
– लीला लुइटेल
भारतका विविध क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले व्यक्तिगत तथा संस्थागत दुवै ढङ्गले साहित्य सिर्जना तथा पत्रपत्रिका प्रकाशन गरी नेपाली भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् । भारतका विभिन्न राज्यमा नेपाली साहित्यको अवस्थितिको संक्षिप्त चर्चा राज्यको नामका वर्णानुक्रममा तल गरिन्छ—
अरुणाचल प्रदेश
असमबाट छुट्टिएर १९७२ जनवरी २० का दिन केन्द्रशासित राज्य बनेको अरुणाचल प्रदेश १९८६ मा छुट्टै राज्यका रूपमा स्थापित भएको हो । यस राज्यको दक्षिणमा असम, दक्षिणपूर्वमा नागाल्यान्ड, पूर्वमा बर्मा अर्थात् म्यान्मार पर्छन् भने पश्चिममा भुटान र उत्तरमा चीनको तिब्बत पर्छन् । क्षेत्रफलका हिसाबले पूर्वोत्तर भारतको सबैभन्दा ठूलो मानिने यस राज्यमा जनसङ्ख्याको घनत्वचाहिँ निकै कम छ । प्रशासनिक दृष्टिले १६ जिल्लामा विभाजित यस राज्यको राजधानी इटानगर हो । यहाँ बौद्ध, सनातनी, असमिया, वैष्णव धर्मावलम्बी र बर्मी संस्कृतिसित सम्बद्ध राख्ने २६ जातिहरूको बसोबास छ । यस राज्यमा ६४ प्रतिशत असमिया वैष्णव धर्मका अनुयायीहरू छन् भने १४ प्रतिशत बुद्ध धर्म मान्नेहरू छन् । हिन्दी र असमिया मुख्य भाषाका रूपमा रहेको यस राज्यको सरकारी कामकाजको भाषाचाहिँ हिन्दी र अङ्ग्रेजी हुन् । छुट्टै राज्यको मान्यता पाउनुअघि अरुणाचल प्रदेश असमकै हिस्सा रहेको हुँदा यहाँ नेपालीहरूको बसोबास ठूलै सङ्ख्यामा छ । सरकारी आँकडाअनुसार यस राज्यमा नियसी, आदि र बङ्गालीपछि नेपालीभाषीको सङ्ख्या चौथो स्थानमा छ ।
अरुणाचलमा १८९४ मा धनवीर भँडारीले अब्बर्पहाडको ‘सवाई’ नामक कृतिको रचना गरेका थिए । १२७ श्लोकमा संरचित प्रस्तुत कृतिमा गोर्खा पल्टनले यस क्षेत्रमा गरेको साहसिक सेवाको वर्णन गरिएको छ । यस क्षेत्रमा भानुजयन्ती मनाइने प्रचलन रहेको जानकारी पाइन्छ भने यहाँबाट ‘प्रयास’ (१९९९) नामक पत्रिका प्रकाशन भएको जानकारी पाइन्छ । यहाँ बसेर साहित्य सिर्जना गर्ने गजेन्द्र छेत्री, मिलन बोहोरा, वंशी भट्टराई आदिका रचना फुटकर रूपमा प्रकाशित छन् । यसका साथै सन्तकुमार देवानका ‘पहाड पर्वत’ (२०००), ‘कथा अब बल्ल शुरु हुन्छ’ (२०२२) शीर्षकका दुई उपन्यास प्रकाशित भएको जानकारी पाइन्छ । हाल त्यहाँका नेपालीभाषी युवाहरू नेपाली साहित्यको गतिविधिमा सक्रिय देखिन थालेका छन् ।
असम
प्राचीन कालमा ‘प्राग्ज्योतिषपुर’ तथा ‘कामरूप’का नामबाट परिचित क्षेत्र हाल असमका नामबाट प्रख्यात छ । पुराण, महाभारत आदिमा समेत वर्णित योे क्षेत्र भारतको पूर्वोत्तर क्षेत्रमा अवस्थित छ । निकै ठूलो क्षेत्र ओगटेको असमको पहिलेको सीमाना बिहार र नेपालको कौशिकी (कोशी) नदीसँग जोडिएको उल्लेख पाइन्छ । अहिलेका कुचविहार, जलपाइगुडी, त्रिपुरालगायत पूर्वी पाकिस्तान अर्थात् बङ्गलादेशका कतिपय भूभाग असमभित्रै थिए । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि असम एउटा राज्यका रूपमा स्थापित भयो र शिलोङलाई यसको राजधानी बनाइयो । अनेक प्रकारका भौगोलिक परिवेश, धर्म, संस्कृति, भाषा आदि रहेको विशाल क्षेत्र असम सन् १९५७ देखि जातीय एवं क्षेत्रीय राज्यको मागका कारण टुक्रिएर विभिन्न राज्यमा विभाजित हुन थाल्यो । यसरी हेर्दा असम पूर्वोत्तर भारतको सबै राज्यको केन्द्रस्थान तथा मातृभूमिका रूपमा रहेको छ ।
१९५७ मा मणिपुर असमबाट छुट्टिई बेग्लै राज्य बन्न पुग्यो भने १९६३ मा नागाल्यान्ड पनि टुक्रिएर बेग्लै राज्य बन्यो । यसपछि क्रमशः मेघालय, अरुणाचल प्रदेश, मिजोरमजस्ता राज्यहरू पनि असमबाट अलग भई स्वतन्त्र राज्यका रूपमा स्थापित भए । यसरी एउटै राज्यका रूपमा रहेको बृहत् असममा अहिले असम, मेघालय, नागाल्यान्ड, मणिपुर, अरुणाचल र मिजोरम गरी ६ राज्यको अस्तित्व छ । भारत स्वतन्त्र हुनुअघि एउटा सानो स्वतन्त्र राजतन्त्रात्मक देशका रूपमा रहेको त्रिपुरासमेतलाई मिलाएर अहिले यी सात राज्यको समूहलाई उत्तरपूर्वी भारत पनि भन्ने गरिन्छ ।
अनेक राज्यमा विभाजित हुँदै बनेको वर्तमान असम राज्यको राजधानी दिसपुर हो । प्रशासनिक दृष्टिले २७ जिल्लाको व्यवस्थापन भएको असममा असमिया, बाङ्ला, बोडो, राभा, मिसिङ, कार्बी, कोच, ताई, नेपाली आदि विभिन्न समुदायको बसोबास छ । यी सबै जातिमा असमिया संस्कृतिको गहिरो प्रभाव छ । अनेक भाषाहरू बोलिने यस राज्यमा अहिले सरकारी कामकाजका रूपमा असमिया, बोडो, बङ्गाली भाषाहरू प्रचलनमा छन् ।
असम र नेपालको सम्बन्ध प्राचीन कालदेखि नै सुमधुर रहेको पाइन्छ । रामायण, महाभारत जस्ता पौराणिक ग्रन्थमा असम र नेपालको सम्बन्ध चर्चा गरिएको पाइन्छ । यसैले यहाँ बसोबास गर्ने नेपालीहरूको इतिहास पनि निकै पुरानो हुनुपर्छ ।
असममा ठूलो सङ्ख्यामा नेपालीभाषी समुदायको बसोबास छ । असमका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरू उहिलेदेखि नै शिक्षा, समाजसेवा, राजनीति, प्रशासन आदि विभिन्न माध्यमबाट आफ्नो पहिचान प्रस्तुत गर्न सक्रिय देखिन्छन् । भिन्न सामाजिक–सांस्कृतिक संरचना एवं विविध भाषीका बीचमा बसेर आफ्नो जातीय अस्तित्व र भाषा–साहित्यलाई जोगाउन यस क्षेत्रका नेपालीहरूले गरेको प्रयास र सङ्घर्ष अत्यन्त प्रशंसनीय छ ।
यस क्षेत्रका अधिकांश ठाउँमा नेपाली भाषालाई पनि प्रमुख भारतीय भाषाको रूपमा मान्यता दिई यसैका माध्यमबाट पठनपाठन हुने गरेको पाइन्छ । यस क्षेत्रका विभिन्न स्थानमा नेपाली भाषासाहित्यसम्बन्धी गतिविधि निकै सक्रिय रूपमा सञ्चालन भइरहेका छन् भने नेपाली भाषामा प्रशस्त साहित्य सिर्जना र पत्रपत्रिकाको प्रकाशन हुने क्रम पनि निरन्तर चलिरहेको छ ।
नेपाल, दार्जिलिङ, सिक्किमपछि नेपाली भाषासाहित्यको धेरै विकास भएको ठाउँ असम मानिन्छ । वर्तमानमा गठन भएका ६ राज्य पनि कुनै बेला असमकै भएकाले यहाँको साहित्यिक विकासको चर्चा गर्दा असमलाई नै केन्द्र मान्नुपर्ने देखिन्छ । असममा १८९० को हाराहारीदेखि नेपाली साहित्य लेखिन थालिएको जानकारी पाइन्छ । नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा सेवक’ तत्कालीन असमको राजधानी शिलोङबाटै १९३६ मा निस्केको हो । यसैगरी नेपाली जातिको सबैभन्दा पुरानो शैक्षिक संस्था गोर्खा पाठशाला पनि १८७६ मा शिलोङमै स्थापित गरिएको हो । तुलचन आले, धनवीर भँडारी, पद्मप्रसाद उपाध्याय ढुङ्गाना, कृष्णप्रसाद ज्ञवाली, लीलबहादुर क्षेत्री, पुष्पलाल उपाध्याय, हरिभक्त कटुवाल, हरिप्रसाद गोर्खा राई आदि जस्ता साहित्यकारको जन्मभूमि एवं कर्मभूमिका रूपमा रहेको यस क्षेत्रमा यसले ‘सुमन’, ‘मादल’, ‘बिन्दु’, ‘हाम्रो ध्वनि’, ‘देशवार्ता’, ‘उषा’ आदि जस्ता उत्कृष्ट पत्रिका पत्रिका पनि प्रकाशित भएको पाइन्छ । असमका विभिन्न ठाउँमा नेपाली भाषाका माध्यमबाट पढाइ हुने थुप्रै स्कुल छन् भने गुवाहटी विश्वविद्यालयमा नेपाली भाषामा स्नातकोत्तर स्तरको पढाइ हुन्छ ।
असममा नेपाली साहित्यको चर्चा गर्दा वर्तमान प्रशासनिक असम राज्यलाई मात्र छुट्ट््याएर चर्चा गर्नु निकै कठिन हुन्छ । यहाँको साहित्यिक चर्चा गर्दा वर्तमान असम राज्यको स्थापना हुनुपूर्व बृहत्तर असम अर्थात् सम्पूर्ण पूर्वाेत्तर भारतको साहित्यिक इतिहासलाई हेर्नुपर्ने हुन्छ । हालसम्म प्राप्त जानकारीअनुसार तुलचन आलेको ‘मुनिपुर्का लडाञिको सवाई’ (१८९३ तिर) यस क्षेत्रको पहिलो कविताकृति हो । यसपछि देखापरेका धनवीर भँडारी, पद्मप्रसाद उपाध्याय ढुङ्गाना, पुष्पलाल, गोपीनारायण प्रधानजस्ता कविहरूले अविभाजित असमको कविताका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेको पाइन्छ । असमबाट टुक्रिएर विभिन्न राज्यको स्थापनापश्चात् बाँकी रहेको असममा हरिभक्त कटुवाल, नव सापकोटा, अविनाश श्रेष्ठ, युद्धवीर राणा, भविलाल लामिछाने, दुर्गाप्रसाद घिमिरे, मैना थापा, इन्दुप्रभादेवी, रिजुदेवी, बसुन्धरा शर्मा, केबी नेपाली, भूपेन निषाद, छविलाल उपाध्याय, लोकनाथ उपाध्याय, कृष्णप्रसाद भट्टराई, गोविन्द शाण्डिल्य, पुष्पधर शर्मा, खडकराज गिरी, डम्बर दाहाल, लीला कालिकोटेजस्ता कविहरूले असमेली नेपाली कविताको विकासमा महत्त्वपूर्ण योगदान दिएका छन् । यिनमा अधिकांशतः जीवितै भएका र सिर्जनरतसमेत रहेकाले नेपाली कविताको विकासमा यिनले थप योगदान पु¥याउने स्थिति पनि सशक्त छ ।
