पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवार अमेरिका भ्रमण सकेर काठमाडांै फर्किएका छन् । पत्नी सिताको उपचारका लागि परिवारका केही सदस्यसहित दाहाल अमेरिका आएका थिए । यो दाहालको व्यक्तिगत भ्रमण थियो । व्यक्तिगत भए पनि दाहालले संभव भएसम्म राजनीतिक भेटघाटको प्रयास भने गरेका थिए ।
अमेरिका छँदै दाहाललाई नेपाली समुदायले सामाजिक संजालमा आलोचना गरेका थिए र त्यो अस्वाभाविक थिएन । यसअघि अर्का पूर्वप्रधानमन्त्री तथा माओवादीका पूर्वनेता डा. बाबुराम भट्राई अमेरिका आउँदा पनि यस्तै विरोध भएको थियो ।
काठमाडौं फर्केपछि दाहालले अमेरिका बस्ने आफूलाई ‘सुपरपावर’ ठान्ने पुराना नेपालीले आफ्नो विरोध गरेको अभिव्यक्ति दिए । उनको यो बुझाइ भने सही होइन । नेपालमा जस्तै अमेरिकामा पनि माओवादी हिंसाबाट पीडित नेपालीले दाहालको विरोध गरेका थिए । विरोध गर्नेमा नयाँ र पुराना भन्ने थिएन । दाहालप्रति विरोधको अर्को कारण अब उनले देश विकासमा योगदान दिन्छन् भन्ने आशा कम हुँदै जानु पनि हो । दाहालमात्र होइन कांग्रेसका नेता आउँदा पनि यहाँ विरोध हुने गरेको छ । समाजिक संजालमा बहस हुन्छ ।
एक जना व्यक्तिले दाहाललाई युद्ध अपराधी भन्दै कारबाहीका लागि अमेरिकी सरकारको एक निकायलाई पत्र पठाएको भन्ने पनि सार्वजनिक भयो । काठमाडौंमा अवतरण गरेपछि विमानस्थलमा दाहालले यसलाई पनि उल्लेख गर्दै दूतावासले सतर्कता अपनाएको बताए ।
यो पत्र कुनै गम्भीर विषय थिएन । व्यक्ति विशेषले अमेरिकाको अनुसन्धान गर्ने निकायलाई एउटा इमेल पठाए भनेर समाजिक संजालमा आएको थियो । यो अदालतमा मुद्दा हालिएको होइन । दाहाललाई कारबाही नै गर्न ती व्यक्ति गम्भीर थिए भने अदालतमा मुद्दा हाल्नुपर्थ्यो ।
अमेरिकाको अनुसन्धान निकाय एफबीआईलाई कसैले एउटा समान्य इमेल पठाउँदैमा त्यसलाई महत्त्व कति दिने ? एफबीआईले यस पत्रमा कुनै प्रतिक्रिया नै दिएन । त्यो इमेल साँच्चै पठाइएको थियो कि सस्तो चर्चा पाउनमात्र प्रचार गरिएको थियो भन्ने पनि पुष्टि हुनसकेको छैन ।
अमेरिकामा मुख्यरुपमा दाहालको विरोधभन्दा पनि माओवादी हिंसा र त्यसपछि देशको अवस्थाका बारेमा असन्तुष्टि व्यक्त भएको हो । नेपालको वर्तमान सत्तारुढ राजनीतिसँग नजिक मानिएका संजय थापाले विगतमा भएको हिंसाको बाटो गलत थियो भनेर विरोध हुनु स्वाभाविक भएको प्रतिक्रिया दिए । अहिले त्यस चरणबाट दाहाल निकै अगाडि बढिसकेको पनि थापाले वताए । दाहाल अमेरिकामा पक्राउ पर्ने खतरा छ भन्ने कुरा हल्लामात्र थियो । कसैले पत्याएका थिएनन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष दाहालले भ्रमण व्यक्तिगत भए पनि अमेरिका सरकारका उच्च पदाधिकारीलाई भेट्ने प्रयास भने गरेका थिए । काठमाडौंबाट उँड्दा अमेरिकी उपराष्ट्रपतिलाई भेटाउने कूटनीतिक पहल भइरहेको समाचार आएको थियो । धेरै समय नेपाली राजदूतको निवास रहेको नेपाली भवन र उपराष्ट्रपति कार्यालय टाढा पनि थिएन । तर, अमेरिकाले यसलाई व्यक्तिगत भ्रमणका रुपमा नै सीमित गर्न चाहेको संकेत दियो । उपराष्ट्रपति, विदेशमन्त्रीलाई दाहालले भेट्न सकेनन् । विदेश मन्त्रालयकी एक जना सहसचिव स्तरीय कर्मचारीलाई मात्र भेट्ने मौका उनलाई मिल्यो । उक्त भेटमा पनि ती कर्मचारीले इन्डोप्यासेफिकमा नेपाललाई गरिएको आमन्त्रणलाई गम्भीररुपमा नलिन सुझाव दिइन् । उनले नेपाललाई अप्ठेरो पार्ने काम अमेरिकाले नगर्ने जानकारी गराइन् ।
अमेरिकी प्रशासन भेनेजुएलाको विषयमा अहिले व्यस्त छ । संयोग, दाहालले केही साताअघि अमेरिकाको विरोध गर्दै भेनेजुएलाको सरकारका पक्षमा वक्तव्य दिएका थिए । दाहालको अमेरिका विरोध र भेनेजुएलाको पक्षमा आएको विज्ञप्तिलाई अमेरिकी सरकारमात्र होइन अमेरिकामा बस्ने नेपाली समुदायले पनि रुचाएका थिएनन् । भेनेजुयलाभन्दा अमेरिका नै नेपालका लागि निकट हुनुपर्नेमा किन यस्तो विज्ञप्ति आयो भन्ने प्रश्न यहाँको नेपाली समुदायले उठाएको थियो । यो सत्य पनि हो ।
