site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आर्ट ग्यालरीको ‘कोठी’

– अक्षर काका


काठमाडौं सहरले अनेकौं उपमा पाएको छ । कला, संस्कृतिको यो गाडधन त हुँदै हो । दुई दशकअघिसम्म काठमाडौं उपत्यको सहरी क्षेत्रसमेत अन्नको भकारी थियो । समयक्रमसँगै उर्वरायुक्त काठमाडौं उपत्यका शहरीकरणको चपेटमा पर्दै गयो ।  अन्तिममा यसले ‘कंक्रिटको जंगल’ परिचय पायो ।

यसको मिचाइमा टेकुका रामचन्द्र महर्जन पनि परे । टेकुका रैथाने रामचन्द्रको परिवार पनि शहरीकरणको बलमिच्याइँमा पर्‍यो । र, विस्थापित भएर कीर्तिपुरको पाँगा पुग्नुप¥यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बागमती र विष्णुमतीको दोभाननजिकै जन्मिए । बागमती र विष्णुमती किनारका फगटामा बालीनाली फस्टाएको देखेर आँखा आह्लादित भए । तर, यी अहिले सबै इतिहासको गर्त विलय भइसके । बढ्दो जनघनत्व र बसाइसराइँले काठमाडौंको जमिन पत्तै नपाई निल्यो ।

“टुँडिखेलबाहेक काठमाडौंमा कहाँ खाली जग्गा छ र ?” प्रश्न गर्छन् उनी ।

काठमाडौं उपत्यकाको यही विद्रूप चित्रलाई उनले क्यानभासमा पोतेका छन् ।

\"\"“मेरो आँखै अघिल्तिर यहाँको रैथाने संस्कृतिलाई आप्रवासी संस्कृतिले अतिक्रमण गर्‍यो । उर्वरतालाई आधुनिकताले धूलो चटायो । सुन फल्ने फाँट रातारात क्रंक्रिटको जंगल बने र यहाँको सांस्कृतिक र उर्वरायुक्त वैभव धुमिल बन्दै गयो,” आफू कलामा साधनारत हुनुको अर्थ प्रष्ट्याउँछन् उनी ।

बबरमहलस्थित नेपाल कला परिषद्को दोस्रो तलाको ग्यालरी हलमा रामचन्द्र महजर्नलगायत १० कलाकारको सामूहिक चित्रकला ‘सँगालो’ प्रदर्शनी भइरहेको छ । र, प्रदर्शनीको विशेष आकर्षण बनेको छ– काठमाडौं शहर चिनाउने प्रतिस्थापन कला ।

ग्यालरी हलको मझेरीमा उनले सिंगो काठमाडौं उपत्यकाको प्रतिविम्ब उतारेका छन् । प्रतिस्थान कलाको बीचमा विम्बित ठुल्ठूला फगटा र उत्पादित कृषिउपजका आकृतिले काठमाडौंको २० वर्षअघिको जनजीवनसँग जम्काभेट गराइदिन्छ । धानको भुस, केराका टुक्रा, मकै, माटोमा थुप्राको सहायताले पुरानो काठमाडौंलाई क्यानभासमा उतार्ने चेष्टा गरेका छन् उनले ।

“शहरीकरणले काठमाडौंको जीवनको कसरी चिरहरण गर्‍यो र उर्वरता मेटियो भनेर प्रतिस्थापन कलामा उतार्ने जमर्को गरेको हुँ,” चित्रसँग साक्षात्कार गराउँछन् उनी ।

यसबाहेक ग्यालरी हलको भित्तामा काठमाडौं उपत्यकासँग चिनापर्ची गराउने १४ तस्बिर प्रदर्शित छन् । यी सबै चित्र आधुनिकताका नाममा मेटिँदै गएको काठमाडौं उपत्यकाको अस्तित्वको साक्षी बसेका छन् ।

\"\"० ० ०

“आई एम अ प्रोस्टिच्युड !”