नेपाली कविताको इतिहासमा देखापरेको कोलाज आन्दोलन असममै भएको हो । असममा भएको ‘विदेशी हटाऊ’ अभियानलाई कविताका माध्यमबाट विरोध गर्ने अभीष्टले यस अभियानको थालनी भएको हो । अनुराग प्रधान, अविनाश श्रेष्ठ, देवेन सापकोटा, मित्र उपमन्यु, विजय पद्मनीललगायत १५० जना स्रष्टाहरूको संलग्नतामा भएको यस अभियानले ‘कोलाज बुलेटिन’ नामक मुखपत्रसमेत प्रकाशन गरेको जानकारी पाइन्छ । यस अभियानले असममा भएको नेपाली जातिप्रति भएको अन्याय अत्याचारका विरुद्धमा कविताका माध्यमबाट जनचेतना जगाउने काम गरेको थियो ।
असमेली नेपाली कथाका क्षेत्रमा देखापरेका प्रतिभाहरूमा हरिप्रसाद ‘गोर्खा’ राई, आशारानी राई, अर्जुन निरौला माया ठकुरी आदिलाई बृहत्तर असमको कथासाहित्यअन्तर्गत चर्चा गर्न सकिन्छ । लीलबहादुर क्षेत्री, चन्द्रकला नेवार, खड्गबहादुर कौशिक, डम्बर दाहाल, खडकराज गिरी, नयादेवी, शान्ति थापा, जीतबहादुर सुनार, गीता उपाध्याय, रिजुदेवी, केबी नेपाली, हरिभक्त कटुवाल, लोकनाथ उपाध्याय, शेरमान थापा, रेवतीमोहन तिम्सिना, देवीचरण सेढाईं, होमबहादुर क्षेत्री, बोगे नेवार आदिका कथा सङ्ग्रह प्रकाशित छन् । यसैगरी अर्जुन निरौला, विक्रमवीर थापालगायत लीलबहादुर क्षेत्री, केबी नेपाली, लोकनाथ उपाध्याय चापागाईं, नया देवी, शान्ति थापा, हरिप्रसाद शर्मा खनाल, गीता उपाध्याय, रतनकुमार पाण्डे, जयनारायण लुइटेल, रण काफ्ले आदि अनेकौं उपन्यासकारका थुप्रै औपन्यासिक कृति प्रकाशित भएको पाइन्छ ।
उत्तरप्रदेश
जनसंख्याका दृष्टिले उत्तरप्रदेश भारतको सबैभन्दा ठूलो राज्य मानिन्छ । सन् २००० नोभेम्बर ९ मा यस राज्यका पहाडी क्षेत्रलाई विभाजन गरी उत्तराखण्ड राज्यको स्थापना गरिएको हो । उत्तरप्रदेशको पश्चिममा हरियाणा, दिल्ली, राजस्थान पर्छन् भने पूर्वमा बिहार पर्छ । यसको दक्षिणमा मध्यप्रदेश छ भने उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत तथा नेपाल राष्ट्र छन् । उत्तरप्रदेश भारतको राजकीय भाषा हिन्दीको जन्मस्थल मानिन्छ । मुख्य रूपमा भोजपुरी, हिन्दी, उर्दू, ब्रज, बुन्देली, अवधी भाषाको प्रचलन पाइने यस राज्यमा सरकारी कामकाजको भाषा भने हिन्दी एवं उर्दूलाई मानिएको छ । यस राज्यमा रहेका ७५ जिल्लामध्ये वाराणसी जिल्लाको भूमिका नेपाली साहित्यमा अतुलनीय छ । वाराणसीलाई अर्काे शब्दमा काशी वा बनारस पनि भन्ने गरिन्छ ।
नेपाल र बनारसको सम्बन्ध प्राचीन कालदेखि नै रहँदै आएको छ । नेपाली जनजीवनमा काशीको ठूलो महत्त्व भएझैं नेपाली भाषासाहित्यका क्षेत्रमा बनारसको योगदान अतुलनीय छ । पहिलेदेखि नै शिक्षाको केन्द्र मानिने बनारस शिक्षा आर्जन गर्न प्रशस्त नेपालीहरू जाने गर्थे । नेपाली साहित्यमा प्राथमिक कालदेखि नै बनारसको प्रभाव परेको पाइन्छ ।
नेपाली साहित्यमा माध्यमिक कालको नेतृत्व गर्ने मोतीराम भट्ट बनारसका साहित्यिक गतिविधिबाट प्रेरित भएर नेपाली साहित्यको उन्नयनतर्पm लागेका हुन् । उनले बनारसमा साङ्गठनिक रूपले नेपाली साहित्य सिर्जना गर्न उत्प्रेरणा दिए । मोतीरामका समयमा रसिक समाज र मोतीमण्डलीको गठन भएको थियो । यी सङ्गठनहरू नेपाली साहित्यको इतिहासमा उल्लेखनीय रूपमा रहेका छन् । समूहगत लेखनमा अभिप्रेरित गर्नुका अतिरिक्त नेपाली साहित्यिक पत्रपत्रिका प्रकाशनको प्रारम्भ पनि बनारसबाटै भएको हो । नेपाली भाषाको विकासमा महत्त्वपूर्ण स्थान ओगट्ने हलन्त बहिष्कार आन्दोलन, झर्राेवादी आन्दोलनजस्ता विभिन्न अभियानहरूको सूत्रपात पनि बनारसकै भूमिमा भएको हो । ‘गोर्खा भारत जीवन’, उपन्यास ‘तरङ्गिणी’, ‘सुन्दरी’, ‘माधवी’, ‘उदय’, ‘युगवाणी’, ‘गोर्खाली’, ‘नौलो पाइलो’, ‘छात्रवाणी’ आदि अनेक पत्रपत्रिकाहरू बनारसबाटै प्रकाशन भएका हुन् । नेपाली भाषाका क्षेत्रमा पनि बनारसको अहम् भूमिका छ ।
नेपाली साहित्यको माध्यमिक कालका अधिकांश भाषिक एवं साहित्यिक गतिविधिमा बनारसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । माध्यमिक कालमा बनारसमा बसेर साहित्य सिर्जनामा सक्रिय रहनेहरू मोतीरामका अतिरिक्त चिरञ्जीवी शर्मा, देवीदत्त पराजुली, कुलचन्द्र गौतम, कृष्णप्रसाद रेग्मी, शिखरनाथ सुवेदी, होमनाथ केदारनाथ खतिवडा, शम्भुप्रसाद ढुङ्ग्याल, चक्रपाणि चालिसेलगायत थुप्रै देखिन्छन् । नेपाली साहित्यको माध्यमिक कालका अधिकांश कृतिहरू बनारसबाटै प्रकाशन भएका हुन् ।
माध्यमिक कालबाहेक आधुनिक कालीन समयमा पनि नेपालीका थुप्रै साहित्यकार बनारससँग कुनै न कुनै रूपमा सम्बन्धित देखिन्छन् । नेपाली कविताका क्षेत्रमा महाकवि नामले परिचित लक्ष्मीप्रसाद देवकोटाका कयौं काव्यकृतिहरू बनारस बसाइमै लेखिएका हुन् । विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक यात्राको प्रारम्भ नै बनारसबाट भएको हो । यसैगरी युद्धप्रसाद मिश्र, सागरमणि आदी, बालकृष्ण पोखरेल, तारानाथ शर्मा, माधव भँडारी, डिल्लीराम तिम्सिनालगायतका थुप्रै कविलेखकहरूको लेखनमा बनारसको योगदान महत्त्वपूर्ण छ । माथि उल्लेख गरिएका कतिपय साहित्यकार बनारसमा शिक्षा आर्जन गर्दादेखि नै साहित्यिक यात्रा शुरु गरी पछि नेपाल फर्केर साहित्य यात्रालाई निरन्तरता दिएका छन् भने कतिपय साहित्यकारले बनारसमा बसेर साहित्य सिर्जना गर्दागर्दै आफ्नो इहलीला समाप्त गरेका छन् ।
पूर्ण रूपले बनारसलाई नै कर्मथलो बनाएर नेपाली साहित्यको सेवा गर्नेमध्ये काशीबहादुर श्रेष्ठ, दुर्गाप्रसाद श्रेष्ठ प्रमुख हुन् । काशीबहादुर श्रेष्ठले १९३७ फेब्रुअरीदेखि ‘उदय’ नामक साहित्यिक पत्रिकाका माध्यमबाट थुप्रै नेपालीलाई साहित्यतर्पm अग्रसर गराएका हुन् । पत्रिकाको प्रकाशनबाहेक यिनका मौलिक कृति पनि प्रकाशित छन् । यिनका ‘उषा’ (वि.सं. १९९५), ‘वचन’ (वि.सं. २००१) उपन्यास लगायत ‘तोतामैनाको कथा’ (१९४९) नामक कथा सङ्ग्रह प्रकाशित छन् । पछिल्लो समयमा काशीबहादुर श्रेष्ठका छोरा दुर्गाप्रसाद श्रेष्ठले ‘उदय’ पत्रिकालाई निरन्तरता दिइरहेको पाइन्छ । यसका अतिरिक्त यिनका ‘स्पन्दन’ शीर्षक कविता सङ्ग्रह, ‘सम्झनाको बादल’ शीर्षक कथा सङ्ग्रह, ‘बाग्मती साक्षी छ’ उपन्यासलगायत ‘कोसेली’, ‘शेषान्तर’जस्ता अन्य थुपै्र कृति प्रकाशित छन् । नेपालीबाहेक हिन्दी भाषामा यिनका कृतिहरू प्रकाशन भएको जानकारी पाइन्छ ।
बनारसबाट बम्बई गएका हरिहर आचार्य दीक्षितले १९०८ तिर गोर्खा ग्रन्थ प्रचारक मण्डली स्थापन गरेको जानकारी पाइन्छ । यस संस्थाबाट नामबाट पनि थुप्रै पुस्तक प्रकाशन भएका छन् । हरिहर आचार्य दीक्षितकै धर्मपत्नी दुर्गादेवी आचार्याणीका ‘अनुसूया सीता संवाद’ तथा ‘भार्या कर्तव्य’ (१९९४) जस्ता कृति प्रकाशित छन् ।
उत्तरप्रदेशको वाराणसीबाहेक इलाहावाद, कानपुर, गोरखपुर, मथुरा, मेरठ, लखनउजस्ता थुप्रै जिल्लामा नेपालीहरूको बसोबास उल्लेखनीय सङ्ख्यामा रहेको पाइए पनि नेपाली भाषासाहित्यका क्षेत्रमा ती क्षेत्रमा भएका गतिविधिको कुनै पनि जानकारी पाइँदैन ।
उत्तराखण्ड
भारतको २७ औं राज्यका रूपमा रहेको उत्तराखण्ड २००० नोभेम्बर ९ मा उत्तरप्रदेशबाट विभाजित भई छुट्टै राज्यको रूपमा स्थापना भएको हो । राज्यका रूपमा विभाजित हुँदा यसको नाम उत्तराञ्चल राखिएको थियो । २००५ मा यसको नाम परिवर्तन गरी उत्तराखण्ड राखिएको हो । यसको दक्षिणमा उत्तरप्रदेश छ भने उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ । यसको पश्चिममा हरियाणा, उत्तर पश्चिम सिमानामा हिमाचल प्रदेश तथा पूर्वमा नेपाल राष्ट्र अवस्थित छन् । १७९० मा नेपालको सेनाले कुमाउमाथि आक्रमण गरेर कुमाउलाई अधीनमा राखेपछि १८१५ सम्म यहाँ नेपालको शासन थियो । यहाँ भएको युद्धमा बलभद्र कुँवरले देखाएको बहादुरीलाई सम्मान गर्दै अङ्ग्रेजहरूले बलभद्र कुँवरलगायतका गोर्खाली सैनिकको स्मृतिमा स्मारक पनि निर्माण गरेका छन् । सुगौली सन्धिपछि उक्त क्षेत्र इस्ट इन्डिया कम्पनीको अधीनमा हुन गयो । अङ्ग्रेजले भारत छोडेर गएपछि भारतको उत्तरप्रदेशमा गाभिएको यस क्षेत्रलाई २००० मा उत्तराञ्चल नामकरण गरी छुट्टै राज्यको रूपमा स्थापना गरिएको हो । यस राज्यमा १० देखि १२ लाख नेपाली मूलका मानिसहरूको बसोबास रहेको अनौपचारिक जानकारी पाइन्छ ।
