नेपालमा सन् १८५४ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले दरबार स्कुलको स्थापना गरेपछि नेपालमा औपचारिक शिक्षा प्रणाली सुरुभएको थियो ।
सन् १९१८ मा प्रधानमन्त्री चन्द्र शम्सेरले अहिलेको त्रिचन्द्र बहुमुखी क्याम्पसको स्थापना त्रिभुवन चन्द्र इन्टरमिडिएट कलेजको नाममा गरेका थिए । सुरुमा भारतको पटना विश्वविद्यालयसँग आबद्ध गरेर सञ्चालन गरिएको त्रिचन्द्र कलेजमा कला विषयबाट पठनपाठन सुरु गरी क्रमशः विज्ञान र अन्य संकाय थपिएको थियो ।
तत्कालीन समयमा भारतलगायत अन्य मुलुकबाट प्राध्यापक ल्याई सुरुगरिएको त्रिचन्द्रका विद्यार्थी देशका सरकारी निकायलगायत अन्य हरेक क्षेत्रमा स्थापित भएको पाइन्छ ।
नेपालको शैक्षिकमात्र हैन सामाजिक, राजनीतिक र आर्थिक परिवर्तनका अभियानमा प्रतक्ष्य सम्बन्धित त्रिचन्द्र क्याम्पस यस वर्ष एक शताब्दी पुग्नलागेको छ ।
तर, अपेक्षाकृत उचाइमा पुगेको देखिँदैन भने विविध आन्तरिक र वाह्य समस्याबाट ग्रसित भएको आभास हुन्छ । राजनीतिक विकासमा मुख्य भूमिकामा रही अनेक परिवर्तनका संघर्षमा प्रतक्ष्यरूपमा निर्णयात्मक भूमिका खेलेर ऐतिहासिक सफलता बोकेको त्रिचन्द्र खोज तथा अनुसन्धानबाट उत्प्रेरित राष्ट्रिय अन्तर्राष्ट्रिय भूराजनिती, अर्थ, समाज, शिल्पकला, उद्योग, आधुनिक विज्ञानको शिक्षा प्रदान गर्न भने चुकेको छ ।
त्यसैले आज हामी सबैले कल्पना गरेको हाम्रो त्रिचन्द्रको पुनरुत्थान गर्नुपर्ने आवश्यकता छ र त्यसो गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । यो पुनरुत्थानको संवाहक स्वतन्त्र विद्यार्थी युनियनको आसन्न चुनाव हुनसक्छ ।
धेरै विषय पढाइ हुने हाम्रो त्रिचन्द्रमा मानविकी र विज्ञान संकायका स्नातक र स्नातकोत्तर स्तरका कक्षा अहिले पनि सञ्चालित छन् । राज्यले पनि त्रिचन्द्रमा ठूलो लगानी गरेको छ ।
देशका विभिन्न स्थानबाट उच्च शिक्षा हासिल गरी आफ्नो भविष्य उज्वल बनाउन त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्न आउने सयौं विद्यार्थीको भविष्यको सबाल छ । त्यसैले अबको प्राथमिकतामा शैक्षिक स्तरमा सुधार हुनुपर्छ ।
हाम्रो त्रिचन्द्रः राम्रो त्रिचन्द्र
हिन्दु संस्कारमा शिक्षालयलाई स्वरस्वतीको मन्दिर मानिन्छ । पढ्ने ठाउँ सफा स्वच्छ हुनु जरुरी हुन्छ । त्रिचन्द्र क्याम्पसको मूल ढोकाबाट छिर्दै गर्दा हामी विद्याकी देवीको मन्दिरमा आएका छौँ, यहाँ विद्या हासिल गर्न आएका हौँ, यो मन्दिरको रक्षा गर्नुपर्छ, हामीलाई पढाउने गुरु हाम्रा पिता समान हुनुहुन्छ, सँगै पढ्ने साथी सहयात्री हुन्, उनीहरूसँग केही सिक्नुपर्छ र हामीले जानेको ज्ञान पनि उनीहरू माझ बाँड्नुपर्छ भन्ने लागोस् । हामीले सकारात्मक भावनाको विकास गर्नुपर्छ ।
सकारात्मक सोचसँगै राजनीतिप्रतिको जागरुकता, लोकतन्त्रप्रतिको आस्था, राष्ट्रप्रतिको जिम्मेवारी र कर्तव्य, विभिन्न जातजाति, भाषाभाषी, दलित, आदिवासी, हिमाली, पहाडी र मधेसी नेपालीबीच राष्ट्रियता र हार्दिकता पनि हामीमा आउनु जरुरी छ ।
क्याम्पस स्वच्छ र सफा राख्ने दायित्व हामी सबैको हो । तर, हामीमा फोहोरमात्र गर्ने प्रवृत्ति छ । हाम्रो त्रिचन्द्रको आसपासमा हुने विभिन्न किसिमका रङ्गीबिरङ्गी फूल, हाम्रै साथीले कोरेका कलात्मक भित्ता, व्यवस्थित पार्किङ, सफासुग्घर हुँदाको क्याम्पसको वातावरण कित फरक हुन्थ्यो होला ?
