काठमाडौं । गत फागुन २४ गते पृथकतावाद परित्याग गरि मूलधारको राजनीतिमा प्रवृष्ट भएका सीके राउतले अन्ततः क्षेत्रीयताबाट पनि आफूलाई अलग्याएका छन् । स्वतन्त्र मधेस गठबन्धनका नाममा भूमिगत राजनीतिको बाटोबाट पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका राउतले सोमबारबाट औपचारिक रूपमा अलग बाटो तय गरेका हुन् ।
‘स्वतन्त्र मधेस’ को सुखद् अन्त्यष्टि !
गत फागुन २४ गते सरकार र सीके राउतले सभागृहमा दुईपाने सम्झौता पत्रमा हस्ताक्षर गरिरहँदा हल अनेक आशंकाको तुवाँलोभित्र थियो । बाह्रबुँदे समझदारी हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको चरणबाट गुज्रिइरहेको नेपाली राजनीतिमा अनेकन यस्ता जादुयी परिघटना भएका छन् ।
तत्कालीन विद्रोही नेकपा माओवादी र शान्तिपूर्ण जनसङ्घर्षरत सात राजनीतिक दलबीचको बाह्रबुँदे सम्झौता जति आश्चर्यजनक परिघटना थियो । त्योभन्दा कम्ती थिएन– सरकार–सीके राउतबीचको ११ बुँदे वाचाबन्धन ।
तर, आम–सर्वसाधारणको मानसपटलबाट आशंकाले हट्न मानेको थिएन ।
कारण सन् २००७ देखि पृथकतावादी आन्दोलनको नेतृत्व गरेका (भलै यो आन्दोलनको घोषणा १२ मे २०१२ का दिन भएको थियो ।) सीके राउतले यति सजिलै पृथकतावादी आन्दोलनको कुम्लो बिसाउलान् र बाटो बदल्लान् भनेर धेरैको अनुमानभन्दा निकै पर थियो ।
स्वराज आन्दोलनका क्रममा राउतले मुलुकप्रति गरेको टिप्पणी । अलग झन्डा । श्रव्यदृष्य सामग्री अध्ययन गर्ने जो कसैको मथिङ्गलमा सीके राउत डरलाग्दो देशद्रोहीका रूपमा खडा हुन्छन् । राज्यको भिलेनका रूपमा विम्बित हुन्छन् । र त, आम जनताका लागिमात्रै होइन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका नेता घनश्याम भुसाललाई पनि यो सम्झौता ‘कालाजादु’ लाग्यो । अर्का नेता भीम रावलले त विखण्डनकारीलाई कोखिलामा च्यापेको भन्दै सम्झौता यथाशीघ्र सच्याउन माग गरिरहेका छन् ।
प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले पनि सरकार सीके राउतको रणनीतिक चालबाजीमा फसेको भन्न भ्यायो । सडक र सदन दुवै ठाउँबाट सीके राउतको मागको सुनवाई हुनुपर्ने अन्यथा यो झाँगिएर मुलुक नै टुक्रने दुःखद् परिस्थिति निम्तने बताउँदै आएका डा. बाबुराम भट्टराईले पनि सम्झौतालाई ‘घ्यू बेचुवा र तरबार बेचुवा’ को लौकिक उपमा दिए ।
सीके राउतले औपचारिक रूपमा पृथकतावादको कुम्लो बिसाएको घोषणा गर्नुपूर्वमात्रै पत्रकार सम्मेलन आयोजना गरेका डा. भट्टराईले सरकारले सीके राउतलाई गौतम बुद्ध, पृथ्वीनारायण शाहपछिको राष्ट्रिय विभूति चित्रित गरिएको भन्दै आपत्ति नै जनाए ।
तर, यी सबै आश्चर्य र कौतूहललाई औपचारिक रूपमा बिट मार्दै सीके राउत नेपाली राजनीतिक दलमा कान्छो सदस्य बन्न आइपुगेका छन् ।
रोकिएला ‘स्वराज’ आन्दोलन ?