उत्तराखण्डको राजधानी देहरादुन हो । अहिले पनि सम्भ्रान्त घरानिया मानिने कतिपय नेपालीहरूले आफ्ना छोराछोरीको पढाइका लागि मुख्य गन्तव्यस्थल देहरादुन बनाएका छन् । देहरादुन सहर सेवानिवृत्त सैनिकहरूको पर्यायजस्तै बन्न पुगेको छ । छाउनी शहरका नामले परिचित देहरादुनलाई यस रूपमा विकास गर्न बेलायती उपनिवेशकालदेखि नै प्रयास भएको पाइन्छ । नालापानीको खलंगा (अङ्ग्रेजद्वारा कलिंगा लेखिएको) मलाउ युद्धमा नेपालीहरूको बहादुरीपूर्ण प्रदर्शनबाट प्रभावित भएर अङ्ग्रेजले नेपालीलाई मिलाएर गोर्खा पल्टन बनाइदिए । नेपाली युवाहरूलाई सैन्य भर्ती र तालिम दिनका लागि चारवटा केन्द्र स्थापना गर्नुका साथै सैन्य परिवारका लागि घरजग्गा, स्कुल, अस्पतालको व्यवस्था गरिएपछि भारतीय सेनामा काम गर्ने सबैतिरका नेपाली यहीँ केन्द्रीकृत हुन पुगेका हुन् । देहरादुनको सहस्रधारा रोडमा नेपाली फौजका कमान्डर बलभद्र कुँवर र अङ्ग्रेज कमान्डर जनरल जिलेस्पीको सम्मानमा अङ्ग्रेजहरूद्वारा निर्मित स्मारक छ । त्यससँगै जोडिएको जङ्गलको भिरालामा नेपालीहरूद्वारा निर्मित बलभद्र खलंगा युद्ध स्मारक पनि छ । त्यही स्मारकको केही तल सागर तालमा हरेक वर्ष नेपालीहरूले खलंगा मेला मनाउने प्रचलन पनि रहेको पाइन्छ । राजधानी देहरादुन र त्यस वरपरको क्षेत्रमा नेपाली भाषा नै प्रचलनमा रहेको पाइन्छ ।
देहरादुनमा ठाकुर चन्दनसिंहको सम्पादनमा ‘गोर्खा संसार’ तथा ‘तरुण गोर्खा’ नामक पत्रिका प्रकाशन भएको पाइन्छ । नेपाली भाषालाई भारतको संविधानमा सरकारी मान्यता दिलाउन आनन्दसिंहको योगदान अविस्मरणीय रहेको छ । आफ्ना सहयोगीहरूसँग मिलेर यिनले भारतका तत्कालीन राष्ट्रपतिलाई निवेदन लेखेर नेपाली भाषा आन्दोलनको प्रारम्भ गरेका हुन् । जसको फलस्वरूप १९९२ अगस्ट २० मा नेपाली भाषाले भारतमा संवैधानिक मान्यता प्राप्त गरेको हो । अनेकौं प्रयास गर्दा पनि उत्तराखण्डबाट नेपाली भाषामा प्रकाशित कृतिहरूको बारेमा कुनै पनि जानकारी पाउन सकिएन ।
कुनै बेला देहरादुन, कुमाउ र गढवाल क्षेत्रमा सम्पर्क भाषाको रूपमा रहेको नेपाली भाषाको स्थिति हाल त्यति सन्तोषजनक रहेको देखिँदैन । यहाँ नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृति हस्तान्तरण गर्न कतिपय विद्यालयमा नेपाली अध्यापन गराउन खोजिए पनि त्यो त्यति सफल नभएको जानकारी पाइन्छ ।
नागाल्यान्ड
भारतको पूर्वोत्तरमा अवस्थित एउटा सानो राज्य नागाल्यान्ड १९६३ दिसम्बर १ का दिन असमबाट छुट्टिएर भारतको १६ औं राज्य बनेको हो । यसको पूर्वी सीमाना म्यानमार अर्थात् बर्मासँग जोडिएको छ भने पश्चिममा असम र दक्षिणमा मनिपुर राज्य पर्छन् । यसको उत्तरी सिमानाचाहिँ असम र अरुणाचल प्रदेशसँग जोडिएको छ । प्रशासनिक दृष्टिले ११ जिल्लामा विभाजित यस राज्यमा मुख्य रूपमा अङ्गामी, आओ, छाकेसाङ, चाङ, कोन्याक, खिमाम्युङ्म लोथा, पकोम, पोथुरी, रेङमा, साङताङ, सेमा, मिचुङकर, जेलिमाङ भाषा बोलिन्छन् । यी जनजातीय भाषा बाहेक यस राज्यमा कुकी, कछारी, गारो, गोर्खा÷नेपाली भाषा बोल्नेको सङ्ख्या पनि प्रशस्तै छ । नागाल्यान्डमा नेपालीहरूको प्रवेश १८५५ तिर अङ्ग्रेजसँगै भएको मानिन्छ । अङ्ग्रेजले नागामाथि आक्रमण गर्दा यहाँ विभिन्न गोर्खा पल्टनहरू स्थापना गरेको देखिन्छ ।
नागाल्यान्डमा नेपालीहरूले गोर्खा पञ्चायत, गोर्खा छात्र सङ्घ, गोर्खा महिला समिति आदि संस्था स्थापना गरेर नेपाली समाजका हितमा थुप्रै कार्य गरेको पाइन्छ । यसैगरी ‘इन्द्रेणी’, ‘उपहार’, ‘कल्याणी’, ‘कोहिमा’, ‘पशुपति’, ‘ब्युँझ’, ‘युवक’, ‘रमिता’, ‘सरस्वती’, ‘वीणा’, ‘सृजना’ आदि पत्रिकाहरूले नागाल्यान्डको साहित्यिक विकासमा उल्लेखनीय भूमिका खेलेको देखिन्छ ।
नागाल्यान्डमा लिखित नेपाली साहित्यको इतिहास एक सय वर्षभन्दा पुरानो छ । १८९३ मा धनवीर भँडारीले ‘अब्बर्पहाडको सवाई’ लेखेर प्रकाशन गरेका थिए । अब्बर पहाड हालको नागाल्यान्डमा पर्छ । यस सवाईमा युद्धमा गएका गोर्खाली सिपाहीहरूको अवस्था एवं उनीहरूले गर्नुपरेका सङ्घर्षको वर्णनका साथै गोर्खाली फौजको वीरता र साहसको प्रशंसा गरिएको छ । ४४ औं गोर्खा पल्टनका सिपाही धनवीरका बारेमा अन्य जानकारी नपाइए पनि ‘भैंचालाको सवाई’को अन्तिम चार श्लोकमा आफ्नो परिचय दसथर मझिया, चैनपुर खरिपाटी नेपाल दिएका छन् । यसपछि गजवीर राना मगरको नागाहिल्सको सवाई पनि प्रकाशित भएको पाइन्छ । १३१ श्लोकमा संरचित यस सवाईमा नागाल्यान्डको परिचय र त्यहाँ गोर्खा सैनिकले गर्नु परेको दुखको वर्णन पाइन्छ । यसैगरी नागाल्यान्डकै विक्रमकुमार निरौलाको ‘नेपाल’ नामक कविताको पुस्तक प्रकाशित भएको जानकारी पाइन्छ ।
१९३० मा धनबहादुर राईले ‘एक थुंगा फूल’ उपन्यास लेखेको जानकारी पाइन्छ । नागाल्यान्डको नेपाली साहित्यको इतिहासमा हरिप्रसाद गोर्खा राईको नाम उल्लेखनीय छ । १९३० देखि लेख्न थालेका हरिप्रसाद गोर्खा राईका ‘बाबरी’ र ‘मनचरीको बोल’ नामक कविता सङ्ग्रह तथा ‘यहाँ बदनाम हुन्छ’ नामक कथा सङ्ग्रह प्रकाशित छन् । नेपालबाट जगदम्बाश्री सम्मानले सम्मानित राईलाई स्थानीय सरकारले साहित्यिक पेन्सन पनि प्रदान गरेको छ ।
नेपाली भाषाका साथै विभिन्न जनजातीय भाषामा कलम चलाउने हरिप्रसाद ‘गोर्खा’ राईका शुरुशुरुका रचनाहरू जुनुमाया राइनी, फक्करसिंह सिपाहीजस्ता विभिन्न छद्म नामबाट पनि छापिएका छन् । नेपालबाट निस्कने ‘शारदा’मा प्रकाशित जुनुमाया राइनीका केही निबन्धात्मक लेख प्रकाशित छन् । जुनुमाया राइनीलाई कतिपय समालोचकले नारी साहित्यकारका रूपमा चर्चा गरेको पाइए पनि जुनुमाया राइनी कुनै महिला लेखक नभएर हरिप्रसाद ‘गोर्खा’ राईकी पहिली पत्नी हुन् । शारदामा जुनुमाया राइनीका नामबाट प्रकाशित रचना जुनुमाया राइनीका नभई हरिप्रसाद ‘गोर्खा’ राईका भएको कुरा स्वयं राईले नै बताएका छन् ।
यसपछि धनबहादुर सोनारले ‘म आफ्नै ऐनाभित्र’ नामक आत्मकथा लेखेको भए पनि उक्त पुस्तक प्रकाशित नहुँदै धनबहादुरको मृत्यु भएकाले पछि उनकी श्रीमती सरस्वती सोनार र मेघालयका साहित्यकार विक्रमवीर थापाको सक्रियतामा उक्त पुस्तक ‘कर्मवीर धनबहादुर सोनार आफ्नै अभिव्यक्तिभित्र (१९९६)’ नामकरण गरी प्रकाशित भएको जानकारी पाइन्छ । यसका साथै धनबहादुर सोनारद्वारा लिखित नाटक ‘सावित्री’ सत्यवानको मञ्चन भएको कुरा भारतीय नेपाली रङ्गमञ्चको इतिहासमा उल्लेख गरिएको छ । राजासिंह लिम्बूको ‘पाखे’ (१९८५) नामक कविता सङ्ग्रह एवं दुर्गा गौतमको ‘सङ्कल्प’ तथा ‘पुतलीपुरका पाँच तारा’ नामक कृति पनि यस क्षेत्रबाट प्रकाशित भएका छन् । नेपाली र बङ्गाली भाषामा समान रूपले कलम चलाउने सरस्वती सोनारका कविता तथा यात्राविवरण विभिन्न पत्रिकामा प्रकाशित भएका छन् । इन्द्रमाया, कमला सोनार, गोविन्द पैरा, नर्मदा छेत्री, परशु शाही, प्रीतम छेत्री, बदनसिंह राई, भानुमती राई, लालवीर क्षेत्री, सरस्वती राई आदिले नागाल्यान्डको नेपाली साहित्यको विकासमा योगदान दिएका छन् । विभिन्न कारणवश अहिले नागाल्यान्डको नेपाली साहित्य सिर्जना त्यति सक्रिय रहेको देखिँदैन । यस राज्यमा केही मात्रामा साहित्यिक गतिविधि भए पनि नेपाली भाषामा पुस्तक प्रकाशित गर्ने महिला साहित्यकार देखापरेका छैनन् ।
पश्चिम बङ्गाल
पश्चिम बङ्गाल भारतको पूर्वी भेगमा अवस्थित छ । भारतमा अङ्ग्रेजी साम्राज्यको प्रारम्भ यसै राज्यबाट भएको मानिन्छ । यसको उत्तर–पूर्वमा असम, उत्तरमा सिक्किम तथा पश्चिममा बिहार एवं झारखण्ड छन् भने दक्षिणमा अर्काे राज्य उडिसा एवं बङ्गालको खाडी पर्छन् । यसैगरी यस राज्यको सिमाना पूर्वमा बङ्गलादेश, पश्चिममा नेपाल तथा उत्तरमा भुटान गरी तीन देशसँग जोडिएको छ । यस राज्यको राजधानी कोलकाता हो । मुख्य भाषा बाङ्गला रहेको यस राज्यमा नेपाली भाषाले पनि राज्यभाषाको मान्यता पाएको छ । प्रशासनिक दृष्टिले १९ जिल्लामा विभाजित पश्चिम बङ्गालको दार्जिलिङ तथा जलपाइगुडी जिल्लामा नेपालीहरूको बाहुल्य छ भने कुचविहार, कोलकाता, हुगली, हाबडालगायत अन्य कतिपय जिल्लाहरूमा नेपालीहरूको बसोबास उल्लेखनीय छ ।