स्थापना कालदेखिका भौतिक संरचना, कक्षा कोठा, प्रयोगशाला, पुस्तकालयआदिको अब समय सापेक्ष परिवर्तन गर्नु जरुरी छ ।
भूकम्पबाट अति प्रभावित हिमालय क्षेत्रमा रहेको हाम्रो त्रिचन्द्रका भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन जरुरी छ । बढ्दो विद्यार्थीको चापको ख्याल गर्दै र नवीनतम प्रविधिको प्रयोग गर्दै अत्याधुनिक भवन निर्माण गर्नु आवश्यक छ ।
कक्षा कोठामा प्रयोग गरिने बेन्च, डेस्क, कुर्सीहरूको पुनर्निर्माण, भुइँ, भित्ता, सिलिङ, र झ्यालढोका, प्रविधि युक्त शिक्षण प्रणालीका लागि आवश्यक पूर्वाधारको समय सापेक्षित व्यवस्थापन गर्न जरुरी छ । चर्पी र पानीका धाराको समयानुकूल व्यवस्थापन, अपाङ्ग र महिला मैत्री वातावरणको सुनिश्चितता गरी सधैँ सफा राखे कति राम्रो हुन्थ्यो होला ? हाम्रो त्रिचन्द्रमा अध्यापन गराइने भौतिक, रसायनिक, जीव, सूक्ष्मजीव, वातावरण, मनोविज्ञान, भूगर्भ लगायतका विज्ञानका विषयमा अत्यावश्यक हुने प्रयोगशाला तोकिएको मापदण्डअनुरूपका बनाउनु जरुरी छ ।
प्रयोगशालामा प्रयोग गरिने इलेक्ट्रोनिक माइक्रोस्कोप, एचपीएलसी, स्प्रेक्ट्रोफोटोमिटर, प्रोजेक्टर, सफ्ट्वेरयुक्त कम्पुटरलगायतका अत्याधुनिक उपकरण उपलब्ध गराई अनिवार्य प्रयोगात्मक परियोजना गराउने व्यवस्था हुनुपर्छ । यसले विद्यार्थी र प्राध्यापकबीचमा आत्मीयता बढाउने र खोज तथा अनुसन्धान गर्ने वातावरण सिर्जना गर्छ । नयाँ नयाँ खोज तथा अनुसन्धानका लागि एउटा छुट्टै खोज तथा अनुसन्धान केन्द्रको स्थापना गरी उक्त कार्यमा रुचि भएका विद्यार्थीलाई आफ्नो सपना पूरा गर्ने मौका दिनुपर्छ ।
प्रशासनिक प्रणालीलाई व्यवस्थित गर्न प्रशासनिक संरचनाको सुधार, मानवस्रोतको व्यवस्थापन र प्रविधियुक्त प्रशासनिक प्रणालीको विकास, आर्थिक अनियमिता रोकी चुस्तदुरुस्त र पारदर्शी हिसाबकिताब हुने गरी अवलम्बन गरिनुपर्छ ।
त्रिचन्द्र क्याम्पसलाई विश्वविधालय बनाउने हाम्रो (नेपाल विद्यार्थी संघको) सपना अब पूरा गर्नुपर्छ । विश्वका उच्च सूचीमा पर्ने हार्बर्ड, मासाचुसेट्स, अक्स्फोर्ड, स्ट्यान्डफोर्ड, क्याम्ब्रिजलगायतका विश्वविद्यालयमा पनि हाम्रो त्रिचन्द्र क्याम्पसका पूर्व विद्यार्थी ठूलो संख्यामा पुगेका छन् । नेपालमै पनि हाम्रा पूर्व विद्यार्थी ठूलो संख्यामा राजनीतिलगायत विभिन्न क्षेत्रमा उच्च स्थानमा पुगेका छन् ।