नेपाली मूलधारको राजनीतिमा सीके राउतको प्रवेश ‘फिल्मी’ भयो । खलपात्र बनेर पृथकतावादी आन्दोलनमा प्रवृष्ट भएका डा. चन्द्रकान्त उर्फ सीके राउतको मधेस स्वराजको अन्त्यष्टि बडो सुखद् भयो । भलै उनी पछिल्लो ६ महिना जेलमै किन नबसून् । स्वराज आन्दोलनकै क्रममा राममनोहर यादवको दुःखान्त किन नहोस् ।
केपी शर्मा ओलीले त संघीय लोकतान्त्रिक गणतन्त्रका प्रणेतामध्येका एक पुष्पकमल दाहालसँग चरित्र चित्रण गर्दै राउतको खलनायकको वस्त्र रातारात उतारिदिए ।
तर, सीके राउतको पृथकतावादी आन्दोलनको आगो हठात् पैदा भएको होइन । न यो आवेगको उपजमात्रै हो । यो त वर्षौंवर्षंदेखि अन्याय, अशिक्षा, अविकास, अराजनीतिको अँगेनोमा सल्किएको आगो हो । भलै मट्टितेल छर्कने र पुल्ठो झोस्ने काम सीके राउतले गरे ।
आज पनि २ नम्बर प्रदेश विकासको पीँधमा छ । पूर्व–पश्चिम राजमार्गबाट जति दक्षिण बढ्यो उती गरिबी र अभावसँग जम्काभेट हुन्छ । वर्षेनी गोमन साँपले डसेर जतिको इहलिला समाप्त हुन्छ, त्योभन्दा बढ्ता कुपोषणले डसेर बालबालिका र वयोवृद्धाको देहलिला सकिन्छ । आजपर्यन्त एक प्रकारको वर्णभेद, रङ्गभेदको सिकार बनिरहेको छ, तराई–मधेस ।
र त, शासनसत्ताको ओझेलमा परेका ठिहीले खाएका मूलबासी मधेसी जसले आगो सल्काए पनि अधिकारको आशमा पिठ्युँ सेक्न जान अभिशप्त छन् । २०६२–६३ को जनक्रान्ति यतामात्रै तराई मधेसमा २०० को हाराहारीमा सर्वसाधारणको ज्यान गइसकेको छ । तर परिवर्तनको नाममा मधेसले २ नम्बर प्रदेश मात्रै पाएको छ । अधिकार प्राप्तीको जुनकुनै सङ्घर्षमा पहाड सँगसँगै छ मधेस । जब अधिकारको भागवण्डाको कुरा आउँछ तब कोपभाजनमा पर्छ मधेस ।
आफैँले लडेर ल्याएको राज्यसँग आफ्नै अधिकार लिन पनि लाठीमुंग्री र गोली सहनुपर्ने नियतिबाट पार नपाउँदासम्म सीके राउतले बालेको आगो निभिहाल्ला भनेर विश्लेषण गर्नु हतारो हुन्छ । भलै सीके राउतले त आफूले सल्काएको आगो निभाउलान् ।
तर, तराई–मधेसका जिल्लामा चिसो चुल्हो रहुञ्जेल आगो जो सुकैले सल्काउने खतरा टार्न मुस्किल छ । यसकारण कि, केही थान मधेसीहरू शासनसत्ताको गाडीमा त सवार छन् । परन्तु तिनै गाडीले उडाएको धूलो र कालो धूवाले मधेस दिनप्रतिदिन कुरूप र जीर्ण बन्दै गइरहेको छ ।
सीके राउत जन्माएको रङ्गभेदले हो । भलै उनलाई हुर्काउन र मलजल गर्न विभिन्न शक्ति केन्द्रको तँछाड्मछाड् भएको होस् ।
सीके राउत पहिलोपटक मधेसबाट पहाड उक्लँदा काठमाडौंमा भारतीय कलाकार ऋतिक रोशन काण्ड चर्किएको थियो । त्यतिबेला कालो अनुहारलाई काठमाडौैंले ‘बिहारी’ देख्थ्यो । मधेसीका सवाल र दृष्टिकोणमा आजपर्यन्त मुलुकका शासकको चेतमा कुनै फेरबदल आएको छैन । मधेसले काठमाडौंसँग अधिकारको अपेक्षा गर्छ । तर, काठमाडौंै उसलाई हरेक सवालमा उपेक्षा गर्छ ।
मास्टर्स डिग्री पढ्न राउत जापान जानै आँट्दा इराकका आतङ्कवादीले बाह्र नेपालीको हत्या गरे । काठमाडौंमा भड्किएको आन्दोलनको निशानामा मधेसी पनि परे । यी र यस्ता थुप्रै अपमानजनक र विभेदकारी परिघटनाले सीके राउतलाई जन्म दिएको हो ।
अतः शासक वर्गको चेतनामा परिवर्तन नआउँदासम्म पृथकतावादी घटना साम्य भइहाल्छ भनेर पूर्णरूपले विश्वस्त हुन सकिँदैन ।
मधेस छाड्दाको फाइदा
सीके राउतलाई मधेसप्रति मोह भङ्ग भइसक्यो । १३ सेप्टेम्भर २०१४ यता राउतले पटकपटक जेलनेल भोगे । मोरङमा प्रहरीले खुट्टै भाँचिदिए । ‘मधेस’कै लागि यी सबै भोगेका राउतको मधेसप्रति नै अचानक मोहभंग हुनु दुर्लभ संयोग हो ।
उनका नवगठित जनमत पार्टी केन्द्रीय सदस्य चन्दन सिंह (महोत्तरी)को कुरा पत्याउने हो भने विघटित स्वतन्त्र मधेस गठबन्धनले ‘स्वराज’ आन्दोलनलाई बिसाउने तयारी निकै अघि गरेको थियो । भन्छन्, “हामीले पहिल्यै दुईतीनवटा बाटो तय गरेका थियौँ । अहिले आएर परिवर्तन गरेका हौँ ।”
लगातार जेल बसाइ र धरपकडले सीके गलितम् भइसकेका थिए । सरकारसँगको सम्झौताले उनलाई राजनीतिक हाइटमात्रै प्रदान गरेन, त्राण नै दियो ।
सरकारसँगको सम्झौता अनुरूप नै चैत ३–४ गतेको राष्ट्रिय परिषद् बैठकपछि विघटित स्वतन्त्र मधेस गठबन्धनको बाटो बदलिएको छ । मधेस राजनीतिबाट मूलधारको राजनीतिमा सहज अवतरण भएको छ ।
नवगठित पार्टीका केन्द्रीय सदस्य चन्दन सिंह मधेस शब्द छाडे पनि मधेसको मुद्दा परित्याग नगरेको बताउँछन् ।
पार्टीलाई राष्ट्रिय आकार दिन र मधेसका अरू राजनीतिक दलसँग सँगै प्रतिस्पर्धामा उत्रनमा जनमत पार्टी नामाकरण गरिएको अरूको आँकलनजस्तै उनको प्रष्टीकरण छ ।
“मुद्दा अमुक पार्टी विशेष, दल विशेषको हुँदैन । मधेसको समृद्धि र विकास हाम्रो एकमात्र लक्ष्य हुनेछ,” उनले अन्तिमा भने ।
फाइल तस्बिर