नेपालबाहिर नेपाली भाषासाहित्य भन्नासाथ दार्जिलिङको नाम पहिलो पङ्क्तिमै आउँछ । दार्जिलिङको इतिहास नेपाल, भुटान, सिक्किम तथा बङ्गालसँग जोडिएको छ । प्रारम्भमा नेपालकै एक भागका रूपमा रहेको दार्जिलिङ केही समय भुटान तथा केही समय सिक्किमको कब्जामा पनि परेको थियो । १८ औं शताब्दीमा पुनः नेपालको अधीनमा रहे पनि सन् १८१७ मा नेपाल अङ्ग्रेजबीच भएको सुगौली सन्धिका कारण यो भाग इस्ट इन्डिया कम्पनीका मातहतमा गएको हो । अङ्ग्रेज शासकहरूले ग्रिष्म मौसमको गर्मीबाट छुट्कारा पाउनका लागि यस ठाउँलाई हिलस्टेसन बनाइएको बनाएका हुनाले बेलायती रेसिडेन्ट्स यहाँ आउने गर्दथे । यसका साथै भारतमा रहेका अङ्ग्रेजहरूको बालबालिका लागि शिक्षा आर्जन गर्ने थलोका रूपमा पनि यो क्षेत्र चिनिन्थ्यो । अन्तर्राष्ट्रिय स्तरमा चियाको लागि प्रसिद्धि कमाएको दार्जिलिङमा रहेको दार्जिलिङ हिमालयन रेलवे युनेस्कोको विश्व सम्पदा सूचीमा पनि परेको छ । कुनै समय दार्जिलिङमा विद्यालयहरूले धेरै नेपाली विद्यार्थीहरूलाई आकर्षित पनि गरेको हो ।
दार्जिलिङमा बसोबास गर्ने सबै जातिले नेपाली भाषाको प्रयोग मातृभाषाकै रूपमा गरेका छन् । नेपाली साहित्यमा दार्जिलिङको योगदान अतुलनीय छ । दार्जिलिङमा नेपाली भाषासाहित्यको विकास एवं विस्तार गर्न पादरी गङ्गाप्रसाद प्रधानको ठूलो योगदान छ । यिनले नेपाली भाषामा बाइबलको अनुवाद गर्नुका साथै थुप्रै पाठ्यपुस्तकहरू लेखेको पाइन्छ । यिनले ‘गोर्खे खबर कागत’ नामक पत्रिका प्रकाशनको प्रारम्भ गर्नुका साथै थुप्रै कृतिहरू नेपाली भाषामा अनुवाद गरेको पाइन्छ । यिनीपछि सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधानलगायताका व्यक्तिहरूले पनि नेपाली भाषासाहित्यको विकास एवं विस्तारका लागि महत्त्वपूर्ण भूमिका खेलेका छन् । दार्जिलिङका विभिन्न शैक्षिक संस्थामा नेपाली भाषाको पठनपाठन, नेपाली भाषासाहित्यसम्बन्धी सङ्संस्थाको स्थापना गर्दै धेरैलाई लेखनमा प्रेरित गर्ने तथा पुस्तक प्रकाशनमा सहयोग गरिदिएर सूर्यविक्रम, धरणीधर र पारसमणिले नेपाली भाषा र साहित्यको विकासमा ठूलो भूमिका खेलेका छन् । यिनीहरूकै सत्प्रयासका कारण १९४२ जुन १७ का दिन दार्जिलिङमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माण भएको हो । यिनीहरूकै नेतृत्व र सक्रियतामा भारतका विभिन्न क्षेत्रमा भानुजयन्ती मनाउने र भानुजयन्तीका दिन बिदा दिने चलन रहेको जानकारी पाइन्छ । सूर्यविक्रम ज्ञवालीकै सम्पादनमा ‘भानुभक्तको रामायण’ (१९३२) प्रकाशन भएको देखिन्छ ।
दार्जिलिङबाट धरणीधर कोइराला, अगमसिंह गिरी, असीत राई, सानुमती राई, ओकिउयामा ग्वाइन, कुमारी खाती, गुमानसिंह चामलिङ, मोहन दुखुन, जीवन नामदुङ, तुलसी अपतन, सावित्री सुन्दास, प्रेम शेर्पा विरोकी, बुद्धकुमार मोक्तान, मनप्रसाद सुब्बालगायत थुप्रै कविका कविताकृति प्रकाशित छन् । पछिल्लो समयमा राजा पुनियानी, मनोज बोगटीजस्ता कविले कविता सिर्जनाका माध्यमबाट हस्तक्षेपी आन्दोलनलाई अघि बढाइरहेका छन् ।
नेपाली कथाको विकासमा पनि दार्जिलिङले उल्लेखनीय भूमिका खेलेको छ । नेपाली कथाको आधुनिक कालको प्रारम्भतिर दार्जिलिङबाट प्रकाशन भएको ‘कथाकुसुम’ (वि.सं. १९९५) ले नेपाली कथाको विकासमा अग्रणी स्थान प्राप्त गरेको छ । यसले पुष्कर शमशेरलाई नेपाली कथाका क्षेत्रमा प्रवेश गराउनुका साथै नेपाली कथालाई सैद्धान्तिक आधारमा विश्लेषण गर्नाका लागि पृष्ठभूमि प्रदान गरेको पाइन्छ । नेपालीका सुप्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालालाई नेपाली भाषामा लेखन गर्ने कार्यतर्पm उन्मुख गराउन सूर्यविक्रम ज्ञवालीले प्रेरणादायी भूमिका निर्वाह गरेका थिए । नेपाली भाषामा लिखित कोइरालाको पहिलो कथा ‘चन्द्रवदन’ (वि.सं. १९९२) बाटै नेपाली कथामा मनोविज्ञानको प्रारम्भ भएको हो । यसअगि कोइराला हिन्दी भाषामा लेख्ने गर्थे ।
दार्जिलिङमा रूपनारायण सिंह, शिवकुमार राई, देवकुमारी थापा, लक्खीदेवी सुन्दास, एम.एम. गुरुङ, वीरविक्रम गुरुङ, गनुसिंह गुरुङ, सुरेश राई, असीत क्षेत्री, कुमार घिसिङ, कृष्णसिंह मोक्तान, मोहन ठकुरी, इन्द्रबहादुर राई, नन्द हाङखिम, शङ्कर सुब्बा फागो, विक्रम रूपासा, रामलाल अधिकारी, नरबहादुर दाहाल, गाब्रियल राणा, देवनम देवसा, धनवीर पुरी, हरिश बमजन, इन्द्र सुन्दास, विन्द्या सुब्बाजस्ता थुप्रै कथाकारहरूका कथाकृति प्रकाशित छन् ।
नेपाली उपन्यासमा स्वच्छन्दतावादको प्रारम्भ गराउने रूपनारायण सिंहको ‘भ्रमर’ तथा सामाजिक यथार्थवादी धाराको प्रारम्भ गराउने लैनसिंह बाङ्देलको ‘मुलुकबाहिर’ उपन्यास दार्जिलिङबाटै प्रकाशन भएका हुन् । यसैगरी इन्द्रबहादुर राईद्वारा लिखित ‘आज रमिता छ’ उपन्यासबाट नेपाली उपन्यास परम्परामा अस्तित्ववादी–विसङ्गतिवादी धाराको प्रवर्तन भएको मानिन्छ । यसपछि दार्जिलिङको भूमिबाट थुप्रै उपन्यास प्रकाशित भएका छन् । शिवकुमार राई, असीत राई, अच्छा राई रसिक, इन्द्रबहादुर राई, विन्द्या सुब्बा, पुष्प राई, सरिता प्रधान, सुवास घिसिङ, प्रकाश कोविद, जय धमला, नरबहादुर दाहाल, इन्द्रमणि दर्नालजस्ता थुप्रै उपन्यासकारको योगदान नेपाली उपन्यासका क्षेत्रमा उल्लेखनीय छ । पारसमणि प्रधान, राजनारायण प्रधान, रामलाल अधिकारी आदिको स्थान नेपाली निबन्धका क्षेत्रमा उल्लेख्य छ । यसैगरी नेपाली समालोचनामा दोषदर्शनको प्रारम्भ पनि रामकृष्ण शर्माले दार्जिलिङबाटै गरेका हुन् । इन्द्रबहादुर राई, कुमार प्रधान, गुमानसिंह चामलिङ, जीवन नामदुङ, लक्खीदेवी सुन्दास आदिले नेपाली समालोचनामा कलम चलाइरहेका छन् ।
नेपाली साहित्यमा तेस्रो आयामका रूपमा परिचित आयमेली आन्दोलनको प्रारम्भ एवं विकास पनि दार्जिलिङकै भूमिबाट भएको हो । यसले नेपाली कविता तथा कथाका क्षेत्रमा नौलो मोड प्रदान गरेको पाइन्छ । अर्काेतिर इन्द्रबहादुर राईद्वारा प्रवर्धित लीला लेखनको चर्चा पनि नेपाली साहित्यमा भएको पाइन्छ ।
दार्जिलिङमा जन्मेर पछि नेपाललाई कर्मथलो बनाएका पारिजात, वानिरा गिरी, मनबहादुर मुखिया आदि स्रष्टा पनि दार्जिलिङकै उपज हुन् । दार्जिलिङमै साहित्यिक व्यक्तित्व निर्माण गरेका लैनसिंह बाङ्देलजस्ता साहित्यकारले पनि समयक्रममा नेपाललाई कर्मथलो बनाएका थिए ।
नेपाली साहित्यको इतिहासमा दार्जिलिङका सङ्घसंस्था एवं पत्रपत्रिकाको पनि ठूलो योगदान रहेको पाइन्छ । यिनमा नेपाली साहित्य सम्मेलन, गोर्खा दुख निवारक सङ्घ जस्ता आदिको नाम उल्लेख्य रहेको छ । नेपाली साहित्यको विकासमा दार्जिलिङबाट प्रकाशन हुने पत्रपत्रिकाको पनि अग्रणी स्थान छ । नेपाली वाङमयको विकास र विस्तारमा दार्जिलिङबाट प्रकाशित ‘गोर्खे खबर कागत’, ‘चन्द्रिका’, ‘नेपाली साहित्य सम्मेलन पत्रिका’, ‘नेबुला’, ‘खोजी’, ‘भारती’, ‘गोर्खा’, ‘हाम्रो कथा’जस्ता थुप्रै पत्रपत्रिकाको योगदान उल्लेखनीय छ ।
पश्चिम बङ्गालका १९ जिल्लामध्ये एउटा जिल्ला जलपाइगुडीअन्तर्गत टिस्टा र सुनकोेश नदीका बीचमा रहेको भूभाग डुबर्सका नामबाट परिचित छ । सन् १७८८ को युद्धमा पृथ्वीनारायणको नेपाल एकीकरण अभियानमा नेपालको सिमाना विस्तार हुँदै सिक्किमसम्म पुगेपछि डुवर्समा नेपालीहरूको आवागमन शुरु भएको हो । अङ्ग्रेजहरूले यहाँ चियाखेती शुरु गरेपछि ‘चियाको बोटमा पैसा फल्छ’ भन्ने लोभ देखाई अत्यधिक सङ्ख्यामा नेपालीहरूलाई यहाँ ल्याइएको हो । पश्चिम बङ्गाल राज्यमा रहेका २९२ मध्ये १५५ वटा चियाबगान डुबर्समै रहेको जानकारी पाइन्छ । ऐतिहासिक तथ्यहरूलाई हेर्दा यस क्षेत्रमा नेपालीहरूले नै बसोबास र खेतीपातीको शुरुआत गरेको पाइन्छ । डुवर्सका कालचिनी, बाग्राकोट, दुम्सीपाडा, वीरपाडा, सामसिंग, दलसिंहपाडा आदि स्थानमा नेपालीहरूको बाहुल्य रहेको देखिन्छ ।
नेपालीभाषीहरू ठूलो सङ्ख्यामा रहे पनि डुवर्समा नेपाली भाषाको पढाइ हुने कुनै उच्च विद्यालय छैन । औपचारिक रूपमा नेपाली भाषाको पढाइ नहुने भए पनि यस क्षेत्रका नेपालीहरूले नेपाली भाषाप्रति देखाएको आस्था र प्रेम अनुकरणीय छ । डुवर्समा रहेका नेपालीहरूद्वारा बर्सेनि हर्षोल्लासका साथ भानुजयन्ती मनाउने प्रचलन रहेको जानकारी पाइन्छ । यहाँबाट नेपाली भाषामा विभिन्न साहित्यिक एवं समाचारप्रधान पत्रिकाहरू पनि प्रकाशित भएका छन् । ‘हाम्रो ध्वनि’, ‘हिमालफेदी’, ‘डुवर्स बुलेटिन’, ‘इन्द्रधनु’, ‘कोपिला’, ‘मुना’, ‘शिरीष’, ‘टिस्टा सुनकोश’, ‘धुपौरो’, ‘सौगात’ आदि यहाँबाट नेपाली भाषामा प्रकाशित भएका मुख्य–मुख्य पत्रपत्रिकाहरू हुन् । यिनका अतिरिक्त अनेक हस्तलिखित पत्रिका पनि यहाँबाट प्रकाशित भएका छन् ।
