
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गरेका छन् ।
मुख्यमन्त्रीले मन्त्री चौधरीलाई यही असार पहिलो साता पदबाट राजीनामा दिन निर्देशन दिएका थिए तर राजीनामा दिएका थिएनन् । मुख्यमन्त्रीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका हुन् ।
मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जीतु उपाध्यायले सरकारको आर्थिक पारदर्शिता र सुशासन कायम गर्ने सवालमा गरिएको आग्रहलाई बेवास्ता गरिएपछि विकल्पको रूपमा मुख्यमन्त्रीले मन्त्री चौधरीलाई पदमुक्त गरेकाे बताए ।
चौधरी नागरिक उन्मुक्ति पार्टीबाट गत जेठमा मन्त्रीमा नियुक्त भएका थिए । यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारीमा रहेका सोही पार्टीका लक्ष्मणकिशोर चौधरीले विवादस्पद ‘अडियो प्रकरण बाहिरिएपछि मुख्यमन्त्रीको निर्देशनमा पदबाट राजीनामा दिएका थिए ।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको नेतृत्वमा गठन भएको प्रदेश सरकारमा सत्ता गठबन्धन दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।
कुल ५३ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्तिका सातजना सदस्य छन् । नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ छन् । प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एकीकृत समाजवादी) का चार (एक निलम्वित), राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् । रासस