तर, उनीहरू त्रिचन्द्रसँग सम्पर्कमा रहने, आफ्नो ज्ञान बाँढ्न सक्ने र हामीलाई सहयोग पुर्याउन सक्ने कार्यविधि र योजनाको कमी छ । तसर्थ, स्थापना कालदेखिका पूर्व विद्यार्थीलाई एकै छातामा समावेश गरी उनीहरूको ज्ञान, सीप र कलाको उपभोग गर्ने र अन्य सहयोग दिनेलिने वातावरण मिलाउन स्टुडेन्टस एलुम्नाइ गठन गर्न सके त्रिचन्द्रको नयाँ आयाम सिर्जना हुनसक्छ ।
क्याम्पसमा उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई 'पोलिटिकल स्कुलिङ' मात्र दिनुपर्छ भन्ने सोच ठीक होइन । राजनीतिक संगठनहरूले राजनीतिक सिद्धान्त र संगठन विस्तारमात्र नभई विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापका विषयमा सहअस्तित्वको भावना उजागर गर्ने र त्यस्तो संस्कारको विकास गर्दै लान सके यसले तर्कसंगत, विवेकशील, समझदार र राजनीतिक आस्थाको विकास गर्न सक्छ ।
समय समयमा गरिने कार्यशाला, गोष्ठी, सम्मेलन, नाचगान, खेलकुदलगायतका अतिरिक्त कार्यक्रमले पनि विद्यार्थीको आन्तरिक क्षमता वृद्धि गर्छ ।
हामीले हाम्रो राजनीतिक शैलीलाई हेर्यौँ भने वर्तमान र भविष्यका लागि भन्दा पनि इतिहास निर्माणमा मात्र केन्द्रित रहेको छ । चुनावका बेलामात्र आफ्ना क्रियाकलाप गर्नेमात्र नभई राजनीतिलाई पेसाभन्दा पनि सेवाको रूपमा विकास गरी निःशुल्क शैक्षिक ग्राम आदर्श भूमिको रूपमा त्रिचन्द्रलाई परिचित र स्तरीय बनाउने कर्तव्य र जिम्मेवारी हाम्रै हो ।
नेपाल विद्यार्थी संघ सधैव आफ्नो राजनीतिक विस्तारभन्दा पनि सकारात्मक र समयानुकूल परिवर्तनमा रमाउँदै विद्यार्थीका पक्षमा निरन्तर सक्रिय रहेको छ । शैक्षिक मुद्दाबाहेक संविधानको कार्यान्वयन, लोकतन्त्रको संरक्षण र विकासलाई पनि नेपाल विद्यार्थी संघले प्राथमिकतामा राखेको छ ।
त्यसैले एक्काइसौं शताब्दीमा पनि हामी पुरातनवादी सोच राख्नेहरूलाई विश्वास गर्ने कि आँफै परिवर्तनको अंश बन्ने त्यो व्यक्तिगत फैसलामा भर पर्ने कुरा हो । तर, फैसला यस्तो नहोस् कि कतै हाम्रो आजको फैसलाले भोलिको हाम्रो र हाम्रा सन्ततिको भविष्य अन्योलमा नपरोस् । तसर्थ फरक सोच अनि राजनीतिक संस्कारको विकास गरौँ ।
हामीले नगरे कसले गर्ने?
अहिले नगरे कैले गर्ने?
आउनुहोस् साथीहरू, हातमा हात मिलाई हाम्रो त्रिचन्द्र : राम्रो त्रिचन्द्रको निर्माण गरौँ ।