डुवर्समा १९२७ तिरदेखि नेपाली भाषामा लेखिएका रचनाहरू पाइन्छन् । डुवर्समा नेपाली भाषामा सिर्जित पहिलो पुस्तकाकार कृति ‘धामीको सवाई’ हो । दिलबहादुर सरदार र गङ्गाप्रसाद बैदारद्वारा लेखिएको यो कृति सन् १९४२ मा प्रकाशित भएको हो । यसपछि यस क्षेत्रबाट विभिन्न काव्यकृतिहरू देखापरेका छन् । यिनमा लोकनाथ प्रधानको ‘बिरुवा’, पद्म भुजेलको ‘भक्कानोहरू’, टीका पराजुलीको ‘फूलहरू–काँढाहरू’, इन्द्रबहादुर गुरुङको ‘आगोहरू अनि फूलहरू’, किताबसिंह राईको ‘वनफूल’, वेगवसन्त थापाको ‘पाठशालाको पहिलो दिन’ तथा ‘टिस्टा बगिरहेछ’, गणेश गजमेरको ‘गाउँलाई भनेर’जस्ता अनेक कविता कृति प्रकाशन भएका छन् । यिनका कवितामा जातीय सुधारको अपेक्षाका साथ आफ्नो जातीय अस्तित्वलाई कायम राख्दै अन्य जातिसँग मिलेर बस्नुपर्ने भावको अभिव्यक्ति पाइन्छ । मटिल्डा राईको टोटोलाको ‘फूल’लाई डुवर्सको पहिलो कथा सङ्ग्रह मानिन्छ । यसैगरी कमला खप्तावली, श्रीनारायण प्रधानलगायतका कथाकारका कथा सङ्ग्रह तथा विष्णु शर्मा अधिकारीका ‘प्रकृति–कन्या’ एवं ‘विजयमाला’ नामक उपन्यास प्रकाशित छन् । ‘नेपाली साहित्यका भौंप्वालहरू’ नामक समालोचनात्मक कृतिका लेखक जीवन नामदुंग पनि सामसिंग डुवर्सकै उपज हुन् । यसैगरी बाग्राकोटका रूपेश शर्माको ‘सिर्जना’ र ‘दृष्टि’ (२०१७) नामक समालोचनात्मक कृति प्रकाशित छन् ।
यसबाहेक डुवर्सको नेपाली साहित्यमा कलम चलाउनेहरूमा सीबी प्रधान, कृष्णभक्त खडका, मोहन गोले, गनुसिंह मोक्तान आदि छन् । अध्ययन, कामको खोजी, बसाइसराइ, विवाहसम्बन्ध आदि अनेक कारणबाट डुवर्स जलपाइगुडीका साहित्यकारलाई कतिपयले दार्जिलिङकै साहित्यकारअन्तर्गत चर्चा गर्ने गरेको पनि पाइन्छ । यस्तो स्थिति यदाकदा सिक्किमेली साहित्यकारका बारेमा पनि लागू भएको देखिन्छ ।
पश्चिम बङ्गालको राजधानीका रूपमा रहेको कोलकातामा पनि नेपाली साहित्यको स्थिति आशालाग्दो नै छ । कोलकाताबाट ‘प्रभात’, ‘बिहानी’, ‘बाबरी’, ‘मौलो’, ‘परदेशी’जस्ता विभिन्न पत्रिका प्रकाशन भएको पाइन्छ । कोलकातामा बसेर साहित्य सिर्जना गर्नेहरूमा गणेशकुमार प्रधानको ‘तीन चेली’ (२०१२) शीर्षक नाट्यकृति प्रकाशित छ । यसका अतिरिक्त यिनका थुप्रै नाटकहरू मञ्चन भएको जानकारी पाइन्छ । कलकत्ताको सेरोफेरोमा रहेर अन्य कतिपय स्रष्टाका पुस्तकाकार कृति प्रकाशन भएको अनौपचारिक जानकारी पाइए पनि ती उपलब्ध हुन सकेनन् ।
साहित्यमा रुचि राख्ने उत्साही युवाको सक्रियतामा कलकत्तामा अहिले लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठानको स्थापना गरिएको छ । यस संस्थाले विभिन्न साहित्यिक गतिविधि एवं प्रकाशनका कार्य गर्नाका साथै नेपाली साहित्य र कलाको उत्थानको निम्ति योगदान दिने विभिन्न व्यक्तिहरूलाई पुरस्कृत एवं सम्मानित गर्ने गरेको पाइन्छ ।
मणिपुर
पूर्वोत्तर भारतमा अवस्थित एउटा सानो राज्य मणिपुर २१ जनवरी १९७२ का दिन असमबाट अलग्गिएर भारतको एउटा छुट्टै राज्य बनेको हो । प्रशासनिक दृष्टिले ९ जिल्लामा विभाजित यस राज्यको उत्तरमा नागाल्यान्ड, दक्षिणमा मिजोरम र छन् भने यसको पूर्वी सीमा बर्मा अर्थात् म्यान्मारसँग जोडिएको छ । पाण्डवको वनवासकालमा अर्जुन यहाँ पुगेर यहाँकी नागकन्या उलुपीसँग बिहे गरेको प्रसङ्ग महाभारतमा उल्लिखित छ । मैतेयी, नागा, कुकी, नेपाली आदि जातिको बसोबास रहेको यस राज्यको राजधानी इम्फाल हो । राज्य भाषाका रूपमा मेइतिलोन अर्थात् मणिपुरी प्रयोग हुने यस राज्यमा नेपालीहरूको बसोबास धेरै अगाडिदेखि रहेको पाइए पनि १८१६ तिर नेपालीहरूको उपस्थिति रहेको इतिहास भेटिन्छ । १८९१ मा यहाँका सुबेदार निरञ्जनसिंह क्षेत्रीलाई अङ्ग्रेज प्रशासनले इम्फालमा फाँसी दिएको जानकारी पाइन्छ । भारतको इतिहासमा ‘प्रथम गोर्खा शहीद’को रूपमा निरञ्जनसिंह क्षेत्रीको नाम लिने श्रद्धापूर्वक लिने गरिन्छ । १८९१ मा मणिपुरलाई अङ्ग्रेजले अधीनमा लिएपछि यहाँ असम चौथो राइफल्सको क्याम्प खडा गरियो । यस क्याम्पका सबै सिपाहीहरू नेपाली नै थिए । यिनै सेनाको सक्रियतामा मणिपुरमा नेपाली भाषामा नाटकहरू लेखी मञ्चन गर्न थालिएको जानकारी पाइन्छ ।
मणिपुरमा नेपालीभाषीले खोलेका प्राथमिक तहदेखि १० कक्षासम्म नेपाली भाषा पढाइने ८ वटा स्कुलहरू रहेको जानकारी पाइन्छ । मणिपुरमा गोर्खाली अर्थात् नेपालीहरूले सामाजिक, धार्मिक कार्यका निम्ति विभिन्न प्रकारका सङ्घसंस्था स्थापना गरेका छन् । जसमा मणिपुर गोर्खा सुधारक सङ्घ, अखिल मणिपुर गोर्खा विद्यार्थी सङ्गठन, अखिल भारतीय नेपाली भाषा समिति, नेपाली साहित्य परिषद् मणिपुर आदि मुख्य छन् । नेपाली भाषामा यहाँबाट ‘सन्देश’, ‘बिरुवा’, ‘नेती’, ‘समिधा’, ‘सङ्कल्प’, ‘चिन्हारी’, ‘शुप्रभातम्’, ‘गोर्खा ज्योति’, ‘मञ्जरी’, ‘कांग्लातोंबी बेला’जस्ता थुप्रै पत्र पत्रिकाहरू प्रकाशन भएका छन् ।
मणिपुरको नेपाली साहित्यको इतिहास निकै पुरानो रहेको पाइन्छ । भारतीय नेपाली साहित्यको प्रारम्भ नै तुलचन आलेले १८९३ मा लेखेको ‘मुनिपुर्का लडाञिको सवाई’लाई मानिन्छ । तुलचन आलेका बारेमा खास जानकारी नपाइए पनि यिनी १८९१ मा गोर्खा पल्टनमा लेन्स नायक थिए भन्ने जानकारी यिनकै ‘मुनिपुर्का लडाञिको सवाई’का केही श्लोकमा उल्लेख गरिएको छ । मणिपुरमा गोर्खाली फौजको वीरता र सङ्घर्षको वर्णन सरल ढङ्गमा गरिएको यो काव्य सवाई छन्दमा संरचित छ । अन्तमा ‘नाम मेरो लेन्सनायक तुलचन आले, जानी नजानी अली कती कथा जोरी हालें’ भनेर यो कृति समाप्त गरिएको छ । १९५३ मा आशारानी राईको सक्रियतामा मणिपुर नेपाली साहित्य समितिको गठन भयो । यिनी भारतीय नेपाली भाषा सङ्ग्रामीका बीच ‘मणिपुरकी दिदी’का रूपमा परिचित एवं सम्मानित थिइन् ।
मणिपुरको नेपाली साहित्यमा चन्द्रेश्वर दुवेको नाम उल्लेखनीय छ । यिनका थुप्रै कृतिहरू मणिपुर हुँदै प्रकाशित भएका थिए भने कतिपय कृति यिनी नेपालमा आएपछि पनि प्रकाशित भएका छन् । यिनका मेची बग्दै थियो, सम्झनाको डोको, जिन्दगीको बाटो, भानुभक्त र घाँसी, लाहुरे, संयुक्त वक्तव्य, भावीपत्नीलगायतका थुप्रै कविताकृति प्रकाशित छन् । यिनका देशको माटो तथा जिन्दगीको बाटो नामक दुई उपन्यास पनि प्रकाशित भएको जानकारी पाइन्छ । यिनले ‘नेपाली साहित्यः एक सर्वेक्षण’, ‘तेस्रो आयामको शव परीक्षा’ तथा ‘उर्वसीः महाभारतको पृष्ठभूमिमा’, ‘देवकोटै देवकोटा’, ‘कालिदास र देवकोटा’जस्ता समालोचनात्मक कृति पनि लेखेका छन् ।
यसपछि सीताराम लम्सालको ज्ञानज्योति, अनिरुद्ध गौतमका ‘चस्माभित्रका घायल आँखा’, ‘अज्ञात शब्दका पछिपछि’, कृष्णप्रसाद काफ्लेको ‘मनका खुट्का’, पद्मबहादुर राईको ‘कस्तूरी’, आलोक गौतमको ‘मान्छेभित्रको मान्छे बोल्छ’, दीपक पन्थको ‘पूर्णिमाको जून’, नेत्र अकिारीको ‘कलिला बेलपत्र’, कृतिमणि खतिवडाको ‘म’ नामक कविता सङ्ग्रह प्रकाशित छन् । यसैगरी आशारानी राईको यम द्वितीया, पद्मबहादुर राईको सिमाना तथा देवी थापा ‘मामा’को आमा नामक कथा सङ्ग्रह पनि मणिपुरबाट प्रकाशित भएका छन् । यसका अतिरिक्त कमल थापा प्रकाशको ‘आहचाह’ नामक कविता सङ्ग्रह तथा ‘त्याग’ (२०१५) नामक नाटक प्रकाशित भएका छन् । यिनले लेखेका थुप्रै नाटकहरू मञ्चन भएको जानकारी पनि पाइन्छ । मणिपुरमा जन्मिएर हाल गुवाहटीमा बसोबास गर्ने गोमादेवी शर्मा (अधिकारी) का ‘नेपाली भाषा र संस्कृति’ तथा ‘मणिपुरमा नेपाली साहित्यः एक अध्ययन’ नामक कृति प्रकाशित छन् ।
माथि उल्लेख गरिएबाहेक भवानी अधिकारी, घनश्याम कोइराला, राहुल राई, सीताराम अधिकारी, चूडामणि खरेलजस्ता थुप्रै साहित्यकारका साहित्यिक कृति प्रकाशित भएको जानकारी पाइन्छ । यसैगरी नेपाली साहित्य परिषद्बाट कक्षा ९, १०, ११ र १२ का लागि ‘नेपाली साहित्य सङ्कलन’, ‘नेपाली साहित्य रश्मि’, ‘नेपाली साहित्य सञ्चयिका’ नामक विभिन्न पाठ्यपुस्तक पनि प्रकाशित भएका छन् । कमल थापा ‘प्रकाश’, तिलबहादुर बस्नेत, दुर्गा शर्मा, देवबहादुर चापागाईं, देवीप्रसाद गौतम, नारायणप्रसाद उप्रेती, भानु अधिकारी, भावना बासकोटा, भीम कोइराला, मुकुन्द तिम्सिना, रामप्रसाद पौडेल, होमप्रसाद शिवाकोटी आदिका फुटकर रचनाहरू यहाँका विभिन्न पत्रिकामा प्रकाशित छन् । मणिपुरमा बसोबास गर्ने नेपाली साहित्यकारको कलम नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी एवं मणिपुरी भाषामा पनि चलेको पाइन्छ ।
