धेरै साता र महिना बिते सरकारले अर्को साता चुनावको मिति तोकिन्छ भनेको । कैयौँ सातासम्म त औँला पनि भाचेँ तर मेरो हात र खुट्टाका औँला साता गन्न पर्याप्त भएनन् । तैपनि मैले आश मारिन । ‘सास रहुन्जेल आश’ भन्छन् । म पनि त्यही अवस्थामा रहन बाध्य थिएँ । गर्न पनि के सक्थेँ र ? हरेक क्षण म सोच्ने गर्थेँ चुनावपछि मेरो देशले विकासका खुड्किला बिस्तारै चढ्नेछ । मेरो एउटा स्वार्थ पनि थियो सायद मेरो मामा पनि अमेरिकाबाट चुनावका लागि फर्केर आउनुहुन्थ्यो ।
धेरैले मेरो यस्तो सोचको हाँसो त कसैले मजाक पनि बनाए । म आफैँ पनि स्मरण गर्थेँ के म राष्ट्रियताको बोक्रोमात्र त भइराखेको छैन । अर्को पाटोले मेरा सोचलाई अघि बढाउन हौसला प्रदान गर्थे - चाहेका खण्डमा सगरमाथा चढ्न नि गाह्रो हुँदो रहेनछ बाबु भन्ने दुई वर्षअघि सगरमाथा आरोहण गरेकी मेरी छिमेकी शेर्पिनि दिदीका शब्दले । उहाँ मेरा लागि प्रेरणाको पात्र साथ साथै मार्गदर्शक पनि हुनुभएजस्तो लाग्छ । जाडोको मौसम दिनभर सुन्तलाको बोक्राको थुप्रो र हामी दिदी भाइको गफ । (म उहाँलाई छिमेकीभन्दा बढी दिदी नै भन्न रुचाउँछु । सम्बोधन गर्न नि सहज हुने र सम्बन्ध पनि सुमधुर हुने )।
विद्यार्थी हुनाले सबेरै कलेज जान्थेँ । कलेज बिदा हुनेबित्तिकै कतै न अलमल नगरी घर आउथेँ । हरेक दिन म झिनो आशा राखेर विचार गर्थेँ । ईसीजी मेसिनमा देखिने धड्कनको उतारचढाउ र मेरो सोचमा केही फरक पनि नहुने थियो होला।
फेरि सुरु गर्छु भनेर हात र खुट्टाका ‘बीस’ ओटा औँला सातैपिच्छे भाँच्न थालेँ । यसपटक पनि पुगेनन् । तैपनि मैले हरेस खाइन । ‘रूख ठूलो हुन पनि सालो दानाबाट टुसा निस्किनु पर्छ’ भनेर मेरा ती झिना आशामा सास हालिनै रहेँ । मेरा सरले भन्ने गर्नुहुन्थ्यो - पछिल्लो स्थानीय चुनाव हुँदा सात कक्षामा पढ्थेँ । अहिले सरकारी जागिरे भएको पनि सात वर्ष हुन लागेछ । सरकार परिवर्तन हुने खेल एउटा प्रथा जस्तो जरा गाडेर बसेको थियो । प्रथा भएपछि रुढी हुनेरहेछ । साथै त्यसविरुद्ध आवाज उठाउने मानिस चाहिँ मेरो हातको औँलाले गन्न भ्याउने जतिमात्र भेटिन्थे।
दिन बित्यो महिना बित्यो ऋतु बिते मैले औँला भाँचिरहेको थिए । एक्कासि निर्वाचन २०७३ वैशाख ३१ गते हुने मिति तोकियो मैले औँला भाँच्न छोडे र हत्त न पत्त मोबाइलमा पात्रो हेरेँ । वैशाखमा ३१ गते त छ ? ३१ गते देखे र खुसी भए त्यसै बखत घरको घन्टी बज्यो । शेर्पिनी दिदीले मिठाइ लिएर आउनुभएको रहेछ। आज एक सोचले रूप पाएको थियो । कुलोको पानीले बाटो फेरेजस्तै यो मिति पनि सर्दैन भनेर ढुक्क हुन त सकिँदैन । तैपनि, हाम्रो मुहारमा हर्ष मिश्रित जिज्ञासा देखिन्थ्यो - ‘अबको बाटो कता ?’ ।
( काठमाडौँ स्कुल अफ ल)