसँगै निर्माण व्यवसायीहरुको ठूलो रकम सरोकारवाला निकायबाट अझै भुक्तानी नहुँदा देशभरका व्यवसायीहरु ठूलो आर्थिक मारमा परेको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए । भुक्तानीको समस्या सम्बोधन गरिदिन सम्बन्धित् सरकारी निकायहरुको पटक पटक ध्यानाकर्षण गराउँदा समेत कुनै सुनुवाई नभएको महासंघले जनाएको छ । उपभोक्ता समितिहरु मार्फत् निर्माण कार्य गरिँदा झन् तल्लो तहबाटै मुलुकमा संस्थागत भ्रष्टाचार मौलाइरहेको र गुणस्तरमा समेत प्रभाव पारेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच सार्वजनिक खरिद ऐन नियमावली तथा निर्माण व्यवसाय ऐन नियमावली संशोधनका लागि बुधवार राजधानीमा राष्ट्रिय भेला आयोजना गरिने महासंघले जनाएको छ । भेलामा देशभरका ३ सय भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता रहने महासंघका प्रवक्ता टंकप्रसाद चौलागाईले बताए ।