विभिन्न राजनीतिक एवं प्रशासनिक सन्दर्भका साथै नयाँ पुस्तामा देखापरेको नयाँ विषय एवं प्रविधिप्रतिको मोहले यहाँका नेपालीहरूमा नेपाली भाषा पढ्ने–पढाउने गतिविधि क्रमशः कम हुँदै गएको छ । यसको फलस्वरूप पहिलेका तुलनामा अहिले यहाँको नेपाली साहित्यिक गतिविधि त्यति सक्रिय रहेको पाइँदैन ।
मिजोरम
भारतको सुदूरपूर्वमा अवस्थित सानो पहाडी राज्य मिजोरम अङ्ग्रेजको शासन कालमा लुसाई हिल्स डिस्ट्रिक्टका नामले परिचित थियो । यसको उत्तरी सिमानामा असम र मणिपुर तथा पश्चिममा त्रिपुरा राज्य छन् । यसको पूर्वी–दक्षिणी सीमा बर्मा अर्थात् म्यानमार जोडिएको छ भने पश्चिमी सीमामा बङ्गलादेश छ । १९७२ मा असम राज्यबाट छुट्टिएर बेग्लै राज्यको रूप लिएको मिजोरम १९८६ सम्म भारतको केन्द्रशासित राज्यका रूपमा रह्यो । १९८७ फेब्रुअरी १ का दिन भारतको तेइसौं राज्यका रूपमा मान्यता पाएको मिजोरम प्रशासनिक दृष्टिले ८ जिल्लामा विभाजित छ । यहाँ नेपालीहरूको प्रवेश १८७० को हाराहारीदेखि भएको मानिन्छ । मिजोरमका सरकारी विद्यालयहरूमा नेपाली जातिका विद्यार्थीलाई कक्षा ८ सम्म नेपाली माध्यममा शिक्षा दिइने प्रचलन छ । अहिले यस राज्यमा नेपाली भाषामा पढाइने प्रावि, उच्च प्रावि र मावि गरी लगभग ७ दर्जनजति विद्यालयहरू सक्रिय छन् ।
मिजोरमका सबै क्षेत्रमा नेपालीहरूको बसोबास रहेको भए पनि क्षेत्रका तुलनामा आइजोल र कोलाशिव भन्ने ठाउँमा नेपालीहरूको बाक्लो उपस्थिति छ । यस क्षेत्रमा रहेका नेपालीहरूद्वारा बर्सेनि हर्षोल्लासका साथ भानुजयन्ती मनाउने प्रचलन रहेको जानकारी पाइन्छ । मिजोरममा नेपाली भाषामा विभिन्न साहित्यिक एवं समाचारप्रधान पत्रिकाहरू पनि प्रकाशित भएका छन् । ‘गोर्खा स्टार’, ‘निगालो’, ‘प्रयास’, ‘कोपिला’, ‘सुनाखरी’, ‘रानीभन्ज्याङ’, ‘सयपत्री’, ‘युवा’, ‘दृष्टि’, ‘सारङ्गी’, ‘आमा’, ‘गहना’ आदि यहाँबाट प्रकाशित प्रमुख पत्रपत्रिकाहरू हुन् । यीमध्ये कतिपय पत्रपत्रिका हस्तलिखित रूपमा प्रकाशित भएका हुन् ।
मिजोरममा नेपाली भाषामा साहित्य सिर्जना गर्ने पहिलो व्यक्ति रामप्रसाद उपाध्याय ज्ञवाली हुन् । यिनका पुस्तकाकार कृति प्रकाशित नभए तापनि ‘फूलपाती’, ‘सुमन’, ‘तरुण’, ‘युगवाणी’ आदि पत्रिकामा रचनाहरू प्रकाशित छन् । यिनका केही रचना मिजोरमबाहेक अन्य राज्यका पाठ्यक्रममा पनि पढाइ हुन्छ । यिनका कयौं पुस्तकाकार कृतिका पाण्डुलिपि उनका सन्तानसँग सुरक्षित रहेको जानकारी पाइन्छ । द्रोण प्रधानको ‘मलाई विश्वास छ’ कविता सङ्ग्रह मिजोरमको नेपाली साहित्यको इतिहासमा पहिलो पुस्तकाकार कृति हो । यसका अतिरिक्त लक्ष्मी मिनुको ‘मिर्मिरेका अनुभूतिहरू’, सुनिता सुब्बाको ‘उद्गारहरू’ तथा सी. कामलौवाको ‘अनुभवका दुई फाँटहरू’जस्ता कविता सङ्ग्रह प्रमुख प्रकाशित कृति हुन् ।
मिजोरममा नेपाली जातिबाहेक स्थानीय मिजो जातिका व्यक्तिहरूले पनि नेपाली भाषामा कलम चलाएका छन् । तीमध्ये सी. कामलौवाको नेपाली भाषामा पुस्तकाकार प्रकाशित छ । ‘नेपाली भाषा विश्वकै उत्कृष्ट भाषाहरूमध्ये एक हो’ भन्ने दृष्टिकोण राख्ने कामलौवाको ‘अनुभवका दुई फाँटहरू’ नामक कृतिमा कविता र निबन्ध सङ्गृहीत छन् । मिजोरममा ‘अगोर्खाको गोर्खे चिन्तन’ नामबाट परिचित यस कृतिलाई केन्द्रीय भारतीय भाषा संस्थान मैसुरले भाषा–भारती पुरस्कार पनि प्रदान गरेको छ । मिजोरमका नेपाली जातिले लेखेका साहित्यिक कृतिका तुलनामा कामलौवाको गद्य एवं पद्यमा प्रयुक्त भाषा परिष्कृत एवं परिमार्जित हुनाका साथै ठेट नेपालीको प्रयुक्तिका दृष्टिले पनि उल्लेखनीय छ । गुनु घर्तीका ‘सपना’, ‘चोखो माया’, ‘प्रायश्चित’, ‘सिन्दुरबिनाकी अर्धाङ्गिनी’ गरी चारवटा उपन्यास प्रकाशित छन् । मिजोरमको नेपाली साहित्यमा एउटै मात्र नाट्यकृति लक्ष्मी मिनुको ‘कर्तव्य’ प्रकाशित छ ।
माथि उल्लेख गरिएबाहेक इन्द्रकुमार राई, उदय कुमार जोशी, कमल थापा, किरण वान्तवा राई, केशराज घिमिरे, गीता राई, चनराज जोशी, छबुकान्त जोशी, निर्मलकुमार पुन, पूर्णप्रसाद, बुद्धिराजा, भरत राई, मदन सुवेदी, मनुकुमार लिम्बू, रामप्रसाद पौड्याल, बाबुराम शर्मा, विष्णु पराजुली, शिवकुमार थापा, सङ्ग्राम सिंह आदिका फुटकर रचना त्यहाँका पत्रपत्रिकामा प्रकाशित छन् ।
मेघालय
भारतको उत्तरपूर्वमा पर्ने सात राज्यमध्ये मेघालय पनि एक हो । भारतको बाईसौं राज्य मानिने मेघालय १९७० सम्म छुट्टै राज्य नभएर असम राज्यअन्तर्गत नै थियो । हालको राजधानी शिलोङ सम्पूर्ण असमकै राजधानीका रूपमा थियो । १९७० मा स्वायत्त पर्वतीय परिषद्को रूपमा गठन भएको मेघालय १९७२ मा असमबाट अलग्गिएर पूर्ण राज्यका रूपमा प्रतिस्थापित भयो । यसको पूर्व र उत्तरमा भारतकै अर्काे राज्य असम पर्छ भने दक्षिण र पश्चिममा बङ्गलादेश छ । प्रशासनिक दृष्टिले सात जिल्लामा विभाजित मेघालयमा संसारकै सबभन्दा बढी पानी पर्ने क्षेत्रका रूपमा चर्चित चेरापुन्जी र मौसनरामजस्ता ठाउँ छन् । स्वतन्त्र राज्य मेघालयको स्थापनापछि असमको राजधानीका रूपमा रहेको शिलोङलाई नै यसको राजधानी कायम गरियो । भारतीय संविधानको छैटौं अनुसूचीअन्तर्गत जनजातिको संरक्षणका लागि निर्माण गरिएको यस राज्यमा मूल रूपमा खासी, गारो र जयन्तिया जातिको बसोबास छ । बेग्लाबेग्लै भाषा र संस्कृति भएका यी सबै मातृसत्तात्मक पारिवारिक संरचना भएका जाति हुन् । विवाहपश्चात् पत्नीको घरमा भित्रिएर पतिले घरभित्रका काममा संलग्न हुनुपर्ने, पतिले पत्नीको थरमा आफूलाई समाहित गर्नुपर्ने, सन्तानको पहिचान आमाका नामबाट हुने तथा पैतृक सम्पत्तिमा छोरीको अधिकार हुने व्यवस्था यी तीनै जातिका वैशिष्ट्य हुन् । यी तीनै जाति भारतीय संविधानको छैटौं अनुसूचीअन्तर्गत विशेष व्यवस्था गरिएका जातिका रूपमा छन् । बेग्लाबेग्लै भाषा भएका यी जातिले सम्पर्क भाषाका रूपमा अङ्ग्रेजी भाषा प्रयोगमा ल्याएको देखिन्छ भने कतिपय ठाउँमा अनौपचारिक रूपमा नेपाली भाषा माध्यम भाषाका रूपमा पनि प्रयोग गरिएको पाइन्छ । यी तीन जातिबाहेक यस क्षेत्रमा नेपाली, बङ्गाली, बिहारी, मारवाडी आदि जातिको पनि बसोबास छ ।
असममा अङ्ग्रेजी शासन शुरु भएपछि नेपालीहरूको प्रवेश अङ्ग्रेजहरूसँगै मेघालयमा भएको हो । यसबाहेक काम र मामको खोजीमा यस क्षेत्रमा प्रवेश गरेका नेपालीहरू पनि जङ्गल फाँडेर खेती तथा पशुपालन गर्दै त्यतै बस्न थाले । यसरी विभिन्न कारणबाट यस क्षेत्रमा नेपालीहरूले बसोबास बढ्दै गयो । हाल यस क्षेत्रमा निकै ठूलो सङ्ख्यामा नेपालीहरूको बसोबास छ । हाल मेघालयमा नेपाली भाषालाई प्रमुख भारतीय भाषाको रूपमा मान्यता दिई यसका माध्यमबाट पनि पठनपाठन हुने गरेको पाइन्छ । यस क्षेत्रका विभिन्न स्थानमा नेपाली भाषासाहित्यसम्बन्धी गतिविधि निकै सक्रिय रूपमा सञ्चालन भइरहेका छन् भने नेपाली भाषामा प्रशस्त साहित्य सिर्जना र पत्रपत्रिकाको प्रकाशन हुने क्रम पनि निरन्तर चलिरहेको छ ।
मेघालयको साहित्यिक गतिविधिको अध्ययन गर्दा बृहत्तर असमकालीन समय र मेघालयको स्थापनापश्चात् गरी दुई चरणमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ । मेघालय राज्यको स्थापनापूर्वदेखि नै यस क्षेत्रबाट नेपाली भाषामा थुप्रै पत्रपत्रिका प्रकाशित भएको पाइन्छ । १९३६ मा शिलोङबाट प्रकाशित ‘गोर्खा सेवक’ यस क्षेत्रको नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका हो । यो पत्रिका अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । यसपछि यस क्षेत्रबाट ‘फिलिङ्गो’, ‘आसाम गोर्खा’, ‘उषा’, ‘हाम्रो आशा’, ‘सुमन’, ‘आशा’, ‘अभियान’, ‘तरुण’, ‘नवचेतना’, ‘मादल’ आदि मेघालयको राज्यको स्थापना हुनुपूर्व यस क्षेत्रबाट नेपाली भाषामा प्रकाशित भएका मुख्य पत्रिकाहरू हुन् । यसैगरी ‘भुवन’, ‘विद्यार्थी’, ‘गोरेटो’, ‘छात्र आवाज’, ‘रेखाचित्र’, ‘मेघमाला’, ‘प्रशान्ति’, ‘जनशक्ति’, ‘पूर्वालोक’, ‘हुरी’, ‘पसिना’, ‘नौलो सृजना’, ‘पूर्व सन्देश’, ‘अछेता’, ‘सिमसाङ’, ‘चौबाटो’, ‘सम्झौटो’, ‘युगदृष्टि’, ‘अब जाग’, ‘युगान्तर’, ‘देवकोटा स्मारिका’, ‘कोसेली’, ‘मायालु’, ‘पौरख’ आदिजस्ता पत्रपत्रिका मेघालय राज्यको स्थापनापश्चात् प्रकाशित भएका प्रमुख पत्रपत्रिका हुन् । यस क्षेत्रमा प्रकाशित भएका पत्रपत्रपत्रिकाहरूले नेपाली जाति तथा नेपाली भाषा एवं साहित्यको विकासमा धेरथोर योगदान दिएका छन् ।