एउटी धुस्री–फुस्री महिला प्रदर्शनी स्थलका सबैजसो ठाउँमा घुम्छिन् र आगन्तुकका कानैपिच्छे भन्न भ्याउँछिन् । उनको अनौठो भावभंगिमा र सुन्न अप्ठ्यारो लाग्ने वाक्यले शुरूमा त दर्शकलाई आजित तुल्याउँछ । कतिपय दर्शक उनको छेउ पर्नै चाहँदैनन् । तर्कीतर्की हिँड्छन् ।

तर, प्रदर्शनीस्थलको ‘कोठियालय’ पुगेपछि भने रहस्यको पर्दा आफैं खुल्छ । आफूलाई खुल्लमखुला ‘वेश्या’ भनेर चिनाउँदै हिँड्ने त पुरुष पो रहेछन् ।

“समाजले यौनकर्मी महिलालाई कसरी हेर्छ भनेर जरासम्मै पुग्न मैले यस्तो हर्कत गरेको हुँ,” रहस्यको पर्दा आफैं उघार्छन्, सुरज सुवेदी ।

सुरजसँग कुचीको मात्र साइनो छैन । रंगमञ्चसँग पनि गहिरो नाता छ । र त, शिल्पी नाटकघरमा पस्कँदै आएको रंगकलालाई उनले ग्यालरी हलमा समेत लैजान बिर्सिएका छैनन् । रंगकर्म र रंगकलालाई सँगै पस्कने मञ्च बनेको छ– नेपाल कलापरिषद्को ग्यालरी हल ।

“यो पनि कला प्रदर्शनीकै एउटा बान्की हो, रंगकर्मीको हैसियतले कला उजागर गर्न र दर्शकसँग सम्वाद गर्न निकै सजिलो भएको छ,” पुलकित देखिन्छन् सुरज ।

सुरजलाई ‘वेश्या’को अभिनय गर्न पटक्कै मन छैन । उनकै शब्द सापटी लिने हो भने बाध्यताकै उपज हो यो ।

“मैले क्यानभासमा ती महिलाहरूको पीडाको आँसु नपोत्ने हो भने तिनीहरूको दबाइएको आवाज कसले बोलिदिन्छ ?” यही प्रश्नले उनलाई यौनकर्मीका पीडा मुखरित गर्न झक्झक्यायो ।

\"\"

मध्यपश्चिमको बाँके । भारतसँग सीमा जोडिएको शहरमा जन्मिए । कामको सिलसिलामा भारत गइरहनुपथ्र्यो । रुपैडिया नाका हुँदै भारत प्रवृष्ट हुँदा उनले कैयन् यौनकर्मी महिलाहरूको नर्कतुल्य जीवन बुझ्ने मौका पाए । जीजीविषाका निम्ति पुरुषको यौनतुष्टि मेटाउन विवश ती दिदीबहिनी अधिकांश नेपालकै थिए । उनले भेटेका मध्ये अधिकांश यौनकर्मीको कथा–व्यथा एकैनासको थियो । काम खोज्दै जाँदा पुरुषको कामबासनाको शिकार भएका थिए । कतिपय रेस्टुँरा, बारमा व्यञ्जन पस्कँदापस्कँदै शरीर नै पस्कन अभिशप्त थिए । र, उम्किन चाहन्थे त्यो कुम्भिपाकबाट ।

‘यौनकर्मी’ महिलाहरूको मूर्त मनोदशा उनको मथिंगलमा कुँदिएको थियो । मस्तिष्कमा प्रतिच्छवित देहव्यवसायी महिलाहरूको नियतिलाई क्यानभासमा उतारे उनले ।

\"\"

० ० ०

कुनाभरि आकर्षक अरिपन । भित्ताहरूमा पीठारको हस्त छापसहितको मैथिली कला । हरिओम मेहताले कला परिषद्को दोस्रो तलाको दक्षिण–पश्चिम कुनोलाई मैथिली गाउँमा रूपान्तरण गरेका छन् । पहाडे कागज टाँसिएको ग्यालरी हलको भित्ताभरि मैथिली संस्कृतिका डोबहरू देख्न पाइन्छ ।

मेहताले एक साताअघि आर्ट काउन्सिलकै भुइँतलाको ग्यालरी हलमा मैथिली कला–संस्कृतिका नूतन आयाम पस्किए । झन्डै ७ दिन । तर, उनको प्रदर्शनीको तृष्णा भने मेटिएन । र त, सामूहिक चित्रकला प्रदर्शनी उनको प्यास मेटाउन थलो पनि बनेको छ । मैथिली संस्कृतिको पाश्र्वरंगमा पोतिएका कलाकृति सामूहिक चित्रकला प्रदर्शनीको आकर्षण बनेका छन् । अझ भनौं न, मेहताको चित्रविम्ब काठमाडौं र मधेस जोड्ने सम्बन्ध–सेतुसमेत बनेको छ ।