दाहालको अमेरिकाको विरोध र पत्नीको उपचारका लागि अमेरिका आगमनप्रति नेपालमा पनि समाजिक संजालमा प्रश्नहरु उठेका थिए । दाहालको अमेरिकाप्रतिको टिप्पणी दुई देशबीच जुन तहमा सम्बन्ध विस्तार भइरहेको छ यसमा मेल खाने प्रकारको पनि थिएन ।
अमेरिकामा करिब तीन लाख नेपाली बस्छन् । नेपाल र भा।तबाहिर सबैभन्दा बढी नेपाली समुदायको स्थायी बसोबास भएको देश अमेरिका नै हो । दोस्रो, नेपालले प्राप्त गर्ने रेमिट्यान्समा अमेरिकाबाट जाने रकम सबैभन्दा बढी छ । गत आर्थिक बर्ष १७० अर्ब रुपियाँ रेमिट्यान्स अमेरिकाबाट नेपाल गएको थियो ।
अमेरिका नेपाली विद्यार्थीको पनि पहिलो रोजाइको देश हो । माओवादी नेताका छोराछोरीसमेत अमेरिकामा पढ्न आएका छन् ।
नेपालको विकासमा पनि अमेरिकाको सहयोग उच्च छ । सत्तारुढ पार्टीका अध्यक्षले विज्ञप्ति निकाल्नुअघि यी तथ्य किन बेवास्ता गरे भन्ने प्रश्न नेपाली समुदायको हो । अमेरिकामा दाहालप्रति असन्तुष्टि पोखिनुको एउटा कारण यो पनि हो ।
दाहालको यो पहिलो अमेरिका भ्रमण पनि होइन । पहिलोपटक करिब ५ वर्षअघि प्रधानमन्त्री हुँदा दाहाल अमेरिका आएका थिए । राष्ट्रसंघको बैठकमा सहभागी हुन आएका दाहाललाई त्यसबेला न्यु योर्कमा निकै बौद्धिक प्रश्नहरु सोधिएका थिए । नेपाली समुदायले पनि विभिन्न सार्वजनिक कार्यक्रम गरेको थियो । न्युयोर्कमा भएको एउटा सार्वजनिक कार्यक्रममा चीनबाट आएका विद्यार्र्थीको प्रश्न थियो – हामी माओलाई छाडेर देंङसियाओ पेङ युगमा प्रवेश गरेको पनि ३० वर्ष भयो । तपाईँहरुको पार्टीले कसरी माओको नीतिको सान्दर्भिकता देखेको छ ? एक जना अर्का नेपालीको प्रश्न थियो – तपाईँहरु आफूलाई अग्रगामी भन्नुहुन्छ तर तपाइँहरुको बैठकमा शताब्दी पुराना काल माक्र्स, लेनिनलगायतका नेताको तस्बिर राख्नुहुन्छ । तपाईँहरु कसरी अग्रगामी हुनुभयो ? तर, यसपटक भने यस्तो सार्वजनिक कार्यक्रम भएनन् ।
सामाजिक संजालमा आएका अभिव्यक्ति पहिलेका जस्ता बौद्धिक थिएनन् । दाहालले देशको आर्थिक विकास र समृद्धिमा केही योगदान गर्छन् भन्ने आशा मरेकाले पनि उनीसँग पहिले जस्ता बौद्धिक प्रश्न सोध्न उचित नठानिएको हुन सक्छ । अमेरिकामा पहिले र अहिले दाहालप्रति देखाइएको व्यवहारले पनि उनीसँग जनताको आशा घटेको देखिन्छ । उनको भनाइ र गराइको भिन्नता सार्वजनिक भइसकेकाले पनि यस्तो भएको हुनसक्छ ।
अध्यक्ष दाहालको यस भ्रमणका क्रममा डीसीस्थित नेपाली दूतावास र यहाँको समुदायबीच दूरी बढ्दै गरेको संकेत पनि दियो । नेपालका राजदूत डा. अर्जुन कार्कीले हामी नेपाली अरुप्रति निकै राम्रा छौँ तर आफूहरुप्रति भने त्यस्तो छैनौ भन्ने अभिव्यक्ति सार्वजनिक रुपमा पटकपटक दिँदै आएका थिए । यो समस्या दूतावासभित्र पनि छ कि भन्ने देखियो ।
अमेरिकाबाट फर्किने बेलामा भने दाहालले विदेशमा बस्ने नेपालीको मुख्य चासो दोहोरो नागरिकताका बारेमा सकारात्मक अभिव्यक्ति दिए । अहिले संसद्मा नागरिकता विधेयकमा छलफल भइरहेको छ । । यसमा विदेशमा बस्ने नेपालीले के कति अधिकार पाउने भन्नेमा विभिन्न आशंका उब्जेका छन् । दाहालले चुनावमा भाग लिनेबाहेक विदेशमा बस्ने नेपालीले अरु सबै नेपाली नागरिकले पाएसरह अधिकार उपयोग गर्न पाउने अभिव्यक्ति दिएर नेपाली समुदायलाई सकारात्मक संदेश भने दिएका छन् ।
उनको भ्रमणका सम्बन्धमा भने सामाजिक सञ्जालमा बढी हल्ला भयो र दाहाल स्वयं पनि त्यसबाट जोगिन नसकेको देखियो ।
तस्बिर पुष्पकमल दाहालकी छोरी गंगा दाहालको फेसबुकबाट