सडकमा मोटर चलाउँदा सकभर रिसाउनु हुन्न भन्ने कुरामा म निकै सतर्क छु । तर, बेला बेलामा कसैले निकै ठूलो आवाजमा वा लगातार हर्न बजायो भने आफूलाई सम्हाल्न सक्दिनँ । यस विषयमा कार्टुनिस्ट राजेश केसीको एकपल्टको भनाइ याद आउँछ । उनी भन्थे, ‘जथाभावी हर्न बजाउनेलाई विरोध जनाउन गाडीमा एउटा बटन हुनुपर्ने, त्यो थिच्नासाथ अगाडि वा पछाडिबाट एउटा यान्त्रिक हात बाहिर निस्केर माझी औँला देखाइदिने प्रविधि भए पनि हुने ।’ अर्थात्, हामी दुवैलाई अनाहकमा हर्न बजाउँदै अघि हुत्तिन खोज्नेसँग त्यत्तिकै रिस उठ्दो रहेछ । केसीले एउटा ड्राइभरलाई जागिर खान बोलाए तर पहिलो दिनमा नै जागिरबाट निकालीदिए किनभने उनले दश वर्षमा नबजाउने हर्न उसले एकै दिनमा बजायो रे । मलाई पनि त्यस्तै रिस उठ्यो करिब एक हप्ताअघि दरबारमार्ग—भद्रकाली सडकमा ।
कुनै कुनै मोटरको हर्न त्यसै तिखो हुन्छ । धेरै नेपाल आउने युरोपेली गाडीको हर्न निकै कडा हुन्छन्, किन हो थाहा छैन । युरोपमा कहिले नबजाउने भएकाले इमर्जेन्सीका लागि राखेका हुन् कि ? प्रायः जापानी कारको हर्न ठिकै हुन्छ, कान भित्रैसम्म घोच्दैन । तर, त्यो दिन मेरो जम्काभेट भएको माज्दा सिक्सले सायद हर्न फेरेको रहेछ । कि माज्दाको हर्न त्यस्तै हो मैले बुझिनँ । एक त माज्दा कार सडकमा कम देखिन्छ र भएकाहरू पनि त्यो व्यक्तिजस्तो बेसोमती नभएको हुनाले होला, माज्दाको हर्न त्यति कडा छ जस्तो मलाई लागेको थिएन । तर त्यस दिन त साह्रै रिस उठ्यो ।
म करिब त्रि–चन्द्र कलेजको अगाडि पुगेको थिएँ, पछाडिबाट कानै चिर्ने हर्न बज्यो । यसो हेरें एउटा सेतो माज्दाकार हर्न बजाउँदै अघि बढ्न खोज्दै रहेछ । सधैं भिडमभिड रहने त्यो सडकमा हर्न बजाएर बाटो माग्नु भनेको अरुलाई रिस उठाउन खोज्नु मात्र हो । नभन्दै उसले हर्न बजाउँदै आउँदा पनि मेरो गाडीभन्दा ऊ पछाडि नै परिरह्यो । करिब विद्युत् प्राधिकरणको अफिसनिर पुग्दासम्म उसले त्यो कान खाने कर्कस हर्न त्यत्तिकै बजाउँदै आयो । मलाई एकदम रिस उठेर आयो । कोही गाउँले ड्राइभर वा कुनै बैंसले मात्तिएको उरन्ठेउलो केटोले चलाएको रहेछ कि भनेर हेर्न मन लाग्यो । गाडी अलि स्लो गरें । ओहो, त्यस्तो हर्न ट्या... ट्या.... बजाएर चलाउने व्यक्ति त कोट लगाउने करिब ३०–४० का भलादमी रहेछन् । यस्तो व्यक्तिको त्यस्तो व्यवहार ? म छक्क परें ।
पैसा खुवाएर लाइसेन्स लिएका काठमाडौंका ट्याक्सी र माइक्रो चालक, कहिले विदेश नगएका र सडकको एटिक्वेट नजानेका अनपढ चालकसँग त त्यति रिस उठ्दैन । उठे पनि मन मारेर बसिन्छ । तर यस्ता सभ्य देखिने व्यक्तिको यो चालाले त मेरो पारा गरम भयो । कति पटक विदेश गएका होलान्, कतिचोटी घर परिवारमा विदेशमा कसैले हर्न नै बजाउँदैन कस्तो सभ्य चालक छन् भनेर यिनले दशौं पटक गफ पक्कै दिएका होलान् । तर आफूचाहिँ यस्तो । यी व्यक्तिलाई केही सन्देश त दिनैपर्छ जस्तो जंग चल्यो ।
म बारम्बार उसलाई हेर्दै उसको समानान्तर गाडी चलाइरहें । एकछिन हेरेपछि उसले पनि थाहा पाएछ । मतिर हेर्यो । मैले हर्न थिचेको जस्तो गर्दै किन बहुलाजस्तो हर्न बजाएको भनेर इसाराले नै सोधें । मेरो चालाले उसको पारा पनि गरम भएछ । उसले झ्याल खोल्यो । मैले आँखा सिधा गरें, सडकतिर हेर्न थालें । ऊतिर हेरिनँ । मैले भन्नुपर्ने कुरा भनिसकेको थिएँ । अब झ्याल खोलेर मुखामुख गर्नु र एक अर्कालाई निच देखाउनु सही लागेन । म एक प्रकारले रणमैदानबाट बाहिरिएँ ।
भद्रकालीबाट देब्रेतिर सिंहदरबारको बाटोमा प्रवेश गरेपछि उसले मलाई जित्यो । मैले मतलब गरिनँ । एक मनले त उसको पछाडि बसेर म पनि बेस्सरी हर्न बजाउँ झैँ लागेको थियो । त्यस्तो मलाई धेरैपल्ट लाग्छ, तर मन बुझाउँछु । मैले हर्न नबजाएको त बाटोमा हिँड्ने बटुवा र अरु मोटर चलाउनेलाई डिस्टर्ब नहोस् भनेर हो । अरुलाई त थाहा हुँदैन नि मैले बेस्सरी हर्न बजाएको कारण, अनि तिनले पनि मलाई सोमत नभएको नै ठान्छन् भन्ने मेरो सोच छ । त्यसैले अरुलाई बेहुदापन किन देखाउनु भन्छु, चुप लाग्छु । त्यसैले अरुबेला जस्तै उसलाई पनि हर्न बजाएर दिक्क पार्ने मनसाय त्यागिदिएँ ।
अचम्म त त्यसबेला लाग्यो, जब ऊ सिंहदरबारको मूल गेट अर्थात् पश्चिम गेटबाट भित्र छिर्यो । त्यो गेटबाट त केवल सचिव, मन्त्री र प्रधानमन्त्रीका सल्लाहकार तहका मान्छेमात्र भित्र छिर्न पाउँछन् । ओहो, हाम्रो देशको कार्यकारीको माथिल्लो तहको एक कर्मचारी त्यस्तो ! अनि फेरि सोचें, त्यसै हो त हामी पछि परेको ?