\"\"

“मधेस कला र संस्कृतिको अलग्गै क्यानभास हो । मैथिली कला छुट्न गयो भने प्रदर्शनी नै एकपाखे बन्छ,” कलाप्रदर्शनीको मुखभागमै मैथिली कला संस्कृतिसँग चिनापर्ची गराउनुको तात्पर्य खुलाउँछन्, उनी ।

मैथिली कला र संस्कृतिका खोज र अन्वेषक पनि हुन् । विदेह कालपूर्वदेखिका कलावशेष उत्खननमा लागेका छन् । उनको चित्रकारितामा मैथिली कलाको रंगमात्र मिसिएका छैनन्, तराई–मधेसको दुःख–दारिद्र्यता पनि अक्षूण्ण छ । भोक र अभावको रंग उस्तै ओझिलो छ । त्यसले त मेहता थप्छन्, “क्यानभासमा पोतिएको तराई–मधेसको अनुहार काठमाडौंलाई देखाउनु पनि प्रदर्शनीको उद्देश्य हो ।”

\"\"

तराई–मधेसको सग्लो अनुहारका अतिरिक्त प्रदर्शनीमा बौद्ध दर्शन र हिमाली संस्कृतिसँग पनि जम्काभेट हुन्छ । सिद्धार्थ गौतम बुद्धको ज्ञानको आलोकमा फिँजिएको हिमाली संस्कृतिलाई चित्रकार कुमार दोर्जेले बहुआयामिक ढंगले क्यानभासमा प्रतिविम्बित गरेका छन् ।

“सिद्धार्थ गौतम बुद्ध हिमाली भेगको जीवन दर्शन हुन् । ज्ञानका आँखा हुन्, यसैलाई चित्रकारितामार्फत अभिव्यक्त गर्न खोजेको हुँ,” चित्रकारितबारे प्रस्ट्याउँछन् दोर्जे ।

सामूहिक चित्रकला प्रदर्शनी ‘सँगालो’मा अभिव्यक्त भएको सबैभन्दा शक्तिशाली विम्ब हो– ‘थस्र्ट अफ् मेलम्ची !’

\"\"
 
२७ वर्षदेखि मेलम्चीको पानी पर्खिइरहेका ‘काकाकुल’ काठमाडौंबासीको अन्तर्दशालाई चित्रकार सुरेश बस्नेतले क्यानभासमा हुबहु उतारेका छन् । खानेपानीको पाइप बिछ्याउने बहानामा वर्षौंदेखि धूलो खान श्रापित काठमाडौं उनका क्यानभासका उपजीव्य हुन् । अझ कछुवा र चिप्लेकीराको धमिलो चित्रलाई एउटै तस्बिरमा अटाएर बस्नेतले मेलम्ची खानेपानी परियोजनालाई सुस्तताको मानक नै बनाइदिएका छन् ।

त्यसबाहेक उनले काठमाडौंको सार्वजनिक यातायातको टीठलाग्दो अवस्थालाई पनि चित्रकार्यमार्फत मुखरित गर्न छुटाएका छैनन् । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानको अन्तर्वस्तुमाथि असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । इन्धनको हाहाकार मच्चियो । त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पर्‍यो ।

\"\"

सार्वजनिक सवारी साधनमा खादमखाँद भएर चढ्न अभिशप्त यात्रुहरू ज्यानको ख्याल नगरी छतमा समेत यात्रा गर्न थाले । त्यसको भुक्तभोगी सुरेश आफैं पनि थिए । यस्तो दुःखदायी दिन नदोहोरियोस्, नाकाबन्दीजस्तो अमानवीय ताडना भावी पिँढीको पोल्टामा नपरोस् भन्ने कामना पनि उनले चित्र रंग्याएरै गरे ।

\"\"
तस्बिरः सौरभ रानाभाट

प्रकाशित मिति: शनिबार, माघ १२, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्