हालसम्म प्राप्त जानकारीअनुसार तुलचन आलेको ‘मुनिपुर्का लडाञिको सवाई’ (१८९३ तिर) यस क्षेत्रको पहिलो कविताकृति हो । ३० श्लोकमा संरचित यस सवाईमा अङ्ग्रेजको आदेशानुसार गोर्खापल्टन र मणिपुरका बीच भएको युद्धको वर्णन पाइन्छ । यसपछि धनवीर भण्डारीले १८९४–९५ तिर ‘अब्बर्पहाडको सवाई’ रचना गरेको जानकारी पाइन्छ । धनवीर भण्डारीकै दोस्रो कविता कृति ‘भुइँचालाको सवाई’को रचनाकाल १९९८ तिर भएको अनुमान गरिएको छ । यसपछि १९१५–१६ तिर मनोरथ उपाध्यायद्वारा लिखित ‘तीर्थावली’ काव्य देखापरेको छ । १९३७ मा ‘कर्तव्यशिक्षा’ लिएर देखापरेका पद्मप्रसाद ढुङ्गानाका ‘रामायण शिक्षा पद्म प्रकाश सप्तकाण्डम्’ (१९३८), ‘धनुषभङ्ग’ (१९३९) र ‘रामायण सप्तरत्न’ (१९४१) जस्ता कविता कृति देखापरेका छन् । १९५७ मा प्रकाशित गोकुलप्रसाद जोशीको ‘बाँच र बाँच्न देऊ’ कविता सङ्ग्रहमा विविध प्रकारका शोषणका विरुद्धमा कवितात्मक अभिव्यक्ति दिइएको छ । यसैगरी १९७० मा प्रकाशित दिल साहनीको ‘नौलो माटो’ प्रकाशित भएको पाइन्छ ।
असमअन्तर्गत रहेको मेघालय १९७० मा स्वायत्त पर्वतीय परिषद्को रूपमा गठन भई १९७२ मा पूर्ण राज्यका रूपमा प्रतिस्थापित भएपछि पनि मेघालयमा नेपाली साहित्यको विकास भएको देखिन्छ । धर्मलाल भुसालको ‘युगको घेराभित्र मलिन अनुहारहरू’, गोपीनारायण प्रधानका ‘साइलक आइरहेछ’, ‘यस्तो भूल पो गरेछु’, ‘आकाशले पनि ठाउँ खोजिरहेछ’, बलराम पोखरेलका ‘जीवन सङ्घर्षदेखि डराएको मान्छे’ तथा ‘देवरूपा’, रणबहादुर क्षेत्रीका ‘युगगीत’, ‘नौलो गीतः नयाँ कविता’, ‘नरबुङको सवाई’ (१९८९), ‘आमाको पुकारः छोराको हुँकार’ (१९८९, काव्य), ‘यो कविता तिम्रो गाउँमा’ (१९९४), ‘टुत्रैmटुक्रा’ (१९९४), ‘कटुसत्य’ (१९९९) जस्ता कविताकृति प्रकाशित भएको जानकारी पाइन्छ । यसैगरी दिलबहादुर नेवारको ‘इन्द्रेणी’ (१९९१), मणिसिंह थापाको ‘कविता कुञ्ज’ (१९९१), कृष्णप्रसाद ज्ञवालीको ‘कृष्णप्रसाद ज्ञवालीका कविताहरू’ (२०००) अनामिकाका ‘अन्तद्र्वन्द्व’ (२०००) तथा ‘नीलकण्ठ’ (२००१), गीता लिम्बूको ‘बिहानी’ (२००८) तथा टेकनारायण उपाध्यायको ‘एउटा शहर’ (२०११) शीर्षक कविता सङ्ग्रह पनि मेघालयबाट प्रकाशित भएका हुन् । यीबाहेक दुर्गाप्रसाद उपाध्यायको ‘कल्पनाको फूल’ (१९७७), पदम क्षेत्रीको ‘आदिम सडक’ (१९८५) तथा खेमलाल पोखरेलको ‘विश्वशान्ति’ (१९८६) कविता सङ्ग्रह पनि प्रकाशित भएको जानकारी पाइन्छ ।
मेघालय राज्य स्थापना हुनुपूर्व विभिन्न पत्रपत्रिकामा फुटकर रूपमा कथाहरू प्रकाशित भएको पाइए पनि सङ्ग्रहको प्रकाशनचाहिँ मेघालय राज्यको स्थापना भएपछि मात्र भएको देखिन्छ । अर्जुन निरौलाका ‘एउटा रात बितेपछि’ (१९७२) तथा ‘साँझसँगसँगै’ (१९७९), विक्रमवीर थापाको ‘बीसौं शताब्दीकी मोनालिसा’ (१९९३), अनामिकाको ‘बादलपारिको आह्वान’ (२००२), गीता लिम्बूको ‘बूढाबाको छाता’ (२००३) कथा सङ्ग्रह प्रकाशित छन् ।
माया ठकुरीका ‘नजुरेका जोडी’ (वि.सं. २०३०) र ‘गमलाको फूल’ (वि.सं. २०३३) उनी मेघालयमा छँदै छापिएका हुन् । नेपाल प्रवेश गरेपछि यिनका ‘साँघु तरेपछि’ (वि.सं. २०३९), ‘चौतारो साक्षी छ’ (वि.सं. २०४६), ‘माया ठवmुरीका कथाहरू’ (वि.सं. २०४८), ‘आमा ! जानुहोस्’ (वि.सं. २०६४), ‘प्रियम्बदा’ (वि.सं. २०६९) जस्ता कथा सङ्ग्रह प्रकाशित भएका छन् ।
मेघालयमा उपन्यास लेखनको शुरुवात यस राज्य स्थापना हुनुपूर्व नै भएको पाइन्छ । १९४८ मा बबुरबहादुर राणाको ‘सपना या विपना’ नामक गद्याख्यान प्रकाशित भएको जानकारी पाइए पनि यस कृति उपलब्ध नभएकाले यसबारे केही भन्न सक्ने स्थिति छैन । मेघालय राज्यका रूपमा स्थापना भएपछि अर्जुन निरौलाका ‘शिशिरको बतास’ एवं ‘घाम डुबेपछि’ तथा विक्रमवीर थापाका ‘विगतको परिवेशभित्र’, ‘टिस्टादेखि सतलजसम्म’ तथा ‘माटो बोल्दो हो’ जस्ता उपन्यास प्रकाशित छन् ।
मेघालयमा नाटक मञ्चन गर्ने परम्परा १९२९–३० तिरदेखि भएको पाइन्छ । त्यसपछि यस क्षेत्रमा विभिन्न स्थानमा नेपाली नाटकको मञ्चन गर्ने परम्परा व्यापक रूपमा भएको पाइन्छ । त्यसबेला देखि नै नेपाली साहित्यमा लेखिएका थुप्रै नाटकहरू यस क्षेत्रमा मञ्चन भएका छन् । मेघालयको साहित्यिक इतिहासमा टी. कार्कीको ‘विजयका हातहरू’ (१९९०) पुस्तकाकार कृतिका प्रकाशित एउटै मात्र नाट्यकृति हो । यसमा ‘विजयका हातहरू’, ‘फलामको ढिको’ तथा ‘समाधान’ शीर्षक तीनवटा एकाङ्की समाविष्ट छन् । यसबाहेक यस क्षेत्रमा दिल साहनी, मणिसिंह थापा, भुवानन्द पाण्डे, गङ्गा जोशी, दिवाकर पाण्डे, धर्मलाल भुसाल आदिले पनि एकाङ्की/नाटक लेखेको जानकारी पाइन्छ ।
मेघालयमा निबन्ध लेखनको शुरुवात यस राज्य स्थापना हुनुपूर्व नै छिटपुट रूपमा भएको जानकारी पाइए पनि कृष्णप्रसाद ज्ञवालीको उपस्थितिपछि यो अघि बढेको देखिन्छ । नेपालको गुल्मी जिल्लामा जन्मिएर मेघालयलाई कर्मक्षेत्र बनाएका कृष्णप्रसाद ज्ञवाली साहित्यका विभिन्न विधामा कलम चलाए पनि मूलतः निबन्धकारका रूपमा परिचित छन् । यिनको ‘पीपलको छहारी’ शीर्षक निबन्ध सङ्ग्रह प्रकाशित छ । कृष्णप्रसाद ज्ञवालीका अतिरिक्त दिलबहादुर नेवारको ‘विचारमा डुबेको मान्छे’ (१९७७) नामक निबन्धात्मक कृति प्रकाशित छ । यसका अतिरिक्त यिनका ‘मेरा बितेका दिनहरू— भाग १’ (१९७७), ‘मेरा बितेका दिनहरू— भाग २’ (१९८०), ‘मेरा बितेका दिनहरू— भाग ३’ (१९८२), ‘मेरा बितेका दिनहरू— भाग ४’ (१९८४) तथा ‘यात्रा संस्मरण’ जस्ता संस्मरणात्मक कृति पनि प्रकाशित छन् ।
सिक्किम
पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानपछि सिक्किम नेपालको अधीनमा थियो । १८१६ मा भएको सुगौली सन्धिपछि यो नेपाली भूभागबाट बाहिरिएको हो । नामग्याल वंशद्वारा शासित यस राष्ट्रलाई १९७५ मे १६ का दिन बाईसौं राज्यका रूपमा भारतमा विलय गराइएको हो । क्षेत्रफलका हिसाबले यो भारतको दोस्रो सानो राज्य मानिन्छ । यसको सिमाना पश्चिममा नेपाल, उत्तर एवं पूर्वमा तिब्बतसँग जोडिएको छ भने दक्षिणपूर्वमा भुटान र दक्षिणमा भारतकै पश्चिम बङ्गाल छन् । प्रशासनिक दृष्टिले चार जिल्लामा विभाजित यस राज्यको राजधानी गान्तोक हो । सबैले बुझ्ने हुनाले नेपाली भाषा यहाँको मुख्य एवं सम्पर्कको भाषाका रूपमा छ ।
सिक्किममा नेपाली भाषाको प्रयोग धेरै अघिदेखि भएको पाइन्छ । यसैले यहाँबाट नेपाली भाषामा थुप्रै पत्रपत्रिकाहरू प्रकाशित भएका छन् । ‘अर्चना’, ‘निर्माण’, ‘प्रक्रिया’, ‘स्रष्टा’, ‘सिद्धि’, ‘बार्दली’, ‘सञ्जीवनी’, ‘स्थापना’, ‘प्रभास’, ‘किनार’, ‘सूर्योदय’, ‘अस्मिता’, ‘झरना’, ‘बाबरी’, ‘कला’, ‘संस्कृति’, ‘युग’, ‘हिमरेखा’, ‘परिमल’, ‘नागबेली’, ‘अग्निशिखा’, ‘जागृति’, ‘सिक्किमश्री’, ‘युवा चिन्तन’, ‘नारी शक्ति’ आदि विभिन्न पत्रपत्रिकाले सिक्किममा नेपाली भाषाको विकास र विस्तारका लागि उल्लेखनीय योगदान दिएका छन् ।
यहाँको लेख्य साहित्य खोज्दै जाँदा नेपाली साहित्यको प्राथमिक कालसम्मै पुग्नुपर्ने हुन्छ । प्राथमिककालीन निर्गुण भक्तिधाराका कवि ज्ञानदिलदासले पश्चिम सिक्किमको गेलिङमा धाम बनाएर जोसमनी सम्प्रदायको मत प्रचार गरेका थिए । यही बसेर यिनले केही भजनहरू लेखेको जानकारी पाइन्छ । यसपछि प्रसादसिंह ‘नेचाली’को ‘प्रीतिलहरी’ (१९१९), मानवीरसिंह रसाइलीको ‘विश्वब्राह्मण वर्णन’ (१९२५) जस्ता कृतिहरू प्रकाशन भएका छन् । तुलसीबहादुर क्षेत्रीको सक्रियतामा अपतन साहित्य परिषद् स्थापनापश्चात् सिक्किममा नेपाली साहित्यको विस्तार र विकास हुन थालेको हो । यसपछि चन्द्रदास सापकोटा, मनोरथ दाहाल, चन्द्रवीर राई, भवानीशङ्कर पोखरेलजस्ता कविका कविता कृति प्रकाशित भएका छन् । तुलसीराम ‘कश्यप’, चक्रपाणि भट्टराई, शिवप्रधान, प्रज्ञारत्न शाक्य, गङ्गा कप्तान, केदार गुरुङ, प्रवीण राई जुमेली, गिर्मी शेर्पा, राजेन्द्र भण्डारी, पवन चामलिङ ‘किरण’, भीम दाहाल, उपमान बस्नेत, मीना सुब्बा, वीणाश्री खरेल, सरला राई लगायतका कविहरू सिक्किमको नेपाली कविताका क्षेत्रमा सक्रिय देखिएका छन् । यसैगरी पछिल्लो समयमा उपमान बस्नेत, वीरु बाङ्देल, विजय सुब्बा, थिरुप्रसाद नेपाल, सुधा राई, दीपा राई, वीरभद्र कार्की ढोली, अमर बानिया ‘लोहोरो’, शान्ति क्षेत्री, प्रद्युम्न श्रेष्ठ, हेमप्रसाद ढकाल अनिता सेवा, विजय बान्तवा, भक्ति बस्नेत, टीका भाइ, लीला तुम्बोपो, नन्दकुमार ठटाल, गिर्मी शेर्पा, वसन्ती शर्मा आदिले पनि नेपाली कविताका क्षेत्रमा योगदान दिएका छन् ।
सिक्किममा नेपाली कथा लेखनको प्रारम्भ १९४४–१९४५ तिरदेखि भएको पाइन्छ । यस समयमा यहाँका विभिन्न कथाकारका कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । १९६६ मा तुलसी राम ‘कश्यप’ को ‘संसार यस्तै रहेछ’ नामक कथा सङ्ग्रहको प्रकाशनपछि यस क्षेत्रमा कथाका थुप्रै कथाकार देखापरेका छन् । सानु लामा, सानुभाइ शर्मा, पूर्ण राई, गंगा कप्तान, राधाकृष्ण शर्मा, आर्य लामिछाने, गहर उदासी, सरला राई, प्रेम थुलुङ, भीम दाहाल, प्रवीण राई जुमेली, कालुसिंह रनपहेंली, उपमान बस्नेत जस्ता कथाकारका कथा सङ्ग्रह प्रकाशित छन् । कथा क्षेत्रमै सक्रिय रहेका सानु लामा भाषासाहित्यको उत्कृष्ट सेवा गरेबापत भारत सरकारबाट २००४ को पद्मश्री पुरस्कारले सम्मानित पनि भएका छन् । पछिल्लो समयमा सिक्किमेली नेपाली कथामा कलम चलाउने कमला आँसु, शान्ति क्षेत्री, सुधा राई, थिरुप्रसाद नेपाल, वीरभद्र कार्की ढोली, डिल्लीप्रसाद शर्मा अधिकारी, दलमान डी. गुरुङ, अभिचन्द्र सिग्देल, जीवन बान्तवा, टीबी चन्द्र सुब्बा, सानुभाइ शर्मा आदि नेपाली कथाका क्षेत्रमा सक्रिय देखिएका कथाकार हुन् । सिक्किममा नेपाली भाषामा पहिलो उपन्यास लेख्ने श्रेय गंगा कप्तानलाई जान्छ । यिनका ‘निर्दयी’ (१९६९) ‘जिउँदो लाश’ (१९७०), ‘महत्वहीन कुमारीत्व’ (१९७०), ‘इन्दू’ (२००५) जस्ता उपन्यास प्रकाशित छन् । यसपछि सुवास दीपक, राधाकृष्ण शर्मा, तुलसी शर्मा ‘कश्यप’, भीम दाहाल, एमडी कार्की, पारसमणि शम, गीता शर्मा, चक्रपाणि भट्टराई, टीबी चन्द्र सुब्बा, सन्तोष गुप्त ‘उदास’ आदिका औपन्यासिक कृति प्रकाशित भएको पाइन्छ ।
सिक्किममा नेपाली नाटकको मञ्चन धेरै अघिदेखि भएको पाइए पनि लेख्य रूपमा यसको प्रकाशन निकै पछि मात्र भएको हो । ध्रुव लोहगणका ‘आँधी आएपछि’ (१९९७) र ‘मृगतृष्णा’ (२००६) पूर्णाङ्की नाटक हुन् भने ‘कटुसत्य’ (१९९९) एकाङ्की सङ्ग्रह हो । सामाजिक विकृति र विसङ्गतिलाई विषय बनाइएका यिनका नाटक हास्यव्यङ्ग्यप्रधान देखिन्छन् । यसैगरी चुनिलाल घिमिरको ‘पुत्काको मह’ तथा ‘साँझदेखि साँझ’सम्म नामक नाट्यकृति प्रकाशित भएको पाइन्छ । नेपाली नाटकमा कलम चलाउने अन्य स्रष्टाहरूमा एमडी कार्की, थमन नौवाग आदि प्रमुख छन् । निबन्धका क्षेत्रमा कलम चलाउने घनश्याम नेपाल, शान्ति क्षेत्री, महानन्द पौड्याल, सानु लामा, भीम दाहाल, सानुभाइ शर्मा, वत्स गोपाल, तुलसीराम शर्मा ‘कश्यप’, पवन चामलिङ, प्रद्युम्न श्रेष्ठ, छिरिङ पाञ्जो शेर्पा, गोपाल गाउँले, अशोक प्रशान्त, अर्जुन पीयूष, उदयचन्द्र वशिष्ट, रामचन्द्र शर्मा, राज के श्रेष्ठ, सुवास दीपक आदि उल्लेखनीय छन् ।
सिक्किममा नेपाली समालोचनाका क्षेत्रमा पनि सिक्किमे लेखकहरूले कलम चलाएका छन् । शोभाकान्ति थेगिम, शान्ति छेत्री, पुष्प शर्मा, घनश्याम नेपाल, वत्सगोपाल, पेम्पा तामाङ, दीपक तिवारी आदिका समालोचनात्मक कृति प्रकाशित छन् । घनश्याम नेपाल शैली वैज्ञानिक परिपाटीमा समालोचना गर्ने समालोचक हुन् भने पेम्पा तामाङको ‘आख्यानदेखि पराख्यान’सम्म शीर्षक समालोचनात्मक कृति प्रकाशित छ । यसरी सिक्किममा विभिन्न विधाका माध्यमबाट नेपाली साहित्यको उल्लेखनीय विकास एवं विस्तार भएको पाइन्छ ।
हिमाचल प्रदेश
भारतको उत्तरपश्चिमा अवस्थित हिमाचल प्रदेशको स्थापना १९७१ जनवरी २५ मा भएको हो । भारतको अठारौं राज्य मानिने हिमाचल प्रदेशको उत्तरमा जम्मू–कश्मिर तथा दक्षिणमा हरियाणा एवं उत्तर प्रदेशजस्ता राज्य छन् । यसको पश्चिम तथा दक्षिण पश्चिममा पञ्जाब, दक्षिणमा हरियाणा एवं उत्तरप्रदेश, दक्षिणपूर्वमा उत्तराखण्ड तथा पूर्वमा चीनको स्वशासित क्षेत्र तिब्बत छन् । यो राज्यमा सरकारी कामकाजको भाषा हिन्दी र अङ्ग्रेजीलाई मानिएको छ । हिमाञ्चल प्रदेशका १२ जिल्लामध्ये मुख्य रूपमा काँगडा र सिमलामा नेपालीहरूको बसोबास उल्लेख्य रहेको पाइन्छ । काँगडाको भाग्सु अर्थात् धर्मशाला भन्ने ठाउँमा नेपालीहरूको बाक्लो बस्ती रहेको छ । अहिले भाग्सुमा नेपालीबहुल १६ गाउँ रहेको जानकारी पाइन्छ । भाग्सुबाहेक नेपाली समुदाय धेरै बसोवास भएका ठाउँहरूमा नाहान, बक्लोह, पालमपुर, सिमलालगायत पर्छन् । अधिकांशतः सैनिक सेवामा रहेका व्यक्तिहरूको बसोबास रहेको यस क्षेत्रमा नेपाली फौज लड्दै कब्जा गर्दै पश्चिमतिर बढ्दै जाँदा यस क्षेत्रका विभिन्न ठाउँमा नेपालीको बस्तीको विस्तार भएको जानकारी पाइन्छ ।
हिमाञ्चल प्रदेशको साहित्यिक विस्तारमा शेरसिंह राना, बहादुरसिंह बराल, मास्टर मित्रसेन थापा, मगन पथिक आदिको योगदान अग्रपङ्क्तिमा छ । शेरसिंह रानाको ‘मेरो लन्डन राजतिलक यात्रा’ (१९१३) प्रकाशित छ । गोर्खा राइफल्समा रहँदा उनी ब्रिटिस सरकारको निम्तोमा १९११ मा पञ्चम जर्जको राजतिलक समारोहमा भाग लिन लन्डन गएका थिए । गीत, सङ्गीत, नाटक एवं अभिनयका माध्यमबाट नेपाली साहित्यमा सक्रिय रहेका मित्रसेन थापाका पनि थुप्रै कृतिहरू प्रकाशन भएको जानकारी पाइन्छ । बहादुरसिंह बरालको ‘आँसु’ नामक गीतकविताको सङ्ग्रह विभिन्न समयमा विभिन्न भागमा प्रकाशित भएको पाइन्छ । राष्ट्रप्रेम, जातीय जागरण, ईश्वर भक्ति, औपदेशिकता आदि बरालको ‘आँसु’ कृतिमा समाविष्ट गीत एवं कविताका प्रवृत्ति हुन् । मगन पथिकका ‘मित्रको डायरी’ तथा ‘केही गीत, केही कविता’ (१९८३), ‘ठाकुर चन्दनसिंहः एक श्रद्धाञ्जली’ (१९८७), ‘मित्रसेन साहित्य’ (१९८८), ‘मित्रसेन’ (१९८९) लगायत ‘श्रद्धाको फूल’ (१९८५) एवं ‘कविता गीत सङ्ग्रह’ (१९९९) नामक कविताकृति प्रकाशित भएको जानकारी पाइन्छ । हाल यस क्षेत्रमा जातीय सांस्कृतिक सचेतता पाइए पनि लेख्य नेपाली साहित्य भने त्यति मौलाउन सकेको देखिँदैन ।
उपसंहार
माथि विभिन्न राज्यमा नेपाली भाषासाहित्यको अवस्थितिबारे उल्लेख गरिए पनि असम र यसबाट विभाजित भएका राज्यहरूमा नेपाली भाषासाहित्यको चर्चा गर्दा एउटा राज्यको सन्दर्भ र साहित्यकारका बारेमा एक–अर्कामा चर्चा गर्ने गरिन्छ । यसैगरी कतिपय समालोचकहरूले डुवर्स एवं जलपाइगुडीको चर्चा दार्जिलिङसँग जोडेर गर्ने प्रचलन पनि रहेको पाइन्छ भने विभिन्न कारणवश सिक्किम र दार्जिलिङका साहित्यकारलाई पनि जोड्ने गरिन्छ ।
भारतका उडिसा, कर्णाटक, गुजरात, झारखण्ड, त्रिपुरा, मध्यप्रदेश, पञ्जाब, महाराष्ट्र, राजस्थान, बिहार, दिल्ली, हरियाणालगायतका राज्यहरूमा पनि नेपालीभाषीको सङ्ख्या प्रशस्तै देखिन्छ । यी राज्यहरूमा नेपाली साहित्य सिर्जना फुटकर रूपमा गर्नेहरूको सङ्ख्या पनि प्रशस्तै छ । यसका अतिरिक्त त्यहाँबाट बेलाबेलामा पत्रपत्रिका एवं स्मारिकाहरूको प्रकाशन हुने कुरा पनि जानकारी पाइन्छ । तीमध्ये दिल्लीमा बसोबास गर्ने नेपालीभाषीका केही पुस्तकाकार कृति प्रकाशित भएको जानकारी पाइए पनि ती उपलब्ध हुन सकेनन् । दिल्लीबाहेक अन्य राज्यहरूमा बसोबास गर्ने नेपालीभाषीका पुस्तक प्रकाशित भएको कुनै जानकारी उपलब्ध हुन सकेन ।
बहुजाति, बहुधर्मी तथा बहुभाषी मुलुक भारतका विभिन्न क्षेत्रमा अन्य भाषी, धर्मी तथा जातिसँग मिलेर बसोबास गरिरहेका नेपाली जातिले बेलाबेला जातीय, क्षेत्रीयलगायतका अनेक समस्याको सामना गर्नुपरेको पाइन्छ । यति हुँदाहुँदै पनि उनीहरूले जातीय अस्तित्वलाई जोगाउँदै साहित्य सिर्जनालाई निरन्तरता दिइरहेका छन् । जातीय अस्तित्वका लागि सङ्घर्ष गर्दै साहित्यमा लागिपरेका भारतीय नेपाली साहित्यकारको प्रयास र सक्रियता अत्यन्त अनुकरणीय र सराहनीय छ । भारतका विभिन्न क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने नेपाली साहित्यकारहरूको अवस्थिति र सिर्जनधर्मितालाई हेर्दा सिङ्गो नेपाली साहित्यका क्षेत्रमा यिनीहरूको उपस्थिति र योगदान परिमाणात्मक एवं गुणात्मक दुवै दृष्टिबाट उल्लेखनीय छ । अझ उनीहरूमध्ये अधिकांशतः जीवितै रहेका र सक्रिय रूपले सिर्जनरत देखिएकाले नेपाली साहित्यको विकासमा यिनले थप योगदान पु¥याउने स्थिति टड्कारो छ ।
(यो अंश लीला लुइटेलको हालै प्रकाशित कृति ‘भारतीय नेपाली महिला साहित्यकार’बाट लिइएको हो । पुस्तक सांग्रिला इन्डियाले प्रकाशन गरेको हो)